Saturday, 15 December 2018

बेरोजगार-२२

                  दृश्य चित्रण
लाग्दछ रामे कर्ममा यता साउदी दमाममा
बिरामी पर्दा ओखती हुन्न,नहुँदा आराममा
अबैधानिक भएको हुँदा जाँदैन बजार
तनखा भने पाएको हुन्छ मासिक हजार।

गर्दछ काम,लुकी र छिपी,लिएर तनाव
बैधानिक जस्तो,सक्दैन हिंड्न,देखाई रवाफ
साहुले पेल्दा लुरुक्क पर्छ,हुँदैन जवाफ
प्रहरीलाई बुझाउँछु भनी दिईन्छ दबाब।

बिरालो सामू मुसाले जस्तो भएर हिंड्दछ
मेशिन संग अठार घण्टा दिनहुुँ भिड्दछ
गरेर काम,तलब पर्खी,महिना कटाउँछ
पसिना संग रियाल साटी रुपैयाँ पठाउँछ।

             रामे
पच्चीस हजार पठाइदिएँ साथीको नामबाट
सम्पर्क गर्न सकिन मैले पुरानो कामबाट
मोबाइल,पैसा नहुँदा खेरी फोन गर्न सकिन
नवीन ठाउँमा सरेको छु म,थोरै छ कठिन।

                 सानी
हरायौ कता,महिनौं सम्म,के पर्यो कारण
लाग्दैछ आज,नजिक-नजिक आउँदैछ मरण
अन्याय गरे,सिमाना नाघे,छिमेकीहरुले
बित्थामा कस्तो आरोप लाए,छिमेकीहरुले।

                   सानी
एउटा कुरा कहनु थियो,सकिन कहन
तपाईं जाँदा,गर्भमा बच्चा गएछ रहन
भएन बात,भएर फोन सम्पर्कविहीन
खेला'को नाठो,आरोप लाए,भैदियो कठिन।

                  रामे
भरोसा गर्छु,विश्वास गर्छु,तिमीलाई सदैव
नभए कोही साथामा हाम्रो,साथमा छ दैव
आरोप मित्थ्या लाएर हुन्न,सबुत चाहिन्छ
नभए गल्ती सहने मुटु मजबुत चाहिन्छ।

                    रामे
नैतिकता,छवि,आनी र बानी चिनेको छु मैले
दशक दुई,साथमा तिम्रो बसेको छु मैले
हिम्मत राख,हुँदैन केही,हेप्दैन कसैले
आधारहीन बोल्दछ जसले,हार्दछ उसैले।

                  सानी
जमिनदार नभए नानी,बित्यास पर्ने हो
निर्मला हुँदा अनेकानेक समस्या टर्ने हो
हिम्मतवाली निस्किन्छे भनी सोचेकै थिईन
अब्बल कुरा गरेको मैले देखेकै थिईन।

                 रामे
चिल्लो छ पात,विरुवा हुने,भनेकै थिएँ नि
नारीहरुको संख्यामा अब्बल गनेकै थिएँ नि
गर्दछु गर्व,उनीको बुबा भएको नाताले
पाइएला देख्न,उन्नति अझै,यी मेरा आँखाले।

                 सानी
समाज सामू,परेको बेला अस्मिता भीरमा
समस्या दूर गरेर छाडिन् म हुँदा पीरमा
द्रोपदीलाई बचाए जस्तो कृष्णले आएर
बचाए तसै जमिनदार-निर्मला मिलेर।

                   रामे
सम्झना मेरो सुनाइदिनु जमिनदारलाई
पठा'को पैसा निकालिदिनु जमिनदारलाई
दोजिया माथि नगर्नु काम,ख्याल गर्नु शरीर
नगर्नु पीर,तोडिन्छ अब अभावको जञ्जीर।

                    सानी
कमा'को होला आफूले समेत नखाई-नखाई
मारेर पेट,रुपियाँ पैसा बचाई-बचाई
बलियो जरा रहनुपर्छ विरुवा बाँच्नलाई
बलियो पुरुष रहनुपर्छ घराना बाँच्नलाई।

                    रामे
दोजिया हुँदा चाहिन्छ तनमा पौष्टिक आहारा
चाहिने थियो,बेलामा यस्तो,पतिको साहारा
लाचार छु म,हालत कुनै,सक्दिन आउन
कष्टको बेला सुखको जल सकिन ल्याउन।

                सानी
आवाज सुने पाउन सक्छु अलौकिक तागत
अरु त छैन,महंगो मेरो भौतिक माग त
समर्थन पाए दुनियाँसंग लड्दछु लडाइँ
जोसुकै आओस् विरुद्ध मेरो,आफन्त पराई।

                 रामे
सक्दिन बोल्न,अधिक अब,समय अभाव
काममा छु म,बोलेर बसे,रिसाउँछ नवाफ
निर्मलालाई माया छ भन्नु,अधिक-अधिक
गरेर यस्तै,भएको देखुँ कर्ममा सरिक।

  

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...