Tuesday, 11 December 2018

बेरोजगार-२१

                दृश्य चित्रण
रामेको गाउँमा,सानीको नाउँमा,होहल्ला छ धेरै
सानीकै कुरा,थाल्दछन् काट्न,पानी र पँधेरै
आरोप झूटो लागेर उनी,विक्षिप्त भैदिन्छिन्
नसक्दा खप्न,अनेक वचन,घरमा गैदिन्छिन्।

सानीको पेट,हुँदैछ ठूलो,दिन र प्रतिदिन
हालतमा यस्तो,नहुँदा रामे,बेहदै तड्पिन्छिन्
यथार्थ कुरो,नसक्दा भन्न,मान्दैछे पछुतो
समाजबाट हेलामा पर्छिन्,भए झैं अछुतो।

धारामा जम्मा भएका हुन्छन्,छिमेकी आइमाई
चल्दछ हल्ला,उनैको बारे,सर्वत्र गुईं-गाईँ
भएकी हुन्छिन् बिचरी सानी,गफको बिषय
सानीको लागि आएको हुन्छ,खराब समय।

                रमा
सुन त संगी,रामेकी जोई,सानीको कुरा हो
कसको नासो बोकेकी होली,होइन बुडाको
विदेश बस्छ उनको पोई,भुँडी हो कसको
समाज सामू कबुल्नुपर्छ,भए नि जसको।

                पातली
कुन चाहिं नाठो खेलाइ हिन्छे,नकचरी मोरीले
अधर्मी हुन सकेकी कति,बाँदर्नी पापीले
छिमेकी गाउँको पुरुषसंग सल्केकी होलिन् की
सम्हाल्नै गाह्रो भएर बैश,जवानी खोलिन् की।

                  संगीता
चाहिने कति,महिना केही,नहुँदा श्रीमान
इज्जतको ख्याल नराख्ने कस्ती रहिछे वैमान
काटेर नाक,कसरी मुख देखाउँली समाजमा
लुकेर बस्दा जायज होला,बडेमान दराजमा।

                  शर्मिला
के सुन्नु पर्यो,सखारै मैले,हरे हे भगवान
भएनन् किन,बेलामै मेरा,बहिरा सग्ला कान
खुर्सानी-नुन,हाल्दिनुपर्ने,त्यसका चाकमा
कसरी लाउन सकेका धब्बा,भएको साखमा?

                 उर्मिला
नकटो लाई,हालत कुनै,नराखौं गाउँमा
ठोकेर किला,सजाय दिउँ,हात र पाउमा
निकाला-गाउँ,गर्नुनै पर्छ,समस्या सुल्झाउन
नक्कलीलाई जसरी हुन्छ,सवक सिकाउन।

                महेश
यसरी हल्ला गरेर पक्कै,समस्या सुल्झिन्न
नसोधेसम्म सानीलाई कुरा,यथार्थ बुझिन्न
बच्चाको बाउ जो भए पनि,उनैले भन्नेछिन्
जान्दैनौं हामी,कसरी कहाँ,उनैले जान्दछिन्।

             दृश्य चित्रण
होहल्ला सुनी,हुँदैछन् जम्मा,मनुका हुलहरु
कोट्याईकन सानीका कमी,कम्जोरी भुलहरु
असल छवि भएका पनि पत्याउन थाल्दछन्
मिलेर सबै,उनैको बारे,राँको नै बाल्दछन्।

निर्मला बाटो हिंडेको बेला छर्लङ्ग सुनिन्छ
वचन तीखो बनेर बल्छी,मुटुमा उनिन्छ
मुश्किल हुन्छ सहन छि-छि,दुरदुर तिरस्कार
चाहिन्न रैछ,रेटिन मन,धारिलो हतियार।

खुरुरु दौडी घरमा जान्छे,आँशुको तरल
नपुग्दै घर,चुँडियो बीचै,पुरानो चप्पल
बिझेर काँडा,रगत बग्छ,कोमल पाउमा
चढे झैं लाग्छ,सफर गर्न,फाटेको नाउमा।

               निर्मला
सुन्दैछु आमा!गाउँमा धेरै नराम्रो खबर
सल्कियौ अरे पुरुषसंग नहुँदा बा घर
थाहा छ मलाई सत्यता के हो,अरुले बुझ्दैनन्
भनेर साँचो,बिचारमा मेरो,कसैले सुन्दैनन्।

                 सानी
भन्नेको मुख सकिन्न टाल्न,भन्न देऊ निर्मला
पहिल्यै देखि सुनेको मैले,झूटको शृङ्खला
कानमा बुजो लाएर बसें कति त ठाउँमा
झगडा गरें बकवास हल्ला,चलाउँदा गाउँमा।

                  निर्मला
सत्यको जीत भएरै छोड्छ,हिम्मत नहार्नु
जसले गर्छ वाहियात हल्ला,बेस्सरी झपार्नु
श्रीमान संगै नहुँदा खेरी हेप्दछन् सबैले
भएको दोषी,प्रमाण पेश गर्दैनन् कसैले।

                    सानी
सकिन्न थुन्न सबैको मुख,कतिको थुन्ने हो
यथार्थ कुरा भनेर यहाँ कसले सुन्ने हो
"देखाऊ नाठो" भनेर भन्दा कसरी देखाउने
रामेकै बच्चा भनेर पनि कसले पत्याउने?

                  निर्मला
सुन्नुनैपर्छ,पत्याउनै पर्छ,सत्यता के भनी
रहस्यमय,नभनी कुरा,खुल्दछ कसरी
हुँदैन छोड्नु,सत्यको बाटो,बिराउनु हुँदैन
नभए गल्ती,निर्भीक भई,डराउनु हुँदैन।

                सानी
समस्या यो छ,बाबालाई पनि यथार्थ था छैन
महिनौं भयो,बाबाको तिम्रो,फोन नै आ छैन
के भयो होला,बिसञ्चो-सञ्चो,बिल्कुल था छैन
याँ बाट गर्दा,स्वीच अफ भन्छ,घण्टी नै गा छैन।

                   निर्मला
कुनै त दिन सम्पर्क होला,निर्धक्क हुनुहोस्
समाजसंग लडाइँ लड्न तयार हुनुहोस्
तपाईंको साथ निर्मला दिन्छे,अरुले नदिए
कसरी लाग्ने रहेछ हेरौं,जहरै नपिए।

                     सानी
तिमी छ्यौ र त पलाउँछ आशा,जाग्दछ हिम्मत
उभिने मन छ,भए नि वैरी,यो सिंङ्गो जगत
छिमेकी देख्दा,हेपेको देख्दा,उम्लिन्छ रगत
हेरौंला हामी वैरीको पनि कति छ तागत।

                  दृश्य चित्रण
गाउँले धेरै भएर जम्मा,आउँछन् घरमा
सज्जन पनि विश्वास गर्छन् हल्लाको भरमा
होहल्ला गर्दै,बोलाई सानी,उभिन्छन् आँगनमा
बादल बोकी निस्किन्छन् सानी मनको गगनमा।

                   रमा
पातकीलाई निकाला गरौं,तुरुन्त गाउँबाट
बोल्नुहोस् सबै,बिचार के छ,आ-आफ्नो ठाउँबाट
गाउँकै इज्जत माटोमा मिल्यो,के गर्ने यसलाई
फैसला गरौं अहिल्यै यहीं,जे गर्ने यसलाई।

                  पातली
पेटको बच्चा कसको हो भन,नढाँटी फटाफट
होइन भने,थाल्नेछन् चुट्न,सबैले भटाभट
शरम-लाज नभनी केही,नाठोलाई खेलायौ
असली रुप उदाङ्गो पार्यौ,नाक नै कटायौ।

                  उर्मिला
झापट दुई नलाएसम्म,बोल्दिनन् यसले
सिस्नु र पानी नलाएसम्म खोल्दिनन् यसले
ए दाजुभाइ!गाउँलेहरु!जगल्टा भुत्ल्याऊ
आफन्त हाम्रा बिगार्न सक्छन्,नौंडाँडा कटाऊ।

                 सानी
छोएर हेर छिसिक्क मात्र,मैले नि जान्या छु
अहिलेसम्म आफन्त आफ्नै,मनले ठान्या छु
बच्चाको बाउ तिमेरु देखाऊ,मलाई नसोध
आरोप लाउने पाखण्डीहरु,झगडा नखोज।

                 शर्मिला
जो चोर हो नि,उसैको ठूलो सुनिन्छ स्वर पनि
गरेर गल्ती शानले बोल्छे,लाग्दैन डर पनि
जोसित सल्क्यौ,मोजमस्ती गर्यौ,तुरुन्त देखाऊ
होइन भने,गाउँलेहरु!मुतुना सेकाऊ।

            सन्जय
देखाऊ केटा,उसैको जिम्मा लगाइदिनेछौं
ऊ संगै हाम्रो यो बस्तीबाट भगाइदिनेछौं
आकाश जाऊ,पातल जाऊ,मतलब भएन
र आजैबाट तँ पापीसंग सम्बन्ध रहेन।

              निर्मला
मलाई सोध्नु,के सोध्नुहुन्छ,आमालाई नसोध्नु
बच्चाको बाउ,बाबा हो मेरै,अरुलाई नखोज्नु
लाग्दैन लाज आरोप लाउन तपाईंहरुलाई?
आ-आफ्ना घर गैदिनुस् बरु,हामीलाई नसताई।

              सन्दीप
तँलाई के था!स्कुलमा जाँदा,घर को आउँछ
आमाको लागि भनेर कोही,कहिले धाउँछ
गोठाला जाँदा गएर कहाँ,कोसंग भेट्ने हो
अतृप्त प्यास,चाहना मनको,कोसंग मेट्ने हो!

                  सानी
परोस् है किरा,मुखमा तेरो,असत्य बोलेर
गिरेर तल,सबैको सामू इज्जत खोलेर
श्रीमान यहाँ,भन्दैमा छैन,नबोल हेपेर
आइमाई छोरी,घरमा दुक्लै,निरीह देखेर।

                 उर्मिला
गएको पोइ,महिनौं भयो,कसरी बच्चा भो?
पत्याउँछ कसले,ढाँटेको कुरा,सहजै कच्चा भो
योसंग सुत्ने क्वै केटा भए,उठाइ देऊ हात
बोल्दिए सत्य नढाँटिकन,गर्दैनौं आघात।

                 बिनोद
बच्चाको बाउ,होइन अरु,सुन्नुहोस् म नै हुँ
ढाँटेको हैन,भन्दैछु सत्य,बुझ्नुहोस् म नै हुँ
गोठाला जाँदा पिरती बस्यो,भैदियो सबैथोक
उनीलाई भेट्दा,मेटिन्थ्यो मेरो,प्यास र सबै भोक।

                सानी
नबोल पाप,जस्तो हो भाइ,इज्जत नफाल
सुकेको दाउरा जसरी मेरो,जिन्दगी नबाल
कसले रच्यो,भयंकर खेल,म बुझ्न सक्दिन
उसको कुरा,सरासर झूट,कबुल्न सक्दिन।

                 रमा
केटाले स्वीकार गरि त सक्यो,बोलेर के फाइदा
उदाङ्गो भयो,देखियो सबै,छोपेर के फाइदा
संयोगबश भेटियो केटा,त्यो तिम्रो भाग्यले
के गर्ने कसो,निर्णय गरौं,बोल्नुहोस् सबले।

                 सानी
कसुर बिना,जिन्दगी बर्बाद गरेर के पाउँछौ
बेकार किन रहर गरी दुश्मन कमाउँछौ
रामेले थाहा पाएको दिन खैरियत रहन्न
सोचेर बोल,अन्याय यहाँ कसैले सहन्न।

                 बिनोद
नभन त्यसो,स्वीकार प्रेम,जीवन्त छ हाम्रो
अर्काकी जोई भएर पनि गर्दिन नराम्रो
जमाना देखि चाहन्थें तिम्लाई,भन्न पो नसक्या
आँटिलो भई मायाको खेत खन्न पो नसक्या।

                  सानी
सकिन बुझ्न,योजना तिम्रो,तिमी के चाहन्छौ
उल्ट्याऊ कुरा,नजरमा मेरो,अझै नि महान हौ
बिकाउ हुनु हुँदैन मान्छे,पछुतो लाग्नेछ
बुद्धिको बिर्को,खुल्नेछ जब,अबेर हुनेछ।

                  सन्जय
केटाले जिम्मा,भैसक्यो लिने,कुरा नै खत्तम
सानीले पनि स्वीकार्नु गल्ती,हुनेछ उत्तम
झगडा गरी,लफडा गरी,समस्या सुल्झिन्न
बच्चाको बाउ बिनोद भयो,यो अब उल्टिन्न।

                   सानी
कृपया बिन्ती!सुन्नुहोस् कुरा,फसाउँदै छ मलाई
योजनाबद्ध खाडल भित्र,पसाउँदै छ मलाई
दुश्मन मेरो को हुन सक्छ,गर्नुछ तलास
समय केही दिनुहोस् मलाई,खेल्नुछ फलास।

                  दृश्य चित्रण
खबर सुनी जमिनदार आउँछ टुप्लुक्क
देखेर भीड,छिचोली आई,रिसाउँछ भुतुक्क
रातो न पिरो,खुर्सानी जस्तो,भएर नियाल्छ
रकम गुम्ने,भयमा हुन्छ,तथापि सम्हाल्छ।

                   जमिनदार
यथार्थ के हो,कसैले देख्यो,प्रमाण,साक्षी छ?
रामेको पनि धारणा बुझौं,त्यही नै काफी छ
निर्णय कच्चा,हुँदैन गर्नु,सोचेर गरौं है
गहिराइ सम्म बुझेर मात्र कदम चालौं है!

                निर्मला
उहाँको कुरा जायज लाग्यो,समर्थन छ मेरो
एकतर्फी रुपमा आमालाई मात्र गरेका छन् खेदो
पुरुष यौटा बोलेर जुट्छ कसरी प्रमाण
सबैले मिली उनीलाई मात्र वचन नहान।

                  उर्मिला
बिनोद लाई इज्जत फाल्ने उदेश्य नहोला
जानेर कोही खाल्डोमा फस्न तयार नहोला
भएरै चक्कर,समाजको डरले स्वीकारे होला त
बोलेर झूट,इज्जत उनको बिगारे होला त?

चलेरै हावा,हल्लिन्छ पात,त्यतिकै हल्लिन
देखेरै हल्ला गरेको होला,त्यतिकै गरिन्न
पानीको माथि ओभानो हुन्न,त्यो बन्न नखोज्नु
पेटमा बच्चै आएको छैन"- यो भन्न नखोज्नु।

                   सानी
पेटमा बच्चा आएको छैन-कसले भनेको?
रामेकै बच्चा भनेर मेरो मनले भनेको
परपुरुष संग त को नै लागेको छ र याँ
निर्दोष फस्ने कानून पनि बनेको छ र काँ?

                  बिनोद
मोज गर्ने बेला,मसंग गरी अहिले सन्किन्छे
कसुर आफ्नो लुकाउन खोज्दै रीसले रन्किन्छे
लागेको निभ्न,चिमले जस्तो,चमचम चम्किन्छे
समाज लाई भ्रममा राख्न ओखती छम्किन्छे।

                    जमिनदार
भेटेर कहाँ,भनेर के-के,प्रेममा परेको
अर्काकी जोइलाई मायाको अत्तर कसरी छरेको
विश्वास कस्तो,दिलाइकन सिमाना तरेको
टाउको कता,पूच्छर कता,फर्केर गरेको?

                    बिनोद
बिषय यस्तो जान्दछन् सबै,सिकाउनु पर्दैन
लाजको कुरो दुनियाँलाई बताउनु पर्दैन
पुरानी हुन् ती,अनुभव छ नि,उनैले सिकाइन्
हुँदैन भनें,जबरजस्ती शरीर बिकाइन्।

                 सानी
बोलेको पाप,बेलामा कुनै,निस्किन्छ बिनोद
भैरहोस् तिम्री श्रीमतीबाट सदैव बिछोड
तँलाई ठूलो सराप दिन्छु,अवश्य लाग्नेछ
श्रीमती तेरो,तँलाई छोडी पोइला भाग्नेछ।

               बिनोद
म हुनेवाला श्रीमान लाई सराप्नु हुँदैन
इज्जतमा तिम्रो,लागियो दाग,कसैले छुँदैन
गर्दैछु दया,समाज सामू,सहर्ष स्वीकारी
होइन भने समाजले तिम्लाई रहन्छन् धिक्कारी।

                 निर्मला
पर्दैन गर्नु,तपाईंको दया,राख्नुहोस् आफैंले
पर्नेछ कीरा,बुढेसकालमा,गरेको पापैले
सुधार बोली,बिग्रेको छैन,बेलैमा सोचेर
समय सके,सत्यको बाटो,पाईन्न खोजेर।

                जमिनदार
बिनोद बाबु!टिक्दैन हेर,झूटको संसार
बितेको छैन,समय अझै,आफूलाई सपार
लालच,लोभ त्यागेर आऊ,सत्यको बाटोमा
होइन भने पछुतो लाग्ला त्यसको साटोमा।

                   रमा
हुर्किंदै रैछ बिनोदको नासो सानीको पेटमा
रहन गयो सायद कुनै प्रेमिल भेटमा
उसको नासो छोडेर जाने कुरा नै आउँदैन
कहाँ छ कानून,जसले आफ्नो,बच्चा नै पाउँदैन?

                  निर्मला
पुरानो युग रहेन अब,उहिल्यै गैसक्यो
प्रविधिबाट अनेक कुरा,था हुने भैसक्यो
अस्पताल गई गरौं न बरु डीएनए परिक्षण
कसले डाक्टर खरिद गर्ला,गरौंला निरिक्षण।

                  जमिनदार
स्याबास नानी!पढेलेखेको फाइदा यही हो
सबैको लागि भरपर्ने खाले काइदा यही हो
जन्मनु पर्छ यसरी अब आधुनिक बिचार
बिज्ञान भन्नु सत्य र तथ्य कुरामो आधार।

                  सानी
उठान भयो,जायज कुरा,हुन्छु म सहमत
मननयोग्य,मलाई लाग्यो,नानीको वकालत
सम्मान गर्छु,बिचारलाई,जमिनदारको
डीएनए जाँच,हुनेछ खेल वार र पारको।

                 रमा
डाक्टर भन्दा बलियो हुन्छ,जनको जनमत
खाएर पैसा,गर्दिन सक्छन्,डाक्टरले करामत
पहुँच होला,यिनका कतै,अस्पतालहरुमा
बनाउन सक्छन् प्रियसी त्यतै,अस्पतालहरुमा।

                    संगीता
खेलाउन पुरुष,माहिर नारी,यसको भर छैन
अस्पताल गई जँचाउनुपर्ने कसैको कर छैन
फैसला गरौं,समाज मिली,यही हो सजिलो
गरौंला पेश,पातकी सामू,नमूना गतिलो।

                   सानी
सम्हाली बोल,नछोड मुख,न फेरि भन्दैछु
आफन्त,इष्ट,साइनो केही,नहेरी भन्दैछु
हजारौंसंग म भिड्न सक्छु,कम्जोर नसम्झ
मेलोमै ठग्ने संगीता जस्ती,कामचोर नसम्झ।

                  रमा
जेसुकै गर,फुर्सद छैन,म हिंडे काममा
सानीका कुरा बेकार लाग्छ,सुकाऊ घाममा
हजारौं पोई बनाइ हिंड,मलाई के मतलब
खटेर हिंड्छ कसले यहाँ,बेकारमा,बेतलब।

                 उर्मिला
म पनि हिंडें,कर्ममा आफ्नै,बहस चलाउनु
कसरी हुन्छ,दिमाग लगाई,सानीलाई गलाउनु
गाउँकै हीतमा बोलेकी थिएँ,लागेछ बेकार
जमिनदार हुनुन्छ जान्ने,गर्नुहोस् केरकार।

                   दृश्य चित्रण
बनाई निहुँ,अनेक थरी,गाउँले छुट्टिन्छन्
जमिनदार नभए सानी,सायद कुट्टिन्छन्
निर्मलालाई क्वार्क्वार्ती हेरी,बिनोद भाग्दछ
हरेश खाई,विफल हुँदा,मार्गमा लाग्दछ।

निर्मलालाई अंगालो हाली चुम्दछिन् सानीले
खेलेको देख्दा महत्वपूर्ण भूमिका नानीले
देखेर दृश्य,जमिनदार हाँस्दछ मुसुक्क
हतार गर्दै लाग्दछ अन्तै,बिर्से झैं भुतुक्क।

               

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...