टाउका-टाउकाबाट निष्कासित बिकार बिचारहरु
पवित्र गंगामा मिसिएको देखेर
टुंडिखेलको जनसागरलाई सम्बोधन गरें
"यस्तो कुकर्म गर्नुहुँदैन"
कसैले सुनेनन्।
खेतीयोग्य जमिनमा खराब नियतिहरु बगेको देख्दा
उद्योगीहरुले जनलाई मुसा ठानेर दबाई छिटे झैं लाग्यो
घर-घर र खेतबारीमा गएर आव्हान गरें-
"यसो गर्न दिनुहुन्न"
कसैले सुनेनन्।
इमान खरीद-बिक्री भैरहेको ठाउँमा
विरोध गरें
दुबै पार्टीले टेर-पूच्छर लाएनन्
कसैले सुनेनन्।
विकृत मानसिकताहरुको घना-जंगलमा
सु-संस्कृत मानसिकताहरुलाई गोली ठोक्दै थिए
नारा लगाएँ-
"ज्यानमारा-मुर्दावाद!"
"इन्क्लाब-जिन्दावाद!"
कसैले सुनेनन्।
कुरा कसैले नखाएपछि
उत्सुकतापूर्वक कारण पत्ता लगाएँ
मेरो नाम "असल चरित्र" रहेछ
म त बर्षौं पहिले मरिसकेको रहेछु
आत्माको कुरा कसले सुन्ने?
No comments:
Post a Comment