Sunday, 30 December 2018

भ्रम

उम्लिरहेको आवेगमा संयमताको बरफ हालेको राम्रो
बढिरहेको दम्भलाई सदाचारको अम्लले गालेको राम्रो
कहिलेकाही छायाँ वास्तविक आकार भन्दा ठूलो हुन्छ
कुनै अस्तित्वले फरक अस्तित्वको भ्रम फालेको राम्रो।

पैसाको पछि

लालच गरेर जम्मा गरी राख्नु हुँदैन
धर्तीमा बसी माथिको जून ताक्नु हुँदैन
पैसा टन्न कमाई मान्छे दर्शन छाँट्छ
"हेर्नुस्-पैसाको पछि कोही लाग्नु हुँदैन।"

उडान

कुन मान्छेको कुरा कसले बुझ्थे होलान्
अहंकारको अस्त्रले कति चुट्थे होलान्
दम्भको भरमै मनुज यत्ति उड्न खोजे
पखेटा पलाए कति माथि उड्थे होलान्?

Saturday, 29 December 2018

स्वार्थ

            कलेजमा समीरको पहिलो दिन।हाताभित्र प्रवेश गर्ने बित्तिकै एउटी रुपसी उसको नजरमा पर्छिन्।रुपको आलोकले अभ्यन्तरसम्म झलल पार्छ।

             दोश्रो दिन।समीरले नवीन कार लिएर आएको छ।थोरै जनाले मात्र कार लिएर आउने हुँदा उसको कार सबैको नजरमा पर्छ।उसको मन खाने रुपसीले समेत परिचयको हात बढाउँछिन्।
"हाइ!म सुष्मा।"
"म समीर।"
तत्कालै उनीहरू मित्र बन्छन्।

            तेश्रो दिन।समीरले सुष्मालाई घर नजिकै ड्रप गर्छ।चौंथो दिनदेखि एक अर्कालाई मनपराउन थाल्छन्।घर नजिकै देखि कलेज र कलेजदेखि घर नजिकसम्म लाने-ल्याउने समीरको बेतलबी काम निरन्तर चलिरहन्छ।

          एक महिना पुगेको दिन।
"अहो समीर!आज त नयाँ कार?"
"अँ त्यस्तै भन्नुपर्ला।"
"किन र आफ्नै कारप्रति कुनै शंका?"
"हैन सुष्मा,केको शंका हुनु र?"
"वाह!मर्सिडिज,२९०० सिसी!मलाई मनपर्ने कार!"
"धन्यवाद।तर संयोग पनि कस्तो।यतिनै सिसीको भनेर ठ्याक्कै मिलायौ नि!"
"खास कुरा के भने नि,म प्रायः हिंड्न मनपराउँछु।तिम्रो बारेमा सोधखोज गर्दा थाहा भो-मलाई इम्प्रेस गर्नको लागि तिमीले कार भाडामा लिएर आउने रहेछौ।तिम्रो भित्री स्वार्थ मलाई पाउनु मात्र रहेछ।त्यही भएर आज तिम्रै लागि यो कार पठाइदिएकी!"

२५०

             प्रवासको एकोमोडेसनको एक कोठा,जहाँ कम्पनीले ८ जना मिलेर बस्ने व्यवस्था मिलाएको छ।मेरो छुट्टीको दिन।अरु सबै ड्युटी गएका छन्।एकजना साथी भर्खर रातको ड्युटी सकेर आएको छ।
     
            अरु दिन प्रायः शान्त र शालीन रहने साथी आज निकै चकचके देखिएको छ।कसैलाई सरापे जस्तो अस्पष्ट भाषामा भित्रभित्रै भुन्भुनाइरहेको छ।असामान्य तवरले छट्पटाइरहेको छ।सायद मन ठेगानमा छैन।निकै गम्भीर भएर केही कुराको अनुमान लगाइरहेको जस्तो।सामान्यतया भन्दा फरक शैलीमा देखेर म पनि विलखबन्दमा फसें।कौतुहलताको छर्रा ऊतिरै सोझ्याएँ।
"ओइ के भयो हँ?"
"कुन चाहिं रन्डीको बानले मेरो चप्पल उडाएछ यार।"
"जाबो चप्पल हराउँदैमा त्यसरी गाली दिनुपर्छ र?"
"केको जाबो भन्छस्,२५० दिर्हाम परेको चप्पल पो त।चानचुने भन्ठानिस् क्या हो?"
"भो गफ नदेऊ।हामीलाई पनि थाहा छ चप्पलको मोल।"
"तिमी कुरा अलि ढिलो बुझ्छौ के भाइ।"
"बढ्ता स्मार्ट नहोऊ।जाबो १० दिह्रामको चप्पललाई २५० रे।कहाँ किनिको?सपिङ मलमा त गएनौ होला।"
"यहाँ कुरा सुन!बुझिस्?अस्ति पल्लो बिल्डिङमा तास खेल्दा २५० हारेको थिएँ।तुम्बे भएपछि यही चप्पल टिपेर हिन्देको नि।परेन त २५०?"

अक्षरहरुको छवि

रुख जस्तो अक्षरको हाँगामा जुरेली झैं बसेर
फिरीरीरी नाच्दै
समीरसंग मितेरी गाँस्ने पातहरुको सरसराहट
फूलहरुको तनबाट प्रस्फुटित सुवास
वफादार काँडाहरुको स्थिरता
सैसैलाको हलचल
अनुभूत गर्न चाहन्छु भावपूर्ण सुन्दरताको अनन्तता।

पहरो जस्तै अक्षरको अक्करे उचाइबाट
छाँगो बनेर छङ्छङ् छलाङ मार्दै
विहानीको किरणलाई आलिंगनमा बेर्दै
बाटोमा भेटिएको चट्टानलाई सुम्सुम्याउँदै
बिना पर्वाह,संकोच र भय
खस्न चाहन्छु -अर्थपूर्ण दहको गहिराईसम्म।

चरा जस्तै अक्षरको पखेटामा बसेर
उड्छु -गगनको छातीसम्म
टेक्छु -सगरमाथाको टाउकोमा
हान्छु -टाकुराहरुको गालामा थप्पड
नियाल्छु -माथिबाट मान्छेहरुको चर्तिकला
दृश्यपान गर्छु -प्राकृतिक छटाहरुको बैश
मेट्न चाहन्छु -कहिल्यै नमेटिएको आँखाको प्यास।

गाईको पूच्छर जस्तो अक्षरको टुप्पोमा बसेर
डुल्छु-कहिले अल्लो पाखा,कहिले पल्लो पाखा
मार्छु-बिकारयुक्त मानसिकतालाई
लखेट्छु-झिंगा जस्ता फोहोरी बिचारलाई
हुन चाहन्छु -पूच्छर जस्तै चनाखो।

कहिले अक्षरे-घोडा,
कहिले अक्षरे-ऊँठ,
कहिले अक्षरे-जूनमा बिराजमान भएर
निहार्न चाहन्छु-अक्षरहरुकै ब्रम्हाण्ड।

तथापि यतिले मात्र मेटिंदैन भोक/प्यास
भेटिंदैन पूर्णता
वास्तवमा,स्वयं पूर्ण वर्णमाला भएर
अबोध बालबालिकाको कलिला हातबाट
किस्ताबन्दीमा लेखिन चाहन्छु
आज क
भोलि ख
हुँदै-हुँदै क्रमशः शिलशिलाबद्धता पछ्याउँदै
ज्ञ को ज्ञानमा गएर सजीव हुन चाहन्छु।

Friday, 28 December 2018

बेरोजगार-२९

                 दृश्य चित्रण
बिनोद बारे सुनेर कुरा,रामे नि झस्किन्छ
सतह मनको,भुकम्प आई जोडले भासिन्छ
रमालाई रीस उठेर आउँछ,के गरिन् भनेर
भेट्न मन लाग्छ,अतीत-साथी,पुरानो सम्झेर।

दुश्मन प्रति जाग्दछ दया,मृत्युको पश्चात
गरेको उसले,कर्तुत पनि भए झैं अज्ञात
जिज्ञासा बढ्छ,रमाले किन मारेकी भनेर
जानेर आफ्नै जिन्दगी शूलमा पारेकी भनेर।

                   रामे
थिईन रमा,कठोर त्यस्ती,ज्यानमारा जस्तो त
रहेछु भ्रममा,असली रुप,रहेछ कस्तो त
कोमल थिइन्,गुलाब जस्ती,कसरी त्यस्ती भई
यथार्थ के हो,बुझेर आउँछु,जेलमा स्वयं गई।

                  सानी
भलाई हाम्रो चाहने खाले होइनन् ती केटी
रहन दिनुस्,घट्बढ केही होला नि त्याँ फेरि
फसाउनलाई खोज्दै पो थिइन्,अन्ततःफसिन् ती
सजाय काट्न बर्षौंको लागि जेलमा पसिन् ती।

                रामे
बिनोदलाई सिध्याउनैपर्ने कारण के थियो?
मिलेर तिम्लाई फसाउनैपर्ने कारण के थियो?
रहस्य होला,केही न केही,योजना पछाडी
नपरेसम्म हुँदैन थाहा,उनैको अगाडी।

                 सानी
कबुली सकिन् हत्यारा भनी,अब के बाँकी छ?
कारण बुझी हत्याको सट्टा अब के माफी छ?
नजानु होला पापिनी सामू,लाग्नेछ लोदर
फसाउन सक्छन् तपाइँलाई त्यसको के भर?

                रामे
सिकाउन सक्छ हजारौं पाठ दु:खको पाटाले
जानुनैपर्छ एकचोटी मैले साथीको नाताले
सहानुभूति,सकेमा दिन,ऊ खुश हुनेछिन्
देखाए बाटो,असल थोरै,ऊ खुद चुन्नेछिन्।

                सानी
असल केटी होइनन् उनी,चिनेकी छु मैले
खराब पक्ष प्रशस्त नै छन्,देखेकी छु मैले
संगत गर्ने खालकी हैनन्,सतर्क रहनुस्
भावनासंग संयमित भई सुस्तरी बहनुस्।

                रामे
मनुष्य कोही खराब हुन्न,खराब हो चरित्र
खराबी पक्ष सुधार्न सके भैदिन्छ पवित्र
कहानी लामो लुकेको हुन्छ कर्मको पछाडी
कुदेर ठेस लागेको हुन्छ धर्मको पछाडी।

                 सानी
तपाईं आफैं हुनुन्छ जान्ने,म के नै भनुँ र
कागको कथा नहोस् लागू,भएर चतुर
कहिलेकाही जोइको कुरा श्रवण गर्नुहोस्
उडेर हुन्न समीरसंगै,धर्तीमा झर्नुहोस्।

                 रामे
चाहन्छु माफी,दिमाग हैन दिलको सुन्छु म
श्रीगणेश भन्दा अगाडी धेरै जोडेर गुन्छु म
सम्झौता गर्न सक्दिन प्यारी!गम्भीर कुरामा
काम लाग्ने पक्ष हेरिनुपर्छ धारिलो छुरामा।

               सानी
राम-राम मात्र,सकिन्छ भन्न,भीरमा जानेलाई
नखाऊ भनी सम्झाउनु व्यर्थ सोमरस खानेलाई
तथापि बाटो देखाइदिनु मानव धर्म हो
यथार्थ-भ्रम देखाइदिने तनकै चर्म हो।

                रामे
सुझावलाई सम्मान गर्छु,अन्यथा नसोच्नु
पत्थर हैन यो मुटु मेरो,त्यसरी नघोच्नु
प्रपञ्च ठूलो लुकेको देख्छु,घटेको घटनामा
मृत्युु नै किन उपहार दिईन् दण्डको सट्टामा?

                सानी
तगारो बन्न खोजेकी हैन तपाईंको बाटोमा
तपाईं नै हो गाउँमा कोही देखेको बाठोमा
सत्य र तथ्य बुझेर आउनु,छ शुभकामना
अधुरा कुरा गर्नुहोस् पूरा,पूर्ण होस् चाहना।

                 दृश्य चित्रण
लम्कन्छ रामे उदेश्य बोकी,केन्द्रीय जेलमा
भावनाहरु बहन थाल्छन् ठेलम-ठेलमा
व्यग्रता बोकी पुग्दछ आखिर रमाको साथमा
घटनाको पूर्ण विवरण लिन्छ,छोएर हातमा।

                  रामे
के देख्नुपर्यो आँखाले मेरा,सोचेकै थिईन
यो हदसम्म,भनेर जान्छ्यौ,ठानेकै थिईन
अन्तिम अस्त्र प्रयोग गर्ने के थियो बाध्यता
लिएर ज्यान,देखाउन खोज्यौ व्यर्थको वीरता।

                रमा
सोचेको जस्तो,सकिन हुन,मलाई माफ गर
सकिन जित्न कठोर मन,मलाई माफ गर
असीम माया तिमीलाई गर्थें,तिमीले चिनेनौ
मन्दिरमा मनको,सजिई बस्न,मलाई दिएनौ।

                रामे
अतीत थियो,बितेको कुरा,भो अब नगर
गरेछु ठिकै,चिनियो मान्छे,बकवास नगर
सम्मान गर्छु भावना अनि त्यो तिम्रो मायाको
मायाको कुरा निकाल्नु अब कुरा हो टाढाको।

               रमा
थिएन थाहा,मायाले घृणा उत्पन्न गराउँछ
नपाउँदा माया यो हदसम्म लगेर गिराउँछ
गुमाउँदा माया वितृष्णा पैदा भैदिंदोरहेछ
निश्छल माया पलमा एकै,मैलिंदोरहेछ।

               रामे
सम्बन्ध के छ आखिर यहाँ माया र हत्यामा
नपाउनु माया,मारिनु बिनोद,किन एक पानामा!
बिनोद मेरो आफन्त हैन,न पर्यो सारथी
नभई दोषी,बिचरा उसको,बनायौ यो गति।

                  रमा
छ भने आँट,श्रवण गर्ने,लामो छ कहानी
म तिम्रै हुन तयार थिएँ सुम्पेर जवानी
लत्याई मलाई अगाडी मेरै,अर्कीलाई अंगाल्यौ
गुलाबलाई कुल्चेर गई गुराँस संगाल्यौ।

                 रमा
जिन्दगी देखि हरेश खाएँ,गुमेर सर्वस्व
कायम राख्दा मायालु माथि अर्कैले वर्चस्व
जिउन मन लागेन ठ्याप्पै,भएर एकल
सिध्याउन स्वयं गएकी थिएँ रोशीको जंगल।

                 रमा
सलको पासो लगाइकन,झुन्डिन तयार
बिनोद आई बचाउँदै भन्यो-"नगर हतार"
त्यो दिनदेखि नजिकको साथी भैदियो बिनोद
मिलेर तिम्रो बिगार गर्ने गरियो उदघोष।

                 रामे
मिलेर मेरो कुभलो चाह्यौ,के भयो आखिर
मृत्युको खेल खेल्नमा तिमी रहिछ्यौ माहिर
कसम खायौ मलाई मार्ने,उल्टियो कसरी
अचम्म लाग्यो,खेलको पासो पल्टियो कसरी?

                 रमा
बर्बाद पार्ने,हेरियो मौका,मिलेन सजिलै
छिप्पेको थियो,दिमाग मेरो,मन थियो कलिलै
मान्छेलाई केही,नसक्दा गर्न,गाईबस्तु छप्काएँ
मरेन गाई,मरेन भैंसी,बाख्रालाई टप्काएँ।

                 रमा
आरिस लाग्यो,सानीलाई देख्दा,हुँदैथ्यो जलन
दुश्मन नभै,सोचेर भलो,सकिन रहन
उनको हरेक सामान देख्दा रीसले उम्लिन्थें
सक्कली सुन नक्कली भन्दै मेलामा कुर्लिन्थें।

                  रमा
परिवार तिम्रो सखाप पार्ने प्रपञ्च रचियो
निर्मला,सानी देखाउन तल्लो,अनेक गरियो
सिमाना भन्दा गिरेर तल,भ्रम पनि छरियो
छोडेर काम,गर्नमा चियो,सरिक भईयो।

                  रमा
घाँसमा जाँदा उक्साइदिएँ अप्ठ्यारो रुखमा
लाग्दथ्यो निको,निर्मला पर्दा भीषण दु:खमा
अगाडी हिंड्दा,पछाडीबाट धकेलिदिन्थें म
लागेमा चोट दंदास हुँदै मुस्काइदिन्थें म।

                 रमा
वनमा चर्दा ती बाख्रालाई खेदेर पठाउँथें
"बाघले खाओस्" सराप दिंदै जोडले कराउँथें
सानीले बाख्रा,गरेमा खोजी,अन्यत्रै देखाउँथें
बाघको स्वर निकालीकन जंगलमा कराउँथें।

                 रमा
तिमीले काम खोजेको ठाउँमा भड्काइदिन्थें म
खराब मान्छे भएको भनी उल्काइदिन्थें म
स्कुलमा काम पाउने थियौ,आरोप लगाएँ
एकलै भेट्दा हातपात गर्यो भनेर बताएँ।

                 रमा
कारबाही गरौं भनेर कति अगाडी सरेथे
म आफ्नै इज्जत जाला कि भनी पछाडी सरेथें
शहर गयौ,आएर त्यहाँ,भन्दिएँ अनेक
नकारात्मक सन्देश छरें,ठाउँमा हरेक।

                 रमा
बिदेश गयौ,सजिलो भयो,म खेल खेल्नमा
निर्मला सानी छोरीआमालाई मज्जाले पेल्नमा
सहज भयो दुश्मनलाई पुरुष नहुँदा
सम्हालिदिने भएनन् कोही,दु:खमा ती रुँदा।

                  रामे
रिसिपी बोकी,दिएर दु:ख,तिमीले के पायौ
मर्यादा नाघी परिवारलाई सताउनु सतायौ
त्यसैको फल भोग्दैछ्यौ आज,दैवले देखेर
सकिन्न भाग्न,पापको भारी काँधमा बोकेर।

                 रमा
चियो र चर्चा गरेर हिंड्दा सुनियो बातचीत
दोजिया भा'को खबर सुनी,म भएँ चकित
सानीको इज्जत माटोमा फाल्ने योजना बनाएँ
बिनोदलाई फकाई फुल्याई सरिक गराएँ।

                  रमा
योजना पूर्ण विफल भयो निर्मला बोलेर
बना'की थिएँ हतियार यस्तो,जहर घोलेर
निर्मलालाई साइड लाउने तरीका सोचियो
चरित्रलाई खत्तम पार्ने चरित्र खोजियो।

                 दृश्य चित्रण
बोकेर क्रोध,उत्सुक हुँदै रामेले सुन्दैछ
छोरीको बारे कुभलो सुन्दा बेहाल हुँदैछ
थप्पड लाउने,पलाउँछ सोच,निर्दयी रमालाई
ग्रहुँगो मन बनाई सुन्छ उनको कथालाई।

                   रमा
बिनोदलाई काममा लाएँ लालच देखाई
मानेको थे'न,ऐश्वर्य दिएँ,ललाई-फकाई
तयार भयो इज्जत लुट्न,निर्मला नानीको
इज्जत फाल्न नसकेपछि क्यै गरी सानीको।

                 दृश्य चित्रण
नयन लाल,क्रोधित मुहार बनाई झम्टिन्छ
घाँटीमा थिची खत्तम गर्न आँटले तम्सिन्छ
बच्दछ ज्यान,छेकिंदा उनको,फलामे बारले
सरेर रमा,गलामा पुग्न पाउँदैनन् हातले।

                  रामे
हत्यारालाई,हालतमा कुनै,म छोड्न सक्दिन
निर्मला बारे गरेको कुरा सहन सक्दिन
फाँसीको सजाय तोकिनुपर्ने नेपालको कानूनमा
ज्यानको बदला ज्यान हुनुपर्ने नेपालको कानूनमा।

                 रमा
थाहा छ मलाई,म छँदै छैन माफीको लायक
सदैव भएँ,जहानको तिम्रो,खुशीको बाधक
सकिन्छ भने माफ गरिदेऊ,कृपया ए रामे
अर्काको सुख भत्काइ हिंड्ने,परें म बेकामे।

                  रामे
नगरी ढिला,सरर भन,के भयो त्यसपछि
आतुर भएँ,विस्तृत सुन्न,पर्खन्न म कति
भएको घटना,भन्देऊ सत्य,म बिन्ती गर्दैछु
आँखामा पानी भएर कठै!बरर झर्दैछु।

                 रमा
योजना फत्ते बनाउन हामी गा'काथ्यौं जंगलमा
संयोगबस निर्मला एक्ली परिथिन् जंगलमा
छोपेर मौका,पठाइदिएँ बिनोद पासमा
भीषण युद्ध मच्चियो तब दुबैको साथमा।

                 रमा
परेको थियो इज्जत उनको झन्झनै धरापमा
नतिजा उल्टो देखियो त्यहाँ नारीको सरापमा
दैवले शक्ति जुराइदियो निर्मला नानीलाई
कालीको रुप धारण गरी छप्काईन् पापीलाई।

                 रमा
आफूले धेरै बोकेकी थिएँ पापको भारी त
वध त मेरो पर्दथ्यो हुनु,भए नि नारी त
योजनाकार म आफैं थिएँ,बिनोद मारियो
जीतको आशमा लडेको युद्ध आखिर हारियो।

                 रामे
कहानी मित्थ्या बुनेर भन्यौ,पत्यार लागेन
पत्याउन सक्थे पागल भए,मनले मानेन
अपराधीलाई सहानुभूति बटुल्ने चाहना
कसरी आयो प्रशस्त दया असुल्ने बहाना?

               रमा
कसम खाई भन्दैछु फेरि,हत्यारा म हैन
कारकतत्व म पनि हुँ नै,मारेको त छैन
कारण मेरो,बिनोदको ज्यान बर्बाद भैगयो
कसुर थियो,त्यसैले स्वर्ग बसाइँ गैगयो।

               रामे
सुनको सिक्री तिम्रो नै थियो,तिमी हौ हत्यारा
बिनोदसंग दुश्मनी भई पारेकी पासामा
निर्मलालाई जबरजस्ती गर्ने त्यो बेलामा
पछाडीबाट प्रहार गर्यौ,हेरेर मौकामा।

              रमा
सम्झौता मैले गरेकी थिएँ इज्जतको बदला
सुनको सिक्री दिएकी थिएँ,गर भनी हमला
गलामा उसले लाएको थियो,जुन मैले दिएको
खुकुरी प्रहार भएको बेला फुत्केर गएको।

              रमा
शरीर-शीर अलग हुँदा आँत्तिन थालें म
होसियारपूर्वक जंगलै जंगल दौडिन थालें म
हतास हुँदा सुनको बारे आएन ख्याल नै
कसरी फसें भनेर मैले पाईन चाल नै।

              रमा
उसको ज्यान गएर बल्ल लाग्यो नि पछुतो
नसोची केही स्वीकारें कर्तुत,रहेछु बबुरो
निर्मलालाई फसाउँ भन्ने मानेन मनले
बुद्धिको सामू हरेश खायो,जितेन बलले।

              रमा
हल्ला र खल्ला गरेको भए हार्नेथिन् निर्मला
ठाउँको ठाउँ लिएर छाडिन् प्रहारको बदला
जेलमा स्वयं आएकी हुँ म,गर्नलाई प्रायश्चित
निर्मलालाई गएर भन्नु-"नहुनु भयभित"।

               रामे
बिराई बाटो गएकी थियौ अन्जान पथमा
अन्तर-आँखा खुलेर आयौ सुनौलो पथमा
पाउनु मात्र होइन माया,गुमाउनु पनि हो
सम्पन्न मान्छे बन्दछ ऊ -जो मनको धनी हो।

                दृश्य चित्रण
भएर बिदा,घरमा जान्छ,कथाको नायक
हुनुनैपर्छ भन्ने छ कहाँ,जवान लायक
रेकर्ड गीत भएर मात्र काँ हुन्छ गायक
मनको गीत गाउने पनि हुन्छ नि गायक।

                 रामे
निर्मला तिमी हत्यारा हैनौ,साहसी नारी हौ
घरको मात्र नभई तिमी देशकै नानी हौ
मायालु मात्र भएर हुन्न,बन्नुछ काली झैं
आउन सक्छन् निशुम्भ-शुम्भ बनेर माली झैं।

                 दृश्य चित्रण
खेतीपातीमा लाग्दछ रामे तदारुक भएर
गाउँले सबै मिलेर लाग्छन् जागरुक भएर
सेवामा खट्छे निर्मला पनि डाक्टर भएर
रामेको छोरा थाल्दछ पढ्न स्कुल गएर।

....................समाप्त........................

Thursday, 27 December 2018

चरा

हर्षको जरा हल्लिन्छ
सुखको गरा भत्किन्छ
अचेल थोरै कम्पनले
प्रेमको चरा चल्दिन्छ।

Wednesday, 26 December 2018

खप्पिस

बुन्न रुमाल,कुरुश खप्पिस हुन्छन्
धुन सुरुवाल,बुरुस खप्पिस हुन्छन्
केलाई कसरी प्रयोग गर्ने,ख्याल गर्नु
बुन्न मायाजाल,पुरुष खप्पिस हुन्छन्।

Tuesday, 25 December 2018

ट्युसन

सकेसम्म गरीकन वर्णन, बताउँछु
आवश्यकता परेमा वचन लगाउँछु
तिमी अझै कच्चै रै'छौ माया-पिरतीमा
आऊ,अनुभवी छु म,ट्युसन पढाउँछु।

भर्जिन

सुन्दर,फरासिली र शालीन चाहिन्छ
लसपस कतै नभएको नवीन चाहिन्छ
केटाहरुलाई प्रेमिका जस्तो पनि चल्छ
तर विहे गर्ने दुलही भर्जिन चाहिन्छ।

बेरोजगार-२८

                दृश्य चित्रण
महिनौं पश्चात् मुश्किल साथ भेटेर जहान
बिर्सेर दु:ख मनमा फुट्छ खुशीको मुहान
हर्षको किरण झरेर त्यहाँ बल्दछ झुपडी
शब्दमा बयान,सक्दैन गर्न,कविले त्यो घडी।

भएर रित्तो,भौतिक सामान नहुँदा झोलामा
अथाह हुन्छ,अपार हुन्छ,प्रणय हियामा
मिलन हुँदा परिवारसंग अभाव हुँदैन
मायाले छुन्छ मुटुमा जब केहीले छुँदैन।

लाग्दछ भव्य,पर्यावरण वसन्त आए झैं
मरुभूमिको ती प्यासी रुखले सिँचाइ पाए झैं
हावाको धून लाग्दछ मीठो,सरगम छाए झैं
कलाकारले भरेर राग,सप्तक गाए झैं।

रोएको शैल हाँस्दछ त्यसै उन्मत्त भएर
ढुकुर नाच्छन् कोइली संगै मिठास गाएर
उराठ पाखा ओढेर घाँस,फेर्दछ काँचुली
प्रकृतिसंग सम्बन्धित केही हुँदैन मामुली।

राङ्छ्यावा भीर उठेको जस्तो उमंग बोकेर
चेर्दुङ पनि ब्युँझेको जस्तो झसङ्ग भएर
यलुङ खोला,बगेको मनको तरंग बोकेर
लगाउँ जस्तो मितेरी साइनो एक्कासी रोकेर।

ओख्रेटारले पर्खेको जस्तो प्रणय लिएर
भै लम्पसार,अंगालुँ जस्तो,चुम्बन दिएर
झिम्क्याउँछ आँखा ताँबेले पनि पस्केर मुस्कान
शैलुङ डाँडा विभोर हुन्छ,भए नि चट्टान।

क्याङ्सिर हेर्छ तालको थोरै सिंगान चुहाई
कागका हुल सलाम ठोक्छन् तालमा नुहाई
दूधकुण्ड रोक्न सक्दैन हाँसो,देखेर सारथी
यलुङ स्कुल हल्लाउँछ हात,देखाई प्रगति।

गुनासो पोख्छ काम्सेले थोरै सहँदा बिछोड
उचाली दिन्छन् काँधमा बोकी बाटाका ती मोड
पातका ताली बजाई रम्छन् उत्तीसघारीका
सुसेली हाली बोलाउँछन् डाली,ती सल्लाघारीका।

"हातमा घोच्छौं" भनेर नारा लाउँछन् खस्रुले
बादल-कालो दुखेसो गर्छ भिजाई अश्रुले
अंगालो हाल्न आह्वान गर्छन् ती बालीनालीले
मृग र स्याल आरिस गर्छन् घोचेर गालीले।

घरको छानो हेरिरहेछ फेरिने आशले
आँगनको ध्वजा भन्दैछ केही मसिनो सासले
दिंदैछ साथ धुवाँले पनि आँखामा बसेर
खुशीको आँशु भिजाउँछ जमिन,तुरुक्क खसेर।

कुकुर-काले स्वागत गर्छ पूच्छर हल्लाई
गाई र भैंसी सत्कार गर्छन् बाँबाँबाँ कराई
हर्षको भाषा बोल्दछन् बाख्रा म्याँम्याँम्याँ गरेर
कुसुमहरु निभाउँछन् धर्म,सुवास छरेर।

अंकमाल गरी टक्र्याउँछे माया,जहान सानीले
विलखबन्द अवस्था बन्छ,लजाउने बानीले
प्रणाम गरी निर्मला छोरी उभिन्छे छेवैमा
तरंग न्यानो पठाउँछ छोरो,बाबाको आँखैमा।

विपन्न घर सम्पन्न हुन्छ,अभ्यन्तर दृष्टिले
अचम्म लाग्दो बनायो संवेग बनाउँदा सृष्टिले
अरुले हेर्दा देखिन्छ फिका,उसको घरभित्र
उसले हेर्दा देखिन्छ त्यहीं इन्द्रेणी झैं चित्र।

झुपडी पनि मन्दिर जस्तै भैदिन्छ पवित्र
रहन्छन् जहाँ निर्दोष मन,असल चरित्र
त्यो घर भित्र पाठशाला जस्तै ज्ञानको छ खानी
भोगाइ संगै पाईन्छ त्यहाँ अजीव कहानी।

खुशीको लागि चाहिन्न भौतिक साधन सम्पन्न
सन्तुष्टि बिना महल पनि महल रहन्न
नदिने रै'छ सुख र खुशी,पैसाको नोटले
घटाउ हैन,बन्दछ पूर्ण,मनको जोडले।

                 सानी
आउनुभयो,सम्पन्न भएँ,चाहिन्न सम्पत्ति
सम्पत्ति भन्दा माथिल्लो स्तर रहन्छ दम्पति
बसेर संगै,पिउँदा पानी,भैदिन्छ अमृत
नहुनु दूर,आइन्दा फेरि,रहनु म सित।

                  रामे
जिन्दगी थियो,बेलून जस्तै,हावाले फुकेको
बिछोड भई बाध्यताबश,धेरै छु चुकेको
फुटे नि बेलून,गए नि हावा,ढुक्कले निदाउँछु
नगरी वास्ता,ठेसको बारे,पाइला बढाउँछु।

                निर्मला
गएर टाढा,खुट्टामा आफ्नो,उभिने भएँ म
एकलै पनि लडाइँ लड्न सकिने भएँ म
तपाईंको बुइ चढेको भए म यति हुन्नथें
स्वतन्त्रपूर्वक दौडिने बाटो यसरी चुन्नथें।

                सानी
चनाखो हुन,सतर्क बन्न,सिकायो छलले
केही न केही देखायो बाटो,हरेक पलले
आफन्त को हुन्,पराई को हुन्,समयले देखायो
पानामा मनको,हजारौं,लाखौं,सन्देश लेखायो।

                  रामे
बिदेश हैन,विश्वविद्यालय गएको रहेछु
विद्यावारिधी जाँचमा पास भएको रहेछु
अमूल्य शिक्षा प्रयोग गरी फलाउँछु फलहरु
बिर्सन कहाँ सकिन्छ बरै,धारिला पलहरु!

               सानी
भेटेर धेरै कहन्छु भन्थ्यौ,सुन्न छु आतुर
के कस्तोबाट गुज्रनु पर्यो,गएर लाहुर
हामीले पनि पाउँथ्यौं ज्ञान,बिस्तार लगाए
खाएर चाख्थ्यौं,भोगाइको सत्य,खिचडी पकाए।

               रामे
सक्दछ्यौ भने पढेर हेर आँखाको पुस्तकमा
अनेकौं स्वादको लिखित व्यथा,पटक-पटकमा
सक्दैनौ भने रहस्यहरु हुन देऊ रहस्य
म मर्ने बेला साथमा भए भन्नेछु अवश्य।

                निर्मला
भन्नुभो यत्ति,छर्लङ्ग भयो,सुनाउनु पर्दैन
आँ गर्दा पनि अलङ्कार बुझ्छु,खुलाउनु पर्दैन
थकाइ मार्नुस्,बटुल्ने ज्ञान,यो मेरो पाली हो
भरियो माना,भरिने बेला,हो अब पाथीको।

                सानी
चाहनुहुन्न,बनेको दु:खी,म कुरो बुझ्दछु
तपाईंको दु:ख सुनेर सायद निथ्रुक्कै रुझ्दछु
जहानको लागि हाम्फाल्नुभयो दु:खको सागरमा
लौ अब खोजौं,नजिकै यतै,सन्तुष्टि गागरमा।

            

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...