आहा!अनारका दानाहरु!
रसिला/पोटिला/कसिला दानाहरु!
चाकामा माहुरी मिलेर बसे झैं
तल-माथि अटसमटस मिलेर बसेका छन्
अनार भित्रका अनारहरु!
दबिएको आभास छैन
च्यापिएको भान छैन
छुट्टिएर बस्नुमा भन्दा
जुटिएर बस्नुमा आनन्द छ यिनीहरुलाई!
कुनै छनक देखिन्न असमानताको
आवाज उठ्दैन त्यहाँ -समानताको
सुनिन्न कुनै शब्द-विभेद/छुवाछूतको
उदघोष हुँदैन नारा-संघर्षको।
उसो त यिनीहरू पनि समूह-समूहमा छन्
ठाउँ-ठाउँमा झिल्लीदार पर्दाहरुले छुटिएका छन्
कतै हिमाल जस्ता भागहरु
कतै पहाड जस्ता भिरालाहरु
कतै तराइ जस्ता फाँटहरु लमतन्न सुतिरहेका
यद्यपि सिंगो अनार भित्र अटाएका छन्
सहिष्णुताको नमूना पेश गरिरहेका छन्।
अनायासै आज
दानामा एउटा झुसिलकिरा देखिएको छ
बाहिरबाट भित्रतिर खान थालेको छ
तोडिंदै छन् ती पातला पर्दाहरु
खाइरहेको छ-भित्रका दानाहरु!
एउटा हुंकार....
सुन,फेदका दानाहरु!
तिमीहरू शोषित/पीडित/दमित छौ
माथिल्लाहरुले तिमीहरूलाई दबाइरहेका छन्
अब तिमीहरुले विद्रोह गर्नुपर्छ!
प्रिय दानाहरु!
म तिमीहरुकै रक्षार्थ खटिएको छु
मलाई विश्वास गर
म तिमीहरूको भलो चाहन्छु
मलाई माया गर
म पूतली भएको दिन
तिमीहरुको जीवन सुन्दर बनाइदिनेछु।
No comments:
Post a Comment