एउटा सुन्दर घर,
जसको छानो दाजुभाइको ढाडको चर्मले छाएको
छिमेकीहरुको पर्मको दलिनले थामिएको
बाउको ठेलाको थामले थेगिएको
सिकर्मी/डकर्मीहरुको करङले उठेको
बाजेको प्रतिष्ठाको जगमा उभिएको थियो।
प्रकृतिको प्रहारले खुइलिएको फिका रङमाथि
मेरो आँशु र पसिनाको कमेरो छ्यापिएको थियो।
आँगनमा बाजेको रगत बिछ्याइएको थियो
जहाँ प्यासी झारहरु प्यास मेटिरहन्थे
कमिलाहरु मञ्च बनाएर नाच्थे।
ढुंगा-माटोको थुप्रो मात्र थिएन त्यो घर
तीनपुस्ते सुरक्षा-कवच
घाम,पानी र हावाको निर्ममता छेक्ने ढाल थियो।
हाम्रो मात्र थिएन घर
मुसाहरुको पनि थियो
बिरालाहरुको पनि थियो
तिनीहरुको रण-मैदान थियो।
चिर्बिर गर्ने गौंथलीहरुको बासस्थान
भंगेरा-भंगेरीहरुको प्रेम-चौतारी
सारौंहरुको दरबार
संदेशवाहक कागहरुको विश्रामस्थल थियो।
विपन्नताको गुदीलाई सम्पन्नताको पर्दाले ढाकेको थियो
एकदिन हेडसरले उत्सुकता देखाउनुभाथ्यो
"केटा!तेरो घर त निकै ठूलो रहेछ त!"
बिचरा सरलाई आन्तरिक रहस्य के थाहा?
त्यो घर वास्तवमा कमालको पर्दा थियोे
ढिंडो-सिस्नु पकाएको कसैले देखेनन्
खोलेको झोल तुरुक-तुरुक पस्केको चालै पाएनन्
स्योस्युम् र आलु निलेको हामीलाई मात्र थाहा थियो
फल्गीले पेट भरेको छिमेकीले सुइँकोसम्म पाएनन्
इज्जत जोगाउने रक्षक थियो-त्यो घर।
समग्रमा घर-अविस्मरणीय इतिहास
एउटा लामो युग
अनुभव र अनुभूतिहरुको संगालो
सुख-दु:खहरुको साझा दस्तावेज
धेरै घटनाक्रमहरुको प्रत्यक्षदर्शी
अलिखित कथाहरुको संग्रह थियो।
तर
७२ बैशाख १२को महाप्रलय-भुकम्पले
निमेषमै नामेट पार्यो-सबै-सबै
मेटिदियो-इतिहास
पुराना कथाहरु मेटी नयाँ मार्मिक कथा लेखिदियो
एउटा घरानाको मेरुदण्ड र करङ भाँचिए
तहसनहस पारिदियो सुन्दर संसारको दृश्य।
आज म एकान्तमा घोत्लिरहेछु,
मेरो मन र त्यो घर उस्तै-उस्तै लाग्छ
तिमी र भुकम्प उस्तै-उस्तै लाग्छ।
No comments:
Post a Comment