Thursday, 20 December 2018

बेरोजगार-२५

                 दृश्य चित्रण
वक्तृत्वकला प्रतियोगिता हुँदैछ स्कुलमा
बक्ता र श्रोता सरिक हुन्छन् विद्यार्थी हुलमा
निर्मला पनि लिंदैछे भाग राख्नलाई मन्तव्य
विचार राखी सम्झाउन खोज्छे नारीको गन्तव्य।

                निर्मला
अबला नारी होइनौं हामी,तागत छ हामीमा
पुरुष जस्तै तातो र रातो रगत छ हामीमा
दिमाग उस्तै प्रयोग गर्न सक्षम हामी छौं
शिखर चुमी सफलताको,उत्तिकै नामी छौं।

चुल्हो र चौका सीमित छैन,कलम चलाउँछौं
आत्मनिर्भर,भएर योग्य,ईलम चलाउँछौं
आवश्यकता परेको बेला खुकुरी नचाउँछौं
बलातकारी परेमा आई,इज्जत बचाउँछौं।

बुहारी,सासु,बहिनी,दिदी र आमा पनि हौं
चाहिने बेला ममता दिन्छौं,कहिले काली हौं
सागर हामी,शालीन हुन्छौं,कोमल,सुन्दर
विशाल हाम्रो,अटाउँछ मनमा,अनन्त सगर।

चाहेमा राख्न सक्दछौं हामी मुट्ठीमा संसार
धैर्यता राखी सक्दछौं तर्न दु:खको जंघार
कमजोर ठान्ने धृष्टता गर्नु हुँदैन कसैले
जीवन दिने महिमा उनको जान्दछन् सबैले।

दयालु मात्र नभई अब हुनुछ कठोर
देखाई दिउँ नारीले अब सामर्थ्य अघोर
स्वयंले गरौं,अरुले हैन,जीवनको निर्णय
अवस्था हेरी प्रयोग गरौं घृणा र प्रणय।

निर्मूल पारौं समाजबाट लैंगिक विभेद
क्षेत्रमा कुनै,नारीलाई प्रवेश,नगरौं निषेध
पुरुष-नारी परिपूरक,समाज निर्माणमा
लेखेर मात्र हुँदैन पूर्ण समान विधानमा।

इज्जत गरौं,एकअर्काको,उतारौं व्यवहारमा
परिवर्तन मुखले हुन्न,घुसाऔं बिचारमा
मिलेर लागे अवश्य बन्छ सभ्य यो समाज
नैतिकता बढे,अपराध घट्छ,लगाऔं अन्दाज।

पुरुष कोही डढेलो लाउँछन् नारीको जीवनमा
फूलको बैश च्यातेर फाल्छन् स्वार्थको आँगनमा
भूमरीभित्र खसालिदिन्छन् धकेली-धकेली
अँधेरी भित्र घचेटिदिन्छन्,हुँदैन उजेली।

रावणहरु हरण गर्छन् आधुनिक सीताका
ती रामहरु लाचार बन्छन्,शव झैं चिताका
अस्मिता लुट्ने कौरव हुन्छन्,बाध्य छन् द्रोपदी
पाण्डपहरु रमिता हेर्छन् बुझाई श्रीमती।

कृष्णको भेष धारण गरी फसाउँछन् चेलीलाई
वेश्यालयमा लिएर लाखौं,बुझाउँछन् चेलीलाई
रोगको पोका लिएर फिर्छन् बिचरी अबला
समाज भित्र दिंदैनन् छिर्न,बजाउँछन् तबला।

पुस्तक मात्र नपढौं साथी,दिमाग पढौं है
मुहार मात्र नपढी मनको बिज्ञान पढौं है
समय भन्दा अगाडी सोचौं,चलाख बनेर
उपचार गर्न आउन सक्छन् पागल भएर।

इज्जत लुट्नु अगावै कतै लुट्लान् है तिम्रो मन
बसेर परै सक्दछन् नाप्न,हियाको स्पन्दन
प्रेमको चारो हालेर पार्लान् स्वार्थको जालमा
पौडिन साह्रै मुश्किल हुन्छ,कलुषित छालमा।

श्रीमतीबाट पुरुष पनि पीडित भा'का छन्
नाबालक छोडी पराइसंग भागेर गा'का छन्
परन्तु कुनै नारीले गर्न सक्दैनन् बलात्कार
गरेको दिन हुनेछ पक्कै धर्तीमा चमत्कार।

इज्जत दिनु,इज्जत लिनु,यही मुल मन्त्र हो
महिला-पुरुष नभए पीडित,उत्तम तन्त्र हो
विसंगतिको काटेर जरा,विकृति हटाऔं
एकले जाने असल कुरा अर्कोलाई बताऔं।

घुमफिर गर्छन् अचेल मान्छे मुखौटा लगाई
बोकेरै हिंड्छन् गोजीमा सदा,विम्बको सलाई
भेटिए मौका,बर्बाद पार्छन्,कोरेर जलाई
विपरीत हुन्छन् उनीहरुको भनाइ-गराई।

बिषालु हुन्छ,मान्छेको बोली,सर्पको बिष भन्दा
भयानक हुन्छ मान्छेको रिस,बाघको रिस भन्दा
तेजाव पनि मिश्रित हुन्छ मिठास बोलीमा
दृष्टीमा हुन्छ अजीव शक्ति,जसरी गोलीमा।

बदल्न रङ,छेपारोलाई मान्छेले जित्दछन्
फैलाउन भ्रम,अँध्यारोलाई मान्छेले जित्दछन्
कमजोर ठाउँ,लगाई पत्ता,प्रहार गर्दछन्
झूटको खेती सपार्न मान्छे बिषादी छर्दछन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...