दृश्य चित्रण
होहल्ला चल्छ सर्वत्र गाउँमा बिनोद हराको
उसकी आमा विलौना गरी सुनिन्छ कराको
एकल छोरा,नपाई थाहा,एक्कासी हराउँदा
रोएर घोक्रो सुकेर जान्छ,बेस्सरी कराउँदा।
कसैले पनि देखेको हुन्न,काँ गयो,के भयो
सुचना बिना गायब हुँदा अचम्म नै भयो
गाउँमा भेला बसेर सबै छलफल गर्दछन्
मरेको होला भनेर कतै शोकमा पर्दछन्।
मिजार
दिमाग खुस्की हराई होस,गएको होला की
एकान्त ठाउँमा,बिरामी सायद भएको होला की
तरुनीलाई उडाइ कतै भागेको जस्तो छ
छोडेर गाउँ,शहर तिर लागेको जस्तो छ।
बिनोदकी आमा
जाँ गएपनि भनेर जान्थ्यो,हराको थिएन
जाँ सम्म लाग्छ,केटीलाई मन पराको थिएन
कसको आँखा लाग्यो नि बरै,मायालु छोरामा
कसैले मारी पारेर पोका,फाल्यो की बोरामा।
जमिनदार
गाउँमा उसको पछाडी पर्ने दुश्मन को छ र?
पागलै भई हिंडेको होला,उसको के भर?
आरामसित बस्नुहोस् तपाईं,छोरा त आउँला
दुईचार दिन पर्खेर हेरौं,खबर पाउँला।
रमा
निर्मला-सानी भएका थिए तिनका दुश्मन
पारेका होलान् समाप्त यिनले तिनका जीवन
अनुसन्धान पर्दछ थाल्नु,जसरी विरुद्ध
ल्याउनुपर्छ केरकार गर्ने प्रहरी विशुद्ध।
सानी
कुरामा जुनै,दुश्मन हामी,भन्दछ्यौ कसरी?
विरुद्ध हामी,खाडल खन्छ्यौ,किन हो यसरी?
मसंग तिम्रो दुश्मनी के छ?भन्देऊ खुलस्त
उल्झाउन खोज्छ्यौ हमेसा किन समस्या प्रशस्त?
उर्मिला
रिसिपी थियो,सक्दछ हुन,लिएको बदला
अत्यन्तै बाठी,खोज्दछे हुन,काँ गई निर्मला?
प्रहरीलाई खबर गरौं,हुन्न है बसेर
मारेको पनि,सक्दछ हुन,छुरीले धसेर।
सानी
प्रमाण बिना यसरी बोल्नु,मान्दछु मुर्खता
मिलेर सबै बोलिरहेछौ,अनेक बढता
निर्मला जस्ती अबला माथि के शंका गरेको?
आधार विना भएर मुर्ख,के झूट छरेको?
संगीता
निर्मला नानी,नभई बल,दिमाग लगाउँछे
अलिक बल लाएर पनि दिवार भत्काउँछे
सकिन्न भन्न,अहिल्यै तोकी,नहुँदा सबुत
छर्लङ्ग होला,दिनमा केही,कसको कर्तुत।
जमिनदार
सुराक अलि पाएर बल्ल लगाउनु आक्षेप
लडेको कतै,सक्दछ हुन,रक्सीले मातेर
दुख्या छ चित्त,हराइदिंदा गाउँले-आफन्त
खोजिनुपर्छ चनाखो भई,गाउँमा र अन्त।
रमा
राख्दिन्छु म त निर्मला,सानी शंकाको घेरामा
भएमा दोषी,परिनै हाल्छौ कानूनको फेलामा
मारेर मान्छे,भएर ढुक्क,हिंड्दछ कसरी
कानूनको आँखा तेजिलो हुन्छ,देख्दछ जसरी।
सानी
यकिन छैन,हालत कस्तो,मरेको बाँचेको
मस्तीमा छ की,दु:खमा छ की,रोएको-हाँसेको
शंकाले लंका जलाउनु भन्दा राम्रो हो खोजेको
संसार कतै हुँदैन सुन्दर,भ्रमले पोतेको।
समूह
अहिले छुटौं,खोजीमा लागौं,निस्केन निचोड
विचलित भईन् बिनोदकी आमा,भएर बिछोड
सबैले आफ्नो स्थानबाट लागौं है जुटेर
एकताबद्ध भएर खोजौं,हुँदैन फुटेर।
दृश्य चित्रण
जंगल,खोल्सा,खाडल भित्र चहार्न थाल्दछन्
कन्दरा,कुना,कुलेसो तिर सर्वत्र चाल्दछन्
गन्हाउँछ ह्वास्स,जंगलभित्र दुर्गन्ध आएर
थाल्दछन् खन्न,जमिन मुनि छनक पाएर।
स्यालले गन्ध पाएर त्यहाँ खोस्रेको भेटिन्छ
एकहात जति गहिरो खन्दा कुहेको देखिन्छ
स्वरुप बाट चिनियो मान्छे,बिनोद रहेछ
कसैले हत्या गरेर त्यहीँ खनेर गाढेछ।
सन्जय
हे भगवान!कसले यस्तो कुकर्म गरेछ?
मारेर गाढ्ने,निर्दयी कस्तो हत्यारा परेछ?
हुँदैन छोड्नु,दानवलाई,कुनै नि हालत
मान्छेको ज्यानै लिनु त हो नि सरासर गलत।
संदीप
हत्यारा जो होस्,लगाउने पत्ता,पुलिसको काम हो
समस्या पर्दा बोलाई दिने जनताको काम हो
गरेर फोन,बोलाइहालौं,ढिलाइ नगरौं
दोबाटो सम्म लिनलाई जाऔं,त्यत्तिकै नबसौं।
दृश्य चित्रण
घण्टामा तीन,प्रहरी पुग्छन् भनेको जंगलमा
सवाल सोध्छन्,सरिक हुन्छन् वृहत बहसमा
सजिलैसंग सक्दैनन् पुग्न,प्रहरी निर्क्यौलमा
कुहिरे कागझैं भेट्दैनन् लक्ष्य,पर्दछन् अन्यौलमा।
प्रहरी
भन्नुहोस् कोही,दुश्मन को हो,कोमाथि शंका छ
निर्ममपूर्वक मारिनु पूर्व कोसंग पंगा छ?
बिनोद मर्दा अधिक जस्तो फाइदा कसलाई छ
उसैको कर्तुत बकैदा हुन्छ,फाइदा जसलाई छ।
रमा
निर्मला सानी दुईजना संग दुश्मनी उसको
गाउँले सबै जानकार छन् सर,बारेमा यसको
ग्यारेन्टी तोक्छु,मलाई लाग्छ,यिनैको योजना
बिर्सेका छैनन् कसैले सायद,ताजा छ सम्झना।
प्रहरी
हा हा हा हा हा!यी गर्भवती,सानी छे निर्मला
बनाउन सक्छन् यस्ताले पनि हत्याको योजना?
स्वयंको ज्यान सम्हाल्न गाह्रो भएको अवस्था
कसरी गर्न सकिन्छ भन,भयंकर व्यवस्था?
दृश्य चित्रण
यता र उता टोलाउन थाल्छ प्रहरी अधिकृत
घटनास्थलमा पाउन खोज्छ प्रमाण संभावित
मुहारतिर नियाल्न थाल्छ उपस्थित सबैको
देखिन्न कतै झुकेको मुहार,अँध्यारो कसैको।
अधिकृत
निर्मला,सानी कसरी भए ऊसंग दुश्मन
नभई असल,थियो कि कतै,बिनोद दुर्जन?
घटनाका-जड,सक्दछन् हुन,यसैमा लुकेका
अहिलेसम्म यथार्थ बुझ्न,छौं हामी चुकेका।
जमिनदार
परपुरुष खेलाको भनी आरोप लगाए
पेटको बच्चा उसको भनी बिनोदले बताए
आरोप झूटो लाएको भनी सानीले थर्काइन्
प्रमाण बिना अनेक बोल्दा बोलीनै चर्काइन्।
दृश्य चित्रण
सुनेर कुरा अल्मल पर्छ प्रहरी अधिकृत
सकेन सोच्नै,दिमाग हुन्छ,अधिक प्रभावित
गहिरो हुँदै बगिरहेछ प्रश्नको तरलता
जटिल हुँदै भासिरहेछ,भेटिन्न सरलता।
संयोगबश प्रहरी हेर्छन् नजिकै झाडीमा
भाग्यले आँखा पुग्दछन् तब सुनको सिक्रीमा
अंग्रेजी 'आर' अक्षर हुन्छ सुनमा लेखेको
लकेटमा हुन्छ,मात्रामा थोरै,केहीले केरेको।
अधिकृत
प्रमाण स्वरुप भेटियो सिक्री,कसको थाहा छ?
यसमा 'आर' रहेछ लेख्या,जसको यहाँ छ
नढाँटीकन साफसाफ भन,दिईन्न यातना
मलाई पनि सहज हुन्छ,केलाउन घटना।
सानी
रामेको हैन,रमाको होला,ऊसंगै देख्याथें
मेलामा हुँदा देखाकी थिई,ऊ चंगै देख्याथें
देखाकी थिएँ,त्योबेला मैले,यो मेरो सिक्री नि
नक्कली भनी गरेका थिए कतिले खिसी नि।
दृश्य चित्रण
गाउँले सबै मिलेर भन्छन्-त्यो सिक्री रमाकै
एउटै मत देखिन्छ त्यहाँ ती सब जनाकै
लाग्दैन सीप रमाको केही,जनको मतमा
उनीले पनि स्वीकार गरिन् सबको मतमा।
शवको फोटो खिचेर लान्छन् प्रहरी टिमले
हत्कडी लाउने आदेश दिन्छ तुरुन्तै हाकिमले
निकाली शव,जलाउन थाल्छन्,गाउँले घाटमा
रमाले बाटो तताउँछिन् लगाई जञ्जीर हातमा।
हत्याको आरोप स्वीकारेपछि थुनिन्छे जेलमा
विफल हुन्छे अन्ततः उनी जाल र झेलमा
चलाखी गर्दा जित्दैन कोही सम्पूर्ण खेलमा
आखिर हार्नै पर्दछ सबै,भाग्यको खेलमा।
No comments:
Post a Comment