रुख जस्तो अक्षरको हाँगामा जुरेली झैं बसेर
फिरीरीरी नाच्दै
समीरसंग मितेरी गाँस्ने पातहरुको सरसराहट
फूलहरुको तनबाट प्रस्फुटित सुवास
वफादार काँडाहरुको स्थिरता
सैसैलाको हलचल
अनुभूत गर्न चाहन्छु भावपूर्ण सुन्दरताको अनन्तता।
पहरो जस्तै अक्षरको अक्करे उचाइबाट
छाँगो बनेर छङ्छङ् छलाङ मार्दै
विहानीको किरणलाई आलिंगनमा बेर्दै
बाटोमा भेटिएको चट्टानलाई सुम्सुम्याउँदै
बिना पर्वाह,संकोच र भय
खस्न चाहन्छु -अर्थपूर्ण दहको गहिराईसम्म।
चरा जस्तै अक्षरको पखेटामा बसेर
उड्छु -गगनको छातीसम्म
टेक्छु -सगरमाथाको टाउकोमा
हान्छु -टाकुराहरुको गालामा थप्पड
नियाल्छु -माथिबाट मान्छेहरुको चर्तिकला
दृश्यपान गर्छु -प्राकृतिक छटाहरुको बैश
मेट्न चाहन्छु -कहिल्यै नमेटिएको आँखाको प्यास।
गाईको पूच्छर जस्तो अक्षरको टुप्पोमा बसेर
डुल्छु-कहिले अल्लो पाखा,कहिले पल्लो पाखा
मार्छु-बिकारयुक्त मानसिकतालाई
लखेट्छु-झिंगा जस्ता फोहोरी बिचारलाई
हुन चाहन्छु -पूच्छर जस्तै चनाखो।
कहिले अक्षरे-घोडा,
कहिले अक्षरे-ऊँठ,
कहिले अक्षरे-जूनमा बिराजमान भएर
निहार्न चाहन्छु-अक्षरहरुकै ब्रम्हाण्ड।
तथापि यतिले मात्र मेटिंदैन भोक/प्यास
भेटिंदैन पूर्णता
वास्तवमा,स्वयं पूर्ण वर्णमाला भएर
अबोध बालबालिकाको कलिला हातबाट
किस्ताबन्दीमा लेखिन चाहन्छु
आज क
भोलि ख
हुँदै-हुँदै क्रमशः शिलशिलाबद्धता पछ्याउँदै
ज्ञ को ज्ञानमा गएर सजीव हुन चाहन्छु।
No comments:
Post a Comment