आमाको छाती चर्केको बेला
आङको चोली च्यात्तिएको बेला
नयन छताछुल्ल रुझिएको बेला
सन्तति मर्माहत भएको बेला
कसरी मनाउँ होली?
हिमाल पग्लेका छन्
सागर सुकेका छन्
शोकको मेघले
गगन ढाकिएको छ
यस्तो संगीन घडीमा
कसरी मनाउँ होली?
यौनपिपासु द्धारा
अंग-अंग लुछिंदा
चेलीको इज्जत लुँटिँदा
नर्कमा जीवन हुतिँदा
नियतिबाट कुटिँदा
कसरी मनाउँ होली?
मुटुमा गोली चलिरहँदा
सिमामा पुत्र ढलिरहँदा
रक्तको खोली बगिरहँदा
जनको बोली स्तब्ध हुँदा
कसरी मनाउँ होली।
आक्रोशको ज्वाला दन्किरहेछ
यत्रतत्र अशान्ति छाएको छ
नेपालीका घर जलिरहेछन्
खरानीको टीका लाएर
कसरी मनाउँ होली?
No comments:
Post a Comment