दृश्य चित्रण
महिना पुगी जन्मिन्छ छोरो सानीको कोखबाट
आए झैं लाग्छ सुन्दर शिशु अन्यत्रै लोकबाट
छोरोलाई देखी भुल्दछिन् उनी प्रसव पीडा नै
मुहार दाँज्दा देखिन्छ ठ्याक्कै उसैको पिता झैं।
लाग्दछ बिर्को,मुखमा सबको,रहन्न बिषय
असत्य हारी,रहेछ हुने,सत्यकै बिजय
खबर सुनी रामेले पनि सास फेर्छ खुशीको
आए झैं लाग्छ सुनौलो दिन साँच्चिकै दु:खीको।
छोरोको फोटो खिचेर हाल्छे सामाजिक सन्जालमा
शुभकामना,बधाई दिन्छन् सबैले सन्जालमा
उठाउने कुरा,हुँदैनन् कोही,विरुद्ध सानीको
विकास गर्न लाग्दछन् बरु असल बानीको।
सम्पूर्ण ऋण सकिन्छ तिरी,जमिनदारको
रहन्न कुनै तनाव,चिन्ता,न कुनै भारको
फर्कन्छ अब जिन्दगी तिनका मधुर लयमा
पर्दैन जिउनु,रोएर अब कसैको भयमा।
गरिबी भन्नु मान्छेको बडा दुश्मन रहेछ
हरेश भन्नु सबभन्दा बडा बन्धन रहेछ
बन्धन तोडी खोजेमा बाटो,भईन्छ सफल
जटिल पनि,सोचेमा सूक्ष्म,भैदिन्छ सरल।
हुँदैन स्थायी,अस्थायी हुन्छन्,सम्पूर्ण संसारका
आउँछन्-जान्छन् सुख र दु:ख,झरी झैं असारका
मनुको स्तर सकिन्न नाप्न,पैसाको आधारमा
नबुझ्दा तथ्य,पाउँछन् कष्ट,मान्छेले बेकारमा।
धैर्यता राख्न सकियो भने समस्या सुल्झन्छ
पछुतो मान्छ जसले आफ्नो मर्यादा कुल्चन्छ
भ्रममा बाँच्ने मान्छेले ठान्छन् आफूलाई महान
सक्दैन हुन जोकोही खुशी,त्यागेर जहान।
अरुलाई हाल्ने खाल्डोमा प्रायः फस्दछ ऊ आफैं
बिषालु मान्छे,घाँटीमा आफ्नो,डस्दछ ऊ आफैं
कसैको भलो हुँदैन जब कुभलो चिताउँदा
कुहाउन थाल्छ असल पनि कुहेको मिसाउँदा।
बिकार बस्तु शरीरमा पसे नोक्सान गर्दछ
बेकार मान्छे समाजमा पसे विष-वीउ छर्दछ
खराब मान्छे गरिनुपर्छ बेलैमा पहिचान
समाजको लागि दिइनुपर्छ परेमा बलिदान।
निर्मला ल्याउँछे बिशिष्ट श्रेणी एसईई जाँचमा
गाउँले सबै खुशीले हाँस्छन् उनको पासमा
जनचेतना जगाई हिंड्छिन् गाउँ र घरमा
परेका हुन्छन् त्यो सिंगो ठाउँ उनैको भरमा।
उच्चशिक्षाको उदेश्य बोकी बस्दछे शहरमा
सजग भई रहन्छिन् उनी हरेक प्रहरमा
सल्लाह दिन्छिन् रहन उस्तै संगैका सखीलाई
"गल्तीले सानो,पछुतो हुन्छ जिन्दगी भरीलाई।"
सम्झेर फोन गर्दछ रामे,छुट्टीको दिनमा
मुहारमा फुल्छन् हर्षका फूल,नहुँदा ऋणमा
भिडियो कलमा देखाई दिन्छिन् कलिलो छोरालाई
देखेर रामे,गदगद हुन्छ,मुटुको टुक्रालाई।
रामे
प्रसव सही अथाह व्यथा,बाबुलाई जन्मायौ
लागेको ढल्न,प्रतिष्ठालाई तिमीले उठायौ
आमा र छोरी मिलेर लड्यौ,भीमकाय लडाइँ
रणभूमिमा थाकिनौ तिमी,थाके ती पराई।
सानी
हिम्मत हारी भागेको भए लखेट्ने थिए झन्
अझै नि मौका पाईन्छ भनी पर्खिरहेका छन्
डराई भागे मनुष्यलाई खेद्ने हो कुकुरले
जोकोहीलाई कमजोर,निर्धो पार्ने हो कसुरले।
रामे
समस्याबाट म भागी आएँ हिम्मत हारेर
दु:खको बेला छाडेर आएँ एकलै पारेर
म पनि एक काँतर परें,मलाई धिक्कार
बेरोजगारी सकिन धान्न,भएर सिकार।
सानी
नजानुपर्थ्यो,गैदिनुभयो,छोड्नुहोस् ती कुरा
गर्नुहोस् पूरा,भएका केही सपना अधुरा
निर्मला क्याम्पस,थाल्दैछिन् पढ्न,लिएर बिज्ञान
प्रतिभा देखी सबैले दिन्छन् बहुत सम्मान।
रामे
लाग्दैछ गर्व,उनैको बाबु,पाउँदा हुनलाई
हेपेर कोही,लाउन नजर,सक्दैनन् छुनलाई
भएका वैरी,लाग्नेछन् पाखा,प्रगति देखेर
जल्नेछन् कोही,बिना नै आगो,निर्मला हेरेर।
सानी
नजर-अन्दाज लगाउनु हुन्न,कहिल्यै वैरीलाई
चलायमान,सक्दछन् हुन,जहिल्यै मौका पाई
पाइला-पाइला होसियार हुन्छौं,रक्षाको खातिर
बलेको आगमा इन्धन थप्न दुनियाँ माहिर।
रामे
आत्मरक्षामा चनाखो हुनु,अगाडी- पछाडी
लडाउन सक्छन् जुनसुकै बेला,धेरै छन् खेलाडी
हुँदैन बन्न,सदैब यहाँ,मायालु-दयालु
पर्दछ बन्नु,हमेसा यहाँ,सर्प झैं बिषालु।
सानी
फूलले काँडा राखेका हुन्छन् नजिक-नजिक
निर्धक्क,ढुक्क,हुँदैन बन्न,अधिक-अधिक
अलिक शंका भएन भने दुर्घटना भैदिन्छ
पछाडीबाट प्रहार गरी दुश्मन गैदिन्छ।
रामे
समय गुरु भएर धेरै सिकायो तिमीलाई
आफन्तै गोमन भएर झन्डै सिध्यायो तिमीलाई
इज्जत माथि प्रहार भए घरानै सकिन्छ
एउटा माथि लागेमा धब्बा,सन्तानै पिरिन्छ।
सानी
फोनमा कुरा,कतिन्जेल गर्नु,आउने कहिले
अंगालो-न्यानो,प्रत्यक्ष माया लाउने कहिले
अब त ऋण कसैको छैन,आउनु छोडेर
खाउँला बरु खोले र फाँडो,खेतमा जोतेर।
रामे
आउने मन नभाको हैन,बहुत छ प्यारी
सम्झना-याद सबैको आको,बहुत छ सानी
भागेर आएँ,पासपोर्ट छैन,आउने कसरी
बिताउनु दिन,महिना केही,सुर्ता नै नगरी।
सानी
थिएन थाहा,भन्नुभएन,यो कुरा पहिले
भाग्नुभो तपाईं पासपोर्ट छोडी,किन र कहिले
सायद धेरै भोग्नुभो सास्ती,पुरानो ठाउँमा
कसले बुझ्नु क्लेश र व्यथा,बिरानो ठाउँमा।
रामे
अहिले कुरा नगरौं प्यारी,भेटेरै भन्नेछु
मुस्किल छैन अहिले केही,आएरै भन्नेछु
एम्बेस्सी गई पासपोर्ट बनाई,म शीघ्र आउनेछु
लेकको जग्गा बाँझो छ त्यसै,विरुवा लाउनेछु।
सानी
पालौंला बाख्रा,गाई र भैंसी,विकल्प धेरै छन्
भएको जमिन सदुपयोग गर्ने त थोरै छन्
किवीको खेती लगाइसक्यो पासाङ शेर्पाले
राम्रो छ कृषि,आधुनिक विधि,तरीका अंगाले।
No comments:
Post a Comment