Saturday, 8 December 2018

सीमान्तकृत कविता

त्यहाँको जस्तो शित्तल पवनले कहाँ चुम्छ र
यहाँ त रेगिस्तानको तातो हावाले झापट हान्छ
शैलको दृश्य आएर थपक्क आँखामा बस्छ-त्यहाँ
यहाँको त दृश्यले पनि बिझाउँछ।

त्यहाँको जस्तो उर्वरभूमि हैन
यहाँ त लेकमा फल्ने फापर झैं
चाउरिएका वेदनाहरु मात्र फल्छन्
दु:ख,कष्टका फलहरु मात्र फल्छन्
त्यहाँ जस्तो डलर फल्दैन
बालुवा चालेर निफन्नुपर्छ सूक्ष्म फिल्सहरु!

त्यहाँ जस्ता प्रेमका मीठा,रसिला स्याउ,आँप,नासपातीहरु
अहँ,फल्दै-फल्दैनन्
तिरस्कारका अमिला निबुवा र अंगुरहरु मात्र फल्छन्
फुल्दैनन् प्रेमका सुवासिला फूलहरु।

यहाँको उष्ण हावापानीले
मुटुलाई पनि बञ्जर बनाइदिएको छ
फस्टाउँदैनन् यहाँ सद्भावका बालीनालीहरु
टुसाउँदैनन् यहाँ सहानुभूतिका भावहरु
पलाउँदैनन् यहाँ भातृत्वका पल्लवीहरु।

यहाँको मनको आकाशबाट
मायाका पंक्षीहरु हृदयघात भएर फुत्रुक-फुत्रुक खस्छन्।

एउटा बिडम्बना!
यस्तो प्रचण्ड भूमिमा पनि
मान्छेको मन कसरी भयो होला-हिउँ झैं चिसो?
त्यही मनले बनाएको छ मान्छेलाई फ्रीजको ब्वाइलर।

त्यहाँको जस्तो कलकल पानी कहाँ पाईन्छ र
लवण मिश्रित नुनिलो पानीले
केश जस्तै झारिदिन्छ जवानीको सिंगो युग
मस्तिष्कलाई आक्रमण गरिरहन्छ
स्मरणशक्तिलाई अतिक्रमण गरिरहन्छ
गिदीको जमिनलाई उस्तै अयोग्य बनाउँछ
उम्रन सक्दैनन् यहाँ अब्बल शब्दहरु
केवल लुला-लंगडा मात्र उम्रन्छन्
अपूर्ण भावहरुले मात्र डेरा जमाउँछन्
दिमाग पनि सहारा जस्तै मरुस्थल हुन्छ।

कतै झुक्किएर कुना-कन्दरामा लुकीछिपी उम्रे
हेय विचार/मानसिकताका अम्ल-बर्षाले
त्यो पनि डामिदिन्छ।

त्यस्तै मरुस्थलले जन्माएको लुलो कविता
म एउटा अपांग कविता
कसले मनपराउँछ र मलाई ?
अझ भनौं-म एउटा सीमान्तकृत कविता।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...