Monday, 17 December 2018

बेरोजगार-२३

          दृश्य चित्रण
शनिबार-दिन,घमाइलो पल,विहानी-पखमा
युवती-युवक गाएर गीत,हिंड्दैछन् पथमा
घाँसको भारी बनाउन थाल्छन्,जंगल त्यो घना
निर्मला बाहेक,छरिता हुन्छन्,काट्नमा सब जना।

सिर्सिर समीर चलेको बेला मन हुन्छ हरर
लतिकाहरु चञ्चल भई नाच्दछन् फरर
खोल्सामा जल बगेर जान्छ,कराउँदै कुलुलु
बादलका टुक्रा पिएर पानी उड्दछ सुलुलु।

प्रकृति पनि जवान भई उन्मत्त हाँस्दछे
निर्मला पनि रोमाञ्चित भई गाएर नाच्दछे
यौवन-लाली चढेर आउँछ उनको मुहारमा
हुँदैन होला चमक त्यति महंगो जुहारमा।

               निर्मला(मनोवाद)
हाँस्न मन लाग्छ,नाच्न मन लाग्छ,के भयो मलाई
सम्हाल्न खोज्छु,काउकुती जाग्छ,के भयो मलाई
सम्हाली दिने,संगाली दिने,को होला मायालु
वैशको बेला अंगाली दिने,को होला मायालु।

स्वप्नको मान्छे,मनको राजा,कस्तो खै होला की
घोडामा चढी उठाई लाने,कुमार झैं होला की
धनको धनी चाहिन्न बरु,मनको चाहिन्छ
दरबारे हैन,पिरिम दिने घरको चाहिन्छ।

                दृश्य चित्रण
रमाइलो पलमा बितेको बेला समय उनीको
अलपत्र हुन्छन् घाँसका डाली त्यो रुख मुनिको
साथी र संगी लिएर भारी,पर्दछन् ओझेल
बिचरी नानी,सक्दिनन् बुझ्न,भाग्यको त्यो खेल।

कुरुप मनु लुकेको हुन्छ,अवसर हेरेर
भमरा जस्तो लोभिन्छ मन,जवानी देखेर
नदेख्दा संगी,हतास हुँदै ओर्लिन्छे निर्मला
त्यतिनै बेला भैदिन्छ शुरु,दु:खको शृङ्खला।

काढेर र्याल,पुरुष-पशु,झम्टिन्छ बाघ झैं
नहुँदा कोही,उन्मत्त हुन्छ,पारेर ताक नै
पछाडीबाट पक्रन्छ झ्याप्प,उनको छातीमा
लडाइदिन्छ समाई खुट्टा,त्यहाँको झाडीमा।

गुहार!"भन्दै कराउन थाल्छे,निर्मला बेस्मारी
बलियो पुरुष मुखमा थुनी चुम्दछ थेचारी
तिर्सना मेट्ने उदेश्य बोकी फुकाल्छ कपडा
सिन्काको टुक्रा लिएर घोच्छे,भएर तगडा।

प्रहार गर्दा रगत बग्छ,लागेर निधारमा
अल्मल पर्छ,पुरुष रीस बोकेर मुहारमा
फुत्किने मौका पाउँछे उनले संयोग मिलेर
लडाइँ लड्न तयार हुन्छे खुकुरी टिपेर।

क्रोधित भई आक्रमण गर्छ,पुरुष-दानव
गिद्ध झैं मासु,चाहन्छ लुछ्न,खराब मानव
अबला नारी ठानेर होला,बढ्दछ अगाडी
चिच्याउँदै उनी सतर्क हुन्छे,सरेर पछाडी।

                  निर्मला
नबढ अघि,छिनाली दिन्छु,कसम छोड्दिन
कम्जोर नारी कल्पिए जस्तो,म हात जोड्दिन
कि मैले मार्छु,कि तैंले मार्छस्,दुईमा एक हुन्छ
निश्चित अन्त्य,रावण जस्तो,जसले जाल बुन्छ।

                   पुरुष
नगर फूर्ति,नदेऊ धम्की,त्यो ज्यान सुम्पिदेऊ
चाहेको कुरा पाएरै छोड्छु,समर्पण गरिदेऊ
भनेको माने जबरजस्ती म केही गर्दिन
बनाइ राख्छु मनकी रानी,त तल झर्दिन।

                    निर्मला
खबरदार!बलातकारी,काटेरै छोड्नेछु
कम्जोर नारी हुन्छन् नै भन्ने मान्यता तोड्नेछु
भागेर जाऊ,बचाऊ ज्यान,भलो छ त्यसैमा
होइन भने गुमाऊ ज्यान,घटना यसैमा।

                   पुरुष
तँ नाथे केटी,लगाउँछेस् घुर्की,लु लडौं हेरौंला
सकेको तँ गर,मपनि गर्छु,को जित्छ देखौंला
अधुरो हुन्न,गरिन्छ पूर्ण,मर्दले आँटेको
बदला पूरा गर्नुछ मैले,निधारमा काटेको।

                   दृश्य चित्रण
लडाकु जस्तै हेर्दछन् मौका,एकले अर्कालाई
कसले बुझ्नु नारीको व्यथा,पीर र मर्कालाई
बोकेर लौरो,निर्मलासंग गर्दछ सामना
जसरी हुन्छ,गर्नुछ ऊलाई पूर्ण त्यो चाहना।

लट्ठीले प्रहार गर्दछ पुरुष,नारीको शीरमा
छलेर कुनै,छेकेर कुनै,पुग्दछिन् भीरमा
भाँच्चिन्छ लठ्ठी,टुक्रिन्छन् धेरै टुक्रा र टुक्रामा
प्रहार गर्छे हेरेर मौका,उसको आँखामा।

चोइटा निस्की एउटा आँखा पुग्दछ दूरमा
तारनतार हानिरहन्छे आएर सुरमा
रक्तिम बन्छ शरीर उसको,बगेर रगत
क्रोधित भई छिनाल्छे घाँटी,उनीले अब त।

रक्तको बाढी बहन थाल्छ,खोला झैं सलल
टल्किन थाल्छ खुकुरी अझै टलल टलल
शरीर-शीर अलग हुन्छन्,खसी झैं ढलेर
विभत्स दृश्य देखिन्छ त्यहाँ,भटक्क चलेर।

                  निर्मला
टक्कर नदेऊ भनेकै थिएँ,हेप्यौ त के गरुँ?
आग्रह गर्दा टाउकोमा मेरो टेक्यौ त के गरुँ?
देख्यौ नि अब,कतिको हुन्छ तागत नारीको
बेइज्जत गर्यौ,सकिनौ गर्न इज्जत नारीको।

गुमाईस् ज्यान,देखाइदिंदा बहुत अहंकार
इज्जत लुटी मनाउन खोज्यौ सुखद शनिबार
कमजोर देख्ने,दुस्साहस गर्यौ,गाउँकी चेलीलाई
चुँडेर पाउमा कुल्चन खोज्यौ चमेली बेलीलाई।

                     दृश्य चित्रण
भीरको मुनि खसेको हुन्छ टाउको गुडेर
रुखमा लाल लागेको हुन्छ बाछिटा उडेर
रगत जम्न लागेको हुन्छ,हावाको चिसोले
हेरिरहन्छ झलल बली सूर्यको दियोले।

अल्मल पर्छे,के गर्ने,कसो,निर्मला एकछिन
लगेर कहाँ बुझाउने शव,हुँदैन यकिन
तथापि उनी सफल हुन्छिन्,इज्जत बचाउन
बिचार गर्छिन्,टाउको लगी कालीलाई चढाउन।

रक्तको टीको,लाउँछे उनले,विजय स्वरुप
आफूलाई ठान्छे,भएर उग्र,कालीको स्वरुप
नसोची धेरै,बनाउँछे खाल्डो,नजिक शवकै
शरीर-शीर पारेर जम्मा,गाड्दछे सं-संगै।

ढुंगा र माटो हालेर पुर्छे,संयमित भएर
कसैले देख्लान्,भनेर हेर्दै,भयभीत भएर
थुपारी पात,कसिंगर,मुढा,नभए जस्तो क्यै
रुखको छिटा,पखालीकन,नगए जस्तो क्यै।

हतार गरी घाँसको भारी मिलाउन थाल्दछे
घटेको घटना दिमागबाट मेटाई फाल्दछे
जस्ताको तस्तै भएर जान्छे घाँस-भारी लिएर
रावणलाई जंगलतिरै दागबत्ती दिएर।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...