Sunday, 5 March 2017

मेरी कविता

हिजो सम्म मसंगै थिई
मेरो मन-मुटुमा थिई
घच्घच्याइरहन्थी मलाई
भावनाको स्वरुपमा
पंक्तिहरुमा उतार्न।

खाली पानाहरुमा पोखाएँ
छताछुल्ल पारेर
भिज्ने गरी दिमाग
उम्रने गरी उमंगको टुसा
सुनाउन लाउँथी सहयात्रीलाई
तहल्का मच्चिएको थियोे।

उनी भन्ने गर्थी
सकेसम्म जानु
हिमशृंखलाहरुमा
छङछङ गर्ने छहरामा
कुना,कन्दरा र पहरामा
खेतका गरा र आलीमा
तर म गईन
उनलाई पनि लगिन।

मैले उनीलाई
आफैंभित्र कैद गरें
कापीको पानामा बन्दी बनाएँ
उनको लागि
मेरो संसार जेल भयो
रम्न सकिनन् मसंग
मन परेन संकुचित बिचार
त्यसैले चरी बनेर
भुरुरुरु उडेर गई
मेरी कविता।

आज मस्तिष्क शून्य छ
खै के भयो भयो
कि त रिसाएकी हुनुपर्छ
कि बसाइँ सरेको हुनुपर्छ
ए बल्ल याद आयो
मेरी कविता
माइत गएको हुनुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...