सुरजको बिलयसंगै
गोधुलीको आगमनसंगै
पूर्वी क्षितिजबाट उदायौ
धपक्क बल्दै
हिमशिखरको शीरबाट
हिंड्न थाल्यौ टुकुटुकु
बालकले बामे सरे झैं।
तिम्रो उपस्थितीले
टह-टह भयो
अन्धकारोन्मुख धर्ती
दिनभरीको थकानले
लखतरान प्राणीको
शितल भए शरीर।
तिम्रो रुपको दृश्यपानपछि
ओछ्यानमा आएर पल्टें
नयन बन्द भएपनि
निद्रा पटक्कै आएन
लुखुर-लुखुर निस्कें आँगनमा
मध्यरातको निर्जन पलमा
तिमी मेरै शीरमाथि थियौ
घाँटी तनक्क तन्काएर
हेरिरहें धेरै बेरसम्म
तिमी जता-जता गयौ
त्यतै-त्यतै गयो नजर।
रुखको टुप्पोमा भएको
चरोलाई झैं निशाना बनाएर
भुइँमा भएको सानो पत्थर
गुलेलीमा च्यापी
तनक्क तन्काएर
झार्न मन लाग्यो धर्तीमा
तर चोट लाग्ने भयले
त्यसो गर्न सकिन।
बेला-बेलामा ओढिदिंदा
बादलुको घुम्टो
बेचैन भयो मन
तिमीलाई पुनः देख्दा
पुलकित भएँ
हेरिरहें सिर्फ तिमीलाई
तिम्रो लुकामारीलाई
रात बितेको पत्तै भएन
जब पुग्यौ पश्चिमी क्षितिजमा
पुन:हिंड्न थाल्यौ बालक झैं
आकारलाई घटाउँदै लग्यौ
अर्ध र चौंथाइ हुँदै
बिलिन भयौ ए जून!
सुरजको पुनरागमन हुनुअघि
निस्पट्ट बनाइदियौ संसार
केही घण्टाको प्रतिक्षा पश्चात
तिमी त पक्कै आउनेछौ
म ग्यारेन्टीका साथ भन्छु
तर तिमी जस्ती मेरी उनी
कहिले आउँछिन्!
अनबिज्ञ छु
ए जून!
के तिमीलाई थाहा छ?
No comments:
Post a Comment