Friday, 28 December 2018

बेरोजगार-२९

                 दृश्य चित्रण
बिनोद बारे सुनेर कुरा,रामे नि झस्किन्छ
सतह मनको,भुकम्प आई जोडले भासिन्छ
रमालाई रीस उठेर आउँछ,के गरिन् भनेर
भेट्न मन लाग्छ,अतीत-साथी,पुरानो सम्झेर।

दुश्मन प्रति जाग्दछ दया,मृत्युको पश्चात
गरेको उसले,कर्तुत पनि भए झैं अज्ञात
जिज्ञासा बढ्छ,रमाले किन मारेकी भनेर
जानेर आफ्नै जिन्दगी शूलमा पारेकी भनेर।

                   रामे
थिईन रमा,कठोर त्यस्ती,ज्यानमारा जस्तो त
रहेछु भ्रममा,असली रुप,रहेछ कस्तो त
कोमल थिइन्,गुलाब जस्ती,कसरी त्यस्ती भई
यथार्थ के हो,बुझेर आउँछु,जेलमा स्वयं गई।

                  सानी
भलाई हाम्रो चाहने खाले होइनन् ती केटी
रहन दिनुस्,घट्बढ केही होला नि त्याँ फेरि
फसाउनलाई खोज्दै पो थिइन्,अन्ततःफसिन् ती
सजाय काट्न बर्षौंको लागि जेलमा पसिन् ती।

                रामे
बिनोदलाई सिध्याउनैपर्ने कारण के थियो?
मिलेर तिम्लाई फसाउनैपर्ने कारण के थियो?
रहस्य होला,केही न केही,योजना पछाडी
नपरेसम्म हुँदैन थाहा,उनैको अगाडी।

                 सानी
कबुली सकिन् हत्यारा भनी,अब के बाँकी छ?
कारण बुझी हत्याको सट्टा अब के माफी छ?
नजानु होला पापिनी सामू,लाग्नेछ लोदर
फसाउन सक्छन् तपाइँलाई त्यसको के भर?

                रामे
सिकाउन सक्छ हजारौं पाठ दु:खको पाटाले
जानुनैपर्छ एकचोटी मैले साथीको नाताले
सहानुभूति,सकेमा दिन,ऊ खुश हुनेछिन्
देखाए बाटो,असल थोरै,ऊ खुद चुन्नेछिन्।

                सानी
असल केटी होइनन् उनी,चिनेकी छु मैले
खराब पक्ष प्रशस्त नै छन्,देखेकी छु मैले
संगत गर्ने खालकी हैनन्,सतर्क रहनुस्
भावनासंग संयमित भई सुस्तरी बहनुस्।

                रामे
मनुष्य कोही खराब हुन्न,खराब हो चरित्र
खराबी पक्ष सुधार्न सके भैदिन्छ पवित्र
कहानी लामो लुकेको हुन्छ कर्मको पछाडी
कुदेर ठेस लागेको हुन्छ धर्मको पछाडी।

                 सानी
तपाईं आफैं हुनुन्छ जान्ने,म के नै भनुँ र
कागको कथा नहोस् लागू,भएर चतुर
कहिलेकाही जोइको कुरा श्रवण गर्नुहोस्
उडेर हुन्न समीरसंगै,धर्तीमा झर्नुहोस्।

                 रामे
चाहन्छु माफी,दिमाग हैन दिलको सुन्छु म
श्रीगणेश भन्दा अगाडी धेरै जोडेर गुन्छु म
सम्झौता गर्न सक्दिन प्यारी!गम्भीर कुरामा
काम लाग्ने पक्ष हेरिनुपर्छ धारिलो छुरामा।

               सानी
राम-राम मात्र,सकिन्छ भन्न,भीरमा जानेलाई
नखाऊ भनी सम्झाउनु व्यर्थ सोमरस खानेलाई
तथापि बाटो देखाइदिनु मानव धर्म हो
यथार्थ-भ्रम देखाइदिने तनकै चर्म हो।

                रामे
सुझावलाई सम्मान गर्छु,अन्यथा नसोच्नु
पत्थर हैन यो मुटु मेरो,त्यसरी नघोच्नु
प्रपञ्च ठूलो लुकेको देख्छु,घटेको घटनामा
मृत्युु नै किन उपहार दिईन् दण्डको सट्टामा?

                सानी
तगारो बन्न खोजेकी हैन तपाईंको बाटोमा
तपाईं नै हो गाउँमा कोही देखेको बाठोमा
सत्य र तथ्य बुझेर आउनु,छ शुभकामना
अधुरा कुरा गर्नुहोस् पूरा,पूर्ण होस् चाहना।

                 दृश्य चित्रण
लम्कन्छ रामे उदेश्य बोकी,केन्द्रीय जेलमा
भावनाहरु बहन थाल्छन् ठेलम-ठेलमा
व्यग्रता बोकी पुग्दछ आखिर रमाको साथमा
घटनाको पूर्ण विवरण लिन्छ,छोएर हातमा।

                  रामे
के देख्नुपर्यो आँखाले मेरा,सोचेकै थिईन
यो हदसम्म,भनेर जान्छ्यौ,ठानेकै थिईन
अन्तिम अस्त्र प्रयोग गर्ने के थियो बाध्यता
लिएर ज्यान,देखाउन खोज्यौ व्यर्थको वीरता।

                रमा
सोचेको जस्तो,सकिन हुन,मलाई माफ गर
सकिन जित्न कठोर मन,मलाई माफ गर
असीम माया तिमीलाई गर्थें,तिमीले चिनेनौ
मन्दिरमा मनको,सजिई बस्न,मलाई दिएनौ।

                रामे
अतीत थियो,बितेको कुरा,भो अब नगर
गरेछु ठिकै,चिनियो मान्छे,बकवास नगर
सम्मान गर्छु भावना अनि त्यो तिम्रो मायाको
मायाको कुरा निकाल्नु अब कुरा हो टाढाको।

               रमा
थिएन थाहा,मायाले घृणा उत्पन्न गराउँछ
नपाउँदा माया यो हदसम्म लगेर गिराउँछ
गुमाउँदा माया वितृष्णा पैदा भैदिंदोरहेछ
निश्छल माया पलमा एकै,मैलिंदोरहेछ।

               रामे
सम्बन्ध के छ आखिर यहाँ माया र हत्यामा
नपाउनु माया,मारिनु बिनोद,किन एक पानामा!
बिनोद मेरो आफन्त हैन,न पर्यो सारथी
नभई दोषी,बिचरा उसको,बनायौ यो गति।

                  रमा
छ भने आँट,श्रवण गर्ने,लामो छ कहानी
म तिम्रै हुन तयार थिएँ सुम्पेर जवानी
लत्याई मलाई अगाडी मेरै,अर्कीलाई अंगाल्यौ
गुलाबलाई कुल्चेर गई गुराँस संगाल्यौ।

                 रमा
जिन्दगी देखि हरेश खाएँ,गुमेर सर्वस्व
कायम राख्दा मायालु माथि अर्कैले वर्चस्व
जिउन मन लागेन ठ्याप्पै,भएर एकल
सिध्याउन स्वयं गएकी थिएँ रोशीको जंगल।

                 रमा
सलको पासो लगाइकन,झुन्डिन तयार
बिनोद आई बचाउँदै भन्यो-"नगर हतार"
त्यो दिनदेखि नजिकको साथी भैदियो बिनोद
मिलेर तिम्रो बिगार गर्ने गरियो उदघोष।

                 रामे
मिलेर मेरो कुभलो चाह्यौ,के भयो आखिर
मृत्युको खेल खेल्नमा तिमी रहिछ्यौ माहिर
कसम खायौ मलाई मार्ने,उल्टियो कसरी
अचम्म लाग्यो,खेलको पासो पल्टियो कसरी?

                 रमा
बर्बाद पार्ने,हेरियो मौका,मिलेन सजिलै
छिप्पेको थियो,दिमाग मेरो,मन थियो कलिलै
मान्छेलाई केही,नसक्दा गर्न,गाईबस्तु छप्काएँ
मरेन गाई,मरेन भैंसी,बाख्रालाई टप्काएँ।

                 रमा
आरिस लाग्यो,सानीलाई देख्दा,हुँदैथ्यो जलन
दुश्मन नभै,सोचेर भलो,सकिन रहन
उनको हरेक सामान देख्दा रीसले उम्लिन्थें
सक्कली सुन नक्कली भन्दै मेलामा कुर्लिन्थें।

                  रमा
परिवार तिम्रो सखाप पार्ने प्रपञ्च रचियो
निर्मला,सानी देखाउन तल्लो,अनेक गरियो
सिमाना भन्दा गिरेर तल,भ्रम पनि छरियो
छोडेर काम,गर्नमा चियो,सरिक भईयो।

                  रमा
घाँसमा जाँदा उक्साइदिएँ अप्ठ्यारो रुखमा
लाग्दथ्यो निको,निर्मला पर्दा भीषण दु:खमा
अगाडी हिंड्दा,पछाडीबाट धकेलिदिन्थें म
लागेमा चोट दंदास हुँदै मुस्काइदिन्थें म।

                 रमा
वनमा चर्दा ती बाख्रालाई खेदेर पठाउँथें
"बाघले खाओस्" सराप दिंदै जोडले कराउँथें
सानीले बाख्रा,गरेमा खोजी,अन्यत्रै देखाउँथें
बाघको स्वर निकालीकन जंगलमा कराउँथें।

                 रमा
तिमीले काम खोजेको ठाउँमा भड्काइदिन्थें म
खराब मान्छे भएको भनी उल्काइदिन्थें म
स्कुलमा काम पाउने थियौ,आरोप लगाएँ
एकलै भेट्दा हातपात गर्यो भनेर बताएँ।

                 रमा
कारबाही गरौं भनेर कति अगाडी सरेथे
म आफ्नै इज्जत जाला कि भनी पछाडी सरेथें
शहर गयौ,आएर त्यहाँ,भन्दिएँ अनेक
नकारात्मक सन्देश छरें,ठाउँमा हरेक।

                 रमा
बिदेश गयौ,सजिलो भयो,म खेल खेल्नमा
निर्मला सानी छोरीआमालाई मज्जाले पेल्नमा
सहज भयो दुश्मनलाई पुरुष नहुँदा
सम्हालिदिने भएनन् कोही,दु:खमा ती रुँदा।

                  रामे
रिसिपी बोकी,दिएर दु:ख,तिमीले के पायौ
मर्यादा नाघी परिवारलाई सताउनु सतायौ
त्यसैको फल भोग्दैछ्यौ आज,दैवले देखेर
सकिन्न भाग्न,पापको भारी काँधमा बोकेर।

                 रमा
चियो र चर्चा गरेर हिंड्दा सुनियो बातचीत
दोजिया भा'को खबर सुनी,म भएँ चकित
सानीको इज्जत माटोमा फाल्ने योजना बनाएँ
बिनोदलाई फकाई फुल्याई सरिक गराएँ।

                  रमा
योजना पूर्ण विफल भयो निर्मला बोलेर
बना'की थिएँ हतियार यस्तो,जहर घोलेर
निर्मलालाई साइड लाउने तरीका सोचियो
चरित्रलाई खत्तम पार्ने चरित्र खोजियो।

                 दृश्य चित्रण
बोकेर क्रोध,उत्सुक हुँदै रामेले सुन्दैछ
छोरीको बारे कुभलो सुन्दा बेहाल हुँदैछ
थप्पड लाउने,पलाउँछ सोच,निर्दयी रमालाई
ग्रहुँगो मन बनाई सुन्छ उनको कथालाई।

                   रमा
बिनोदलाई काममा लाएँ लालच देखाई
मानेको थे'न,ऐश्वर्य दिएँ,ललाई-फकाई
तयार भयो इज्जत लुट्न,निर्मला नानीको
इज्जत फाल्न नसकेपछि क्यै गरी सानीको।

                 दृश्य चित्रण
नयन लाल,क्रोधित मुहार बनाई झम्टिन्छ
घाँटीमा थिची खत्तम गर्न आँटले तम्सिन्छ
बच्दछ ज्यान,छेकिंदा उनको,फलामे बारले
सरेर रमा,गलामा पुग्न पाउँदैनन् हातले।

                  रामे
हत्यारालाई,हालतमा कुनै,म छोड्न सक्दिन
निर्मला बारे गरेको कुरा सहन सक्दिन
फाँसीको सजाय तोकिनुपर्ने नेपालको कानूनमा
ज्यानको बदला ज्यान हुनुपर्ने नेपालको कानूनमा।

                 रमा
थाहा छ मलाई,म छँदै छैन माफीको लायक
सदैव भएँ,जहानको तिम्रो,खुशीको बाधक
सकिन्छ भने माफ गरिदेऊ,कृपया ए रामे
अर्काको सुख भत्काइ हिंड्ने,परें म बेकामे।

                  रामे
नगरी ढिला,सरर भन,के भयो त्यसपछि
आतुर भएँ,विस्तृत सुन्न,पर्खन्न म कति
भएको घटना,भन्देऊ सत्य,म बिन्ती गर्दैछु
आँखामा पानी भएर कठै!बरर झर्दैछु।

                 रमा
योजना फत्ते बनाउन हामी गा'काथ्यौं जंगलमा
संयोगबस निर्मला एक्ली परिथिन् जंगलमा
छोपेर मौका,पठाइदिएँ बिनोद पासमा
भीषण युद्ध मच्चियो तब दुबैको साथमा।

                 रमा
परेको थियो इज्जत उनको झन्झनै धरापमा
नतिजा उल्टो देखियो त्यहाँ नारीको सरापमा
दैवले शक्ति जुराइदियो निर्मला नानीलाई
कालीको रुप धारण गरी छप्काईन् पापीलाई।

                 रमा
आफूले धेरै बोकेकी थिएँ पापको भारी त
वध त मेरो पर्दथ्यो हुनु,भए नि नारी त
योजनाकार म आफैं थिएँ,बिनोद मारियो
जीतको आशमा लडेको युद्ध आखिर हारियो।

                 रामे
कहानी मित्थ्या बुनेर भन्यौ,पत्यार लागेन
पत्याउन सक्थे पागल भए,मनले मानेन
अपराधीलाई सहानुभूति बटुल्ने चाहना
कसरी आयो प्रशस्त दया असुल्ने बहाना?

               रमा
कसम खाई भन्दैछु फेरि,हत्यारा म हैन
कारकतत्व म पनि हुँ नै,मारेको त छैन
कारण मेरो,बिनोदको ज्यान बर्बाद भैगयो
कसुर थियो,त्यसैले स्वर्ग बसाइँ गैगयो।

               रामे
सुनको सिक्री तिम्रो नै थियो,तिमी हौ हत्यारा
बिनोदसंग दुश्मनी भई पारेकी पासामा
निर्मलालाई जबरजस्ती गर्ने त्यो बेलामा
पछाडीबाट प्रहार गर्यौ,हेरेर मौकामा।

              रमा
सम्झौता मैले गरेकी थिएँ इज्जतको बदला
सुनको सिक्री दिएकी थिएँ,गर भनी हमला
गलामा उसले लाएको थियो,जुन मैले दिएको
खुकुरी प्रहार भएको बेला फुत्केर गएको।

              रमा
शरीर-शीर अलग हुँदा आँत्तिन थालें म
होसियारपूर्वक जंगलै जंगल दौडिन थालें म
हतास हुँदा सुनको बारे आएन ख्याल नै
कसरी फसें भनेर मैले पाईन चाल नै।

              रमा
उसको ज्यान गएर बल्ल लाग्यो नि पछुतो
नसोची केही स्वीकारें कर्तुत,रहेछु बबुरो
निर्मलालाई फसाउँ भन्ने मानेन मनले
बुद्धिको सामू हरेश खायो,जितेन बलले।

              रमा
हल्ला र खल्ला गरेको भए हार्नेथिन् निर्मला
ठाउँको ठाउँ लिएर छाडिन् प्रहारको बदला
जेलमा स्वयं आएकी हुँ म,गर्नलाई प्रायश्चित
निर्मलालाई गएर भन्नु-"नहुनु भयभित"।

               रामे
बिराई बाटो गएकी थियौ अन्जान पथमा
अन्तर-आँखा खुलेर आयौ सुनौलो पथमा
पाउनु मात्र होइन माया,गुमाउनु पनि हो
सम्पन्न मान्छे बन्दछ ऊ -जो मनको धनी हो।

                दृश्य चित्रण
भएर बिदा,घरमा जान्छ,कथाको नायक
हुनुनैपर्छ भन्ने छ कहाँ,जवान लायक
रेकर्ड गीत भएर मात्र काँ हुन्छ गायक
मनको गीत गाउने पनि हुन्छ नि गायक।

                 रामे
निर्मला तिमी हत्यारा हैनौ,साहसी नारी हौ
घरको मात्र नभई तिमी देशकै नानी हौ
मायालु मात्र भएर हुन्न,बन्नुछ काली झैं
आउन सक्छन् निशुम्भ-शुम्भ बनेर माली झैं।

                 दृश्य चित्रण
खेतीपातीमा लाग्दछ रामे तदारुक भएर
गाउँले सबै मिलेर लाग्छन् जागरुक भएर
सेवामा खट्छे निर्मला पनि डाक्टर भएर
रामेको छोरा थाल्दछ पढ्न स्कुल गएर।

....................समाप्त........................

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...