मेरी प्यारी!
तिमीलाई पृथ्वीबाट पत्र लेख्दैछु
अकालमै जानुपर्दा धेरै रोयौ होला
तर वर्तमान अस्तित्वको संसारमा
तिमी निकै हर्षित छ्यौ होला
तिम्रो बसाइँसराइको केही दिन
धेरै बिलौना गरें,खेद प्रकट गरें
तर गएकोमा गुनासो छैन
आज पनि म कहाँ खुशी छु र?
म बाँचेको संसार भन्दा
तिम्रै संसार स्वर्गतुल्य होला
किन कि त्यहाँ कुनै भय छैन
त्यहाँ कुनै रोग र शोक छैन
न त टि.बी.,न कुनै क्यान्सर
त्यहाँ त्यस्तो हुँदा-हुँदै
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
उन्नतिका नाममा खुलेका कारखाना
सुबिधाजन्य यातायातका साधन
प्रगतिका नाममा चुलिएका आकांक्षाले
फ्याँकिरहेका छन् प्रदुषित ग्याँस
गाह्रो परेको छ हामीलाई श्वास फेर्न
यस्तो कठिन परिस्थिति देखेर
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
बिकासका नाममा बनाइएका सडकहरु
दुई दिनमै भत्किएर अलपत्र हुन्छन्
धुलो उडेर वायुमण्डल ढाकिँदा
लाग्छ,घनाघोर बर्षाको लागि
कालो मेघ मडारिएको छ गगनमा,
अक्सिजन लिने प्रयासमा हामी
कार्बनडाइअक्साइड लिइरहेका छौं
धुवाँ र धुलाका कणहरु खाइरहेका छौं
यस्तो रमिता देख्दा-देख्दै
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
सोझा,गरीब किसानलाई सिकाइएको छ
बिषादी बिना फुल्दैन फूल
लाग्दैन गतिलो फल
बढाउन सकिन्न आम्दानी
उन्नत जातको अन्न र फलफूलको नाममा
निलिरहेका छौं हामी मन्द बिष
घटाइरहेका छौं आफ्नै आयु
बिष पिउनलाई आउँछ्यौ तिमी पनि?
पुनः अल्प आयुमै मृत्युु स्वीकार्न
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
बैज्ञानिकहरु यतिसम्म सक्षम भए की
आफू जन्मेको धरातल ध्वस्त पार्न
बनाएका छन् आणविक अस्त्र
शक्ति प्रदर्शनको होडबाजी चलेको छ
संचार-माध्यममा आउन थाले-
फलानो देशले क्षेप्यास्त्र बनाए
फलानो देशको एटम बम बनाए
फलानो देश शक्तिशाली भए
धम्की आउन थालेको छ-
दुई मिनेटमा विश्व सिध्याउँछु
आँखा बेचेर चश्मा किन्नलाई
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
धेरै दिनदेखि बैज्ञानिकहरु
बडो लगनशील भएका छन्
बडो अध्ययनशील भएका छन्
धेरै नयाँ ग्रह पत्ता लगाए रे
सुन्दैछु,केही दिन पश्चात
पठाउँदैछन् रे क्षेप्यास्त्र
स्वर्गलाई हानेर खसाल्न
मेरी प्यारी!होसियार है!
अब तिमी कहाँ जान्छ्यौ भागेर?
स्वर्गको संसार छोडेर
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
खेतीयोग्य जमिन अतिक्रमण गरेर
गगनचुम्बी महल ठड्याएका छन्
उहिले झैं धान,आलु फल्दैनन्
स्वच्छ र निश्चल नदीहरुमा
दुर्गन्धित ढल जोडेका छन्
वाग्मती डम्पिङसाइड भएको छ
जलचरको अस्तित्वमा खेलवाड भए
यस्तै-यस्तै अन्याय हेर्नलाई
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
वनजंगल फडानी गरेर
बस्ती बसालेका छन्
मानवजातिले सिर्फ आफ्नो
स्वार्थ सिद्ध गरेका छन्
नाजायज हर्कतहरु बढिरहेछन्
वन्यजन्तुको अधिकार हनन भए
पंक्षीहरु उडेर बेपत्ता भए
हरियाली पाखा,पखेरु अचेल
क्रमश:उजाडिंदै छन्
बिरक्त लाग्दा भएका छन्
मरुभूमि जस्तै देखिन्छन्
यस्तै-यस्तै बिजोग हेर्न
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
हो प्रिया,अचेल पृथ्वीमा
यस्तै कृयाकलाप बढिरहेका छन्
प्लास्टिकको दुरुपयोग
अव्यवस्थित शहरीकरण
अव्यवस्थित औधोगिकरण र
थोत्रा सवारीसाधनको प्रयोगले
वायुमण्डल प्रदुषित हुँदैछ
पृथ्वीको तापक्रम वृद्धि भैरहेको छ
वर्षा हुन छोडेको छ
हिउँ पर्न छोडेको छ
हिमाल पग्लिन थालेका छन्
समग्रमा सिंगो पृथ्वी नै
नर्क तर्फ उन्मुख हुँदैछ
स्वर्ग छोडेर नर्कमा निस्सासिन
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
अचेलका मनुष्य अति शिक्षित छन्
अति विवेकशील र ज्ञानी छन्
खै कसरी पढाउन सक्छु र मैले
खै कसरी सिकाउन सक्छु र मैले
जति सुनाए पनि सुन्दैनन्
जति देखाए पनि देख्दैनन्
देखेर पनि नदेखे झैं गर्छन्
सुनेर पनि नसुने झैं गर्छन्
बुझेर पनि बुझ पचाउँछन्
मेरी प्यारी!
के तिमी सिकाउन सक्छ्यौ र?
के तिमी देखाउन सक्छ्यौ र?
के तिमी बुझाउन सक्छ्यौ र?
यी मनुष्यलाई सवक सिकाउन
के तिमी पुनर्जन्म लिएर
पृथ्वीमा पाइला टेक्न चाहन्छ्यौ?
No comments:
Post a Comment