Saturday, 8 December 2018

बेरोजगार-२०

           दृश्य चित्रण
गोधुली साँझ,लगाउन थाल्छ,सुनौलो पहिरन
पहेंलो किरण,थाल्दछ हुन,आँखामा आवर्तन
पशुले पनि चढाउन थाल्छ घाँसको आवेदन
चराचुरुङ्गी संकेत दिंदै बासमा फर्कन्छन्।

               रामे
मालिक वैरी भएर के भो,पशु छन् निर्दोष
दिएरै राख्छु दाना र पानी,आखिर जे होस
आँखाले देख्दा कसैको कष्ट सहन सक्दिन
भोकमा भोजन नदिईकन रहन सक्दिन।

आवेगमा आई बदल्न कवै सक्दिन चरित्र
धनले हुन्न,मनुष्य हुन्छ,मनले दरिद्र
सक्दछ हुन,पशुले मलाई सम्झेको मालिक
सक्दिन हुन,यिनका लागि कठोर सालिक।

म भए सम्म टनक्क खाऊ,गएसी जे गर
म गए पछि नदेऊ गाली,भरमा नपर
निस्किनु पर्छ अवश्य मैले,भविष्य बनाउन
बसेर यहाँ,सकिन मैले,रियाल कमाउन।

बसौला भोकै,मरौला पक्कै,मालिक नआए
पाउनुपर्ने दाना र पानी बेलामा नपाए
नलागोस् पाप,मलाई कतै,छोडेर जाँदैमा
थिईन जाने,केवल चोट सान्तिनो खाँदैमा।

आजको भेट अन्तिम भेट भनेर सम्झनु
बसेर हुन्न,गन्तव्य तिर,पर्दछ लम्कनु
दिनानुदिन सहन सक्छ कसले यातना
भएमा भूल,मबाट क्षमा गर्दछु याचना।

फरक ठाउँ बसौंला हामी,धरा हो एउटै
जसरी धान झुलेका हुन्छन्,गरा हो एउटै
तिमी र मैले फेरिने सास एउटै हो सम्झ
दूरीले दूर भएर पनि बिरानो नसम्झ।

एउटा साथी मरेको कारण वियोगमा छँदैछौ
मालिक लोभी परेको कारण बिजोगमा छँदैछौ
निर्दयी भई,नभन्नु गयो,दु:खमा छोडेर
बाध्यताबश जानुनैपर्छ पाइला मोडेर।

पशुको दु:ख,वेदनाहरु बुझेको छु मैले
प्रभावकारी बनाउन जीवन,सोचेको छु मैले
हेरचाह गरें सकेसम्म त,बैज्ञानिक ढंगले
चराएँ धेरै,नथाकेसम्म,यी मेरा अंगले।

सकिन मैले,हरेक पल,सहन अन्याय
गुहार माग्दा कसले सुने दु:खीको आवाज?
सफर गर्नु पर्दछ सास नजानु अगावै
हरामी मनु गोठमा पुगी नसक्नु अगावै।

समय केही,दु:खमा हुन्छौ,आउनेछ सेवक
नर्कमा बसी सेवामा सदा खट्नेछ अथक
नेपाली कोही फस्नेछ फेरि निर्जन दलदलमा
कहानी उस्तै कोरिन्छ फेरि पीडाको बादलमा।

पिंजडा भित्र कुनै न कुनै जनावर हुनेछ
आँशुको वाष्प उडेर गई गगन छुनेछ
फुटेर घोक्रो रोएर पनि कसले सुन्नेछ
कमजोर मुटु भएको परे मृत्युनै चुन्नेछ।

आँखाको पानी सकिन्छ यहाँ,अधुरो कहानी
बोकेर आ'को सुनौलो स्वप्न हुनेछन् खरानी
उडान भरी आएको लक्ष्य दुर्घटना हुनेछ
जिजीविषाको अवशेष मात्र नेपाल पुग्नेछ।

बलियो मान्छे आएर पनि हुनेछ निरीह
अमीर हुन्न,गरीब माथि हुनेछ गरीब
बन्धक होला अपराधी जस्तै,उसैको खर्चमा
छोडेर स्वर्ग,पुग्नेछ कोही अवश्य नर्कमा।

पर्नेछ हात,गोमन भन्दा बिषालु मान्छेको
हुनेछ अभाव,हमेसा यहाँ,दयालु मान्छेको
आउनेछ याद हरेक पल,मायालु मान्छेको
हुनेछ साथ,निर्दयी अनि शंकालु मान्छेको।

डढ्नेछ आशा,जल्नेछ मुटु,समयको आगोमा
घाइते भई पुग्नेछ मन स्वदेशी माटोमा
जाडोमा हिउँझैं,जम्नेछ टम्म,नहुँदा न्यानोपन
गर्मीमा घिउझै, पग्लिन्छ होला,रोकेर त्यो धड्कन।

                दृश्य
हातमा पानी,काँधमा झोला बोकेर निस्कन्छ
छुट्टिने बेला जनावरलाई मुस्कान पस्कन्छ
रामेलाई ट्वाल्ल नियाली बस्छन् उत्सुक भएर
हल्लाउँछन् पूच्छर,कान र ढाड नजिक गएर।

लाग्दोरहेछ पशुलाई पनि उसले पालेको
तिनले केही भनेका होलान्,बुझिन्न बोलेको
न बुझ्न सक्छ,देखाउन प्रेम,हृदय खोलेको
आँशुमा होला तिनका पनि वेदना घोलेको।

बढाउँदै पाइला,फर्केर हेर्दै,पर्दछ ओझेल
स्वतन्त्र हुन्छ,हिम्मत राखी,तोडेर ऊ जेल
डरलाई जिती अथाह यौटा सागरमा हाम्फाल्छ
पौडिने क्रममा दिमाग चाली शरीर सम्हाल्छ।

मालिकसंग नोकर हुन्छ,बिच्छेद सम्बन्ध
आभास हुन्छ,रहेछ आफ्नो मनमा सुगन्ध
धमिलो पानी छोडेर माछा सङ्लोमा पुगे झैं
अज्ञानी मनु अज्ञानता तोडी अपार बुझे झैं।

                 दृश्य चित्रण
आकाशमा हुन्छ,आजको खुट्टा,जमिनमा हुँदैन
प्रकाश जस्तो दौडिन्छ मन,अधिनमा हुँदैन
पुलकित हुँदै पुग्दछ रामे प्रदीपको गोठमा
आँखामा हर्ष,अघोर बोकी,मुस्कान ओठमा।

                 प्रदीप
पर्खियो धेरै,बल्ल पो आयौ,ल भेट ड्राइभर
उसैले काममा लगाउँछ दाइ!उसैको भर पर
भागेको थियो पहिले एक नेपाली युवक
भन्दैछ केटो,अहिले राम्रो,आउँछ तलब।

                    रामे
विश्वासी मान्छे,नहोला कतै,रहेछ पठान
पुर्याए भने ठाउँमा यसले ठानुँला महान
विश्वासघात गरिहालेमा हुरुक्कै मर्नेछु
घुमी र फिरी साहुकै हातमा सायद पर्नेछु।

                     प्रदीप
फसाउने काम गर्दैन यसले,रकम लिएर
उम्केला कहाँ गद्दार भई धोका नै दिएर
नि:शब्द भई पछाडी लाग,मुख नै सिएर
मद्दत गर्छ यसले पक्का आफू नै खिएर।

                  रामे
सत्यता होला,कुरामा साँच्चै,भाइले भनेको
नहोला सायद गद्दारी हुन,खाडल खनेको
पैसाकै लागि,यसले होला,सघाउन खोजेको
खतरा माथि जिन्दगी आफ्नो लगाउन खोजेको।

                   प्रदीप
गर्दैनन् काम,अचेल यहाँ,सित्तैमा कसैले
खतरा मोल्ने,रियाल केही,पाउने आशैले
नसोच धेरै,खुरुक्क जाऊ,अबेर भैसक्यो
नगर्दा विश्वास,तिमीले उसको,तर्केर गैसक्यो।

                  रामे
नदिनु जान,फर्काउनु झट्टै,म जान चाहन्छु
भाइको ऋण वाध्यताबश म लान चाहन्छु
मसंगै हुन्छ हमेसा तिम्रो फोनको नम्बर
बुझेर सबै कामको बारे गर्नेछु खबर।

                 प्रदीप
सकाका सम्म कारमा लग्छ,त्यसपछि ट्रेलरमा
थपक्क बस्नु,जे भन्छ उसले,त्यै गरी ट्रेलरमा
समायो भने छाडिने छैन,नहुँदा अकामा
सजिलै चिन्छन्,लागेको भाग्न,हेरेर आँखामा।

                  रामे
म जान्छु भाइ!मौकामा फेरि अवश्य भेटौंला
भेटेर कतै,दु:खको जरा,गफैले रेटौंला
लाएको गुन कसरी बिर्सुँ,अवश्य तिर्नेछु
आशा छ मलाई,निराशाहरु जसरी चिर्नेछु।

                     प्रदीप
गरियो जम्मा,सारथीबाट,रियाल छ सय
समस्यासंग जुझेर हुनु,तिमीले बिजय
बनियो सेतु,लगाउन पार,कष्टको सागर
सम्झेर घर,साहुको ऋण,चलाऊ जाँगर।

                       रामे
कृतज्ञ छु म सम्पूर्ण प्रति,मनमा राख्नेछु
सबैका लागि देवतासंग उन्नति माग्नेछु
भैरहोस् भलो,नआओस् दु:ख,भएर प्रगति
सुखमा हुनु,हाँसेर जिउनु,सकेर दुर्गति।

                  प्रदीप
शुभकामना!शुभ होस् यात्रा,हटेर अड्चन
अगाडि बढ्नु,गरेर यसै,तोडेर बन्धन
छाइनैरहोस् जीवनमा तिम्रो इन्द्रेणी हर्षको
हटेर जाओस् बादल कालो,भीषण दु:खको।

              दृश्य चित्रण
हार्दिकतापूर्वक बिदाइ गरी हुइँकिन्छ कारमा
उड्दछ मन,भएर चङ्गा,नहुँदा मारमा
खाएका चोट भुलिन्छन् सबै,निर्वाध पलमा
आनन्द हुन्छ,अनन्त सम्म,समस्या हलमा।

पिंजडाबाट फुत्केर चरी गगनमा उडे झैं
घरबाट निस्की भान्टाङभुन्टुङ आँगनमा खेले झैं
सुखको झर्ना भरिए जस्तो खुशीको गाग्रीमा
पवित्र हुन,नुहाए जस्तो,गंगाको पानीमा।

चढे झैं पातमा,खोलामा फस्दा,कमजोर कमिला
पाए झैं ओत,असिना पर्दा,पालुवा कोपिला
फुत्किए जस्तो,नदीको माछा,माझीको जालबाट
उम्किए जस्तो,बिरामी कोही,यमको कालबाट।

निर्दोष मनले मनाउन थाल्छ,विजय-उत्सव
कौरव संग लडाइँ जित्दा जसरी पाण्डप
अदालत-भाग्य,समय यौटा,रहेछ न्यायाधीश
हिम्मत यौटा,रहेछ वकिल,लड्दछ बिना फीस।

हजारौं मार्ग देखाउने गर्छ एउटै इच्छाले
हजारौं युग जिउन सक्छ एउटै आशाले
हजारौं भाषा सिकाउन सक्छ मनको भाषाले
हजारौं दृश्य देखाउन सक्छ मनको आँखाले।

निराशाहरु निस्तेज पार्दै चम्किन्छ हृदय
अँध्यारो भित्र उज्यालो खोज्दै लम्किन्छ नयन
बढ्दछन् पाइला,गतिमा तेज,कुल्चेर अड्चन
अवरोध गर्ने तत्वलाई दिन्छ चड्कनै चड्कन।

सकाका पुगी रोकिन्छ कार,चल्दछ ट्रेलर
ट्रान्जिट भई दमाम जान,चढ्दछ ट्रेलर
ओढेर बोरा सामानसंगै बस्दछ पछाडी
पठान भने चलाउँछ गाडी,बसेर अगाडी।

पुरानो बोरा,सामानको गन्ध,गन्हाइरहन्छ
आएर बान्ता,तड्पाइदिन्छ,सताइरहन्छ
चेकपोस्ट आउँछ,गर्दछन् जाँच,प्रहरी जवानले
भाग्यले साथ दिएर होला,छेकिन्छ सामानले।

धड्कन तेज भएको हुन्छ,डरले रामेको
आउँदा खोकी मुश्किलसित,हुन्छ नि थामेको
फुट्ला की भनी धड्केको मुटु,हातले छामेको
नजिक आई प्रहरी बोल्दा,थरर कामेको।

खुशीको सीमा रहन्न रामे पक्राउ नपर्दा
बचेको हुन्छ,अल्छेले जाँच राम्ररी नगर्दा
बोराको पर्दा उठाई हेर्छ मास्तिर गगनमा
मध्यको रात सुतेको हुन्छ,सुनसान निर्जनमा।

मध्यबाटोमा रोकिन्छ गाडी,एकान्त परेर
उठाइदिन्छ रामेलाई पनि पठान झरेर
समाई हात,लैजान्छ अघि,उसलाई क्याबिनमा
थाल्दछ माग्न,भनेको जति,रकम एकछिनमा।

खल्तीको पैसा निकालिदिन्छ पान्सय रियाल
गदगद हुँदै समाउन थाल्छ,ठानेर कमाल
खनखनी गनी,खेलाउँछ पैसा,पत्ता झैं तासको
ऊतिर आउँछ,उन्मत्त हुँदै नजर आशको।

                    पठान
मै एक बात,बोल्ता हुँ,पैसा वापस देता हुँ
तेरे से लेकिन,महत्त्वपूर्ण एक चीज लेता हुँ
आएगा काम,बादमे पैसा,रखलो तुम खुद
खेलेंगे हम साथमा मिलके,रोमान्टिक खेलकुद।

                  रामे
क्या बोला आपने,मुझे तो कुछ भी,समझमे नै आया
जान्ता हुँ हिन्दी,जान्ता हुँ उर्दु,सीधा नै बताया
आदमी सीधा,बोल्ता हुँ सीधा,मुझे मत सताओ
केहेना क्या है,करना क्या है,साफ-साफ बताओ।

                पठान
सुन्दर हो तुम,सफेद भी है,पसन्द आया है
खुबसुरत होगी,तुमारा मा भी,जिसने पाया है
सुनो जी यार,फाइदेके लिए,एकबात केहेता हुँ
कसमसे यार,तुम मुझे देदो,मै तुझे देता हुँ।

                दृश्य चित्रण
भनेर यति,ढाडमा छोई,मुसार्न थाल्दछ
ठूल्ठूला आँखा,फिंजाई अझ,तेजिलो बाल्दछ
उत्तेजित हुँदै पत्नीलाई जस्तो,व्यवहार गर्दछ
उम्किन खोज्दा,झनझन उतै नजिक सर्दछ।

                     रामे
गलत हो तुम,मै वैसा वाला,खराब नही हुँ
आदमी हुँ मै,अच्छासे देखो,औरत नही हुँ
चाहिए लड्का,शरम नही,हो तुम दानव
मारुँगा साला,दबादबाके,नही हो मानव।

                   दृश्य चित्रण
क्रोधित भई,झम्टिन थाल्छ,किटेर ती दाँत
डराउन थाल्छ,पठान पनि,देखेर त्यो आँट
लज्जित हुन्छ,उसले आफ्नो,कर्तुत देखाउँदा
झुकाउँछ शीर,भएर पानी,रामेले कराउँदा।

                    पठान
माफ करो दोस्त,गलत सम्झा,पैरमे पर्ता हुँ
नेपाली बहुत बहादुर होता,इज्जत कर्ता हुँ
देख्नेके लिए,नै मिल्ता कोई लड्कीका चेहेरा
दबाके यही,पर्ता है जिना,चाहत गेहेरा।

                      रामे
छुट्टीमे जाओ,फेमिली मिलो,हर एक सालमे
सबकुछ नही,पैसा ही यार,सम्झोगे बादमे
आदमी सबका कुछ न कुछ,मज्बुरी होता है
समझके यही,प्रहर हर,ए दिल रोता है।

                     दृश्य चित्रण
आवेग देखी,वातावरणमा भातृत्व छाउँछ
पठान बाट,रामेले अब,इज्जत पाउँछ
दु:ख र सुख,गरेर कुरा,हिंड्दछन् गाडीमा
यात्रामै हुँदा,हाँस्दछ तब पूर्वको लालीमा।

पानीको साथ खबुस खाँदै,पुग्दछन् दमाम
सफलतापूर्वक बिर्सन्छ पुगी,वेदना तमाम
भेट्टाई कोही,भैदिन्छ बिदा,ऊ बाट पठान
धन्यवाद दिई,छुट्टिन्छ रामे,सम्झेर महान।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...