इदको बेला रमझम हुन्छ साउदी अरबमा
रामेको भने चिसिन्छ मन हाले झैं बरफमा
अकामा बिना घुमफिर गर्न भयले सताउँछ
खतरा हुन्न भनेर उसको मित्रले बताउँछ।
नेपालीहरु भएर जम्मा,रमाइलो गर्दछन्
आपसमा एक-दु:ख र सुख साटासाट गर्दछन्
कहिल्यै छुट्टी नपाउनेहरु पाएर मख्ख छन्
मिलेर साथी,भोजन मीठो खाएर मख्ख छन्।
कम्पनी यस्तो,मालिक यस्तो भनेर छाँट्दैछन्
डरले भन्न नसक्ने कुरा मिलेर काट्दैछन्
कहिले हाँस्छन्,कहिले रुन्छन्,भावुक बनेर
मनका पीडा,कथा र व्यथा निर्धक्क भनेर।
रामेले पनि कारुणिक कथा सर्सर्ती सुनाउँछ
हाँसेको मान्छे पलमा एकै,धर्धरी रुवाउँछ
अरुको व्यथा होइन केही रामेको दाँजोमा
विह्वल हुन्छन् नेपालीहरु,कहानी साँचोमा।
बाबुराम
आफूले पनि भोगियो साथी!प्रशस्त चोटहरु
मुस्कान बोकी सकेनन् फुल्न निर्दोष ओठहरु
रामेको कथा सुनेर गर्छु असीम सलाम
सहयोही हात बढाऔं भन्छु-नेपाली तमाम।
मानबहादुर
कम्पनी ठिकै परेर दु:ख भएन धेरै त
कमाई केही,समय खासै गएन खेरै त
साथीको कुरा सुनेर आज विक्षिप्त भएँ म
कुशल थिएँ,अचानक आज सिकिस्त भएँ म।
दृश्य चित्रण
उपस्थित प्रायः मिलेर थाल्छन् नगद उठाउन
उद्घोष हुन्छ,पाएका दु:ख,रामेलाई सघाउन
कसैले सय,पचास,दश मर्जीले सघाउँछन्
अचम्मै हुन्छ,हजार तीन,सजिलै उठाउँछन्।
पासाङ
सकेनौं धेरै मद्दत गर्न,यति नै राख्नुहोस्
समय मिलाई परिवार भेट्न स्वदेश लाग्नुहोस्
गरियो यति,नेपाली हामी भएको नाताले
सकेको गर्नु उत्तम हुन्छ,एकलाई अर्काले।
रामे
पर्दैन पैसा,सद्भाव दिए,काफी छ मलाई
ऋणको भारी,सक्दिन बोक्न,रकम उठाई
दिएमा माया,बोलेमा मीठो,अरु क्यै चाहिन्न
उदार बनी,लज्जित अति,बनाउन पाईन्न।
पाल्देन
परेको बेला मद्दत लिनु,दिनु नि पर्दछ
तिमीलाई आज,समस्या भोलि,अरुलाई पर्दछ
अरुलाई परे तिमीले पनि मद्दत गर्दिनु
संसारै भरी मायाको बीज सबैले छर्दिनु।
रामे
उदार होलान् नेपाली यति,सोचेकै थिईन
अहिलेसम्म असल बाटो रोजेकै थिईन
अन्तर-आँखा उघार्यो मेरो,आजको भेटले
सिकायो धेरै,समय अनि खाली यो पेटले।
दृश्य चित्रण
लिएर पैसा,पठाइदिन्छ सानीको खातामा
दुर्भाग्यबश पक्राउ पर्छ फर्किंदा बाटामा
नहुँदा खेरी अकामा भिसा,हालिन्छ जेलमा
टिकट काट्ने रकम हुन्छ उसको जेपमा।
भागेको कारण सोधपुछ गरी पुलिसले सताउँछ
केही दिन राखी,टिकट काटी नेपाल पठाउँछ
नबोकी झोला,सामान केही,पुग्दछ नेपाल
घरमा पुग्छ,रित्तो र एक्लै,भएर बेहाल।
No comments:
Post a Comment