Tuesday, 25 December 2018

बेरोजगार-२८

                दृश्य चित्रण
महिनौं पश्चात् मुश्किल साथ भेटेर जहान
बिर्सेर दु:ख मनमा फुट्छ खुशीको मुहान
हर्षको किरण झरेर त्यहाँ बल्दछ झुपडी
शब्दमा बयान,सक्दैन गर्न,कविले त्यो घडी।

भएर रित्तो,भौतिक सामान नहुँदा झोलामा
अथाह हुन्छ,अपार हुन्छ,प्रणय हियामा
मिलन हुँदा परिवारसंग अभाव हुँदैन
मायाले छुन्छ मुटुमा जब केहीले छुँदैन।

लाग्दछ भव्य,पर्यावरण वसन्त आए झैं
मरुभूमिको ती प्यासी रुखले सिँचाइ पाए झैं
हावाको धून लाग्दछ मीठो,सरगम छाए झैं
कलाकारले भरेर राग,सप्तक गाए झैं।

रोएको शैल हाँस्दछ त्यसै उन्मत्त भएर
ढुकुर नाच्छन् कोइली संगै मिठास गाएर
उराठ पाखा ओढेर घाँस,फेर्दछ काँचुली
प्रकृतिसंग सम्बन्धित केही हुँदैन मामुली।

राङ्छ्यावा भीर उठेको जस्तो उमंग बोकेर
चेर्दुङ पनि ब्युँझेको जस्तो झसङ्ग भएर
यलुङ खोला,बगेको मनको तरंग बोकेर
लगाउँ जस्तो मितेरी साइनो एक्कासी रोकेर।

ओख्रेटारले पर्खेको जस्तो प्रणय लिएर
भै लम्पसार,अंगालुँ जस्तो,चुम्बन दिएर
झिम्क्याउँछ आँखा ताँबेले पनि पस्केर मुस्कान
शैलुङ डाँडा विभोर हुन्छ,भए नि चट्टान।

क्याङ्सिर हेर्छ तालको थोरै सिंगान चुहाई
कागका हुल सलाम ठोक्छन् तालमा नुहाई
दूधकुण्ड रोक्न सक्दैन हाँसो,देखेर सारथी
यलुङ स्कुल हल्लाउँछ हात,देखाई प्रगति।

गुनासो पोख्छ काम्सेले थोरै सहँदा बिछोड
उचाली दिन्छन् काँधमा बोकी बाटाका ती मोड
पातका ताली बजाई रम्छन् उत्तीसघारीका
सुसेली हाली बोलाउँछन् डाली,ती सल्लाघारीका।

"हातमा घोच्छौं" भनेर नारा लाउँछन् खस्रुले
बादल-कालो दुखेसो गर्छ भिजाई अश्रुले
अंगालो हाल्न आह्वान गर्छन् ती बालीनालीले
मृग र स्याल आरिस गर्छन् घोचेर गालीले।

घरको छानो हेरिरहेछ फेरिने आशले
आँगनको ध्वजा भन्दैछ केही मसिनो सासले
दिंदैछ साथ धुवाँले पनि आँखामा बसेर
खुशीको आँशु भिजाउँछ जमिन,तुरुक्क खसेर।

कुकुर-काले स्वागत गर्छ पूच्छर हल्लाई
गाई र भैंसी सत्कार गर्छन् बाँबाँबाँ कराई
हर्षको भाषा बोल्दछन् बाख्रा म्याँम्याँम्याँ गरेर
कुसुमहरु निभाउँछन् धर्म,सुवास छरेर।

अंकमाल गरी टक्र्याउँछे माया,जहान सानीले
विलखबन्द अवस्था बन्छ,लजाउने बानीले
प्रणाम गरी निर्मला छोरी उभिन्छे छेवैमा
तरंग न्यानो पठाउँछ छोरो,बाबाको आँखैमा।

विपन्न घर सम्पन्न हुन्छ,अभ्यन्तर दृष्टिले
अचम्म लाग्दो बनायो संवेग बनाउँदा सृष्टिले
अरुले हेर्दा देखिन्छ फिका,उसको घरभित्र
उसले हेर्दा देखिन्छ त्यहीं इन्द्रेणी झैं चित्र।

झुपडी पनि मन्दिर जस्तै भैदिन्छ पवित्र
रहन्छन् जहाँ निर्दोष मन,असल चरित्र
त्यो घर भित्र पाठशाला जस्तै ज्ञानको छ खानी
भोगाइ संगै पाईन्छ त्यहाँ अजीव कहानी।

खुशीको लागि चाहिन्न भौतिक साधन सम्पन्न
सन्तुष्टि बिना महल पनि महल रहन्न
नदिने रै'छ सुख र खुशी,पैसाको नोटले
घटाउ हैन,बन्दछ पूर्ण,मनको जोडले।

                 सानी
आउनुभयो,सम्पन्न भएँ,चाहिन्न सम्पत्ति
सम्पत्ति भन्दा माथिल्लो स्तर रहन्छ दम्पति
बसेर संगै,पिउँदा पानी,भैदिन्छ अमृत
नहुनु दूर,आइन्दा फेरि,रहनु म सित।

                  रामे
जिन्दगी थियो,बेलून जस्तै,हावाले फुकेको
बिछोड भई बाध्यताबश,धेरै छु चुकेको
फुटे नि बेलून,गए नि हावा,ढुक्कले निदाउँछु
नगरी वास्ता,ठेसको बारे,पाइला बढाउँछु।

                निर्मला
गएर टाढा,खुट्टामा आफ्नो,उभिने भएँ म
एकलै पनि लडाइँ लड्न सकिने भएँ म
तपाईंको बुइ चढेको भए म यति हुन्नथें
स्वतन्त्रपूर्वक दौडिने बाटो यसरी चुन्नथें।

                सानी
चनाखो हुन,सतर्क बन्न,सिकायो छलले
केही न केही देखायो बाटो,हरेक पलले
आफन्त को हुन्,पराई को हुन्,समयले देखायो
पानामा मनको,हजारौं,लाखौं,सन्देश लेखायो।

                  रामे
बिदेश हैन,विश्वविद्यालय गएको रहेछु
विद्यावारिधी जाँचमा पास भएको रहेछु
अमूल्य शिक्षा प्रयोग गरी फलाउँछु फलहरु
बिर्सन कहाँ सकिन्छ बरै,धारिला पलहरु!

               सानी
भेटेर धेरै कहन्छु भन्थ्यौ,सुन्न छु आतुर
के कस्तोबाट गुज्रनु पर्यो,गएर लाहुर
हामीले पनि पाउँथ्यौं ज्ञान,बिस्तार लगाए
खाएर चाख्थ्यौं,भोगाइको सत्य,खिचडी पकाए।

               रामे
सक्दछ्यौ भने पढेर हेर आँखाको पुस्तकमा
अनेकौं स्वादको लिखित व्यथा,पटक-पटकमा
सक्दैनौ भने रहस्यहरु हुन देऊ रहस्य
म मर्ने बेला साथमा भए भन्नेछु अवश्य।

                निर्मला
भन्नुभो यत्ति,छर्लङ्ग भयो,सुनाउनु पर्दैन
आँ गर्दा पनि अलङ्कार बुझ्छु,खुलाउनु पर्दैन
थकाइ मार्नुस्,बटुल्ने ज्ञान,यो मेरो पाली हो
भरियो माना,भरिने बेला,हो अब पाथीको।

                सानी
चाहनुहुन्न,बनेको दु:खी,म कुरो बुझ्दछु
तपाईंको दु:ख सुनेर सायद निथ्रुक्कै रुझ्दछु
जहानको लागि हाम्फाल्नुभयो दु:खको सागरमा
लौ अब खोजौं,नजिकै यतै,सन्तुष्टि गागरमा।

            

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...