Tuesday, 7 March 2017

भ्रुण-हत्या

चैत्र-बैशाखको आँधीहुरी झैं
उथलपुथल मचाउँदा बैशले
यौवनको भूमरीमा पसी
मडारिन थाल्छन्
विपरीत लिंगी आपसमा
बर्षौंदेखि तड्पिएका
मरुभूमिका प्यासी साँप झैं
मेट्छन् अतृप्त प्यास।

चाहनाको परिपूर्ति गर्ने होडमा
तुफानलाई रोक्ने क्रममा
आगोलाई निभाउने बहनामा
छाललाई किनारा लाउने शिलशिलामा
मनोरञ्जनलाई निरन्तरता दिंदा
अनापेक्षितरुपमा
आउँछन् केही भन्टाङभुन्टुङ
जुन चाहिएकै हुँदैनन्
जुन चाहेकै हुँदैनन्
दुर्घटनाका उपज ठानिन्छन्
ती कलिला मुनाहरुलाई।

बर्षौंसम्म अहोरात्र खट्दा
घुँडाको छाला रगटिंदा
परिश्रम र बल खर्चिंदा
भालेको आशमा उत्साहित हुँदा
पोथीको आगमनले
फेरि पनि अविभावक
निरुत्साहित हुन्छन्।

पशुपंक्षी थाक्लान् तर
मनुष्य थाक्दैनन्
मानौं मेशिन जडित छ प्रजननको
फेरि पनि गर्भाशयमा
भ्रुणको उपस्थिती हुँदा
आधुनिक युगको फाइदा लिँदै
बिज्ञान र प्रविधिको सदुपयोग गर्दै
अस्पताल धाएर
हेर्छन् भिडियो एक्सरे
गर्छन् लिंग पहिचान।

पुत्र भए लड्डु बाँड्ने
पत्नीलाई सुखमा राख्ने
पुत्री भए बिश्मात्
अनि धाउने मेरी स्टोप
दुवैको मिलेमतोमा
हत्या गरिदिने भ्रुणको
कति सहज!
को बोलिदिने भ्रुणको पक्षमा
के थियो उसको गल्ती
नजन्मिँदै मर्नुपर्ने
भाग्य नै थियो र?

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...