Monday, 20 March 2017

मुस्का


        स्कुलबाट शुरु भएको हाम्रो प्रेम कलेजमा पुग्दा अझ बढी झ्याँगिन पुग्यो।हामी एक-अर्काका लागि परिपूरक नै भैसकेका थियौं।सुमिना र मेरो परिवारले समेत हाम्रो प्रेम सम्बन्धलाई स्वीकारेका थिए।एउटै कलेजमा संगै पढ्दा पढाईलाई बाधा पुग्ने ठहर गर्दै बी ए को पढाइको लागि हामीले क्याम्पस बदल्यौं।शनिबारको दिन मात्र हाम्रो भेटघाट हुन थाल्यो।भौगोलिक हिसाबले टाढा भएपनि हामी मनको एकदमै नजिक थियौं।मैले उनलाई मनको सिंहासनमा रानी बनाएर बसाइसकेको थिएँ।करीब एक महिना जति भैसकेको थियो हाम्रो साक्षात्कार नभएको।एकैचोटि प्रणय दिवसको दिन भेटेर एकले अर्कालाई झट्का दिने सल्लाह गरेका थियौं।मेरो योजना उनलाई बिहेको प्रस्ताव राख्नु नै थियो।नभन्दै प्रणय दिवस एकदिन मात्र बाँकी थियो।फोन गरेर लब स्टेशनमा भेट्ने सल्लाह गर्यौं।हामी भेटघाटका लागि आतुर थियौं।उनले मेरो बिहेको प्रस्ताव स्वीकार्नेमा निश्चिन्त हुँदै मस्त निंदाएँ।
         शहरका गाडीहरुको हर्नसंगै मेरा आँखा खुले।उनलाई सदाको लागि आफ्नो बनाउने सपना सजाउँदै तोकिएको समय भन्दा एकघण्टा पहिल्यै लब स्टेशनमा पुगें।उनको बाटो हेर्दाहेर्दै १० बजेको त पत्तै भएन तर त्यसपछिको एक-एक सेकेन्ड भारी हुँदै थियो मेरो लागि।सेकेन्ड,मिनेट र घण्टा हुँदै दिन बित्यो तर उनी आईनन्।फोन गरें तर लागेन।अन्य सामाजिक संजालमा पनि सम्पर्क हुन सकेन।पानी बिनाको माछा झैं तड्पिंदै रातको बाह्र बजे घर फर्कें।उनले मलाई धोका दिई।आफू भन्दा बढी माया गरेको मान्छेले धोका दिएपछि जिइरहनुको अर्थ देखिन।आत्माहत्या गर्ने निर्णय गरें।तर जन्म दिने बाबा-आमाको मायाले मलाई रोक्यो।जीवन नयाँ तरीकाले जिउन थालें।उनको यादलाई पूर्णरुपमा मनबाट निष्कासन गर्न सफल भएँ।
          हाम्रो बिछोड भएको एक बर्षपछि बाबा-आमाले बिहेको लागि जोड दिन थाल्नुभयो।बिहेको मिति तय भयो।कार्ड छापिए।कार्ड लिएर म आफन्त र छिमेकीहरुको घर धाउन थालें।धोकै दिएपनि सुमिनाको घर छुट्याउनु उचित नठानेर उनको घरमा गएँ।उनकी आमा आँगनमै हुनुहुन्थ्यो।
"आन्टी!मेरो बिहेको कार्ड लिनुस्।जसरी पनि आउनुपर्छ नि।"-मैले भनें।
"चिया पिएर जाउ न बाबु,धेरै दिनपछि आयौ त।आउ भित्रै।"- यति भनेर हातमा समाएर भित्र लानुभयो।
भित्र पुग्ने बित्तिकै मेरो छातीको बायाँ पाटो चस्केर आयो र हृदयघात भएर भुइँमा लडें।सुमिना भने भित्ताको एउटा फ्रेमभित्र बाट फूलको माला लाएर मुस्कुराउँदै मलाई नै हेर्दै थिइन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...