Thursday, 29 September 2016

आरोह अवरोह-१६

             "पहिले म बिदेश जान्छु।अलि-अलि पैसा कमाएपछि आए हुन्छ काठमाडौं।अहिलेको लागि तिमी गाउँमै बस्दै गर न है।"
मनोजले सम्झाउँदै भन्यो।
"अहँ,म कुनै पनि हालतमा घर या माइतमा बस्न सक्तिन।मेरा लागि सबै आफन्त पराई भैसके।गाउँमा मेरो लागि कतै पनि बास छैन।भोलि विहानै आउँदैछु।कि त मलाई भिन्न निकालेर राख।नत्र भने तिमी जहाँ छौ,मलाई पनि त्यहीं राख।"
आफ्नो जिद्दीपूर्ण अडानलाई यथावत कायम राख्दै भनें।
"हैन तिमी किन जिद्दी गर्छ्यौ?कुरा बुझ्ने कोसिस गर न।यस्तो हालतमा तिमी काठमाडौं आएर के गर्छ्यौ?लौ बर्बाद/डामाडोल बनाउने भयौ तिमीले।"
"अरु कुरा केही जान्दिन।म आउँदैछु।भोलि मलाई लिन बसपार्कमा आउनु।"
यति भनेर मैले फोन राखें।
सही/गलत कस्तो निर्णय लिएँ?आफैं अन्योलमा/अनभिज्ञ थिएँ।तर त्यो निर्णय धेरै भोगाइ/सोचाइ पश्चात् लिएकी थिएँ।दिमाग नभई दिलले लिएकी थिएँ।थाहा थियो-आगामी दिनहरु उत्तिकै जटिल र चुनौतीपूर्ण हुनेछन्।आँखा चिम्लेर त्यो मार्गमा हाम्फाल्नु बाहेक मसंग अर्को कुनै विकल्प थिएन।मेरो जिद्दीको अगाडि मनोज निरीह साबित भयो।उसको केही सीप चलेन।अन्ततः काठमाडौं आएरै छाडें।
                बसपार्कमा लिन मनोज आइसकेको थियो।कुर्ता-सुरुवाल र चप्पल लाएकी।कपाल राम्ररी कोर्न नभ्याएकी।दुब्ली-पातली मृगको झैं ज्यान।नयनहरु भित्र गढिएका।पछाडि काँधमा बच्चाको कोक्रो।थाप्लोमा कोक्रोको नाम्लो।साथमा झिटीझाम्टी र पोकाहरु।एउटी पहाडिया नारी नेपालको मुटु मानिने राजधानी काठमाडौं आएकी थिईन्।देख्ने जो कोही पनि त्रसित भए होलान्।पृथ्वीको बासिन्दा नभई अरु कुनै ग्रहबाट आएकी जस्ती।भ्रममा परे होलान्।शहरका शिक्षित,सभ्य र आधुनिक पहिरनमा सजिएका केही युवाहरु मतिरै क्वार्क्वार्ती हेरिरहेका थिए।मानौं म त्यहाँ उनीहरूलाई चटक देखाउँदै छु।सायद उनीहरूको नजरमा एउटी पाखे नारी थिएँ।हुन त पहिलो नभएर दोस्रो पटक काठमाडौं आएकी थिएँ।पहिलोपटक बरु त्यस्ती देखिएकी थिईन।दोस्रोपटक आउँदा भने समय/परिस्थितिले हालत त्यस्तो बनाएको थियो।माइक्रोबस चढेर हामी कपनस्थित मनोजको दाइको कोठामा पुग्यौं।
                दाइ बिदेश गैसक्नुभएछ।भाउजू मात्र हुनुहुन्थ्यो।रातको खाना पश्चात् बहस शुरु भयो-मेरो काठमाडौं बसाइँलाई लिएर।
"ओमु!तिमी आउन त आयौ ठिकै छ।केही बिग्रेको छैन।केहीदिन घुमफिर गरेर दस-पन्ध्र दिनमा गाउँ फर्क है?यहाँ कहाँ,कसरी गुजारा चलाउने?"
मनोजले अनुहारमा चिन्ताको पहाड बोकेर सम्झायो।
"गाउँ नफर्किने गरेर आएकी छु।कुनै पनि हालतमा फर्कन सक्दिन।फर्किने भए त आउने नै थिईन नि।धेरै सोचबिचार गरेर अन्तिम निर्णय पश्चात् आएकी हुँ।मेरो निर्णय कुनै हालतमा परिवर्तन हुने छैन।"
मेरो अडान यथावत थियो।
त्यतिनै बेला ल्यान्डलाइन फोन बज्यो।भाउजूले उठाएर कुरा गर्नुभयो।हामी त्यहाँ आएको जानकारी गराउनुभएर होला फोन मनोजलाई थमाइदिनुभयो।
"ए,हजुर दाइ नमस्ते।अँ-अँ आएकी छे।यतै बस्ने गरी आएकी रे।खै कसरी चलाउने हो कि जिन्दगी।तपाईंले एकपल्ट सम्झाउनु न।हो र?मैले त कति सम्झाइसकें।मान्ने हैन मैले के गर्नु?ए...एक किलो टमाटरको मूल्य?छ नि के गर्ने।ल-ल सकेसम्म सम्झाउँछु।ल-ल हुन्छ।"
उताबाट दाइले खै के भन्नुभयो,भेउ पाईन।तर वाक्यहरु सुन्दा पक्कै पनि दाइले मेरो आगमनप्रति असन्तुष्टि ब्यक्त गर्नुभएको स्पष्ट भयो।यतै बस्ने गरी आएकी भनेपछि दाइले पक्कै आफ्नै कोठामा बस्ने गरी आएकी रहिछे भन्ठानेर मुटुको धड्कन तेज भएको हुनुपर्छ।फेरि बीचमा टमाटरको कुरा कहाँबाट आयो,केही बुझिन।सायद हाम्रो हैसियत टमाटर समेत खरिद गर्न नसक्ने अवस्थाको हुँदा किन राजधानी बस्न आएका होलान् भनेर सोच्नुभएको होला।यतिसम्म अनुमान लगाएँ।सायद हाम्रो बाध्यता,गरिबी,लाचारिता र विवशतामा साथ दिनुपर्ला भनेर डराउनुभएको थियो।देओस् पनि कसरी?आखिर संसारका सबैले बलेकै आगो ताप्ने न हुन्।हुनेखानेहरुलाई जसले पनि सम्झिन्छन्।बोलाउँछन्।खुवाउँछन्। पिलाउँछन्।तर हुँदा खानेहरुलाई कसले सम्झिने?सबैजना लगानी गर्छन्।केही प्रतिफलको आशमा।हामी जस्तो हैसियतविहीन मान्छेबाट के प्रतिफलको अपेक्षा गर्न सकिन्थ्यो र?जे भएपनि हामीले त्यो रात त्यहीँ गुजार्यौं।
                  कहिले बौद्ध।कहिले कपन।कहिले भक्तपुर।आफन्तहरुकोमा गएर छाक टार्ने क्रम शुरु भयो।सायद हाम्रो जस्तो दु:ख,पीडा र भोगाइ अरु कसैको नहोला।
"ओमु!यसरी कति दिनसम्म चल्छ र?जसरी भएपनि,जस्तोसुकै काम भएपनि यथाशीघ्र बिदेश जान्छु।"
एकदिन मनोजले आँखा टिलपिल पार्दैै भन्यो।
"जान त जाने तर दुई सालमा नलागेको भिषा दुई दिनमा कसरी लाग्ला त?तिमी आफैं सोच त।बिदेश जान्छु भनेर लागिपरेको कति भयो?भएको पैसा पनि यता/उता घुमेर सिध्यायौ।"
"लाग्दैन त मैले के गर्ने?बिदेशको लागि कुन म्यानपावर धाईन? कहाँ-कहाँ अन्तर्वार्ता दिईन?गाडी चढ्ने पैसा नभएर हिंड्दा-हिंड्दा कति वटा जुत्ता-चप्पलहरुको ज्यान गए होलान्?सुन्धारा देखि बौद्धसम्म पैदल हिंडेर आएको छु।सबै कोसिस विफल भएपछि मैले के गर्नु त?"
"ठिकै छ,कोसिस गर्दै गरौंला केही छैन।तर आजको हाम्रो बास कता होला?दाइकोमा पनि अस्ति भर्खरै चारदिन बसियो।माइली दिदीकोमा पनि तीनदिन भैसक्यो।अब कसकोमा जाने हो छाक टार्न?"
मनमा पीडाहरुको ज्वारभाटा भएपनि हाँस्दै ठट्यौली पारामा भनें।
"भक्तपुर राधा दिदीकोमा जाने हो त आजको लागि?फेरि त्यहाँ गएपछि दुईचार दिन त बस्नैपर्छ।नत्र त्यत्रो खर्च गरेर फाइदा हुन्न।"
"जाऔं न त केही दिनको लागि।तर धेरै दिनसम्म छोरी सहित हामी तीनजना पाहुनाको रुपमा बस्दा उहाँहरुलाई पनि गाह्रै हुन्छ नि।यो महँगीको शहरमा कोठाको भाडा तिर।छोराछोरी पढा।खाउ,लाउ।कसरी सहज छ त जीवन?"
"ओमु!मसित जम्मा पचास-साठी रुपियाँ छ-पैसाको नाममा।भक्तपुर जाँदा,बसको भाडा तिर्दा फर्किने पैसा पनि नहोला।फेरि यो शहरमा कसले ऋण पत्याउनु हामीलाई।होस,भक्तपुर नजाऔं हामी।पैसाले भ्याउँदैन।"
"त्यसो भए आजको लागि यतै दिदीकोमा बसौं।जेसुकै भनेपनि सहेर बसौंला।"
"म दुईचार दिनमै जसरी भएपनि बिदेश जान चाहन्छु।काम जस्तोसुकै होस्।मतलब भएन।जेपनि गर्न तयार छु।"
त्यतिबेला म भन्दा पनि ऊ तनाबमा देखियो।

             म काठमाडौं पुगेको हप्तादिन नहुँदै ऊ साउदी जाने तरखरमा लाग्यो।दलालले मान्छे यथाशीघ्र चाहिएको र साउदी एम्बेस्सी नेपालमा नभएकोले बङ्गलादेश गएर त्यहीँबाट तुरुन्तै भिषा लाएर जानुपर्ने बतायो।पेट्रोलपम्पको लागि जम्मा लागत नब्बे हजार तिर्नुपर्ने भयो।पैसाको नाममा जम्मा सय रुपियाँ थियो।आफान्तहरुबाट दस-बीस हजार र कसैबाट सुन लिएर एकलाख रुपियाँ जम्मा गरियो।पैसा लिएर सामाखुसी स्थित गोल्डेन इन्टरनेसनल म्यानपावरमा गयौं।
"हामी पैसा साउदीमा पुगेपछि मात्र दिन्छौं।किनभने अहिले भिसा केही लागेको छैन।"
"हुँदैन,कहाँ हुन्छ त्यसरी?तिमी मात्र हो र साउदी जाने?अरु पनि पाँच जना छन्।सबैले पैसा बुझाइसके।तिमीहरूको बङ्गलादेशको भिसा लागिसकेको छ।त्यहाँ दुईदिन बसेपछि तुरुन्तै साउदी उड्नुपर्छ।पैसा बिना काम हुन्न।
"ल त्यसो भए हामी भोलि उड्नुभन्दा पहिले यही आएर पैसा बुझाउँछौं।"
"त्यसो भए टिकटको पैसा दस हजार आजै दिनुस्।बाँकी पैसा भोलि दिए हुन्छ।ढुक्कसँग पैसा बुझाए हुन्छ भाइ।तिमी भाग्यमानी रहेछौ।राम्रो काममा जाँदैछौ।"
दलालले तोरीको तेल लाएर मख्ख बनाउँदै भन्यो।दङ्गदास हुँदै दसहजार रुपियाँ बुझायौं।बाँकी पैसा अर्कोदिन/उडानको दिन बुझाउने शर्त स्वीकार्दै फर्क्यौं।

              मनोजको लागि अत्यावश्यक पाँचहजार जतिको सामान खरिद गरियो।अर्को दिन विहानै उसको बिदाइ कार्यक्रम भयो।एकसयको नोट नानीको हातमा राखिदिंदै दुईपल्ट हातमा फुक्यो।म्यानपावरमा बुझाएर बच्ने पाँच हजार रुपियाँ थमाएर ऊ हामीबाट बिदा भयो।
"भाइ!राम्रोसँग जाऊ।यहाँको चिन्ता लिनुपर्दैन।"
माइलीदिदीले भन्नुभयो।
ट्याक्सी नजिकै पुगेर स्वीकृतिको शीर हल्लायो।बिदाईका हातहरु निकै बेरसम्म हल्लाइरह्यौं।मेरो मुटु बेस्सरी दुख्दैथियो।मुटुको एउटा टुक्रा टुक्रिएर जाँदै थियोे।बाहिर टन्टलापूर घाम लागेपनि सारा संसार अन्धकार सिवाय केही देखिन।मेरो जिन्दगीको सूर्य अस्ताइसकेको थियोे।उदाउने विहानीको कुनै ग्यारेन्टी थिएन।आफन्तकाहरुका आँखाबाट तामाकोशी र सुनकोशीहरु बगे।मेरा आँखाबाट भने एकैचोटि सप्तकोशी बगिरह्यो धेरैबेरसम्म।तर आँशु
बगाउनुको कुनै औचित्य थिएन।आँशु पुछिदिने एकजना पनि ओझेलमा परिसकेको थियो।छोरी बामे सर्न छोडेर टुकुटुकु मात्र हिंड्न लागेकी थिई।दौडेर जान खोज्दै थिई।सानो खाल्डोमा परेर लडी।म पनि त्यतै ब्यस्त भएँ।
                एकदुई घण्टासम्म हामी गफ गरेर बस्यौं।सबै आ-आफ्ना गन्तव्यतिर लागे।म भने नानीलाई दिदीको कोठामा सुताएर एक्लै मूर्छा पर्दै/रुँदै/टोलाउँदै बस्न थालें।ऊ बिनाको जीवन खल्लो र निरस लाग्न थाल्यो।ब्यर्थमा उसलाई बिदेश पठाइएछ जस्तो लाग्यो।खुरुरु कुदेर उसलाई फर्काउँ झैं लाग्यो।तर त्यतिन्जेलसम्ममा उसले बङगलादेशको जहाज चढिसकेको थियो होला।
"प्यारा!तिमीलाई बिदेशको मरुभूमिमा धकेल्ने उदेश्य कदापि थिएन।सधैं तिम्रै काखमा रमाउन चाहन्थें।तर हाम्रो बाध्यता र परिस्थितिले हामीलाई अलग बनायो।देशको स्थितिले भगायो।विवशताले बिछोड गरायो।प्यारा! तिमी कहिले आउँछौ?"
अर्धचेतनमा यस्तै बर्बराएँ।राती खाना खाने बेला मैले यस्तै भन्दै थिएँ रे।दिदीले सुनाउँदै हुनुहुन्थ्यो।दुई गाँस खाएर फाल्दिएँ।नत्र त्यो पनि रुच्ने थिएन होला।छाती चुस्दै गरेको नानीलाई सम्झेर मात्र जबर्जस्ती खाएँ।
                 बङ्गलादेश गएको दस दिनपछि मनोजले सानी दिदीकोमा फोन गरेर खबर छोडेछ।अबको केही दिनपछि साउदी जाँदैछ रे।स्वदेश छोडेको ठ्याक्कै छब्बीसौं दिनमा साउदीबाट फोन गरेछ।दिउँसोको तीनबजे फोन गर्ने खबर छोडेको थियो।तोकेकै समयमा सानी दिदीकोमा गएर बसें।फोन पन्ध्र मिनेट ढिलो आयो।
"ओमु!मलाई त दलालले नराम्रोसंग मरुभूमिको दलदलमा फसायो।पेट्रोलपम्पको काम भनेर अर्कै काममा धसायो।यहाँको भाषामा 'मजरा' भन्छन्।बगैंचा जस्तै हो।तर अग्ला-अग्ला रुखहरु हुन्छन्।काँडै-काँडा भएका।जसलाई 'नख्खल' अर्थात नेपालीमा खजुर भन्छन्।काँडाहरु धारिला छुरा भन्दा पनि डरलाग्दा हुन्छन्।ती रुखहरुमाथि चढेर सुकेका हाँगाबिंगा र काँडाहरु काट्नुपर्छ।अनि खजुर पाकेपछि टिपेर प्याकिङ गर्नुपर्छ।यहाँ मजरामा बाख्रा,कुखुरा,गाई,घोडा,खरायो र ऊँटहरु पनि पालेका हुन्छन्।जसलाई दानापानी र घाँस काटेर ख्वाउनुपर्छ।यहाँको अरबी साहुको नोकर भएको छु।साहु पनि एकदमै कचकचे र हरामी छ।बिहान पाँच बजेदेखि काम शुरु हुन्छ।दिउँसोको एक बजे आधा घण्टाको लागि खाना खाने समय दिन्छ।फेरि रात नपरेसम्म जोत्तिनुपर्छ।दिनको १५/१६ घण्टा खट्नुपर्छ।पाकेको महिनाको तलब पनि दिन गाह्रो मान्छ।उल्टै थर्काउँछ।तलब लिने दिन त मार्ला झैं गर्छ रे।पुरानो साथीले भनेको।तलब पनि एकदमै न्यून छ।जम्मा सुख्खा ५०० रियाल।खाना आफैंले किनेर पकाएर खानुपर्छ।२०० रियालले पनि खाना पुग्दैन।फोनसोन गर्दा त ३०० रियाल अर्थात नेपाली ५/६ हजार मुस्किलले बचाउन सकिन्छ।सायद म फर्केर आउँछु होला।तर अर्काको ऋण झ्याम्मै एकलाख लिएका छौं।कसरी तिर्ने?ऋण काढेर त्यही पैसाले आफू बेचिएको छु।फोन गर्न उत्तिकै महँगो छ।प्रति मिनेट ४ रियाल काट्छ।जुन नेपाली ८० रुपियाँ हो।त्यसैले तिमीलाई महिनाको एक-दुईचोटी मात्र फोन गर्न सक्छु।म त नरकमै फसेको छु ओमु।फर्केर आउन पनि तिमी काठमाडौं बस्ने गरी आएकी छ्यौ।अर्काको ऋण पनि ब्याजमा टनक्कै लिएका छौं।दिनप्रतिदिन ऋणमाथि ऋण थपिंदै जान्छ।अर्को देशमा पनि तत्कालै जान सकिन्न।पैसै चाहिन्छ।त्यो दलालबाट पैसा उठाउन सकिएला भनेर सोच्न सम्म नसोचे हुन्छ।त्यो त खुंखार दलाल रहेछ।तैपनि ऊ बङगलादेशमा बस्छ।कसरी सम्पर्क गर्ने?नआउनु आइहालियो।अब ऋण चुक्ता भएपछि मात्र आउँछु।के गर्नु ओमु?समय सधैं आफ्नो पक्षमा नहुँदो रहेछ।समय र परिस्थितिको दास हुनुपर्ने रहेछ मान्छे।समयले नै औंलाको टुप्पोमा नचाए झैं नचाउने रहेछ।आफूले नचाहेको काम गराउने।हिंड्न मन नलागेको बाटोमा हिंड्न बाध्य बनाउने रहेछ।त्यहाँ तिमीहरु राम्रोसँग बस।छोरीको राम्रो ख्याल राख।अर्को महिना जसरी भएपनि थोरै पैसा पठाउँछु।तिमीले छुट्टै कोठा लिएर बस।दिदीहरुकोमा कति बस्नु?एकदिन हैन,दुईदिन हैन।तिमीले त्यहाँ कुनै पीर-चिन्ता लिनुपर्दैन।म यहाँ एकदम ठिकठाक छु।अहिले बानी नपरेसम्म अलि गाह्रो हो।बानी परेपछि सबै ठिक हुँदै जानेछ।यदि कामै गर्न सकिन भने म फर्किहाल्छु।"
कुरा सुनेर सगरमाथाको टुप्पोबाट एकैचोटि फेदीमा झरेझैं भएँ।दु:खमाथि दु:ख,पीडामाथि पीडा
थपियो।च्छो-रोल्पा तालझैं भए नयनहरु।डाँको छोडेर रुन मात्र सकिन।आफूले आफूलाई सम्हाल्ने भरपूर कोसिस गरें।तैपनि मुटु दुखिरह्यो।छाती चर्किरह्यो।सपनाको संसारमा आगो लागेर भतभती पोल्यो।खरानी भयो।मेरो छातीमाथि ताँबेको पहाड खसैझैं भयो।
"भो,बस्नुपर्दैन मनोज।तुरुन्त फर्केर आऊ।म तिम्रो दु:ख देख्न,सुन्न सक्तिन।बरु खोले खाएर दु:ख-सुख बाँडेर बसौंला।मलाई धनसम्पति चाहिएन।बस तिमी भए पुग्छ।तिमी त्यहाँ मरुभूमिको दलदलमा फस्दा म यहाँ चैनको निद्रा निंदाउन सक्तिन।तिमी त्यहाँ पलपल रोएर ज्यानको बाजी थापेर काम गर्दा म यहाँ कसरी हाँस्न सकुँला र?तिम्रै पीर र चिन्ताले दिनदिनै-पलपल मरेर जिउन बाध्य हुन्छु।तिमीले त्यहाँ दु:ख पाउँदा यहाँ मेरो शरीर गल्छ।थाकेर लल्याकलुलुक हुन्छ।बिन्ती मनोज!मलाई नतड्पाउ।म त मरेतुल्य हुँदैछु।तिम्रो हालत सुनेर।तुरुन्तै फर्केर आऊ।"
मैले रुँदै-चिच्याउँदै भनें।
"हैन ओमु।अहिले काम गर्नैपर्छ।फर्केर एकलाख ऋण कसरी तिर्ने?फेरि ऋण कसले पत्याउने?यसै त लागेको ऋण तिर्न नेपालमा बसेर त सम्भबै छैन।बिदेशै जानुपर्छ।अहिल्यै फर्कें भने दुनियाँले कुरा काट्न शुरु गर्नेछन्।दुष्मनहरु रमाएर सलबलाउने छन्।पुलकित भएर दिपावली मनाउनेछन्।खुचिङ भन्ने छन्।हामी कमजोर हुनेछौं।उनीहरू शक्तिशाली हुनेछन्।कतिपयले काम गर्न नसकेर फर्केको नामर्द भन्नेछन्।मेरो कर्तव्य,जिम्मेवारी, उतरदायित्व र क्षमतामाथि नै हजारौं प्रश्नहरु उठ्नेछन्-उठाउनेछन्।दुनियाँले सोध्नेछन् -के,कहाँ,कसले,कस्तो,किन,कसरी र नानाथरी।अगाडि 'बिचरा' भनेपनि पछाडि खोइरो खन्नेछन्।त्यसैले दुनियाँको मुख टाल्न पनि मैले काम गर्नैपर्छ।"
यति भन्नासाथ फोन काटियो।फेरि आएन।म आँतिएर रोएँ,कराएँ।अन्ततः थाकेर लखतरान भएर भुइँमा थचक्क बसें।सोचाइहरुको छालसंगै बग्न थालें।सानी छोरीले आफ्नो नौनी जस्तो कमलो र कलिलो हातले मेरो आँखाको आँशु पुछिदिई।झनझन दु:खहरुको आँधीहुरीसंगै पीडाहरुको वर्षा हुन थाल्यो।
"किन के भयो र बुहारी?किन विलाप गरिरहेकी?मनोजलाई ठिकै छ रे?"
सानी दिदीले सोध्नुभयो।
"मनोजको काम अलि दु:ख छ रे दिदी।फर्केर आऊ भनेको प्रसंग नटुङ्गिंदै फोन काटियो।"
भएभरको सबै कहानी सुनाउन चाहिन।
"बिदेश भन्ने कुरा सुख त कहाँ हुन्छ र?दु:ख नगरी पैसा बोटमा टिप्न पाइने हो र?जहाँ पनि दु:ख गर्नैपर्छ बुहारी।पीर नगर।सबै ठिक हुँदै जानेछ।"
दिदीले सान्त्वना दिनुभयो।
तर दिदीलाई के अवगत?मनोजको दु:ख, पीडा र व्यथा?
                  मनोजको कुरा बिल्कुल सही थियो।दुनियाँलाई दु:ख सुनाए आफन्त भनौंदाहरु पनि अगाडि रोए जस्तो गरेर पछाडि हाँस्छन्।कुरा काट्छन्।अरुलाई सुनाएर केही गर्ने पनि हैन।यदि फर्कन चाहेमा ऊ आफैं फर्कन सकिहाल्थ्यो।मनभित्र चिन्ताहरुको पहाड खडा भयो।उसले उच्चारण गरेका  प्रत्येक शब्द-शब्द केलाउँदा,याद गर्दा मन रोएर अरब-सागर बन्थ्यो।रातमा सिरानी भिजेर फेवाताल हुन्थ्यो।दिनहरु कहालीलाग्दा/उराठलाग्दा हुन थाले।दिउँसो भने दिदीको पसलमा हल्काफुल्का सघाउँथें।तर रात परेपछि छातीभित्र यादहरुको बाढी आउँथ्यो।आँखाबाट झरेको आँशुले संगै लिएर बगाउँथ्यो।म डुवानमा पर्थें।
   
               सानैदेखि गीतको सौखिन भएकोले गाउँमा भएको सानो रेडियो पनि साथमै लिएर आएकी थिएँ।एकदिन खाना खाएर दिउँसो १२ बजेतिर रेडियो बजाएर मन बहलाउँदै थिएँ।रेडियोमा नेपाली लोकगीतहरुको कार्यक्रम आयो।
बज्न थाल्यो।
"वनमा काँडा छ,बिरानो नसम्झ माया गाढा छ।"
उसकै यादहरुको ज्वारभाटा आएर छातीलाई छिया-छिया बनाउन थाल्यो।अचानक फोटोको एल्बमबाट उसको फोटो निकालेर चुमिरहें।कसैले ढोकामा ढकढक्याउन थाल्यो।हतार-हतार फोटो लुकाएर ढोका खोलें।दिदी आउनुभएको रहेछ।फोटो त लुकाइसकेकी थिएँ।तर एल्बम भने पलाङमाथिनै भएकोले उहाँले एल्बमतिर नजर लाउनुभयो।तर केही बोल्नुभएन।चोर पक्डिएको थियो।तर बिना सजाय मुक्त भएँ।
                 कोठामा मनोजको दिदी,भेना, तीन भान्जी, म र मेरी छोरी सहित सात जना सदस्यहरूको वृहत् परिवार।तर उसको अनुपस्थितिमा कोठा खाली-खाली।शून्य-शून्य/निर्जन/निस्पट्ट।भित्तामा एउटा फिल्मको पर्दाझैं बनाएर त्यहीँ पर्दामा मनोजसित बिताएका हरेक पल र क्रियाकलापहरुको चलचित्र हेर्ने गर्थें।आँखा चिम्म नगरीकन हेरिरहन्थें-मध्यरातसम्म।कतिखेर भुस् हुन्थें पत्तै हुन्नथ्यो।
               करीब दुई महिना पाश्चात फेरि मनोजको फोन आयो।हामीसंग ल्यान्डलाइन र मोबाइल केही थिएन।सानी दिदीकोमा फोन आउने खबर छोडिएको थियो।
"ओमु,त्यहाँ के कस्तो छ नानी र तिमीलाई?"
"सबै ठिकै छ।बरु त्यहाँ तिमीलाई कस्तो छ?काम कस्तो छ अहिले?"
"पहिलेको भन्दा बानी परेर अलि सहज भएको छ।मैले जम्मा १२ हजार रुपियाँ पठाएको छु।निकालेर चलाऊ।पैसाको नम्बर टिप त।यहाँ मेरो बारेमा कुनै पीर-चिन्ता लिनुपर्दैन।आँत्तिनु पर्दैन।अहिले यो पैसाले कोठा भाडामा लिनु।चाहिने सामानहरु किन्नु।ऋण बिस्तारै तिर्दै गरौंला।फोनमा धेरै पैसा सकिन्छ।मैले चिट्ठी पनि पठाएको छु।चाँडै पुग्छ होला।यहाँ मरुभूमिमा अरुको हालत देख्दा मेरो काम त सजिलै रहेछ।लगातार दुई-तीन सालसम्म काममा गोरु र गधा भन्दा पनि बढ्ता जोत्तिएर,दिनको दुइटा सुख्ख रोटी खाएर,मरीतरी काम गर्दा पनि साहुले सुक्को पैसा नदिएर नेपाल खेदेको पनि देखें/सुनें।अझ त्यति मात्र नभएर हजारौं नेपाली दाजुभाइहरु मरुभूमिको पचास डिग्री तापक्रममा भेडा-बाख्रा चराउन विवश रहेछन्।भनेको बेलामा खाना र तलब नपाएर जिउँदो लास भएर काम गरिरहेका छन्।कतिलाई त साहुले हातपात गरेको,रिसको झोकमा कुटेर मारेको कहानी पनि सुनें।नेपालबाट बिदेश भनेको के-के न होला भनेर आईन्छ।तर यहाँ बजारको मुख हेर्नलाई त मुस्लिमहरुको इद नै आउनुपर्छ।हजारौं नेपालीले मरुभूमिको जंगलतिर गोठालो भएर बस्नुपरेको तथ्य यहाँ आएर उजागर भएको छ।तर मेरो काम भने शहरबाट नजिकै छ।अरुको मजरामा बिजुली बत्ती पनि छैन,लालटिन बालेर बस्नुपर्छ।बोटबिरुवामा पानी हाल्दा बोरिङ गरेर मेशिनको सहयताले पानी निकालेर पाइपको माध्यमबाट बोट-बोट्मा पुर्याईन्छ।तर मेरो त्यस्तो छैन।बिजुलीबत्ती झिलिमिली देख्न पाईन्छ।अरुको मजरामा फ्यानसम्म पनि उपलब्ध छैन।फ्यान चल्न पनि बिजुली नै चाहिन्छ।मेरो कोठामा शित्तल एसी जडान गरिएको छ।मलाई केही दु:ख छैन।ल म अहिलेलाई राख्छु।मोबाइलमा पैसा सकिन लाग्यो।"
यति भनेर उसले फोन राखिहाल्यो।मनबाट कति धेरै व्यथाहरुका सुनामी तँछाड-मछाड गरेर निस्कन खोज्दै थिए।तर अनायासै विवशताको विशाल ग्रेटवाल खडा भैदियो।दुईचार वाक्य भन्दा बढ्ता ओकेल्नै पाईन।
"मनोज तिमी कस्तो ठाउँमा फस्यौ?न त राम्ररी कुरा गर्न सकिन्छ न भेट्न नै।के तिमीले भने जस्तो तिम्रो काम अरुको भन्दा राम्रो र फरक छ त?हैन होला मनोज।सायद तिम्रो पनि काम अरुको जस्तै होला।अरुको जस्तै दु:ख तिमीलाई पनि होला।मैले कसरी पत्याउँ कि तिम्रो काम राम्रो छ भनेर?सायद तिमीले सुनाएको हजारौं नेपालीहरुको कथा तिम्रो पनि कथा हो कि!मैले कसरी थाहा पाउने भन त?सत्य कुरा किन भन्दैनौ मनोज?कुरा घुमाई-फिराई किन गर्छौ?सीधा कुरा किन गर्दैनौ?यथार्थ कुरा भन न मनोज।म यहाँ पागलझैं भैसकें।"
यस्तै कुराहरु भन्न नपाई फोन काटियो।काटियो के भन्नु-उसले काट्यो।भेट्नु त धेरै टाढाको विषय थियो।कुरासम्म दिल खोलेर गर्न सकिन।धेरै प्रतिक्षा गर्नु थियो।तड्पिनु थियो।सम्झेर प्रतिक्षाको बाँध फुट्न खोज्थ्यो।आशा मरेर आउँथ्यो।
                मनोजले पठाएको पैसा त हात लाग्यो।तर उसको दु:ख र पसिनाले कमाएको पैसा चलाउन कति पनि मजा आएन।धेरै पल्ट सोचेर/बिचार/मनन गरेर पनि त्यो पैसा चलाउने हिम्मत ममा आएन।तर बाध्यताको सामू घुँडा टेक्नै पर्यो।१२ सयमा पुरानो पलाङ किनें।अरु केही रकमले कराइ,थाल,डेक्ची र सानो स्टोभ किनें।डस्ना,तन्ना र तकिया चाहिँ केही आफन्तहरुले सहयोग गरे।महिनाको १५०० पर्ने कोठा भाडामा लिएर हामी आमा र छोरी त्यो चिसो/सुनसान/विरक्तिलो कोठामा जीवन गुजार्न थाल्यौं।

                 काठमाडौं यस्तो ठाँउ रहेछ जहाँ चलाख,धुर्त र फटाहा गरिबहरुले सोझा र सीधा गरिबहरुलाई जालमा फसाएर नराम्रोसंग ठग्छन्।सीप सिकाएर रोजगारीको ग्यारेन्टी गरिदिने बहानामा एउटा कम्पनीले १५०० रुपियाँ ठगिहाल्यो।अलिअलि भएको पैसाले पनि कपडा किनें।त्यसपछि एउटा गरिब र बेरोजगार परिवारको दु:खद कहानी शुरु भयो।कोठा त लिएँ।बौद्धको रामहिटीमा।तर कोठाले खाना दिने कुरा भएन।साथमा कहिलेकाही एक कौडी पनि हुँदैनथ्यो।पसलमा विभिन्न थरीथरीका तरकारीहरु सजाएर राखिएका हुन्थे।तर मेरो हैसियतले किन्न सक्ने भनेको बन्दाकोभी मात्र थियो।पाँच रुपियाँमा एउटा सिंगो बन्दा किनेपछि एक हप्तासम्म चल्थ्यो।

ब्यस्त नेता

जसरीनि नाम कमाउन ब्यस्त छन् नेताहरु
समारोह हरुमा धाउन ब्यस्त छन् नेताहरु
आफ्नै चम्चे हरु  वरिपरि खटाएर भए पनि
अजंगको माला लाउन ब्यस्त छन् नेताहरु।

Wednesday, 28 September 2016

जुर्ला जस्तो

भन्नुपर्ने कुरा आज फुर्ला जस्तो छ
उनीसित लगन पनि जुर्ला जस्तो छ
हिजोसम्म भागी हिड्थी मलाई देखेर
आज भने मेरै बाटो कुर्ला जस्तो छ।

Tuesday, 27 September 2016

आरोह अवरोह-१५

              सुईंया सुस्केरा हाल्यो।पुनः सोही घटनासंग सम्बन्धित बाँकी कुराहरू बोल्न थाल्यो।
"ती मृत देहहरुलाई मलामीको आवश्यकता थियो।संगै,एउटै उदेश्य र अभियान लिएर संघर्षशील पथमा क्रान्तिको आगो ओकेल्दै युद्धमा होमिएका क्रान्तिकारीहरु अन्तिम दाहसंस्कारमा उपस्थित भएनन्।शिक्षक-शिक्षिका र बिद्यार्थीहरुले मानवीय धर्म ननिभाएको भए ती देहहरुको हालत के हुन्थ्यो?।
             आज दिउँसो हामी टिफिनको समयमा चिया-नास्ता खान होटलमा पसेका थियौं।मौसममा अप्रत्याशित ढंगले परिवर्तन आयो।पाँच मिनेट अघि घमाइलो मौसम थियो।टाढा-टाढासम्म पनि कालो बादलको नमूनासम्म थिएन।अचानक गर्जाङको आकाशमा कालो बादल अथाह पानी बोकेर यताउता मडारिन थाल्यो।गड्याङ-गुडुङ गर्दै चट्याङ गर्ज्यो।यस्तो लाग्यो-फेरि पनि क्रान्तिकारी-सेना बीच युद्ध हुँदैछ।बम-गोला बर्सिंदैछन्।बिजुली चम्किंदा अग्नीको ज्वाला सहित मान्छे आकाशमा उडेको घटनालाई ताजा बनाइदियो।एकैछिनमा मिश्रित असिना-पानी बर्सन थाल्यो।असिनाका सफेद दानाहरु उछिट्टिएर होटल भित्र पसे।चिया पिउन छोडेर तिनै दानाहरु टिपेर खेलाउन थालें।सबभन्दा ठूलो देखिने दाना अनुहारमा दलेर शितलताको अनुभूत गरें।असिना-पानीको वर्षा संगै हावा-हुरीको तेज बढ्न थाल्यो।त्यहाँ ठूलै प्राकृतिक बिपत्ति आउँला जस्तो लाग्यो।कोही मान्छे बाहिरिएको खण्डमा हुरीले उडाएर लैजान सक्थ्यो।असिनाको दाना टिपेर अग्नीमा हाल्नाले असिना रोकिन्छ भन्ने भनाई बूढापाकाबाट सुनेको थिएँ।त्यसै गरें।
"मनोज सर के गर्न लाग्नुभएको"-राम सरले सोध्नुभयो।
"तन्त्र-मन्त्र गर्न लागेको सर।हेर्नुस् एकैछिनमा असिना-पानी रोकिनेछ।"-मैले हाँस्दै जवाफ दिएँ।
"के हो मनोज सर,बिज्ञान पढाउने अनि यस्तो अन्धविश्वासी कुरा गर्ने?यो चाहिँ अलि सुहाएन है सर।"-तेज सरले मेरो खिल्ली उडाउनुभयो।
"लामा हो नि मनोज सर।तन्त्र-मन्त्र जान्नुहुन्छ होला।"-होटेलकी साउनीले भनिन्।
सबैजना गलल हाँसे।कसैले चाउमिन,कसैले अण्डा-चिउरा फ्राइ र कसैले चिया बिस्कुट खाजाको रुपमा खान लाग्यौं।अनायासै एकजना क्रान्तिकारी नेता निथ्रुक्कै उझिएर अँध्यारो र सानो मुख लाएर होटलमा प्रवेश गर्यो।
"नमस्ते सर,मिस र म्याडम हरु।"-उसैले शुरुमा अभिवादन गर्यो।
"नमस्कार,नमस्कार किरण सर।"-सबैले उसलाई नमस्कार फर्कायौं।
"के हो?तपाईंहरु निकै खुशी देखिनुहुन्छ नि?माहोल पनि रमाइलो छ है?-किरण कमरेड बोल्यो।
"के रमाइलो भन्नु सर?यसै खाजा-साजा खान आएका।"-राम सरले भन्नुभयो।
"हामी चाहिँ तपाईंहरुको हक,हित र अधिकारको लागि जंगल पसेर लडिरहेका छौं।ज्यानको बलिदानी दिन पछि परेका छैनौं।दु:ख पाएका छौं।रगत-पसिना बगाएका छौं।अनि तपाईंहरुलाई चाहिँ हाम्रो बारेमा अलिकति पनि चिन्ता छैन?यसरी मोजमस्ती गरिरहनुभएको छ?खानु भएको छ।पिउनुभएको छ।आरामदायी जीवन जिउनुभएको छ!"
किरण कमरेडले थर्काएर धम्कायो।सबैजना मौन बस्यौं।कमरेड भने अझै क्रोधले मुर्मुरिंदै थियोे।
"ए मोजमस्ती?मोजमस्ती गर्ने भए आउ न त तिमी पनि शिक्षकको जागीर खान।किन जंगल पस्नुपर्यो?हक,हित र अधिकार दिलाउले बहानामा कति सताउछौ?कति तड्पाउछौ?धम्काउछौ र लुट्छौ? गरिब,सोझा जनतालाई?भो हामीलाई चाहिएन हक-अधिकार।हामी जे छौं,ठिक छौं।हाम्रो लागि कसैले कष्ट गर्नुपर्दैन।न्याय दिलाउने बहानामा अझ अन्याय गर्छौ भने,चाहिएन हामीलाई तपाइँहरुको न्याय।"
यस्तै बिरोध र प्रतिशोधको भावना पैदा भयो मनमा।तर चुपचाप बसेर सहनु र उसको कुरा सुन्नु बाहेक अर्को कुनै विकल्प थिएन।उनीहरूको बिरुद्धमा सही गलत जे बोले पनि कसैको खैरियत थिएन।
"मनोज सर,तपाईंलाई एउटा कुरा सोध्नुछ।"-कमरेडले मतिरै हेरेर भन्यो।
"के कुरा हो सर भन्नुस्।"
"तपाईं शनिबार कहाँ हुनुहुन्थ्यो?नेपाली सेनासित भेट भएको थियो?कोही-कोही मान्छेहरु सुराकी भएको मेरो जानकारीमा आएको छ।अनुसन्धानकार्य चलिरहेको छ।यकिन हुने बित्तिकै के गर्नु पर्ने हो,मैले जानेको छु।"
उसले घुमाउरो पाराले मलाई सुराकीको रुपमा ईङ्गित गर्दै भन्यो।
"म शनिबारको दिन जिरीमा थिएँ।मेरी श्रीमती जिरीमै बसेर पढ्ने भएकोले भेट्न गएको थिएँ।आइतबार विहान उतैबाट विद्यालय आएको थिएँ।त्यही दिनै यहाँ घटना घट्यो।सायद तपाईंले मलाई शंका गर्नुभएको होला।म कस्तो मान्छे भनेर कृपासुर सरलाई सोध्नुहोला।"-मैले आफ्नो यथार्थ कुरा बताएँ।
कृपासुर क्रान्तिकारी पार्टीको एक प्रभावशाली,सशक्त  
र जिम्मेवार नेता हुनुहुन्थ्यो।मलाई प्रा.बि.स्तरसम्म पढाउनुहुने गुरु।उहाँको नाम लिएपछि बल्ल ऊ चुपचाप बस्यो।
              त्यसैले ओमु!त्यो विद्यालय नजाने बिचार गर्दैछु।त्यो ठाउँमा जतिखेर जेपनि हुनसक्छ।सेनाले माओवादी कार्यकर्ता र माओवादीले सुराकी भनेर जतिबेला पनि ठोक्न सक्छन्।बिना कसूर हामी सर्वसाधारण दोहोरो चपेटामा पर्न सक्छौं।त्यो क्षेत्र धेरै प्रभावित,खतरनाक र संवेदनशील भैसक्यो।यही महिना मात्र काम गर्छु ।त्यसपछि राजीनामा दिएर आउँछु।बरु बिदेश जान्छु।त्यहाँ जान्न।कमसेकम बिदेशमा यहाँको जस्तो खतरा त हुँदैन।"

            धेरै ठूलो घटनाको बारेमा बिस्तृतरुपमा सुनाएपछि उसलाई त्यो क्षेत्रमा नपठाउने निर्णय गरें।देश युद्ध र संकटको आँधी-तुफानले जर्जर अवस्थामा पुगिसकेको थियोे।नेपाल आमाको छाती चर्केर चिरा-चिरा परिसकेको थियो।हजारौं छोराछोरीले न्याय र मुक्तिका नाममा ज्यान उत्सर्ग गरिसकेका थिए।लाखौं गरीब र सोझा जनताहरु सेना र माओवादीबाट प्रत्यक्षरुपमा दोहोरो मारमा परिसकेका/परिरहेका थिए।कैयौं विकासका भौतिक संरचनाहरु ध्वस्त पारिएका थिए।हत्या,हिंसा र आतंकले देश अशान्त र आक्रान्त थियो।विहान कार्यलय जान निस्केको मान्छे बेलुका घर फर्किने/नफर्किने कुनै ग्यारेन्टी थिएन।आफ्नै घर पनि आतंकित र असुरक्षित थिए।कति नारीका सिउँदो उजाडिए-जसरी शिशिरमा बोटबिरुवाका पातहरु झरेर उजाड हुन्छन्।कति छोराछोरी टुहुरा/अनाथ भए।कति बाबा-आमा सन्तानविहीन भए।बुढेसकालको सहारा लाठी भाँच्चिए।आँशुको भेल बग्यो।रगतको खोलो बग्यो।नेपाल-आमा प्रताडित/मर्माहत/बिचलित/शोकमग्न/बेहाल भई मूर्छा परिरहेकी थिईन्।त्यस्तो खतरनाक र गम्भीर परिस्थितिमा मनोजलाई गर्जाङ जस्तो ठाउँमा पठाउन मेरो अन्तर्आत्मले दिएन।महिना मर्न दस-पन्ध्र दिन बाँकी नै भएकोले ऊ केही दिनको लागि भने विद्यालय जाँदै थियो।अरु दिन उतै बसे पनि शनिबार छुट्टी हुने हुँदा हरेक शुक्रबार राती जिरीमा आउँथ्यो।आइतबार विहान त्यहीबाट विद्यालय जान्थ्यो।

           एकदिन ऊ शुक्रबार नभएर जिरीबाट गएकै दिन अर्थात आइतबारै जिरी फर्क्यो।त्यत्रो टाढाको बाटोमा विहान गएर पढाईकन फेरि बेलुका आएको देखेर खुशी हुनु भन्दा पनि अचम्मित भएँ।उसको मुहारमा पहिलेको जस्तो कान्ति थिएन।थियो त केबल मुर्झाएको फूल जस्तो।
"के भयो र मनोज?उदास-उदास देखिन्छौ।किन आजै फर्केको?।"-मैले उत्सुक हुँदै सोधेँ।
"के हुनु र?केही भएको छैन।आज उता बस्न मनै नलागेर आएँ।"
"हैन,केही त रहस्य छ-तिमी आजै फर्किनुमा।क्रान्तिकारी या सेनाले धम्कायो फेरि?"
"के भनौं र,कुरा नै त्यस्तै खालको छ।पहिलेको घटना सेलाउन नपाउँदै फेरि अर्को दु:खद घटना घट्यो।जुन घटनाले समस्त विद्यालय परिवार र गर्जाङ बासी नै मर्माहत बनाएको छ।
               "आज विहान म विद्यालयमा पुग्दा त्यहाँ कोही थिएनन्।चाँडो पुगेको होला भनेर घडी हेर्दा सवा दस बजिसकेको थियो।कुनै सार्वजनिक बिदा परेको होला भनेर एकछिन सोचमग्न भएँ।तलतिरको स्वास्थ्य चौकीमा गएर यादव सरलाई सोधेँ।रामबहादुरको घरमा घटना घटेकोले विद्यालय छुट्टी भएको जानकारी दियो उसले ।यादव सरलाई पनि लिएर रामबहादुरको घरमा गएँ।गाउँलेहरु झुम्मिएर हेर्दै थिए।
"पुलिस पनि अहिलेसम्म आइपुगेका छैनन्।अस्ति भर्खरै त्यस्तो घटना घट्यो।डरले के आउँलान् र?"
नजिकै गएर नियालें।त्यो दृश्यले मलाई क्षत-विक्षत बनायो।आघात पुर्यायो।नरोइकन बस्नै सकिन।सरासर गएर रामबहादुरलाई घटनाको बारेमा सोधेँ।
"हिजो २ छोराहरुले गोरु जोत्न मद्दत गरेकाले मेरो भुइँमा खुट्टै थिएनन्।शुक्रवारको दिन दिउँसो एक बजे नै विद्यालय छुट्टी भएर यताउता खेल्दै हिंड्ने क्रममा भेट्टाएको चिल्लो बललाई जेठो छोरा मोहनले झोलामा जतनका साथ राखेको रहेछ।भाइ चन्द्रसंग मिलेर बल खेल्ने योजना मुताविक दाइले गोरु भाइलाई जिम्मा लाएर उक्त बल झिकेर ल्यायो। गोरु जोत्न छाडेर दुई भाइ खेल्न थाले।बल दुई भाइको बीचमा नाच्न,उफ्रन र गुड्न तल्लीन थियो।चिल्लो र अनौंठो बलसंगै दुवै भाइको हर्षको सिमानै थिएन।सोही क्रममा मोहनले कौतुहल हुँदै बलतिर अवलोकन गर्न थाल्यो।उक्त फलामको बलसंगै मसिनो साङ्ला पनि जोडिएको थियोे।दाइको क्रियाकलाप देखेर भाइ चन्द्र पनि उत्सुक मान्दै भन्न थाल्यो।
"खै दाइ,म पनि हेरुँ न के रहेछ त्यहाँ!"
"हुन्न,हुन्न।म आफैं हेर्छु पहिले।किनभने यो बल मैले भेट्टाएको हुँ।"-दाइको जवाफ थियो।
दुई भाइको बीचमा प्रतिस्पर्धा हुन थाल्यो।सबभन्दा पहिले को उक्त बलको बारेमा बढी जानकार हुने?दाइको अगाडि भाइको केही लागेन।दाइले नै उक्त बलको साङ्ला खिचिदियो।
"डम्म्म्म्म"आवाज आयो।मुस्लोले खेतबारी अन्धकार भयो।एक हल गोरु सहित दुई भाइ यताउता लडे।
"गुहार!गुहार!मेरा छोराहरुलाई के भयो?गाउँले हो!मद्दत गर्नुस् मलाई!"
रुन र चिच्याउन थालें।दुईचार जना गाउँलेहरु जम्मा भएपछि हामीले उठाएर हेर्यौं तर प्राण-पखेरु उडिसकेका थिए।
यत्तिकैमा एक जना गाउलेले भन्यो।
"अस्ति एकहप्ता पहिले सेना-विद्रोही बीच युद्ध भएको थियो।खै यी दुई भाइले कहाँबाट फेला पारेछन्-बम!"
"हुन त हामीले पनि देखेका थियौं-त्यो बल।तर हामीलाई के थाहा त्यो बल बम हो भनेर?"

             ओमु!साँच्चिकै त्यो दृश्यले मलाई समेत जिउँदो लास बनायो।करीब १२ र १४ बर्षका बालकहरु,एकहल गोरु यता/उता लडिरहेका।दुबैको निधार र शीरमा छिद्र-छिद्र।बिक्षिप्त शरीर।गोरुहरुलाई चाहिँ कहाँ लागेको भनेर ठम्याउन सकिएन,भुत्लै भुत्ला भएकोले।एकैचोटिमा दुईभाइ छोरा र एकहल गोरु गुमाउँदाको पीडा रामबहादुर र उनकी पत्नीले कसरी सहेका थिए?तिमी आफैं सोच त।ती आमा-बाबाको हालत कस्तो भए होला?बरा!
उसले यति भनिसक्दा मेरा आँखाबाट थाहै नपाई आँशुधारा छुटिसकेछ।
"अनि त्यसपछि के भयो?"-मैले मनोजलाई सोधेँ।
"के हुनु नि?प्रहरीहरु त्यहाँ आउन मानेनन्।उतैबाट दाहसंस्कार गर्ने अनुमति दिए।जे नहुनु पर्थ्यो,भैसकेको थियो।त्यसपछि हुनु के नै थियोे र?"- आँशु पुछ्दै भन्यो।
"ल मनोज,अब तिमी त्यता जाने हैन।त्यो ठाउँ एकदमै असुरक्षित भैसक्यो।सकभर छिटो राजीनामा दिएर आऊ।आफ्नो ज्यान भन्दा पैसा ठूलो हैन।"

              वास्तवमा म अत्याधिक रुपमा आँतिएकी थिएँ।उसकै बारेमा चिन्ता लाग्न थाल्यो।त्यस्तो गम्भीर स्थितिमा त्यहाँ जागीर खाएर बस्नु कुनै पनि हालतमा उचित लागेन।बल्लतल्ल लडाइँको मोर्चाबाट ज्यान बचाएर आएको उसलाई तुरुन्तै जागिर छोड्न दबाब दिएँ।खासमा जागिर खाएर बस्न उसलाई पनि इच्छा जागेन।केही दिन पश्चात् जागिर छोडेर मसंगै जिरीमा बस्न थाल्यो।

               उसले राहदानी बनाएर बिदेश जानको लागि कोसिस गर्न थाल्यो।आवेदन दिइसकेको थियोे तर त्यतिनै बेला ईराकमा १२ जना नेपालीको निर्ममता र क्रूरतापूर्वक हत्या भयो।सो घटनाले गर्दा देशमा बिरोध तथा आन्दोलनले उग्र रुप लियो।कतिपय म्यानपावर कम्पनीहरु तोडफोड भए।कति जनाको महत्वपूर्ण कागजात र राहदानी गायब भए।म्यानपावर कम्पनीहरु ठप्प जस्तै भए।सबै कामहरु रोकिए।भिषा लाग्नु त कता हो कता राहदानी पाउन समेत धेरै महिना कुर्नुपर्यो।दु:ख-सास्ती खेप्नुपर्यो।

              कक्षा ११उतीर्ण गरेर १२ मा अध्ययनरत थिएँ।घरको आर्थिक कमजोर माथि पनि मनोज बेरोजगार भएकोले धेरै आर्थिक कठिनाइहरुको सामना गर्नुपर्यो।काठमाडौं जाने र फर्किने बाहेक उसको अरु कुनै प्रगतिशील काम भएन।हाम्रो प्रेम दुबो जत्तिकै फैलिएको भएपनि समय र परिस्थितिले दूरी बढाउँदै लग्यो।यद्यपि हाम्रो मनको दूरी भने एकदमै छोटो थियो।क्रमिक यत्नको बाबजुद पनि आँटेको काममा सफलता हात नलागेपछि ऊ सय हन्डर खाएर घर फर्क्यो।ढुक्कसँग गाउँमै बसोबास गर्न थाल्यो।

            एकदिन उसलाई अत्यन्तै खुशीको खबर सुनाएँ।
"मनोज!हाम्रो लागि एउटा खुशीको खबर छ।तर म सुनाउँदिन।खबर झूटो पनि हुन सक्छ।"
"ए हो र?के खबर हो त्यस्तो?झट्टै सुनाऊ न।के कुरा हो?म आतुर छु-सुन्नलाई।"
"हाम्रो पवित्र प्रेम र विवाहको निशानी अर्थात बिरुवा मेरो पेटमा हुर्किंदै छ जस्तो लागेको छ।"
"कसरी हुन सक्छ र यो?हामीले त सावधानी अपनाएका छौं त सकेसम्म।हैन होला।"
उसलाई सायद विश्वास लागेको थिएन।
"मासिक स्रावको समय कटेको दस-पन्ध्रदिन भैसक्यो।पेट हल्का दुखे जस्तो।वाक-वाक लाग्ने।रिंगटा चल्ने।"
"ल त्यसो भए भोलि जिरीको अस्पतालमा जाँच गर्न जाने।त्यसपछि सबै कुरा छर्लङ्ग हुन्छ।"
प्रस्तावलाई सहर्ष स्वीकार्दै अस्पतालमा 
जँचाएँ।पिसाब जाँच गरिसकेपछि डाक्टरले नतिजा सुनाउने बेला भयो।नतिजा सुन्न हतार भैसकेको थियो।
"डाक्टर साब रिपोर्टमा के छ?"- उत्साहित भएर सोधेँ।
"एकछिन पर्खिनुस् बहिनी।भनिहाल्छु नि।सिस्टर,बहिनीको रिपोर्ट ल्याउनुस् त।"
केहीबेरपछि डाक्टरले रिपोर्ट हेर्दै भन्यो।
"बहिनी!तपाईं आमा बन्दै हुनुहुन्छ।बधाई छ तपाईंहरुलाई!"
खुशीले भुरुक-भुरुक उफ्रँदै त्यो खुशी मनोजसित बाँड्न लागें।हामी दुबै पुलकित हुँदै बजारमा आएर 'फोर्लिक एसिड' नामक रगत बढाउने औषधि किन्न थाल्यौं।
"सुवास सर,नमस्ते।यो औषधि दिनु त।"
उसले चिनजानको साथीको औषधि पसलमा डाक्टरले लेखिदिएको कागज देखाउँदै भन्यो।
"नमस्कार सर।लौ बधाई छ सर-म्याडम लाई।प्रगति गर्नुभएछ।"
कागजतिर आँखा दौडाउँदै सुवास सरले भन्नुभयो।
"धन्यवाद,धन्यवाद सर।"
मनोज र मेरो एउटै स्वर भयो।
"ल भाउजू एउटा-एउटा चक्की दैनिक रुपमा नछुटाई खाने गर्नुस् है।"
सुवासको सुझाब थियो।

             फलफूल र पौष्टिक आहारा किनेर हामी भुइँमा खुट्टै नटेकी घर फर्क्यौं।एउटी नारीको लागि त्यो भन्दा खुशी,आनन्द र गौरवको कुरा अरु केही पनि हुन सक्तैनथ्यो।आमा बन्न पाउनु त नारीको अहोभाग्य नै हो।आमा बनेपछि मात्र एउटी नारी पूर्ण हुन्छे।म पनि अपूर्णबाट पूर्ण हुँदै थिएँ।

             भारी जीउ लिएर कलेज जान असम्भव भएकोले कोठामै बसेर स्व-अध्ययन गर्न थालें।छोरा/छोरी जे पाएपनि हामीलाई फरक नपर्ने हुँदा अस्पतालमा गएर लिंग परिक्षण गर्ने काम गरेनौं।समय गुज्रिसकेकोले मेरो कोखबाट एउटी छोरीको जन्म भयो।मनोज र म पनि बाबा-आमा भयौं।आर्थिक स्थितिले गरीब भएपनि छोरी पाएर धनी भयौं।एउटी सानी छोरीको धनी।बच्चाले पनि बच्चा पाएकोले बच्चाको बाबु बच्चा समाउन निकै धक मान्थ्यो।अझ भन्ने नै हो भने बच्चा समाउने र खेलाउने उसको ढंगै थिएन।एकछिन समाए जस्तो गरेर मलाई जिम्मा दिइहाल्थ्यो।बच्चाको आमा भएपछि बच्चा काखी च्यापेर कलेज जान सक्ने स्थिति थिएन।मेरो बसाइँ गाउँघरमै हुनथाल्यो।घरमै बसेर स्व-अध्ययन गर्न थालें।हुँदाहुँदै १२कक्षाको परीक्षा आयो।सुत्केरी भएको एक हप्तापश्चात मनोज बिदेश जाने शिलशिलामा काठमाडौं गैहाल्यो।परीक्षा त आयो तर काखमा दुधे बालिका लिएर कसरी जाँच दिने?चिन्ताले सतायो।
"आमा,मेरो पढाई खत्तम हुने भयो।यतिसम्म पढियो तर अब जाँच दिने बेलामा यस्तो समस्या आइलाग्यो।मैले जाँच दिन नपाउने भएँ।"-मले सासुआमालाई ब्यथा सुनाएँ।
"किन बच्चा पाएपछि जाँच दिन नपाउने नियम छ र?-सासुले सोध्नुभयो।
"पाईन्छ तर कसरी जाँच दिने?नानी कसले हेरिदिन्छ त?
"कति दिन लाग्छ?महिना त लाग्दैन होला?म हेरिदिउँला केही छैन।"
"आमा,तपाईंले हेरिदिने?"
"किन,मैले हेर्न हुन्न त मेरी नातिनीलाई?तिमी ढुक्क भएर बस,म छु नि।"
सासुआमाको कुराले मलाई धेरै राहत मिल्यो।सासू भएपनि आफ्नै आमा जस्ती प्यारी लाग्न थाल्यो।
नभन्दै परीक्षाका दिनहरुमा विहान ३/४ घण्टाको लागि नानी सासूआमालाई जिम्मा लगाएर परीक्षा दिएँ।

               घर र माइतीघरमा धेरै थरीका व्यवहारिक समस्याहरु झेल्नुपर्यो।युगौ-युगदेखि सासू/बुहारीको सम्बन्ध यसरी चल्दै आएको छ कि उनीहरू बीचको दूरी एकदमै टाढा छ।भौगोलिक दूरी भन्दापनि मानसिक दूरी।दुबै नारीजाति भएतापनि उनीहरू बीचको दूरी किन यसरी बढिरहन्छ भन्ने कुराको तथ्य पत्ता लगाउन धेरै कठिन छ।एकले अर्कोलाई हेर्ने/बुझ्ने दृष्टिकोण शत्रु भन्दा सायद कम नहोला।चाहे उनीहरू बीचको सम्बन्ध जतिनै प्रगाढ होस्।कतै न कतै,कुनै न कुनै विषयमा तालमेल मिलिरहेको हुँदैन।ठिक त्यस्तै सम्बन्ध हामी सासू/बुहारीमा पनि थियो।हुनु स्वभाविक थियोे।नौलो पक्कै थिएन।त्यसो त श्रीमतीलाई गर्ने माया र बाबा-आमालाई गर्ने मायामा पनि आकाश/पातलको फरक हुनेनै भयो।मैले मनोजको माया र उसले कमाएको पैसा पाउँदा सासूआमा रिसले आगोझैं हुनुहुन्थ्यो।एउटी श्रीमतीको नाताले आफ्नो श्रीमानबाट ती सब पाउनु उनको हक-अधिकारको कुरा पनि हो।बाबा-आमालाई जतिसुकै माया गरेपनि त्यो अदृश्य हुन पनि सक्छ।माया भन्ने शब्दले नै सासू-बुहारीमा असमझदारी पैदा गरिरहेको हुन्छ।
"जन्माउने/पाल्ने/टाल्ने/हुर्काउने/पढाउने बाबा-आमाले।फल खाने बुहारीले!"
यही मानसिकता धेरै आमा/सासुहरुमा हुने भएकोले सम्बन्ध बरफ झैं चिसिन्छ।यावत कारणहरुले गर्दानै सासू-आमासंग सुमधुर सम्बन्ध स्थापित हुन सकेन।केही गल्ती मेरा,केही सासुआमाका होलान्।आखिर ताली बज्न दुबै हातहरुले भूमिका निर्बाह गरेका हुन्छन्।सासू-बुहारीको झगडाको बीउ सदियौंदेखि जीवित छ।मलजल पाउने बित्तिकै टुसा पलाएर मौलाउन थाल्छ।

              एकदिन तिल जत्रो बिषयबाट शुरु भएको ठाक्कठुक्कले पहाडको रुप धारण गर्यो।बोलचाल नै बन्द भयो।खाना समेत नखाएर रातको दस बजे संघार नाघेर घरबाट बिदा भएँ।बच्चालाई पछाडि बर्कीले बाँधेर हातमा कपडाको पोको लिएर काठमाडौं जाने योजनाले घरबाट बाहिरिएँ।निस्पट्ट सुनसान रात।ताराहरु मात्र टिल्पिलाइरहेका जहाँ जूनको उपस्थिति थिएन।कुकुर,स्याल र मृगका अलग-अलग आवाजले यस्तो आभास दिलाउँदै थियो।मानौं-म चिडियाखानामा छु।चिहानटार तिर राँकेभूतका ज्वालाहरु सल्बलाइरहेका।करीब ७/८ वटाको संख्यामा भएका राँकेभूतहरु कहिले ओख्रेटारतिर र कहिले सैलुङ पहाडतिर पुग्थे।फेरि फर्केर निकै तलतल सम्म आएर बिलाउँथे।बूढापाकाहरुले त्यसलाई राँकेभूत नाम दिएका दिए।बैज्ञानिक कारण-चिहानतिर स-साना हाडका टुक्राहरु हुन्छन्।ती हड्डीहरुमा हुने  फस्फोरस ग्याँस अक्सिजनसंग मिलेर रासायनिक प्रतिक्रिया पश्चात् आगो बन्ने गर्दछ।विद्यालयमा बिज्ञान शिक्षकले त्यसरी पढाए पनि ज्वालन्त दृश्यले सबै बैज्ञानिक कारण बिर्साइदिन्थ्यो।फेरि मलाई आफ्नो भन्दापनि नाबालिका छोरीको चिन्ता थियो।कतै भूत-पिशाचको छायाँ पर्ने पो हो कि!

              मनोज घरमै भएको भए सायद सासूसंग महाभारत हुने थिएन।ऊ संगै हुँदा र नहुँदाको सासूले गर्ने व्यवहारमा आकाश-पातलको फरक हुन्थ्यो।हामी आमा-छोरी संगै भएतापनि म एक्लै जत्तिकै थिएँ।कारण-छोरी बल्ल एक बर्षकी भएकोले उनलाई डर,त्रास र खुशी जस्ता संवेदनाहरु के नै अवगत/अनुभूत हुन्थ्यो र?पहिलोपटक भागेर काठमाडौं जाँदाको र त्यतिखेरको बाटो बिल्कुल उहीँ/उस्तै थियोे।तर पछिल्लो पलमा ऊ मेरो साथमा थिएन।भागेर जाँदाका हरेक पलहरु सम्झें।उसको अनुपस्थितिमा काठमाडौंको यात्रा सार्थक/पूर्ण बनाउने हिम्मत आएन।ऊ बिनाको यात्रामा दुई पाइला मात्र बढाएकी थिएँ।थकित भएर पाइलाहरु अगाडि नभई पछाडि धकेलिए।सबै अवस्था/परिस्थिति/बाधा/अड्चनहरुको मध्यनजर गर्दै पाइला त्यहीं स्थगित गरें।माथ्लोघरमा बास माग्ने निहु खोज्न थालें।सबैजना ढोका थुनेर सुतिसकेका थिए।
"आमा!ए आमा!ए आमा!"
ढोका ढकढक्याउँदै बोलाएँ।
"को हो?के चाहियो?यतिका राती ढोका हान्ने को हो"
आमाले चर्को स्वरमा सोध्नुभयो।
"आमा!म ओमु।मलाई आपत परेर यहाँ आएकी।"
शेर्पा भाषामा आफ्नो परिचय दिएँ।
उहाँले चिनेर घुईंया ढोका खोल्दै भन्नुभयो-
"के पर्यो र यतिका राती?"
"म काठमाडौं जान लागेकी।मलाई टर्च कि सिटा दिनुपर्यो।आपतमा परेकी छु।"
मैले झगडाको सबै बेलिबिस्तार लगाउँदै भनें।
"अहिले यति राती जानुपर्ने के छ?के नै बितेको छ र ?अहिले नजाऊ।यहीँ बस।भोलि विहान उज्यालो हुँदै जाऊ।बच्चा पनि सानै छ,बिमार होला।"
उहाँले त्यति भनेपछि मलाई अरु के चाहियो र?खोजेको त्यही थियो।जाने हिम्मत भए किन उहाँहरुको घरमा जानकारी दिईरहन्थें र?आमा-छोरीको त्यो रात त्यही बित्यो।

           "अब हामी लाग्छौं आमा।बास दिएर ठूलो गुण लाउनुभो।कहिले तिर्न सकुँला र यो गुणको बदला?"-आमालाई बिदा माग्दै भनें।
"होस् नजाऊ अहिले काठमाडौ।वहाँ गएर पनि के गर्छ्यौ र ?नानी पनि सानै छ।"
उहाँको कुरालाई मनन गर्दै काठमाडौंको यात्रालाई असफल बनाउँदै हामी माइतीघर तर्फ सोझियौं।अर्को विकल्प मेरो सामू थिएन।

             केही महिनापछि १२ कक्षाको नतिजा आयो।म उतीर्ण भएँ।परीक्षा दिन जाँदा सासूले बच्चा हेरिदिएर स्रहानीय काम गर्नुभएको थियो।तर झगडा पश्चात् हामी बीच दरार पैदा भएर ठूलै खाडल बनिसकेको थियो।दिनहरु सुख-दु:ख बित्न थाले।छोरी साथमा लिएर गाईबस्तु चराउन जान्थें।गरिबी र अभावले तनाव सृजना हुन थाल्यो।शुरुमा त सबैको प्यारी थिएँ।बिस्तारै आमा-छोरी बोझ हुन थाल्यौं।विवाहित चेली माइतमा बसेपछि समाजको दृष्टिकोण नकारात्मक हुने नै भयो।

              १२ कक्षा उतीर्ण गरेपनि गाउँमा रोजगारीको सम्भावना न्यून थियो।संयोगवश पाएपनि छोरी कसले सम्हालिदिने?घर/माइत दुईतिरबाट वचन-वाणहरुले लागेर सख्त घाइते भएँ।वाण मुटुमै लागेकाले निको हुने कुनै औषधि पाईन।औषधिको खोजीमा काठमाडौं जाने कठोर निर्णय गरें।
"जस्तोसुकै दु:ख,कष्ट र बाधा-अड्चनको सामना गर्नुपरे पनि एकमुठ्ठी खोले खाएर भएपनि जीवन निर्वाह गरुँला।जसरी पनि काठमाडौं गएरै संघर्षका पाइलाहरु बढाउनेछु।"
यस्तै सोचेर एकदिन जिरी गएर मनोजलाई फोन गरें।
"मनोज म त काठमाडौं आउँदैछु।यहाँ हाम्रो बिजोग छ।"
"किन आउँदैछ्यौ र तिमी?न त यहाँ मेरो बिदेश जाने काम सफल भएको छ,न बस्नको लागि छुट्टै कोठा नै छ।म त यहाँ कहिले दाइ,कहिले दिदीहरुकोमा गएर गुजारा चलाउन बाध्य छु।त्यहीँ माथि तिमीहरु आयौ भने मैले कहाँ राख्ने?कसरी प्रबन्ध मिलाउने?मेरो समस्या र बाध्यतालाई बुझ्ने कोसिस गर न ओमु।म आफैं त समस्याहरुको महासागरमा खसेको छु।समस्यामाथि समस्या थप्ने काम नगर न।"-मनोजले सम्झाउन खोज्यो मलाई।

Sunday, 25 September 2016

आरोह अवरोह-१४

               हाम्रो नाता श्रीमान्-श्रीमती भन्दा पनि प्रेमी-प्रेमिका जस्तो भयोे।प्रगाढ सम्बन्ध र अटल प्रेम देखेर गाउँघरमा मान्छेहरु कोहीले प्रशंसा गर्थे।कोहीले आलोचना।कोही भने ईर्ष्या र डाहाले जल्थे।अन्तमा आफैं भस्म हुन्थे।
"कसैको नभएको माया रहेछ उनीहरूको।"
"ओमुले मनोजको पाइन्टको धूलो समेत टक्टकाइदिन्छे रे।"
"विद्यालय जाँदा छुट्टिने बेलामा चुम्मा गरेर छुट्छन् रे।"
चाहिने-नचाहिने वाहियात हल्लाहरु फिंजिदै अन्ततः मेरै कानसम्म आइपुगे।कुनै हल्ला सत्य थिए।कुनै सरासर झूट।निराधार हल्ला मात्र।
"बिहे भैसकेको बुहारीलाई पनि विद्यालयमा पढ्न पठाउने हो र?घरको काम पो गर्न लाउनुपर्छ त।"
"माइतीघरमा धेरै पठाउनु हुन्न।"
"बालबच्चा जन्माएर खेतीपाती गरेर बस्नुपर्छ।"
"केटीमान्छे जतिसुकै पढेलेखे पनि कुटो-कोदालो र चुलो-चौका गर्नैपर्छ।पढेर के काम?"
"बिहे गरेको एकसाल पूरा हुँदा पनि बच्चा पाएकी छैन,बाँझी छे क्यारे!"
समाजमा यस्ता तत्वहरु पनि निस्के जसले नाजायज कुराहरु सासू-ससुरालाई लाएर भड्काउने ,उचाल्ने र पछार्ने काम गरे।भन्नेहरुले नानाथरी भनेपनि मुख टाल्न सकिएन।हाम्रो सामाजिक संस्कार र पद्धति नै यस्तै छ।कुनै पनि बुहारीले माइत नगएर सधैं घरमै चुलो-चौका गरेर बसोस् भन्ने चाहना हुन्छ सबैको।सासू-ससुराको चाहना घरमा बसेर काम गरोस्।बाबा-आमाको चाहना रीत पुर्याएर,बाजागाजा बजाएर बिहे नगरेसम्म छोरीलाई पराईघरमा नपठाउने।काम गर्न नलाउने।दुई ठूल्ठूला ढुंगहरुको बीचमा च्यापिएको तरुल जस्तै भएँ।साँढेको जुधाई-बाछाको मिच्याई भने झैं।दुई भिन्नभिन्नै चाहनाहरुको लडाइँ हुँदा चपेटामा परें।सायद सासू-ससुरा र बाबा-आमाको म प्रति धेरै माया भएर पो हो कि।माइतीघर गए घरबाट तुरुन्तै बोलाउने।घर गए माइतीघरबाट तुरुन्तै बोलाउने।यता आए उता रिसाउने।उता गए यता रिसाउने।यता र उता दौडिंदा दौडिंदै थाकेर लखतरान भएँ।
"सायद म काम गर्नकै खातिर जन्मेकी रहिछु क्यारे।जसले पनि कामै मात्र गराउन खोज्छन्।मेशीन हुँ र कामै मात्र गर्ने ?मांसपेशी र अस्थिपञ्जरले बनेको शरीरलाई विश्रामको जरुरत छैन?के मान्छेको ज्यान भन्दा काम ठूलो हो?गधा झैं दिनरात खट्दा पनि मनमा अलिकति दया-माया किन नपलाउँदैन?के तिमीहरूको दिमागमा मानवीय संवेदना छैन?बरु मेरा हातखुट्टाहरु काटेर भाग लाएर लैजाऊ।"
मस्तिष्क यस्तै कुराहरुले ब्यस्त हुन्थ्यो।

            प्रेमविवाहलाई समाजले पनि स्वीकारे।तर घरका बाबा-आमाहरु पुनः रीत बिहे गरिदिने पक्षमा हुनुहुन्थ्यो।एकदिन माइतीघरमा आमालाई सम्झाउने कोसिस गरें।
"आमा!बिहे त भैसक्यो।दुनियाँको नजरमा हाम्रो प्रेमविवाह भनेर ऐना जस्तै छर्लङ्ग छ।कसैको सामू छिपेको छैन।फेरि यो रीत,बाजागाजा र बिहे केका लागि?सबै देखावटी हैनन् र?रीत पुर्याउँदैमा हाम्रो कहानी परिवर्तन हुन्छ र?मनोजले ओमुलाई भगाएर लगेको थिएन भनेर कसैले भन्न सक्ला?पासाङ दाज्युभाइले संघातिक हमला गरेका थिएनन् भनेर तपाईं भन्न सक्नुहुन्छ?"
पुनर्विवाहको विपक्षमा उभिंदै आफ्नो तर्क पेश गरें।
"हो छोरी, तिम्रो कुरा पनि सही नै हो।तर भोलि तिमीहरुको लाला-बाला होलान्।तिमीहरू आमा-बाबा बन्लाउ।तर बिहे बिना जन्मेका बालबच्चालाई समाजले हेयको दृष्टिले हेर्नेछन्।हामी सबैको नजरमा गिर्छौं।सामाजिक मूल्य र मान्यता विपरित हुनेछ।असक्षम र नालायक ठहरिनेछौं।हामी पनि समाजकै एक अंग हौं।समाजकै ईच्छा अनुरुप अंगहरु चल्छन्।त्यसैले तिमीहरूले बिहे गर्नैपर्छ।"
आमाको भनाइमा पनि केही सत्यता थिए।
"लाखौंको रकम खर्चेर फेरि बिहे गरेर के फाइदा?के औचित्य?उसै त घर भत्केदेखिको पुरानो ऋण यथावत छँदैछ।ऋणमाथि ऋण थपेर तपाईंहरुलाई थप कष्ट दिन सक्दिन।जन्माएर,हुर्काएर र पढाएर यतिको सक्षम बनाउनुभयो।यही काफी छ।भने जस्तो बिहे गर्न सजिलो कहाँ छ र?बेकारमा टाउको दुखाउने काम नगरौं।"
"हैन,हाम्रो एउटै मात्र छोरीलाई जसरी पनि बिहे गराइदिन सक्छौं।ऋण लागेपनि लागोस्।तर दिन चाहिं नलागोस्।हामी डराउँदैनौं।"
बाबाले अड्डी कस्दै आफ्नो बिचार ब्यक्त गर्नुभयो।
"मैले त बाबा-आमाहरुको हितकै लागि भन्दैछु।तपाईंहरु ऋणको दलदलमा फसेको देख्न सक्तिन।अझै केही बितेको छैन,राम्ररी सोच्नुस्।हतारमा निर्णय नलिनुस्।यो भन्दा अरु म केही भन्ने पक्षमा छैन।"
"अहिले तिमी चुप लागेर बस।हामी सम्धी-सम्धिनीहरु भेटेर छलफल गर्छौं।अनि अन्तिम निर्णयमा पुगौंला।"-आमाले भन्नुभयो।

               भोलिपल्ट हामी घरमा फर्क्यौं। मनोजको बाबा-आमासंग सरसल्लाह र छलफल गर्यौं।
"आमा!हामी आफ्नो ईच्छाले बिहे गरेको पनि ६/७ महिना भैसक्यो।फेरि पैसा खर्च गरेर किन बिहे गर्ने?फेरि बिहे नगरेपनि के फरक पर्छ र?"
मनोजले कुरा शुरु गर्यो।
"तिमीहरुलाई फरक नपरे पनि हामीलाई पर्छ नि।हाम्रो त कान्छो छोरा हो।बाजा बजाएरै बिहे गर्ने हो।"
आमाले अडान लिनुभयो।
"गाउँमा सबैलाई सबैको बारेमा थाहै छ त।फेरि कसलाई देखाउनु छ र?अरु घोडा चढ्छन् भन्दैमा आफू धूरी चढेर त भएन नि।अरुको देखासिकीले आफैं खाल्डोमा परिन्छ।ऋण काढेर बिहे गर्नुको कुनै औचित्य छैन।कुनै मज्जा छैन।सकेसम्म ऋणदेखि टाढा हुनुनै बेश।"
मनोजले आफ्नी आमालाई सक्दो सम्झायो।
"पासाङकी आमाले मलाई के भनिन्, थाहा छ?'तिमीहरूले आफ्नो छोराछोरीको बिहे बाजागाजा बजाएर धुमधामका साथ गर्न कदापि सक्दैनौ।यदि औकात भए गरेर देखा।छ हिम्मत?रे"
"अनि तपाईंले के भन्नुभयो त?"
"तिमी आँखा च्याती-च्याती हेर।हामी भनेर हैन गरेर देखाउँछौ।यस्तै भनिदिएँ।शत्रुलाई देखाउन पनि तिमीहरूले बिहे गर्नैपर्छ।समाजमा इज्जतको पनि सवाल छ।वैरीको मुख टाल्न पनि हामी पछि हट्नुहुन्न।"
"अरुले जे भनेपनि हामी आफ्नै हिसाबले चल्नुपर्छ।अरुले के भन्छन् भन्नुभन्दा पनि हामीलाई कसरी घर-व्यवहार चलाउन सजिलो हुन्छ,त्यसरी चल्नुपर्छ।भन्नेलाई भन्न दिनुस्।"
"हो आमा।मनोजको कुरा पनि बेठिक हैन।पहिलेदेखि ऋणले थिचिएका छौं हामी।"
"हैन,हैन।पासाङकी आमाको रिसले पनि म तिमीहरुको बिहे गरिदिन तयार छु।ऋणको बारेमा कुनै चिन्ता लिनु पर्दैन।तिमीहरूले तिर्नुपर्दैन ऋण।हामी आफ्नै बल-बुतोले तिर्छौं।यही मेरो अन्तिम निर्णय हो।"
यति भनेर आमा घरबाट काममा निस्किनुभयो।

               हामीले बाबा-आमालाई खुबै सम्झायौं, बुझायौं।उहाँहरुले हाम्रो कुरा सुनिदिनुभएन।खाइदिनुभएन।बुझिदिनुभएन।सम्पूर्ण प्रयासहरु बिफल भए।दुबै परिवारको बैठकले हाम्रो बिहे गरिदिने निर्णय गरे।मनोज र म अल्पमतमा पर्यौं।आखिर हाम्रो केही सीप चलेन।हाम्रो बाजा बजाएर बिहे हुने भयो।बिहे हुनु खासै नकारात्मक बिषय पनि थिएन।तर हाम्रो घरको आर्थिक स्थिति निकै दयनीय र नाजुक भएकोले बाबा-आमाले आफू पस्ने खाल्डो आफैं खन्दै हुनुहुन्थ्यो।मनोज एकजनाको तलबको भरमा हामी दुवैको पढाइ चलेको थियो।घरको भार थेग्न सक्ने अवस्था थिएनौं।आखिरमा ऋण काढेरै भएपनि हाम्रो धुमधाम बिहेको तयारी भयो।बिहेको बिषयले हामी आफैं आश्चर्यचकित हुँदै थियौं।म बल्लतल्ल दस कक्षामा पढ्न थालेकी थिएँ।विद्यालयमा पनि हाम्रै बिहेको चर्चाले माहोल तात्तिन थाल्यो।भागीविवाह गरेका सहपाठीहरु पनि पढाईमै फर्किसकेका थिए।तर उनीहरूको बिहे सकिसकेको थियो।फेरि हुने कुरा थिएन।त्यसैले बिहेलाई लिएर ख्याल-ठट्टा पनि गरे कतिपयले।
"आम्मै,ओमु तिम्रो बिहे फेरि?"-वीरे।
"भागेर गरेको बिहेमा के कमी थियो र?"-जाङ्मु।
"बिहे पनि कतिपल्ट गर्छौ तिमीहरु?"-डोमा।
"बाजागाजा बजाएपछि अर्कै मजा हुन्छ होला नि!"-नारायण।
"अनि सुहागरात मनाउन चाहिँ कहाँ जान्छौ त?"-काले।
"फेरि घुम्टो उठाएर नजर जुधाउँछ होला मनोजले?"-आइते।
"भाग्यमानी रहेछौ तिमीहरू।फेरि बिहे गर्न पाउने भयौ।"-वीरे।
कक्षामा उपस्थित छात्र-छात्राहरु सबै थरी-थरीका लय निकालेर हाँसे।हल्ला र हाँसोले कोठा गुञ्जियो।यता-उता हिंडिरहेका शिक्षक-शिक्षिकाहरु टक्क अडिएर झ्याल-ढोकाबाट हेर्न थाले।मानौं त्यहाँ कुनै ठूलै कार्यक्रम हुँदै थियो।
"हाम्रो इच्छाले हो त?बाउ-आमाले गरिदिने भनेपछि के गर्ने त?"
लाज/शरमले नजर झुकिसकेको भएपनि लाज पचाउँदै जवाफ दिएँ।
"फेरि जग्गे सात फन्का घुमेर अग्नीलाई साक्षी राखेर कसम खाने भयौ हैन?"-लक्ष्मीले सोधी।
"हाम्रो शेर्पाको त्यस्तो चलन छैन।"-जाङ्मुले जवाफ फर्काइन्।मैले केही भन्नै परेन।

               गणित शिक्षकले पढाउन थाल्नुभयो।ध्यान पढाइमा भन्दा सहपाठीहरुको जिस्क्याइमा गयो।
"हा हा हा हा ••••••••••••••••••••••।"
अनायास एक्लै हाँस्न पुगेछु।
"हा हा हा हा हा हा हा हा हा•••••••••••••"
कक्षाका सबैजना गललल हाँसे।
"ही ही ही ही ••••के भयो?"-शिक्षकले पनि हाँस्दै सोध्नुभयो।
केहीबेर कक्षाकोठामा सन्नाटा छायो।मानौं त्यहाँ कोही छैनन्।
               हुँदाहुँदै बिहेको दिन आयो।बिहेको दिन भन्दा पनि बाजागाजा सहितको बिहेको दिन।खासमा शेर्पा जातिको परम्परा र संस्कृति अनुसार बाजागाजा बजाउने चलन नभई लामाले पण्डितको काम गर्ने गर्छन्।एकजनाले झ्याम्टो बजाउने।अर्कोले एक हातले चौरीको पूच्छर हल्लाएर अर्को हातले तरवार खेलाउँदै नाच्ने।अर्कोले तोपको आकारमा हुने एकप्रकारको भरुवा बन्दुक ठाउँ-ठाउँमा पड्काउँदै हिंड्ने।यस्तै चलन भएतापनि अतिरिक्त मनोरञ्जनको लागि नौमति या पञ्चेबाजा बजाउने चलन पनि भित्रिएपछि सोही अनुरुप प्रबन्ध मिलाइएको थियो।बेहुला र जन्तीहरुको लागि बाहिर पाल टाँगेर ठाउँ बनाइएको थियो।

                जन्ती मनोजको घरबाट हिंडिसकेका थिए।तर संकटकालको कारण बन्दुक पड्काउन प्रतिबन्धित भएकोले झ्याम्टा र अन्य बाजागाजाको आवाज मात्र सुनिन्थे।म पनि बेहुली हुन थालेकी थिएँ।कपडा लगाइदिने र सजाउने काम संगीहरुले नै गरे।त्यतिबेला मलाई चामत्कारिक अनुभूति भयो।मानौं म एउटी राजकुमारी हुँ।मेरो हेरचाहको लागि चार -पाँच जना सुसारेहरु वरिपरि छन्।मलाई खुशी पारेर इनाम जित्न उनीहरु तँछाड-मछाड गरिरहेका छन्।

                 हेर्दाहेर्दै जन्ती बेहुला लिएर आइसकेका थिए।जन्ती आएको केहीक्षण पश्चात् ढोकाबाट पुर्लुक्क चिहाएँ।बेहुला जातिय पोशाकमा ठाँटिएको थियो।बख्खु र टोपी हेर्दा ठ्याक्कै पृथ्वीनारायण शाहको जस्तो।मनमनै हाँस उठ्यो।सम्हाल्न नसक्ने ठानेर अपर्झट ढोकाबाट भित्रै फर्कें।रात परिसकेकोले खानपिनको कार्यक्रम सकिए लगतै मेरो ढोगभेटको कार्यक्रम शुरु भयो।आफूभन्दा ठूला आफन्त र इष्टमित्रलाई रक्सी,जाँड र चिया पिलाउँदै ढोग्नुपर्थ्यो।सो गरे बापत उहाँहरुले केही दक्षिणा थमाउनु हुन्थ्यो।त्यहीँ प्रकृया पूरा रात चल्नेवाला थियो।दक्षिणाले थैली भरिंदै गयोे।

               करीब-करीब मध्यरात भएको थियो होला।बेहुला पहिरन परिवर्तन गरेर अघि-पछिको झैं सामान्य पोशाकमा झ्यालबाट चिहाउँदै थियो।मलाई देखेर मुसुक्क हाँस्यो।मैले पनि हाँसेरै उसको हाँसोको पैंचो तिरें।म फेरि उसको प्रेममा नौलो तरीकाले फसें।बिहेको परम्परा र चलनानुसार बेहुलाले आफ्नो बिहेको पहिरन परिवर्तन गर्न र माइतीघर भित्रको बेहुलीलाई नजर लाउन पाईन्नथ्यो।नियम तोडेर ऊ गायब भैसकेको थियो।
"ओमु दिदी!ओमु दिदी!"
हस्याँङ-फस्याँङ गर्दै भीडलाई छिचोल्दै एकजना बहिनी मतिरै हेर्दै आउन थालिन्।मानौं बाहिर कुनै संकट आइलागेको छ।अथवा भयानक दुर्घटना घटेको छ।
"के भयो बहिनी?"-आँतिंदै सोधेँ।
"भिनाजु त नाच्दै हुनुहुन्छ।"-बहिनीले आश्चर्यचकित हुँदै भनिन्।
"भिनाजु नाचेर के भयो त?बिहेमा सबै नाच्न,गाउन र रमाइलो गर्न त आएका हुन् नि।के अनौंठो भयो र?"
"हैन दिदी,मनोज भिनाजु के त!"
उनको कुराले स्तब्ध भएँ।
"नाचोस्,नाच्नेलाई कसले रोक्न सक्छ र?"
उनलाई यत्तिनै जवाफ दिएँ।तर मनमा अर्कै कुराले तहल्का मच्चायो।
"अरे,कस्तो मान्छे होला आफ्नै बिहेमा नाच्ने?त्यो पनि बेहुलाको पहिरन फेरेर!कहिल्यै नाच्न पाएको थिएन कि क्या हो यो मान्छेले।अरुबेला नाच्न भनेपछि नाक खुम्च्याएर टाढा-टाढा भाग्ने मान्छेलाई आज कसरी आफ्नो बिहेमा नाच्ने रहर जागेछ?"
मनमनै मनोवाद गरें।
ती बहिनीको कुरामाथि मलाई विश्वास लागिरहेको थिएन।तैपनि उनले भनेपछि मन खुलदुल-चुलबुल-तुलबुुल भैरह्यो।ट्वालेट जाने निहुँमा संगी लिएर बाहिर निस्कें।नभन्दै मादलको तालमा ऊ
कम्मर मर्काउँदै थियोे।आफ्नै बिहेमा नाच्ने ब्यक्ति मैले पहिलोपटक देखें।त्यो पनि मेरै बेहुला।उसले मतिरै नजर लायो।नदेखे झैं गरेर अगि बढें।

               हामी ट्वाइलेटबाट फर्किंदा ऊ यथास्थानमा फर्किसकेछ।बूढापाकाहरुले बिरहका गीत गाउँदै थिए।सो गीतमा चेलीको भाग्य,जन्मघर छोडेर कर्मघर जानैपर्ने बाध्यता र माइतीले मन नदुखाएर त्यसलाई सहर्ष रुपमा स्वीकार्नु पर्ने जस्ता मार्मिक बिषयलाई समेटिएको हुँदा आँखा त्यसै-त्यसै रसाए।अश्रुधारा बग्न थाल्यो।बेहुलीको पीडा र हालतको मध्यनजर गर्दै उनीहरूले सम्झाउने-बुझाउने खालका गहिरो भावयुक्त गीत गाउँदा झन विह्वल भएँ।भक्कानो फुटाएर रुन थालें।हालत देख्न नसकेर वरिपरिका माइतीहरुको आँखा पनि उस्तै रसाए।एकैछिन यस्तो लाग्यो-सबैजना रुने पर्ममा आएका छन्।रक्सी,जाँड र चिया दिंदै ढोगभेट गर्दै गएँ।उहाँहरुले दोसल्ला ओढाएर आफ्नो इच्छानुसार केही दक्षिणा रकम हातमा थमाइदिनुभयो।

                ताराहरु शहिद भएसंगै ढोगभेट कार्यक्रम लगभग समाप्त भयो।एक निद्रा सुत्न गएँ।उठ्ने बेलासम्ममा खानपिनको कार्यक्रम सकिसकेको थियोे।केही संगीहरुले मलाई खाना खान कर गरे।तर मैले छुनसम्म पनि छोईन।लामाले मन्त्र पढ्न थाले।बिहेको संस्कार शुरु भयो।बेहुला-बेहुलीको शीरमा घिउ दलेर दुवैको शीर जुधाइदिए।एकले अर्कोलाई जिन्दगीभरी नछोडी साथ दिने कसम खुवाए।यति भैसकेपछि विधिवत रूपमा पति-पत्नी भयौं।

                  बिहेको संस्कार सकिएपनि माइतीले बिदा गर्न मानेनन्।बाबा-आमाले सजिलैसँग बिदा देओस् पनि कसरी?आफ्नो छोरी सदाको लागि पराईघर जाँदैथिईन्।आमा छाती पिटी-पिटी रुनुभयो।बाबाको पनि अश्रुखोला बग्दै थियो।जसलाई पीर परेको थिएन,उसले देख्दा पानी थियोे आँखामा।पीर सहनेलाई मात्र थाहा थियो।त्यो पानीसंगै पीडा बगेको थियो।हालत देखेर डाँको छोडेर रुन थालें।मुखबाट प्रष्ट शब्दोच्चारण समेत हुनसकेन।आमाको हालत पनि दुरुस्तै।
"ओमु दिदी,ओमु दिदी!"
मसिनो स्वरमा रोयो सानो भाइ।
दाइ भने समझदार भएकोले आँशु मात्र झार्नुभो।तर पीडा भने कम थिएन।
"मनले खाएर गयो।मनले खाएर लग्यो।अब के रुनुपर्यो?केको नाटक देखाउनुपर्यो?"
पासाङको लमीले व्यंग्य प्रहार गर्दै भनिन्।
"पासाङलाई माग्न आउँदा किन मानेकी थिईनस्?के-के न होला/पाउँला भनेर मनोजसित भागेकी हैन?अब थाहा पाईस् गरिबीको पीडा?धनी पासाङसंग बिहे गर्न नमानेपछि यस्तै हाल हुन्छ।ठिक्क परिस्!खुचिङ!"
लमीको मुहारको भावले यस्तै भन्दै थियो।उनको सोचाइ शतप्रतिशत गलत थियो।अझैपनि उनी भ्रममै थिईन्।मेरो आँशु मनोजसंग जानुपरेको आँशु कुनैपनि हालतमा थिएन।बरु मेरो आँसु बाबा-आमा/दाजुभाइबाट बिछोडिनु परेको आँशु थियो।
"तेरो पासाङ र धनसम्पति भाडमा जाओस्।मैले जे गरें,एकदम सही गरें।"
उनको मुखमा हेरेर मनमनै यतिमात्र भनें।मुख खोल्न नैतिकता र चरित्रले दिएन।

                बिदाइको पल आइसकेको थियो।अन्ततःम माइतबाट बिछोडिएँ।मनोजले मलाई झ्याईं पारेर लैजाँदै थियो।दुष्मनको मुखमा कहिल्यै नखुल्ने गरी बुजो लागिसकेको थियो।हाम्रो पक्षमा उभिएको समयले उनीहरुको थुतुनामा भोटे-ताल्चा लाइसकेको थियो।भव्य-सभ्य रुपमा भएको हाम्रो बिहेको दृश्य आँखा च्याती-च्याती हेरे शत्रुले।भनेर नभई हामीले गरेर देखायौं।दुष्मनको हार,हाम्रो जीत भयो।माइतबाट बिछोडिंदा जति दु:ख लाग्यो,उत्तिकै खुशी मनोजसित बिहे हुँदा भएँ।
                 अगिपछि जन्ती,बीचमा मनोज र म।लामा र बाजागाजाको टोली एकसाथ हिड्दा विजयोत्सव मनाएको भान भयो।तत्क्षण हामी अति गौरवाम्वित भयौं।आल्हादित भयौं।हाम्रो सवारी बडामहाराजा र बडामहारानीको झैं हुँदै थियो।उत्तिनैखेर अचानक मेरा नजर सर्बखासा गाउँमा पुगे।त्यहाँका मान्छेहरु बिहेमा जानका लागि उज्यालोमै कुखुरा लखेटी-लखेटी जबर्जस्ती छोप्ने यत्न गरिरहेका थिए।त्यो दृश्य यति रोमाञ्चक लाग्यो कि आफूलाई सम्हाल्नै नसकेर खित्का छोडेर हाँस्न पुगेछु।
"हिहिहिहिहिहिहि"
"के भयो ओमु?किन हाँसेकी?आफ्नो बिहेको दिन हाँस्नुहुन्न।"
मेरी संगीले सम्झाउँदै भनिन्।उनको कुराले पीडित भएँ।बिहेको दिन नारीले रुनैपर्ने बाध्यता।अझ भनौं-नियम जस्तै।हुन त एउटी नारीको असल गुण आफ्नो बिहेको दिन आँसु झार्न सक्नु पनि हो।आँशु झार्न नसक्नु अशुभको संकेत हो रे।सायद मेरी संगीको भनाइको आशय पनि त्यही थियो।मैले उनलाई ईशाराले कुखुरा छोप्ने गाउँतिर देखाएँ।उनले बुझिन् या बुझिनन्,केही मेसो पाईन।

               झिस्मिसे साँझ।मधुरो क्षितिज।रीतिरिवाजानुसार घरलाई जन्तीसहित तीन फन्को मारेपछि बुहारीको रुपमा घरमा भित्रिएँ।
"आऊ बुहारी हाम्रो घरमा।"
सासू-आमाले हातमा समाएर भित्रतिर लैजाँदै भन्नुभयो।निद्रा र रोदनले थकित शरीर लिएर खानपिनको कार्यक्रम पश्चात् झ्याप्पै सुतिहालें।अरु मनोरञ्जनात्मक कार्यक्रम तर्फ लागें।
  
                   आखिर ऋण काढेर भएपनि हाम्रो विवाह भव्य-सभ्य ढंगले सम्पन्न भयो।तर पुरानो ऋणमाथि नयाँ ऋणको चाङ थपिन पुग्यो।बाबा-आमालाई उठ्नै नसकिने गरी ऋणको भारीले थिच्यो।सयकडा तीनको ब्याजदरले ऋण दिन दुगुणा,रात चौगुणाले वृद्धि हुँदै गयो।उम्कनै नसकिने गरी ऋणकै जालोले चारैतिरबाट बेर्यो।लिइएको ऋणको ब्याज तिर्न पनि फेरि ब्याजमै अन्त ऋण लिनुभयो।साँवाको ब्याज,ब्याजको स्याज हुँदै सजिलै तिर्न सकिने कुनै सम्भावना थिएन।कुनै आयस्रोत थिएन।

             ओरालो लागेको मृगलाई बाछोले पनि खेद्ने रहेछ।एकदिन म माइतको आफन्तको घरमा गएकी थिएँ।संघारमा पाइला मात्र के टेकेकी थिएँ,कानमा सर्लक्कै अपमानजनक शब्द पर्यो।
"नाथे बाजागाजा बजाएर छोरीको बेहे गरेर के फुर्ति लाउनु?ऋणले उठ्न दिएको हैन।त्यहीँ माथि आमा छोरीको स्वाङ हेर न।खुब मीठो खानुपर्ने।राम्रो लाउनुपर्ने।चाला हेर्दा त करोडपतिकै जस्तो देखिन्छ।हामी जति धनी भएपनि त्यसरी हिंडेका छैनौं त।छोरीको कानमा सुन झुन्ड्याइदिएर के फुर्ति लाउनु?आमा-बाबाले सुखको सास फेर्न सकेका हैनन्।अझ बेला-बेलामा खसीको मासु खानुपर्ने।स्वाङ पनि अचम्मको हुने रहेछ मान्छेको।
एकजना आइमाइले भन्दै थिए।
"हो त नि,त्यही माथि छोरीलाई स्कुल पढाउनुपर्ने।हामीले छोरीलाई नपढाए पनि ठिकै छ,चलेकै छ त।पढेर के-के न गर्ने जस्तो।हेर न!ओमुकी आमा चाहिँ घर बस्दा पनि नयाँ-नयाँ बख्खु लाएर बस्छे।साँच्चिकै धनीमानीकै पारा गर्छन्।त्यत्रो ऋण कहिले कसरी तिर्ने होला?घरबार बेचेर पनि तिर्न पुग्दैन त्यत्रो ऋण।"
अर्की आइमाईले भनिन्।
"ए साँच्ची उनीहरुकोमा एउटा लैनो भैंसी छ नि।दूध पनि टनक्कै दिने रहेछ।बेच्छन् कि,सोध्नुपर्ला।"
"बेच्लान् नि।नत्र कसरी तिर्छन् त?अहिले लैनो भैसीको दाम तीस हजार जति होला।खै कतिमा दिने हुन्?"
"दस-पन्ध्र हजारमा त देलान् नि।आपत परेको बेला।"
"बढीमा पन्ध्र जति थमाए दिइहाल्छन्।"
"काकी!को हुनुहुन्छ घरमा?"
म यसरी प्रवेश गरें।मानौं मेरो आगमन पन्ध्र मिनेट पहिले भएकै थिएन।
मेरो आगमनले उनीहरु अलि विलखबन्दमा परे झैं देखिन्थे।एक-अर्काका मुख हेराहेर गरे।तर मैले नव-आगन्तुक बनेर उनीहरूको असहज परिस्थितिलाई सहज बनाइदिएँ।उनीहरू गफको विषय परिवर्तन गरेर मेलापातको कुरा गर्न थाले।समाजमा त्यस्ता ढोंगी र अभिनय गर्ने खुङ्खार कलाकार पनि देखें।

                सामाजिक रीतिरिवाजानुसार बिहे गरेपनि मनोज र म भने पहिलेको भन्दा फरक भएनौं।बद्लिएका थिएनौं।कुन छोरीलाई आफ्नो माइतीघर प्यारो नहोला र!हो,मलाई पनि अवश्य थियो।आफ्नो माइतलाई चटक्कै छोड्न सक्ने थिईन।ऊ म बिना बस्न सक्ने थिएन।त्यसैले संगै कहिले माइत र कहिले घर बस्न थाल्यौं।समाजको काम कुरा काट्नु हो र काट्थे।उसलाई घरज्वाइँको संज्ञा पनि दिए त्यही समाजले।एकदिन हामी माइतमा नभई घरमा गफगाफ गर्दै थियौं।
"मनोज!तिमी किन ढुक्क हप्ता दिनसम्म ससुरालमा बस्छौ?लाज लाग्दैन तिमीलाई?समाजले छि-छि समेत भनिसक्यो।घरज्वाईं जस्तो भएर बस्ने हैन।"
सासु-आमाले भन्नुभयो।
"को बसेको छ र घरज्वाईं जस्तो?दुईचार दिन ससुराल बस्दा घरज्वाईं हुन्छ र?जसले जेसुकै भनोस् मलाई मतलब छैन।"
मनोजले भन्यो।
"बिहे भएको पनि डेढ साल भैसक्यो।खै अहिलेसम्म सुनसान छ।हामीलाई नाति-नातिनी चाहियो।"
बिषय-बस्तुलाई मोड्दै आमाले भन्नुभयो।
"के को हतार?हामी पनि त सानै छौं।बच्चामै बच्चा पाएर के फाइदा?"
"बल्ल त म दशमा पढ्दैछु।पहिले मेरो पढाइ अलि माथि पुगोस् अनि हेरौंला।"
मेरो जवाफ थियो।

              चारतिरको दबाब,तनाव र समस्याहरुलाई झेल्दै,चुनौती दिंदै यात्रारुपी जिन्दगीका पाइलाहरुलाई निरन्तर अग्रगामी पथमा बढाउँदै गएँ।सोही क्रममा एसएलसी दोस्रो श्रेणीमा उतीर्ण भएँ।फलामे ढोका भनिने परिक्षामा पास हुनुमा मनोजको पनि उत्तिकै मिहिनेत र योगदान थियो।सुत्नै नदिएर पढायो।पढ्न लगायो।प्रोत्साहित गर्यो।उर्जा प्रदान गर्यो।अनेक कोणबाट सहमति जनायो।परिणामस्वरूप अनेक बाधा-अड्चनका बाबजुद पनि सफलता हासिल गरें।उतीर्ण हुन्छु भनेर सायद कसैले पत्याएका थिएनन्।ओमुले एसएलसी उतीर्ण गर्न सक्तिनन् भन्नेहरूको मानसिकतामा गतिलो झापट लागिसकेको थियो।कसै-कसैले त परिक्षामा जान्ने साथीसंग परेर सार्न भ्याएकोले उतीर्ण भएकी भनेर गिराउन/होच्याउन समेत पछि परेनन्।जसले जे भनेपनि सफलताको शिखरमा पाइला टेकिसकेकी थिएँ।हुन त अहिलेको जमानामा एसएलसीको मान्यता खासै नभएर यसको अवमूल्यन भएको छ।तर मेरो लागि भने जिन्दगीको सबभन्दा ठूलो सफलता थियो।त्यतिबेला उतीर्ण गर्न नसकेको भए त्यसपछि कहिल्यै पनि उतीर्ण हुने थिईन।उतीर्ण त गरें तर त्यो नै मेरो गन्तव्य थिएन।मेरो उदेश्य र लक्ष्य त्यो भन्दा धेरै माथि थियो।मनोजसित भावी दिन,लक्ष्य,उदेश्य र चुनौतिका बारेमा अन्तर्कृया गर्न थालें।
"मनोज!मेरो रहर र सपना भनेको गायिका बन्ने थियो।जुन मैले भनिसकेकी छु।गायिका हुन सहज पक्कै छैन।त्यसको लागि संगीत सिक्नुपर्यो।मिहिनेत गर्नुपर्यो।तिम्रो आम्दानी पनि पर्याप्त हुँदैन।मेरो लक्ष्य यत्तिकै सिमित होला जस्तो छ।"
"ओमु!तिमीले कुनै चिन्ता लिनुपर्दैन।म छु नि।मेरो औकातले भ्याएसम्म तिमीलाई साथ दिन्छु।म यही पढाउँछु।तिमी काठमाडौं जाऊ।उच्च शिक्षा हासिल गर।आफ्नो उदेश्य पूरा गर।ललितकला क्याम्पसको नाम सुनेको छु मैले।त्यहाँ अध्ययन गरे पनि हुन्छ।जति खर्च हुन्छ,म पठाइदिउँला।"
उसले भरोसा दिलायो।त्यो कुरा अरु एकजनालाई सुनाएँ।त्यो बिषयले गाउँमा ठूलै तरंग ल्यायो।हङगामा मच्चियो।मलाई धेरै जसोले नकारात्मक रुपमा प्रस्तुत गरे।हुन पनि समाजको नजरमा विवाहित नारी आफ्नो श्रीमान् र गाउँ छोडेर अध्ययनको लागि टाढा जानु अपाच्य कुरा थियो।
"हा हा,बुडा गाउँमा।बुडी शहरमा!"
"आफ्नो बुडालाई बिर्सेर त्यतै अर्कैसंग सल्किने चाहिँ हैन नि फेरि!"
"छ्या,छ्या,छ्या कस्तो नसुहाउने के सुन्दा पनि।"
"भनेपछि कलाकार हुने भयौ हैन तिमी?कलाकार भएपछि हामीलाई चाहिँ नभुल्नु नि।"
धेरैले मेरै बिषयमा कुरा काटे।खिल्ली उडाए।यस्ता व्यंग्यात्मक र छेडछाडयुक्त वाक्यहरु सुन्दा-सुन्दा मेरा कान पाकिसकेका थिए।हैरान भएँ। केही सीप नलागेपछि आफ्नो सपनालाई थाती राखेर जिरी उ.मा.बि.मा भर्ना भएर अध्ययन गर्न थालें।

                  मनोजले बिज्ञान विषय लिएर बाह्र कक्षा पास गरिसकेको थियो।उसले अध्यापन गर्ने विद्यालयमा तलब थोरै।त्यही माथि समयमा नपाउने। तसर्थ रामेछापको गर्जाङमा अघ्यापन गर्न थाल्यो।त्यहाँ भने तलब पनि राम्रै थियो।समयमै पाइन्थ्यो।उसले जिरी क्याम्पसमा भर्ना भएर पढ्न पनि थाल्यो।उसको तलबले हाम्रो अध्ययन र घरमा बाबा-आमालाई बेला-बेलामा धेर-थोर रकम दिन मज्जाले भ्याउँथ्यो।जीवन सामान्य र आरामदायी तरीकाले चल्दै थियो।जिरीदेखि गर्जाङ निकै टाढा भएकोले मनोज उतै बस्थ्यो भने म जिरीमा।

            दुर्भाग्यवश एकदिन एउटा डरलाग्दो,भयानक र दु:खद घटना घट्यो।बि.स. २०६० सालतिरको कुरा हो।देशमा  जनयुद्ध चरमबिन्दुमा पुगिसकेको थियो।सरकारले संकटकालको घोषणा गरेको थियो।देशमा शान्ति र जनतामा अमनचैन कायम थिएन।क्रान्तिकारीहरुले विभिन्न स्थानहरूमा अवस्थित प्रहरी चौकीहरुमाथि धावा बोलेर आफ्नो कब्जामा पार्ने र हतियारलाई आफ्नो भावी प्रयोजनको लागि लैजाने गर्थे।क्रान्तिकारी र शाही नेपाली सेनाबीच घमासान युद्ध हुने क्रम जारीरहेको थियो।एकदिन अचानक मनोज भयभीत र उदास मुहार लिएर जिरीमा उपस्थित भयो र भन्न थाल्यो।
"ओमु,अस्तिको दिन गर्जाङमा अप्र्रत्याशित र अकल्पनीय भयंकर घटना घट्यो।घटना के भनुँ-दुर्घटना नै भन्नुपर्छ।करीब ३०/४० जनाको संख्यामा शाही नेपाली सेना आई विद्यालयको पारीपट्टी पाल टाँगेर बसेका थिए।विहान साँढे दस बजेतिरको कुरा हो।हामीले अध्यापनको कार्य शुरु गरिसकेका थियौं।शुरुमा जंगलतिर एक-दुई पटक बन्दुक पड्केको आवाज सुुुुनिए।हामीले सोच्यौं-कोही सिकारीले शिकार गरेका होलान्।त्यसको करीब १५/२०मिनेटपछि सेनाहरुले पनि फाट्टफुट्ट बन्दुक पड्काउन थाले।तत्कालै त्यहाँको स्थिति तनाबग्रस्त भयो।करीब १०००/१५०० को संख्यामा रहेका क्रान्तिकारीहरुले चारैतिरबाट सेनालाई घेरा हालिसकेका थिए।बीचमा सेना र विद्यालय परेका थिए।७०० बिद्यार्थी र १५ जना शिक्षक-शिक्षिकाहरु पनि परेका थियौं।
"हान-हान,साले रण्डीका छोराहरुलाई हान।"
"मार साले कुत्ताहरुलाई।उडाइदे।"
"भाडाका टट्टुहरुलाई नछोड।"
यस्तै अपशब्द र गालीगलौज निकाल्दै जोड-जोडले चिच्याउँदै बम,गोला र बारुद बर्साउन थाले।हामी शिक्षक-शिक्षिका र बिद्यार्थीहरुको सातोपुत्लो उडिसकेको थियो।
"सर,मलाई बाबा-आमा कहाँ पुर्याइदिनुस् न।"
"सर,म त मर्छु कि क्या हो।हामी बाँच्छौ त सर?"
"प्लीज सर,हामीलाई जसरी भएपनि बचाउनुस् न।"
"कतिबेला शान्त हुन्छ सर?"
"सर,उनीहरूले हामीमाथि किन आक्रमण गरेका?हामीले के बिराएका छौं र?"
"यहाँ किन यस्तो हुँदैछ सर?के हामी आतंककारी हौं र?"
"हामीलाई कसले गोली चलाएका?"
युद्धमा जति गोली,बम र बारुद बर्सिन्थे,त्यहीँ गतिमा साना-ठूला बिद्यार्थीहरुले प्रश्नका गोली बर्साउँथे।
"नानीबाबुहरु!डराउनु पर्दैन।तिमीहरूलाई केही हुँदैन।तिमीहरू सबैजना ढुक्कसँग बेञ्चमुनि लुकेर बस्नु।कसैले पनि झ्याल-ढोकाबाट नहेर्नु।बाहिर नजानु।हाम्रो कुनै गल्ती छैन।नबिराउनु,नडराउनु।एकैछिनमा सब ठिक हुनेछन्।"
मैले बिद्यार्थीहरुलाई सम्झाएर आत्मविश्वास दिलाएँ।
"नाइँ सर,मलाई घरमा पुर्याइदिनुस्।म मरे पनि घरमै मर्छु।"
"हामी पक्कै बाँच्छौं त सर?मलाई त विश्वासै लागिरहेको छैन।"
"हाम्रो गल्ती नभए हामीलाई किन घेरेका सर?"
"सर!मलाई पिसाब आयो सर।"
"सर!मलाई दिशा आयो,म ट्वाइलेट जान्छु।"
"मलाई एकदमै डर लागेको छ सर।मेरो मुटु फुट्ला झैं भएको छ।मलाई अस्पतालमा लौजानु सर,म मर्न लागें।"
बिद्यार्थी भाइबहिनीहरु डाँको छोडेर रुँदै,चिच्याउँदै बेञ्चमुनि लुकिरहे।आफ्नो ज्यानको भिख मागिरहे।कोही-कोहीले डर-त्रासले शौच पनि त्यतै गरिसकेका थिए।म उनीहरुको अगाडि कुनै मद्दत गर्न नसकेर लाचार भएर खडा थिएँ।सान्त्वना,साहस र हिम्मतको आश्वासन बाहेक केही दिन सकिन।
"चिन्ता नगर नानी हो!यो लडाइँ हामीसंग होइन।यो लडाइँ सेना र क्रान्तिकारी बीचको लडाइँ हो।यसमा हाम्रो कुनै सम्बन्ध छैन।म छु नि तिमीहरूलाई बचाउने।तिमीहरूलाई केही हुन दिन्न।"
मैले यति भनिसकेपछि बिद्यार्थीहरु केही मात्रमा शान्त र ढुक्क भए।तर सेना-लडाकुहरुको लडाइँ जारी नै थियो।बेला-बेलामा झ्याल र स-साना प्वालबाट चिहाएर भिडन्तलाई नियाल्न थालें।
"पटटटटट,ड्याम्म्म्म्म्म्म्म्म,ढ्वाङ••••तुई ••••••फ्यु••••,या•••••••मार••••••••••,गड्याङ•••गुडुङ••••••••।"
यस्ता अनेकौं प्रकारका आवाजहरु प्रष्ट सुनिरहेको थिएँ।कोही-मान्छे भने आगो लागेर माथि-माथि आकाशतिर उछिट्टिएर फेरि तल झर्थे।लडाकुहरु विद्यालयको पछाडितिर घस्रेर हिंड्दै सेनातिर बन्दुक ताकिरहेका थिए।कोही वारि र कोही पारी गरेर चारैतिर फैलिएका थिए।युद्ध शुरु भएको डेढ घण्टामा सेनाको हेलिकप्टर आयो।सेनाहरु द्धारा फालिएको रातो फलामको गोला हाम्रो विद्यालयको प्रांगनमा  खस्दा हामी हदै भयभीत भयौं-पड्किन्छ कि भनेर।तर त्यो रातो गोला सेनाले उनीहरुको स्थान थाहा दिनको लागि फालिएको संकेत रहेछ।त्यही संकेत हेरेर हेलिकप्टरले थप सेना र हतियार उतार्यो।सायद त्यसपछि सेनाको फौज निकै बलियो भयो।करीब दुई घण्टासम्म लगातार चलिरह्यो घमासान महायुद्ध।गाउँलेहरुको चिच्याहट,कोकोहोलो,क्रन्दन र आर्तनाद सुनिए।युद्धको प्रत्यक्षदर्शी हाम्रो विद्यालय परिवार थियो।युद्धको फैसला के थियो अर्थात कसको जीत,कसको हार भयो भनेर त्यतिखेर केही पत्ता लगाउन सकिएन।अन्दाज लगाउँदा विद्रोहीहरु गोली सकेर हताहत भए।गोली नसकेको भए सायद त्यति धेरैजनाको फौजले थोरैको संख्यामा भएको सेनाको फौजलाई कदापि छाड्ने थिएनन्।केही समयपछि स्थिति साम्य भयो।आँधीबेहरी थामिएपछिको मौसम जस्तै शान्त।शून्यता।बिद्यार्थी र शिक्षक-शिक्षिकाले पुनर्जीवन पाए।नत्र भने केही भन्न सकिने स्थिति थिएन।एउटा बम र केही गोलीहरु मात्र विद्यालयमा खसेको भए जसको ज्यान पनि जान सक्थ्यो।हामीले आफूलाई भाग्यमानी सम्झ्यौं।जम्मा भएर एकले अर्कालाई अंगालो हालेर खुशीको आँशु खसाल्यौं।

             युद्ध समाप्तीको एक घण्टापछि केही सेनाहरु विद्यालयमा आएर घोषणा गरे आफ्नो विजयको।
"मुलाहरुले हाम्रो एउटा रौं पनि झार्न सकेनन्-त्यत्रोको संख्यामा आएर पनि।७ जना आतंककारी मार्न सफल भयौं।हामीले सकेसम्म संयमित भएर विद्यालयलाई जोगायौं।चेप-चेपमा लुकेर हान्दै गरेको हामीले प्रष्ट देख्यौं।तर बिद्यार्थी-शिक्षकलाई पर्ने असरलाई मध्यनजर गर्दै उनीहरूलाई छुट दिएका हौं।नत्र भने धेरैको ज्यान लिन सक्थ्यौं।हाम्रो सेनापट्टीको कुनै मानवीय क्षति भएन।"
यति भनेर उनीहरू पुलकित हुँदै गए।

                दिउँसोको तीन बजेतिर सेनाहरु त्यो क्षेत्र छोडेर अन्यत्रै गए।विद्यालय छुट्टी हुनेबित्तिकै हामी शिक्षक-शिक्षिका र बिद्यार्थीहरु मिलेर अवस्थाको अवलोकन गर्न चारैतिर घुम्यौं।तलमाथि,यताउता सबै गरी घटनास्थलमा जम्मा सात जनाको शव फेला पार्यौं।पोशाकानुसार सबै क्रान्तिकारी थिए।सेनातर्फ कुनै मानवीय क्षति भैहालेको भएपनि हेलिकप्टरमा हालेर लगिसकेको हुनुपर्छ भन्ने अनुमान मात्र लगायौं।तर यथार्थता पत्ता लगाउन सकेनौं।कसैको निधारमा, कसैको शीरको पछाडिबाट र कसैको छातीमा गोली लागेको थियो।कसैका भने शरीरबाट शीर समेत अलग भएका।कसैको हात-खुट्टा चुँडिएका।कसैको आन्द्राभुँडी बाहिर निस्केका।कठै बरा!जो मरेपनि नेपाली आमाका सन्तति थिए।आफ्नै दाजुभाइ थिए।हामीले आँशु झारेर खेद प्रकट गर्नु बाहेक अरु के नै गर्न सक्थ्यौं र?सबैको आँखामा आँशुको भल उर्ले।त्यो त केवल एउटा प्रतिनिधि घटना मात्र थियो।सिंगो मुलुकभरीमा अहिलेसम्म यस्ता घटनाहरु कति भए-भए!अझै कति हुनेछन्।अस्तिको दिन घटना भयो।तर मृत देहहरु त्यो रात त्यत्तिकै यथावत रहे।एक रात हामीले क्रान्तिकारीहरुलाई पर्ख्यौं।ती शवहरु उनीहरूले उठाउलान् भनेर छोड्यौं।हिजो दिउँसोसम्म पनि शवहरु जस्ताको-तस्तै भएकाले हामीले मानवीय धर्म निभायौं।टिफिनको समयमा अलि पर्तिरको जंगलमा खाल्डो खनेर गाडिदियौं।कुकुर/स्याल लगायतका जंगली जनावरहरुले शवलाई बाहिर निकाल्लान् भनेर काँडा राखी ठूल्ठूला ढुंगाले थिचेर राख्यौं।मृत देहहरुको दाहसंस्कार त्यसरी भयो।"
मनोजले घटनाको विवरण सुनाउँदा हाम्रा आँखा रसाइसकेका थिए।

Saturday, 24 September 2016

आरोह अवरोह-१३

             उनीहरूको फूर्तिफार्ती र नौटङ्की देखेर असह्य भयो।रगत उम्लेर १०० डिग्री नाध्यो।रक्तचाप उच्च भयो।पारो तातिएर धेरै माथि-माथि चढ्यो।वरिपरि केही देखिन।
"के सोचेका तिमीहरुले?तिमीहरुको धाक-धम्कीले हामी डराउँछौं?जोसंग बिहे गरे पनि मेरो मर्जीको कुरा हो।मेरो ब्यक्तिगत मामिलामा किन टाउको दुखाई?मनोजसित बिहे गर्न पाउनु मेरो व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो।भिलेन मनोज नभएर तिमीहरू हौ।यहाँ के खोज्न आएका तिमीहरू?खुरुक्क निस्केर गैहाल।नत्रभने राम्रो हुनेछैन,बुझ्यौ?"
एकैचोटिमा आफ्नो मनभित्र उर्लेर आएको रिसको भेललाई उनीहरूमाथि बर्साएँ।उनीहरू अलि हच्किएर पहिलेको तुलनामा मत्थर देखिए।
"ओमुसंग बिहे गरेर आरामदायी जिन्दगी बिताउने धेरै ठूलो सपना थियोे।मनोजले नराम्ररी तुहाएर भताभुङ्ग/लथालिङ्ग बनाइदियो।यदि तिमीहरूको प्रेम सम्बन्ध पहिलेदेखिनै थियो भने मैले पटक-पटक सोध्दा पनि किन भनिनौ?म आफ्नो जिन्दगीको गोरेटोमा धेरै टाढा पुगिसकेपछि तिमीहरूले अवरोध खडा गर्यौ।यात्रालाई असफल बनायौ।तहसनहस बनायौ।मेरो सपनाको बाधक हौ-तिमीहरू!म पनि तिमीहरुलाई आरामदायी जीवन जिउन दिन्न।चैनको निद्रा सुत्न दिन्न।तिमीहरूको जिन्दगी बर्बाद बनाएरै छोड्छु।मैले भनेको थिएँ नि,तिमी मेरी हुन सकिनौ भने अरु कसैकी हुन सक्दिनौ।याद छ मेरो कुरा?तिमीहरू धोकेबाज हौ।म बद्ला लिएरै छोड्छु।"
उसले मतिर हेरेर बर्बरायो।त्यतिकैमा बाबाले बञ्चरो उध्याउन थाल्नुभयो।उनीहरू हच्किएर अलि पछि हटेझैं देखिन्थे।वास्तवमा डर उनीहरूलाई पनि थियो।
"जान-अन्जानमा जोबाट जे भुल भएपनि अब यो कुरालाई यहीँ समाप्त गरौं।ल भन त्यसको लागि मैले के गर्नुपर्यो?के छ तिमीहरूको शर्त?के चाहन्छौ तिमीहरू?"
मनोजले परिस्थितीको चियामा सहमतिको लागि लचकताका चिनी जस्ता शब्दहरु घोल्यो।
"मनोज,तिमी हामीसंग बाहिर हिंड।एउटा महत्वपूर्ण कुरा गर्नुछ।एउटा योजना छ।त्यो योजनामा तिमीले सहमति जनायौ भने स्थिति बिल्कुल शान्त र पहिलेको जस्तै हुनेछ।"
पासाङले मनोजलाई बाहिर लगेर हातपात गर्ने योजना बुन्दै थियो।
"म किन बाहिर जाने?जे कुरा भएपनि यहाँ सबैको सामूमै भन।सहमत/असहमत भन्ने कुरा त्यतिबेलै थाहा होला।"
मनोजले यति भनेर टार्यो।
उताबाट आमाले पनि मनोजलाई बाहिर नजानको लागि संकेत दिनुभयो।
"बाहिरसम्म मात्र जाऔं न, हामी तिमीलाई केही पनि गर्दैनौं।एउटा कुरा मात्र गर्नुछ।एउटा महत्वपूर्ण सल्लाह गर्नुछ तिमीसंग।"
पासाङको भाइले मनोजलाई फकाउन थाल्यो।
"मनोज!कहीं जानुपर्दैन।जे भन्नुछ यहीं भनोस्।बाहिर लगेरै भन्नुपर्ने त्यस्तो गोप्य कुरा के छ?"
मैले मनोजलाई सम्झाएँ।
केही समय स्थिति शान्त भए झैं लाग्यो।कसैले केही बोलेनन्।यस्तो लाग्थ्यो कि उनीहरुले भन्नुपर्ने सबै कुरा सकिसकेका थिए।उनीहरुको दिमाग शून्य-शून्य थिए।
            उनीहरू अझै पनि जाने संकेत देखिएन।मनसाय बुझ्दा यस्तो लाग्थ्यो कि उदेश्य पूरा नभएसम्म उनीहरु त्यहीं धर्ना दिइरहनेछ।मनोज विद्यालय जानको लागि कपडा लगाउन थाल्यो।
"आज विद्यालय जानुपर्दैन मनोज!"
मैले ईशारा गर्दै भनें।
आमाले पनि नजानु भनेर ईशारा गर्नुभयो।तर उसले ईशारा बुझेन या विद्यालय जानैपर्ने आवश्यकता ठान्यो।ऊ तयार भैसकेको थियो।विहानको नौं बजेतिर घरबाट निस्क्यो।

                मनोज निकै तल पुगिसकेको थियो।उनीहरू ट्वाल्ल परेर मात्र हेरिरहे।सायद उनीहरूले सोच्दै थिए होलान्।
"कहाँसम्म त जाला।साला मनोज।तँलाई हेरौंला।"
मनोज घरबाट प्रस्थान गरेको दश-पन्ध्र मिनेटपछि उनीहरू छोटो बाटो जान लागे।बारीका कान्लाहरुबाट फाल-हानेर ओरालो झर्न थाले।मानौं उनीहरू कुनै जंगली जनावरलाई छेक्दै,लखेट्दै छोप्ने दाउमा छन्।मनोज र उनीहरू बीचको दूरी निकै टाढा थियो।शुरुमा त मैले त्यस्तो नकारात्मक केही सोचिन।केही बेरपछि म पनि विद्यालय जान तयारी भएर तलतिर झरें।बेला-बेलामा नजर मनोजतिर पनि लाएँ।उसले बौद्धटारको विद्यालय देखि अलि पर्तिरको झोलुङ्गे पुल तरिसकेको थियो।त्यतिनै बेला पासाङ दाज्युभाइ पनि वारिबाट पुल तर्न शुरु गरे।
"फ्यू,फ्यू••••,ए साला त्यहीं रोक!तँलाई छोड्दैनौं।साला खाते!पख••••!"
यी शब्द र वाक्यहरु प्रष्टै सुनें।कुनै शब्दहरु प्रष्ट रुपमा ठम्याउन सकिन।अस्पष्ट सुनिएका ती शब्दहरु जे भएपनि मनोजको बिरुद्धमा थिए।हाम्रै बिरुद्धमा थिए।उनीहरू एक-एक हातमा खुकुरी,अर्का हातमा लाठी लिएर रोशीको उकालोमा मनोजलाई लखेट्न थाले।जसरी पहिले-पहिले गाउँघरतिर कालिज या मृगलाई लखेट्ने गर्थे।मनोज अगि-अगि भाग्दै गयो।उनीहरू पछि-पछि।वारिबाट बौद्धटारका बासिन्दाहरु मुक-दर्शक भएर हेरिरहे।एक भीड जम्मा भएर।मानौं त्यो उकालोमा सुपरहिट फिल्म चल्दै थियोे।हुन पनि कुनै चलचित्रको द्वन्दको दृश्य भन्दा कम थिएन।एकजना हिरोलाई दुईजना गुण्डाहरुले हतियार हातमा लिएर लखेटिरहेका झैं देखिन्थे।बौद्धटारका पसल र होटेलका साहु-साहुनीहरु मौन थिए।मनोजको पक्ष र पासाङहरुको बिरुद्धमा त्यहाँ कुनै शब्द सुनिएन।कुनै मर्द जान तयार भएनन् उसलाई बचाउन।पासाङ दाज्युभाइलाई सम्झाउने र रोक्ने कुनै सज्जन देखिएन।यस्तो लाग्थ्यो कि उनीहरु पनि सब पासाङकै समर्थक हुन्।कसैले आवश्यक ठानेनन् मद्दत गर्न।उद्दार गर्न।मानवता समाप्त भएको भान हुन्थ्यो।

                हेर्दाहेर्दै सबैजना रोशीको जंगलतिर गायब भए।अदृश्य भए।तत्पश्चात त्यहाँ के-के भए,कसैले केही अनुमान लाउन सकेनन्।म के गरुँ?कसो गरुँ?कहाँ गएर कसलाई गुहारुँ?केही सोच्नै सकिरहेकी थिईन।उतातिर मनोजलाई वैरी आइलागेको थियो।कुरुक्षेत्रमा जीवन-मरणको लडाइँ लडिरहेको थियो।यतातिर म पनि हाँस्नु न रुनुको अवस्थाबाट गुज्रिरहेकी थिएँ।अरुलाई गुहारको भिख माग्नुको कुनै औचित्य देखिन।रुँदै-रुँदै खोल्सै-खोल्सा हुँदै घरतिर प्रस्थान गरें।
"हरे भगवान्!मनोजले के गल्ती गरेको थियोे र सजाय दिलाउँदैछौ?के निस्वार्थ र सच्चा माया गर्नु पाप हो?यदि हैन भने किन मनोजको त्यस्तो दुर्गति हुँदैछ?जसरी हुन्छ उसको रक्षा गर।त्यसपछि जिन्दगीमा तिमीलाई केही पनि माग्ने छैन।बस यो महाबिपतिबाट पार लगाऊ।मेरो लाख बिन्ती छ।"
यी वाक्यहरु मुखबाट मात्र नभई हृदयबाट पनि निस्किएका थिए।अर्कोतिर म अत्यन्तै क्रोधित भएँ।प्रतिशोधको चिराग दनदनी बल्यो।
"यदि मनोजलाई केही भैदियो भने कसैलाई बाँकी राख्ने छैन।सबका सबलाई खत्तम पार्छु।चाहे मेरो ज्यानै जाओस्।अवश्य बदला लिएरै छाड्छु।यदि ऊ सकुशल घरमा आएन भने के-के गर्नुपर्छ-मैले पनि जानेकी छु।"

             आवेगको ज्वाला छातीमा सल्काएर घरमा पुगें।थाकेर लखतरान भएँ।पीर र निराशाले शिथिल।
"आमा!मनोजलाई त पासाङ दाज्युभाइ मिलेर रोशीको जंगलतिर लखेट्दै लगे।लौ न केही गरौं।म एक्लैले के गर्ने,के नगर्ने?केही सोच्नै सकिन।"
बिलौना गर्दै घटनाको वृतान्त सुनाएँ।सबै सदस्यहरु हतास भए।त्रासदीको बादल सबैको मुहारमा मडारियो।मनमा क्रोधको राँको सल्क्यो।
"लौ अब तिमी जेसुकै गर।तिम्रो कारणले मेरो छोराको ज्यान धरापमा परेको छ।भाग्नलाई मेरै छोरा देख्यौ हैन?सबै कुराको जिम्मेवारी तिमीले लिनुपर्छ।जे गर्छौ,गर।तर मलाई मेरो छोरा सकुशल चाहिन्छ।"
सासूआमा आगो भएर ममाथि खनिनुभयो।
"जिम्मेवारी मै लिन्छु जे भएपनि।बरु बहस गर्न छोडेर केही उपाय निकालौं।हामी-हामीमा लड्ने बेला नभएर दुष्मनको प्रतिरोध गर्ने बेला हो यो।"
आमालाई सम्झाएँ।
"ल ल जाऔं-जाऔं"-बाबाले भन्नुभयो।
"म पनि जान्छु,जाऔं।"-मनोजकी दिदीले भनिन्।

               हामी तीनजना लडाइँमा जाने सिपाही जस्तै हातमा खुकुरी,हँसिया र लाठी लिएर मालीको विद्यालय जाने जंगलको बाटो लाग्यौं।जाँदा-जाँदै घटनाको विवरणलाई दोहोर्याइ-तेहेर्याई भनें।दुईजना अस्त्रधारी लडाकुसंग अस्त्रविहीन मनोजले लड्न सक्ने सम्भावना थिएन।भाग्न सफल भएको भए सकुशल होला।नत्रभने केही भन्न सकिने स्थिति थिएन।एकमनले सोच्यो-मनोज पातलो,छिटो-छरितो भएकोले उनीहरूबाट सजिलैसँग भाग्न सफल भयो होला।फेरि अर्को मनले सोच्यो-दुईजना अस्त्रधारीलाई देखेर ऊ आँतिएर भाग्न सकेन होला।उनीहरूले मनोजलाई भेट्टाएको भए उसको हालत के कस्तो होला?
"किन स्कूल जानुपरेको त मनोजलाई।घरमै जोरी खोजेर आएपछि त अलि सतर्क हुनुपर्छ नि।"
दिदीले जिज्ञासा राख्नुभयो।
"हामीले त नजाऊ भनेकै हो नि।उसले मानेको हैन।फेरि उनीहरूले त्यसरी आक्रमण गर्ला भनेर के थाहा नि बिचरालाई?त्यस्तो हर्कत गर्ने मान्छे पो पशु।संसारमा कतै केटीको मुखै नदेखे जस्तो!सोझो,गरीब देखेर हेपेका हुन् नि सरासर।"
सामू भेट्टाएको खण्डमा एक चोक्टा मासु र एक मुठ्ठी रगत पिउने जङ चल्यो।मनमा दु:ख,पीडा र अनेक शंका-उपशंकाहरु लिएर उसले अध्यापन गर्ने विद्यालयमा पुग्यौं।
"सर यहाँ मनोज आउनुभयो?
मैले एकजना शिक्षकलाई सोधेँ।
"आज त अहिलेसम्म आउनुभएको छैन त!किन होला?"
उहाँले आश्चर्यचकित हुँदै प्रश्नोत्तर गर्नुभयो।
"हैन सर त्यतिकै।काम परेर हो।यदि आइपुग्नुभयो भने मास्तिर पठाइदिनु।हामी माथि होटलमा पर्खिन्छौं।"
"हवस् म्याडम।सर आउनुभयो भने भन्दिउँला।"
उहाँको जवाफ पछि हामी सरासर गएर होटलमा 
प्रतिक्षारत भयौं।रोएँ,कराएँ र चिच्याएँ।हामी तनाब र पीडाको चरम बिन्दुमा थियौं।होटलका मान्छेहरु पनि मर्माहत भए हाम्रो हालत देखेर।
"मनोजलाई मात्र केही होस् न त्यहाँ।म तिनीहरूलाई कुनै पनि हालतमा छोड्ने छुइन।यो मेरो दृढ अठोट भयो।खुनको बदला खुनले लिनेछु।"
मैले यति भन्दा सबैले मतिर एकतमासले हेरे।मानौं-म साक्षात कालीको रुप धारण गरेर उभिएकी छु।बर्बराउँदै रिस ओकलेंं।बदलाको बारुद बिस्फोट गरें।

                 होटलमा गरिएको प्रतिक्षाको घडी एकदमै उराठलाग्दो,कहालीलाग्दो र दु:खद।पटकपटक होटलबाट बाहिर निस्केर हेरें।कतै ऊ आउँदैछ कि भनेर।उसलाई नदेख्दा राखिएको आशा पलभरमै जलेर भस्म हुन्थ्यो।करीब डेढ घण्टाको कठिन प्रतिक्षापश्चात ऊ टुप्लुक्क आइपुग्यो।हाम्रो खुशीको कुनै सिमाना रहेन।फैलियो धेरै दूर-दूरसम्म।मालीको आकाशमा मडारिएको महाबिपतिको बादल एकैछिनमा हट्यो।चारैतिर उज्यालो ज्योति फैलियो।हाम्रो बलदल देखेर मनोज उत्साहित भयो।उदास मुहारमा अनौठो आलोक देखियो।सबै ढुक्क भयौं।निर्धक्क आएकै बाटोमा फर्क्यौं।भागेरै भएपनि मनोजले युद्ध जित्यो।त्यतिखेर ऊ पृथ्वीनारायण शाह/हिटलर भन्दा पनि शक्तिशाली देखियो।हामीसंग सेनाको एक जत्था नै भयो।लडाइँमा जान लागेका जस्ता देखियौं।दुष्मनसंग लड्ने हिम्मत/चाहना पलायो।ससुरा बा ठ्याक्कै एक महान कमान्डर जस्तो देखिनुभयो।

              "तिमी कसरी भाग्न सफल भयौ?तिनीहरूले भेट्टाएनन्?हामीले कहाँ-कहाँ खोजेनौं?झन्डै आशै मारेका थियौं।"
उत्सुकतापूर्वक प्रश्नहरु सोधेँ।
"जंगलको बाटो छिरेपछि उनीहरूले मलाई पछ्याउन सकेनन्।छलेर म यता रोशीको बाटो आएँ तर उनीहरू सीधै जिरीको बाटो लागे।उनीहरूबाट बच्न रोशीको एउटा घरमा शरण मागें।तर घरधनीले शरण दिएनन्।लाख बिन्ती बिसाए पनि जबर्जस्ती बाहिर निकाले।त्यसपछि जंगलै जंगल विद्यालय आउने दिशामा आएँ।करीब दुईघण्टा जति जंगलभित्र बसें।उनीहरू नआउने छाँट्काँट देखेर यहाँ आएको हुँ।जुन घरमा म शरण माग्न गएको थिएँ,उनीहरुमा अलिकति पनि दया-माया र मानवताको भावना थिएन।यस्ता पनि मान्छे हुने रहेछन्।संसार यति स्वार्थी छ जहाँ बलेको आगो मात्र तापिन्छ।निभ्न लागेको आगोलाई बाल्न खोज्ने यहाँ कोही भेटिंदैन।संसार शक्तिको पुजारी हो।जो शक्तिशाली छ,उसैको पूजा हुन्छ।जयजयकार हुन्छ।एउटा मान्छेलाई आपत-बिपत पर्दा अर्कोले साथ नदिने यो कस्तो समाज हो?कस्तो युग?अनि कस्ता मान्छेहरू!समस्यामा काम नलाग्ने समाज के समाज?किन चाहियो समाज?यी सबै बैज्ञानिक चमत्कार,उपलब्धि,विकास र संरचना सबै बेकार।बरु मेरो जन्म ढुंगे युगमा भएको भए,त्यो नै सही मेरो लागि।यी गाउँ,बस्ती,शहर सबै नाटक देखाउने रंगमञ्च हुन्।यही समाजनै नर्क हो।जहाँ कोही कसैको ज्यान मार्न तल्लीन छन्।कोही दर्शक भएर चुपचाप खडा छन्।यस्तो समाजमा बस्नु भन्दा त बरु जंगलमा गएर एक्लै जंगली जीवन यापन गर्नुनै हजारौं गुणा उत्तम लाग्छ।मानवविहीन मरुभूमिनै स्वर्ग हो।जहाँ मानवजातिको गन्धसम्म हुँदैन।मानवजाति भएकोमा आफैंलाई घृणा लाग्छ।कुविचार र कुकर्मको जन्म मानवजातिबाटै हुन्छ।यदि मानव भएर पनि उसको कर्म र सोचाइ दानवको भन्दा कम छैन भने उसको जूनी पशुको भन्दा पनि निम्न स्तरको हुन्छ।"
प्रस्फुटित शब्दहरुले केही सत्य-तथ्य,केही आक्रोश र केही यथार्थता ओकले।

            मनोज सकुशल भेटिएकोमा वेहद खुशी।पासाङ दाज्युभाइहरुको दानवीय हर्कतदेखि आक्रोशित।लडाइँमा विजय हासिल गरी मोर्चाबाट फर्केझैं।अर्को लडाइँमा जान तम्तयार भएझैं।हाम्रो सेनाको जत्था निडर र साहसका साथ जंगलको बाटो हुँदै घरतर्फ निरन्तर बढ्यो।घरमा पुगेर हाम्रा संघर्षशील पाइलाहरुले विश्राम लिए।माइतबाट आमा पनि आउनुभएछ।छलफल र अन्तर्कृयाको कार्यक्रम यसरी शुरु भयो,मानौं हामीले लडेर आएको युद्दको समिक्षा हुँदै थियो।कमी-कमजोरीहरुको बारेमा आत्म-आलोचना हुँदै थियो।अर्को युद्धमा कसरी अगाडि बढ्ने?कसरी दुष्मनको सामना गर्ने?विजय हासिल गर्ने।कुराकानी घटनाकै वरिपरि केन्द्रित थियोे।

                  खाना राम्रोसँग रुचेन।बेचैनी अझै हटिसकेको थिएन।एउटा युद्दबिराम भएको थियो।फेरि युद्ध शुरु हुनपनि सक्थ्यो।नहुन पनि सक्थ्यो।सबैजना भित्रै सुत्न लाग्यौं।मनोजको कोठा बाहिर अलग्गै थियो।पहिले त्यही सुत्थ्यौं।ऊ अझै आक्रोशितै थियोे।
"मौकाको फाइदा उठाउँदै पासाङ दाज्युभाइले मलाई मार्ने कोसिस गरे।यो घटना सानो घटना हैन।यदि उनीहरूले भेट्टाएको खण्डमा जेपनि गर्न सक्थे।म चुपचाप सहेर बस्न सक्दिन।कुनै पनि हालतमा एकाएक बदला लिएर छाड्छु।"
रातको बाह्र बज्दा पनि मनोज बोल्दै थियो।
"के गर्छौ त?"-मैले सोधेँ।
"बदला लिन्छु।"
"कसरी लिन्छौ?"
"जसरी लिए पनि म लिन्छु।"
"काट्छौ कि मार्छौ?"
"काटे पछि मरोस् कि बाँचोस्।"
"अनि उनीहरूलाई काटेर/मारेर तिमी चाहिँ स्वतन्त्र हुन्छौ त?"
"जेल जानुपरे पनि जाउँला।"
"अनि मेरो हालत के हुन्छ त?"
"देशै छोडेर भाग्नु परे भागौंला।"
"आफ्नो देश छोडेर कहाँ भाग्नु?"
"म भूमिगत हुन्छु।"
"कस्तो भूमिगत?लुकिछिपी कति दिन हिड्छौ?"
"क्रान्तिकारी पार्टीमा जान्छु।"
"हैट!कहाँ हुन्छ बुडा त्यसरी?हुन्न।त्यस्तो बिचारलाई त्यागिदेऊ।अहिले जसरी छौं,त्यसरीनै बस्छौं हामी।दायाँबायाँ केही नसोचौं।अहिलेसम्म जे-जे भए,सबै बिर्सिदिउँ।अझै केही बिग्रेको छैन।हामीले गलत बाटोमा पाइला चाल्नुहुन्न।कुकुरले टोक्यो भन्दैमा कुकुरलाई पनि टोक्ने कुरा आउँदैन।उनीहरू मूर्ख भए भन्दैमा हामी पनि मूर्ख बन्नुहुन्न।सधैं सतर्क भएर हिडौं।आइलाग्ने माथि जाइलागौं।सबै मान्छे हुन्।मान्छेदेखि डराएर हिंड्ने हैन।आइपरेको खण्डमा हिम्मत बटुलेर लड्न सक्नुपर्छ।हामी सक्छौं।आफ्नो बाटोमा अगि बढौं।फेरि पनि सुतेको बाघलाई जिस्क्याउने धृष्टता गर्छ भने सोचौंला।अहिलेको लागि आवेगमा आएर हिंसाको बाटोमा नलागौं।हिंसाले कहिले शान्ति हुँदैन।शान्तिबाटै शान्तिको लागि द्धार खुल्ला हुन्छ।हिंसाबाट कदापि हैन।अब कुन बाटो रोज्ने तिम्रो मर्जी।तर मेरो मुखमा मान।एकचोटिलाई छोडिदेउ।मेरो जिन्दगीको बारेमा पनि सोच।तिमी दायाँबायाँ लाग्यो भने म बेहाल हुन्छु।तिमी बिनाको मेरो जीवन अर्थहीन छ।अधुरो र अपूरो छ।"
उसलाई मनाउन निकै कडा परिश्रम गर्नुपर्यो।सम्झाएपछि नसम्झने कुरै भएन।बदला र प्रतिशोधको भावनालाई उतिखेरै परिवर्तन गर्यो।हुन त योजनाबद्ध ढंगले लागिपरेको खण्डमा बदला मज्जाले लिन सकिन्थ्यो।तर द्वन्दले समस्या सुल्झने होइन उल्झने हो।झन-झन जटिल र गम्भीर समस्याको सृजना हुने हो।तत्कालका लागि तटस्थ बस्न र आइलागेको खण्डमा जाइलाग्नको लागि सतर्कता अपनाउन सल्लाह-सुझाव दिएँ।

              नारीकै कारणले विश्वमा इतिहासका विभिन्न कालखण्डमा डरलाग्दा लडाइँ भएका घटनाहरु ईतिहासकारहरुले उल्लेख गरेका छन्।रामायण र महाभारत जस्ता कहानीहरुमा लडाइँको जड नारीलाई बनाएको पाईन्छ।तर ती लडाइँ पुरुषहरूको सिकिस्त,घटिया र विकृत मानसिकताका उपज हुन्।हामीसंग सम्बन्धित घटनामा पनि समाजका शिक्षित,टाठा-बाठा र बुज्रुक भनौंदाहरुले सबै दोष ममाथि थुपारे होलान्।त्यस्ता बिश्लेशक र घटनाका घटक एउटै ड्याङका मुलाहरु हुन्।

              त्यसपछिका दिनहरु प्रायः सामान्य तवरले बित्दै गए।मनोज र म व्यवहारिक जीवनमा फसिसकेका थियौं।हामीमाथि थप जिम्मेवारी र बोझहरु थपिंदै थिए।उसको अध्यापन र मेरो अध्ययनको शिलशिला निरन्तर चलिनैरह्यो।बिना कुनै बाधा र व्यवधान।उसकै साथ,सहयोग र समर्थनकै कारण मैले बिहे पश्चात् पनि अध्ययनलाई निरन्तरता दिने सु-अवसर पाएँ।अवसर भन्दा चुनौती धेरै थिए आगामी दिनहरुमा।तैपनि स्वस्थ हातेमालोले गर्दा जस्तोसुकै चुनौतीको सामना गर्न पनि सहज हुन थाल्यो।सुन्दर भविश्य निर्माणको मिसन लिएर हामी कतै असल साथी भयौं।कतै सहयात्री।कतै जीवनसाथी भएर अगि बढ्यौं।

Friday, 23 September 2016

आरोह अवरोह-१२

               कलिलो रात क्रमशः छिप्पिंदै थियो।गाडीको अभावमा हामी निकै तलबाटै हिंडेर जान थाल्यौं।दाइ-भाइका जोडीहरु अगि-अगि।म र मनोज अलि पछि-पछि।सायद मनोजले मलाई जानी-जानी बिस्तारै हिडाउँदै थियो ताकि निस्फिक्री मलाई अँगालो हालेर हिंड्न सकियोस्।उसका हरेक कृयाकलापहरुले त्यस कुराको प्रमाण दिइरहेका थिए।रात सुनसान र अन्धकार हुनुको साथै त्यहाँ हामी बाहेक अरु कोही नदेखिएकाले दाज्यु-भाइ र भाउज्यू-बुहारीको आँखा छल्दै उसले मेरो गालामा च्वाप्प म्वाईं खायो।उसको म्वाईंको ऋण तिर्न सक्ने अवस्थामा थिईन।केवल चुम्बनको उपहार चुपचाप स्वीकार्दै पाइला बढाइरहें।उसको क्रियाकलापले दुई घण्टा पैदल हिंडेको पनि पत्तै पाईन।
               रातको एघार बजेतिर दाइको कोठामा पुग्यौं।डाइनिङ,किचेन र अरु जे-जे नाम दिएपनि हुने एउटै कोठा।खाना पकाएर खाइसकेर भाइ-बुहारी एउटा पलाङमा,मनोज-म अर्को पलाङमा र दाइ-भाउज्यु भुइँमै सुत्यौं।चरम गरिबीले हाम्रो दृश्यलाई हाँसी-हाँसी गिज्याइरहेको थियोे।हाम्रा तीन नव-जोडीहरु एउटै कोठामा सुत्दा एक किसिमले रमाइलो पनि लागिरहेको थियो।मैले मनमनै सोचें-
"यस्तो संयोग त संसारमा बिरलै हुनसक्ला।यस्तो संयोगको बारेमा मैले कहिल्यै सुनेकी छैन।सायद पछि पनि नहोला र सुन्न पाउँदिन होला।"
एउटा अनौंठो,घत परेको घटना।मनोजको दाइ-भाउज्यूको अनौपचारिक बिहे पनि त्यही रात भयो।रातको एक बज्दा पनि कोही निंदाएनौं।सुत्ने बेला पनि जिरो वाटको पहेंलो बती पिलपिल बलेकै थियो।भित्रका सबै दृश्य छर्लङ्गै देखिन्थे।अर्को रमाइलो विषय।हामी त्यहाँ सिर्फ बास मात्र बसेका थियौं।अरु कुनै उदेश्य सायद कसैको थिएन।भएपनि कुनै हालतमा त्यो उदेश्यको प्राप्ति हुने थिएन।मनोजको दाइ र भाइलाई साइनोले जेठाज्यु र देवर परे पनि सजिलोको लागि दाइ र भाइ भनेरै सम्बोधन गर्थें।मेरो स्वभाव निकै फराकिलो,हाकाहाकी र गफाडी भएकोले त्यहाँको वातावरण देखेर अचानक मेरो मुखबाट एउटा वाक्य फुत्किहाल्यो।
"आमममममम•••कस्तो कम्पिटिसन चल्यो हो!"
त्यहाँ सबै पढेलेखेका भएकाले 'कम्पिटिसन' शब्द नबुझ्ने कुरै भएन।
"कम्पिटिसन चल्यो रे?"
मेरो वाक्य भुइँमा खस्न नपाउँदै दाइले उदारण चिन्हको बदला प्रश्नचिन्ह तेर्स्याउनुभयो।म लाज-शरमले छाँगाबाट खसेझैं भएँ।स्तब्ध भएँ।केही शब्द आइरहेको थिएन।लज्जित मुहार मनोजलाई देखाउँदै जिब्रो निकालेर "लौ बर्बाद भो" को संकेत गरें।पूरा नभएर आधा हाँस्दै थिएँ।मनोज पनि मरी-तरी हातले मुख छोपेर हाँस्यो।भाइ-बुहारीले सुने या सुनेनन्,कुनै प्रतिकृया देखाएनन्।
             हामी समय र परिस्थितिको दास थियौं।तीन नव-विवाहित जोडीहरु बिना कुनै स्वतन्त्रता निस्सासिएर एउटै कोठामा रात गुजार्न विवश थियौं।हाम्रो प्रेमनदी एकै बिन्दुमा जमेर स्वतन्त्रपूर्वक बग्न सकिरहेको थिएन।बाध्यताको जन्जीरले बाँधिएका थियौं।चाहेर पनि त्यो शक्तिशाली जञ्जीरलाई तोड्न सक्ने स्थिति थिएन।पंक्षीहरु पिंजडाभित्र कैद थिए।खुल्ला रुपमा उड्न निलो गगनको अभाव थियो।बिना कुनै कृया-प्रतिकृया सुतेरै पनि हामी एक-अर्काका बाधक भएर उभिएका थियौं।त्यो वातावरणको अवलोकन र मुल्यांकन गरेरै मेरा निर्दोष ओठले "कम्पिटिसन"को संज्ञा दिएका थिए।जानीजानी कसैले त्यो वातावरणको सृजना गरेको थिएन।त्यो रमाइलो र लज्जास्पद घटनालाई मैले मात्र संयोगको रुपमा लिएँ।अरुले कुन रुपमा लिए,उहाँहरुनै जानून्।
                भोलिपल्ट हामी बजारमा किनमेलका लागि गयौं।
"ओमु,के चाहिन्छ तिमीलाई?के किन्न मन लागेको छ?"-मनोजले सोध्यो।
"म केही पनि किन्दिन।"
आफूसँग पैसाको नाममा त्यही बीस रुपियाँको नोट थियो।अरु नभएकोले फलानो चीज किन्छु भन्ने हिम्मत पनि जुटेन।मानौं मैले कुनै सामान मन पर्यो भनें।तर पैसा मैलेनै तिर्नुपर्ने अवस्था आएको खण्डमा मेरो त्यो भन्दा ठूलो बेइज्जत के हुन्थ्यो र?
"भन न हो भन,के किन्ने?बख्खु किन्ने?कुर्ता किन्ने?जुत्ता किन्ने?चुरा किन्ने?"
उसले प्रश्नावली तयार पार्यो।तर ती प्रश्नहरुको उत्तर मैले शीर हल्लाएर नकिन्न्ने को संकेत दिएँ।
"लौ त्यसो भए कुर्ता छान एउटा।"
उसको आदेश पालन गर्दै एउटा कुर्ता छानेें।पैसा उसैले तिर्यो।किन्नुपर्ने त धेरै थिए।तर किन्छु भन्ने हिम्मत जुटाउन कदापि सकिन।हिम्मत भन्दा पनि आफ्नो औकात र हैसियतको मध्यनजर गर्दै सोही अनुरुप चल्न खोजेकी थिएँ।विभिन्न थरीका बहुमूल्य गहना र कपडाको माग गर्न मेरो नैतिकताले दिएन।तिमीले फलानो सामान लिनैपर्छ भनेर जबर्जस्ती पनि गरिएन।गरिए पनि त्यो सामान मलाई मनपर्थ्यो कि पर्दैनथ्यो-कुनै ग्यारेन्टी थिएन।
                 हुँदाहुँदै काठमाडौंमा आएको एक हप्ता गुज्रिसकेको थियो।मनोजले पर्याप्त माया गरेपनि मलाई बाबा-आमाको स्नेह र ममताको अभाव खड्कियो।गाउँघर,बाबा-आमा र साथी-संगीहरुको याद/सम्झनाले पिरोल्न थाल्यो।सबैभन्दा चिन्ताको बिषय-बाबा-आमाले पीर लिनुभएको होला भन्ने थियो।बा-आमाको माया छोराछोरी माथि,छोराछोरीको माया ढुंगा-मुडा माथि"भनेझैं आफ्नो छोराछोरीको अनुपस्थितिमा कुन चाहिँ बाबा-आमा खुशी हुन सक्लान् र?अर्कोतिर मनमा भयंकर त्रास थियोे-घर पुगेपछि बाबा-आमाले मार्नुहुन्छ भन्ने।उहाँहरु मेरो इच्छा र चाहना बिपरित जानुभएको थियो भने म उहाँहरुको इच्छा बिपरित गएकी थिएँ।हिसाब-किताब बराबर जस्तै भएको थियो।तर जन्माएर,हुर्काएर र पढाएर त्यतिको सक्षम बनाउनु उहाँहरुको महान कार्य थियोे।जसको हिसाब अंकगणितमा निकाल्न सकिन्न।जोकोहीको लागि पनि जीवनसाथीको साथ र माया मात्र पर्याप्त हुन्न।बाबा-आमा,आफन्त,ईष्टमित्र,साथीभाइ र समाजको साथ,सहयोग र मायाको पनि नितान्त आवश्यक रहेछ भन्ने कुराको अनुभूति त्यतिबेला भयो।अर्कोतिर मेरो पढाइ पनि छुट्टिरहेको थियो।मनोजले पनि विद्यालयमा अध्यापन नगरेको धेरै भैसकेको थियो।यस्तै महत्त्वपूर्ण कारणले पनि गाउँ फर्किनै पर्ने थियोे।सायद म पढ्ने बौद्दटारको विद्यालय पनि रिक्तझैं भएको होला।कारण-नौं कक्षाका तीन जोडीहरुले दुई-तीन दिनको अन्तरालमा भागेर प्रेमविवाह गरेका थिए।सो घटनाले विद्यालयमा मात्र नभई पूरै गाउँमा समेत तहल्का मच्चिएको थियो।त्यसैले मनमा अर्को एउटा ठूलो भयले पनि डेरा जमाउन थाल्यो।विद्यालयले कस्तो निर्णय गर्ला?कस्तो कारबाही गर्ला?
"मनोज!हामी कहिले गाउँ फर्किने?"
एकदिन विहान उठ्ने बित्तिक्कै चासो दिंदै सोधेँ।
"खै जान त पर्ने हो,कहिले जाने हो र?दुईचार दिनपछि जाऔंला,हुन्न?"
"हैन,सकभर हामी छिटो जाऔं न।पढाइ कति छुट्टिसक्यो।फेरि त्यही विद्यालयमा पढ्न पाइने हो कि हैन?"
"किन नपाउनु र?पाइहालिन्छ नि।नपाए अर्को विद्यालय छँदैछ नि।"
"त्यो त हो तर एउटै कक्षाका ५ जनाले एकैचोटि भागेर बिहे गरेकाले केही भन्न सकिन्न।निकै ठूलो सजाय पनि दिन सक्छन्।"
थप चिन्ता ब्यक्त गरें।
"के चाहिँ गर्लान् र?बढीमा बढी विद्यालयबाट निष्कासन गर्ला।त्यो भन्दा ठूलो सजाय के होला र?निष्कासन गरिहाले अर्को विद्यालयमा अध्ययन गरौंला।सायद पहिलो गल्ती भएकोले माफी पनि दिन सक्छन्।फेरि दोस्रो बिहे गर्ने त कुरै भएन।"
अन्तिम कुराले निकै हाँस उठ्यो।खित्का छोडेर हाँस्न थालें।मनोज सहित दाइ पनि हाँस्नुभयो।हाँसोले वातावरणलाई रोमाञ्चक बनायो।दु:ख,चिन्ता सबै दूर-दूर भागेर गए।माहोल परिवर्तन भयो।गफको बिषयबस्तु मोडियो।
              त्यस दिनको बसाइँको लागि मनोजकी माइली दिदीले निम्तो दिनुभयो।साँझतिर उहाँको कोठामा गयौं।उहाँको पसल भएपनि सुत्नको लागि भने एउटै कोठा थियो।त्यो रात पनि बिगतका अन्य रात भन्दा भिन्न भएन।बिहानै दिदी-भेना र भान्जी पसल जानुभयो।कोही नभएको मौकामा उसले आफूलाई सकृय बनाउन थाल्यो।आफ्नो पुंसत्व प्रदर्शन गर्ने यत्न गर्यो।उसलाई त्यो रुपमा कहिल्यै देखेकी थिईन।मनोज भन्दा बिल्कुल पृथक।नयाँ आनीबानी।नयाँ चेहरा।अनौठो क्रियाकलाप!उसको जोस,जाँगर र सक्रियता नियाल्दा यस्तो लाग्थ्यो कि कैलाश पर्वतलाई जुरुक्कै काँधमा उठाएर विश्व-ब्रह्माण्डको यात्रा गर्लाझैं।उसका खस्रा हातहरु मेरा चिल्ला/नरम अन्नपूर्ण/धौलागिरी जस्ता हिमालहरुमा आरोहण गर्न उद्धत भए।उसको ओठले मेरा दूधकुण्ड हिमाल जस्तो सेतो गालामा हिउँ खान थाले।उसको जवानीको चट्याङ ममाथि बर्साउन खोज्यो।म भने चट्टानको विशाल पहाड जस्तो भएर चट्याङको प्रतिरोध गर्न थालें।
"ओमु,तिमीले पनि गर न।"
"के?के गर्नुपर्यो र मैले?"
"मैले गरे जस्तो।"
"भन्नाले कस्तो?"
"अरु के हुनु र?म्वाईं के त!"
"नाइँ"
"किन?"
"डर लाग्छ।"
"केको डर?"
"नाइँ मलाई लाज लाग्छ।"
"यति गर्दैमा के हुन्छ र?तिम्रो के जान्छ र?पहाड खस्छ र?धर्ती भासिन्छ र?"
अधिक आग्रह पश्चात् मैले पनि उसको दाह्री पलाएर कालो भएको गालामा एक म्वाईं खाएँ।अनि बिपरित दिशामा फरक्क फर्केर सुतें।त्यतिकैमा मेरो सर्वस्व हरण भएझैं लाग्यो।पहिलोपटक कोही पुरुषलाई चुम्बन गरेकी थिएँ।लाज-शरमले धेरै बेरसम्म मनलाई आँधीबेहरीलेझैं उथलपुथल बनाइरह्यो।८ रेक्टर स्केलको भुकम्पलेझैं हलचल मच्चाइरह्यो।ऊ भने यौवनको सगरमाथा चढ्ने सुरसार गर्दै थियो।तर शुरु नगर्दै उसको पाइलामा ठेस लाग्यो,जब बाहिरबाट आवाज दगुरेर कानको झ्यालबाट मस्तिष्कसम्म आयो।
"मनोज!"
"मनोज!"
ऊ आफ्नो लक्ष्य,उदेश्य र गन्तव्यबाट बिचलित भयो।झ्यालबाट नजर लाउँदै बोल्न थाल्यो।
"हजुर दिदी।"
"चिया-नास्ता खान आऊ।बुहारीलाई पनि लिएर आऊ झट्टै।"
"हवस् दिदी,हामी आइहल्यौं।"
त्यति भन्दा बोलीमा कुनै दम थिएन।रहर थिएन।उर्जा थिएन।पञ्चर भएको भलिबलबाट निस्किँदाको हावाको आवाज जस्तो।निराशा र असफलता मिश्रित ध्वनि।फेरि कुनै उत्सुकता र उत्तेजना देखिएन उसको मुहारमा।लडाइँमा हार बेहोरेको सिपाहीको जस्तै हालत।
"तिमी गएर खाऊ ओमु,मलाई खान मन छैन।"-घुर्की लाउँदै भन्न थाल्यो।
"जाऔं न मनोज,दिदीहरुले के सोच्नुहुन्छ?खान मन नलागे पनि पसल सम्म चाहिँ जाऔं न!के बिग्रन्छ र?फेरि तिमी एक्लैको के काम छ र यहाँ?म गएपछि?"-मैले मजाकमा उडाउँदै भने।
हामी सरासर दिदीको पसलमा गएर खाजा खान थाल्यौं।खान मन नभएको उसले म भन्दा बढी खायो।
"खान मन छैन भनेको हैन?"-मुस्कुराउँदै बोलें।
"खान मन थिएन तर दिदीको हातबाट खाँदा रुचिहाल्यो।"
             पुरानो बसपार्क गएर घर जाने टिकट काटेर ल्यायौं।काठमाडौं बसाइँको क्रममा अन्तिम रात पनि दिदीकै कोठामा बस्यौं।त्यो रात पनि अरु रात भन्दा बेग्लै हुन सक्ने कुरै भएन।स्पर्श र चुम्बनहरुको त वर्षा नै भयो।बाढी नै आयो।डुबानमा पर्ला जस्तो।तर विवाह पश्चात श्रीमान् र श्रीमति बीचको लक्ष्मणरेखा भने पार भएन।जब परिस्थितिको स्वीकृति थियो,त्यतिबेला मेरो स्वीकृति थिएन।जब मेरो स्वीकृति भयो,त्यतिबेला परिस्थितिको स्वीकृति भएन।दुई हप्ताको यात्रा यस्तै स्वीकृति र अस्वीकृतिकै दोहोरीमा रुमल्लियो।विकल्पहरु खोज्न सकिन्थे र थिए पनि।तर हामीले विकल्पको आवश्यकता महसुसै गरेनौं।यो कुरा समाजलाई सुनाउने हो भने कसैले नपत्याउँलान्।पत्याए पनि हजारौंमा एकले पत्याउँलान्।कसैले त खिल्ली पनि उडाउँला।कतिपयले उसको पुरुषत्व माथि प्रश्न उठाउँला।नामर्द सम्म पनि भन्लान्।तर वास्तविकता त्यही थियो।यथार्थ त्यही थियो।काठमाडौंको यात्रा गरेर सकुशल फर्किंदै थियौं।भनौं-भर्जिन नै फर्किंदै थियौं।बिहे गरेपनि हनिमून मनाएनौं।यदि सँगै सुत्नुमात्र हनिमून भए हामीले धेरै मनायौं त्यस्ता हनिमूनहरु।प्राकृतिक नियमलाई तोडेर,सृष्टिको नियमित कार्यक्रमलाई चुनौती दिएर हामी जस्ताको तस्तै घर फर्किंदै थियौं।कतिपय नव-दम्पतिहरु हनिमूनको लागि मात्र लाखौं रुपियाँ खर्चेर रमाइलो शहर वा बिदेशका चर्चित ठाउँहरुमा जान्छन्।तर हामी आफ्नै घर फर्किंदै थियौं।स्वीट्जरल्यान्ड,सिंगापूर,यु के,अमेरिका र हङकङ जे भनेपनि हाम्रो लागि आफ्नै गाउँ थियो।
               कालरात्रीको समाप्ती र मिर्मिर विहानीको उदयसँगै काठमाडौदेखि जिरीसम्मको यात्रा शुरु भयो बस चढेर।तर जिरीदेखि भक्तपुरसम्मको यात्रा जस्तो नभई त्यो भन्दा धेरै गुणा रोमाञ्चक र आरामदायी भयो।भक्तपुरसम्मको यात्रा  झ्यालबाट शहरको दृश्य हेरेरै बित्यो।
            त्यतिन्जेल सम्ममा मनोजसित धेरै झ्यामिएकी थिएँ।ऊ भन्दा बढ्ता बोल्ने भैसकेकी थिएँ।सबै कुराहरु मनमा नराखीकन सबै खोल्ने भैसकेकी थिएँ।अझ भनौं-उसको लागि म एउटा खुल्ला पुस्तक भैसकेकी थिएँ।उसले आफ्नो चाहना अनुकूल जुनसुकै पाना पनि पल्टाएर आरामले पढ्न सक्थ्यो।
"एउटा कुरा भनुँ तिमीलाई?"-कुराको शुरूवात गरें।
"भन न के कुरा हो।"
स्वीकृति पाएँ।
"नाइँ,होस् के भन्नु?नरिसाउने भए मात्र भन्छु।"
"भन न किन रिसाउनु र?"
"मैले तिमीमाथि ठूलो पाप चिताएँ।ठूलो शंका गरें।तिमीले मलाई बेच्ने पो हो कि भनेको।"
"हा हा हा हा हा•••••••••••••••••••।"
"हो भनेको।अचेल कसैको विश्वास हुन्न यहाँ।को मान्छे कस्तो भनेर चिन्न अति गाह्रो छ।धन्न म भाग्यमानी रहेछु।तिमी जस्तो इमान्दार जीवनसाथी पाएकी छु।"
"कसरी सोच्न सक्यौ त मलाई मान्छे बेच्ने दलाल?आम्मै!यस्तो पाप त म सोच्न पनि सक्तिन।"
                                 
                               "चीजबल,पानी,बदाम,चाउचाउ,अण्डा,दालमोठ।"
"आयो है आयो सुन्तला।"
"लौ आयो आजको ताजा खबर।ताजा-ताजा खबर।कान्तिपूर,राजधानी।माओवादी र सेनाको दोहोरो भिडन्तमा १४ जनाको मृत्य,२१ सैनिक घाइते।हजारौंको संख्यामा माओवादीहरु हताहत।"
गाडी बनेपामा एकछिन रोकिएको बेला १२/१३ बर्षका ४/५ जना किशोरहरु जोड-जोडले चिच्याउँदै आ-आफ्ना व्यापार गरिरहेका थिए।खानेकुरा किन्ने भन्दा पनि पत्रिका किन्ने यात्रुहरु धेरै देखिन्थे।त्यो अवस्था र परिस्थितिको अन्दाज गर्दा यस्तो लाग्थ्यो कि सबै जनालाई एउटै चिन्ता छ-देशको।
"ओमु,के चाहिन्छ हामीलाई? म किन्छु।"-मनोजले सोध्यो।
"पानी, बदाम र एकपोका सुन्तला लिउँ न।"
"ल ल के-के चाहिन्छ भाइसित लेऊ त।"
पैसा निकालेर दिंदै उसले भन्यो।भनेको भन्दा अर्को एउटा चीज बढी लिए-दालमोठ।

            गाडी फेरि गुड्न थाल्यो।मेरो ध्यान भने त्यो सानो भाइले कराइ-कराइ भनेको समाचार तिर केन्द्रित थियो।
"आफ्नै भाइ-भाइ बीच केको लागि लडाइँ?एकले अर्कालाई मारेर के पाउँछन् उनीहरुले?कठै!नेपाल आमा कति दु:खी होलिन् आफ्ना सन्ततिको हालत देखेर?दाइले भाइ मारेर विजयोत्सव मनाइरहेका छन्।हरे भगवान्!यो के हुँदैछ हाम्रो देशमा?"
"यो सुन्तला छिल्लेर देऊ त ओमु।कस्तो साह्र्रो छ हो बोक्रा पनि।त्यही माथि मेरो नङ पनि दुखेको छ।"
कुन दुनियाँमा हराएको बेला उसको आग्रहले एकाग्रता भंग भयो।सुन्तला छिल्लेर खाएँ।उसलाई पनि दिएँ।सुन्तलाको स्वादले देशको परिस्थिति र हालतलाई भगाएर केही गुलियो र केही अमिलोको अनुभूत मात्र गरें।हुनपनि आफ्नै जिन्दगीको भार थेग्न गाह्रो भएको बेला देशको चिन्ता कसले गरोस्!

             मनोजको काखमा मस्त निंदाएछु।सायद उसले मनोमानी गरे होला।यौवनका थुम्काहरु चढे होला।रमाइला दृश्यहरु हेरेर कल्पनाको संसारमा हरायो होला।तर समाजलाई अपाच्य कर्त्तुत भने पक्कै गरेन होला।खै के गर्यो,के गरेन,देख्नेलाई थाहा होला।म त गहिरो निद्रामा हराएकी थिएँ।यति गहिरो निद्रामा लट्ठिएकी थिएँ कि खाडीचौरमा खाना खाने बेला मात्र ब्युँझें।त्यो दिन खाना पनि मज्जाले रुच्यो।मनोजले जत्तिकै थपेर खाएँ।कुन खुशीको कारणले खाना रुच्यो थाहा भएन।
"यत्तिको समयसम्म तिमी कहाँ थियौ मनोज?"
"म?कहाँ हुनु तिमीसँगै गाडीमै थिएँ त।"
"म त सुतेकी थिएँ नि।तिमी?"
"म पनि सुतेकै थिएँ नि,उठेर कहाँ जानु छ र?तिमी सुतेको मौका छोपेर के म चाहिँ फेरि काठमाडौं पुगेर आएँ होला त?"
"हिहिहिहिहि•••••••••••••••••।"
बेस्सरी हाँस उठ्यो-मानौं उसले चुट्किला सुनाउँदै थियोे।
"म त जिरी पुगेर पनि आजको लागि योजना बनाएर पनि फर्कें।"
उसले के भन्दैथियो-मैले बुझिन।
"कस्तो योजना?अनि जिरी?कसरी?"
"जिरी पुगेपछिनै थाहा हुन्छ त्यो त।अहिले भन्न मिल्दैन।गोप्य नै होस्।"
कस्तो र कुन योजनाको बारेमा कुरा गर्दैथियो?अन्यौलमै थिएँ।फेरि पनि सोध्ने इच्छा जागेन।फेरि सुत्न लागें।तर त्यो पटक आफ्नै सिटमा ढल्किएर सुत्न लागें।
             खरिढुङ्गाको चेकपोस्टमा पुगेपछि खलासीले सबलाई  झारेर लाइन लगाए।पालैपालो अन्तर्वार्ता जस्तै दिई हस्ताक्षर गरेर जानुपर्ने रहेछ।काठमाडौ आउनेबेलामा त्यस्तो नियम थिएन।भिडन्त भएपछि त्यस्तो कडाइ गरेको भन्ने बुझियो।
"दाङको मान्छे रामेछाप किन जाने.?"
हामी भन्दा अगाडिको करीब पचास बर्षे बूढोलाई सोधे।
"छोरा भेट्न जाने हजुर।मेरो छोरा पनि सेना नै हो।"
"गफ दिन्छौ बूढा?कुन चौकी हान्न जाने हो?
"हैन हजुर सत्य बोल्दैछु।"
त्यति भनेपछि शीर हल्लाएर जाने आदेश दिइयो।
हामीलाई भने खासै केही कडाइ गरेनन्।

                केही घण्टामै जिरी पुग्यौं।प्रायः जसो हामी आफन्तकै होटलमा बस्ने गर्थ्यौं।त्यो रात पनि मनोजले आफ्नो आफन्त कहाँ लिएर गयो।सबै कोठामा मान्छे सुतिसकेका थिए।अलग्गै कोठा नपाएकोले भुँइमा सुत्नुपर्यो।पलाङमा हाम्रै गाउँका अरु दुईचार जना सुतेका थिए।खाना खाएर सुतेपछि सोधेँ।
"खै तिम्रो के योजना छ भन्थ्यौ नि,के योजना हो?"
"छैन,कुनै योजना बनाएको छैन।"
"भन न कस्तो योजना।"- जिद्दी गर्दै सोधेँ।
"योजना विफल भैसक्यो।अब अर्को योजना भोलि मात्र बनाउने।"
मैले बल्ल बुझें।वास्तवमा उसको योजना विफल भैसकेको थियो-विगतका दिनहरुमा झैं।दाइ-दिदीका कोठाहरुमा बितेका रातहरु झैं।उसले काठमाडौंदेखि झिनो आशाको त्यान्द्रो लिएर आएको थियो।त्यो पनि जिरी आएर चुँडियो।
              भालेको डाँकसँगै नयाँ जोश,उमंग र आशा लिएर घरतर्फ प्रस्थान गर्यौं।नभन्दै हामी जस्ताको तस्तै घरमा पुग्यौं।न त हामीले केही पाएका थियौं न केही गुमाएका थियौं।पाउनुको नाममा एक-अर्कालाई पाएका थियौं।हेर्दाहेर्दै घरको संघार टेकेर भित्र प्रवेश गरें ऊसँगै।शुरुमा केही भन्नै सकिन।बाबा-आमालाई हातमा ढोगेर थचक्क मात्र बसिरहें।
"तिमीलाई त धेरै पढ्,जागिर खा,प्रगति गर,ठूलो मान्छे बन भनेकै हो क्यारे।सानै उमेरमा बिहे गर्नुपर्ने के आवश्यकता पर्यो त्यस्तो?-आमाले कराउनुभयो।
मनोज चुपचाप टोलाएर मात्र बस्यो।
"पासाङले मागिसकेको केटीनै भगाउनु थियोे तिमीलाई?अरु केटी पाएनौ?"
आमाको त्यो वाक्यले दियोझैं बलिरहेको मेरो अनुहार झ्याप्पै निभेर अँध्यारो भयो।मुखबाट वाक्य त के,एक शब्द पनि फुटिरहेको थिएन।ऊ पनि यताउता-दायाँबायाँ टोलाइरह्यो।केही प्रतिकृया नदिइकन चुप बसेको देखेर आफैं बोल्न बाध्य भएँ।
"के पासाङले बिहे गरेर भित्र्याएको बुडी हो र म?मेरो इच्छा बिपरित आठ-नौं चोटिसम्म सगून लिएर कसले आऊ भनेको त्यसलाई?मैले त एक हुन्न,दुई हुन्न,तीन हुन्न भएकै हो।जबर्जस्ती गर्न खोज्नु उसैको मुर्खता हो।"
सत्यतथ्य कुराहरुको बयान गरेपछि बाबा-आमा राजी भए-मलाई बुहारीको रूपमा स्वीकार्न।प्रेमको अदालतमा प्रेमी-प्रेमिकाको पक्षमा फैसला भयो।न्यायाधीशले मस्तिष्कले नभई मनले फैसला सुनाए।

             खानाको कार्यक्रम पश्चात् शयनकक्षमा गयौं।ऊ आफ्नो अभिनय देखाउन आतुर भयो।कला प्रदर्शन गर्न उत्साहित भयो।त्यहाँ नायक भने पनि,निर्देशक भने पनि ऊ नै थियो।उसैको 'एक्सन र कट'को ईशारामा चल्नुपर्थ्यो।साथै उसको अभिनयमा साथ दिनुपर्थ्यो।
"नाइँ।"
मैले अभिनय गर्न अस्विकार गर्दै भनें।
"मैले दुई हप्तासम्म कहिले आधा-आधा मात्र खाँदै र कहिले भोकै बस्दै आएको छु।आज भने मैले पूरै खाना पाउनुपर्छ।"
उसले आफ्नो अभिनयको सम्वाद बोल्यो।
"नाइँ।"
मैले उस्तै अभिनय दोहोर्याएँ।
मेरो अभिनय निर्देशकलाई मन परेन।उसले मलाई राम्रो र सकारात्मक अभिनय गर्ने आदेश दियो।
"नाइँ।"
मेरो मुखबाट भने एउटै सम्वाद मात्र आयो।
अन्ततः निर्देशककै आज्ञा पालन गर्दै उसैले चाहेको अभिनय गर्न थालें।उसले भनेको झैं अभिनय गर्न धेरै कठिन भयो।अभिनयका सबै दृश्य उसको क्यामेरामा कैद भए।
दोहोरो प्रयासमा हामीले यौवनको जहाज चढ्यौं।आखिरमा हामी सफल भयौं।धेरै दिनको अथक प्रयासपछि उसको आक्रमणले सार्थकता पायो।उसले धेरै चेष्टा गर्दा पनि कृकेट खेल्न पाएको थिएन।तर त्यो पहिलो खेलमै उसले छक्का र चौका प्रहार गर्दै शतक बनायो।अन्ततः हनिमूनको खेल अनवरत संघर्षपछि आफ्नै घरेलु मैदानमा सम्पन्न भयो।
    
            "वाह वाह वाह!इन्ट्रेस्टिङ!ओमु बहिनीको कहानीले मनलाई भित्रैदेखि च्वास्स छोएकोले ताली पड्काउँदै कराएँ।मेरो तालीसंगै जेएस र अरुले पनि क्रमश:ताली थप्दै लगेपछि तालीको गडगडाहटले रातको सन्नाटालाई संगीतमय बनायो।ओमुका परिवारका सबै सदस्यहरु सुत्न छाडेर चुपचाप सुनिरहे।त्यसपछि ओमु बहिनीले फेरि लामो सुस्केरा हाल्दै आफ्नो कहानीलाई निरन्तरता दिईन्।
           भोलिपल्ट सासू-ससुरा सहित माइतीघर गयौं।
"के खान आईस् यहाँ?हाम्रो घरमा आउनुपर्दैन अब,हिजै गैसकेपछि।"
आमाले कराउँदै अगुल्टो लिएर प्रहार गर्न आउनुभयो।
"चुप लागेर बस्नु सम्धिनी।छोराछोरीबाट गल्ती भैहाल्छ नि।माफी दिनुपर्छ।तपाईंहरुको भावनाको कदर नगर्दैमा आफ्नो छोरीलाई काट्न,मार्न त भएन नि।भैगो छोडिदिनु।"
सासुले सम्झाएपछि आमाको क्रोधको आगो मत्थर भयो।रुँदै गुनासो पोख्नुभयो।रोएसँगै उहाँ पछुताए जस्तो पनि गर्नुभयो।
"मलाई के थाहा यो यसरी जान्छे भनेर?यो गएदेखि न त भोक-प्यास लागेको छ,न त आँखामा निद्रा आएको छ।हाम्रो हालत यसले कहाँ देख्छे र?तिमीहरू यति छिटो फर्केर आउछौ भनेर मैले दस मनमा एक मन पनि चिताएकी थिईन।इन्डियातिर कता लिएर जान्छ होला भन्ठानेकी।भतिजोले पो भन्दैथियो ज्वाइँ पनि मालीको विद्यालयमा पढाउनुहुन्छ भनेर।बल्ल केही सास र आश आएको थियो।नत्र त मैले माया मारिसकेकी थिएँ।"
बिलौना गरेर निकैबेर रोएपछि उहाँ सामान्य हुनुभयो।हामी दुई हप्तामै फर्केर गएकाले उहाँ अत्यन्तै खुशी हुनुभयो।यही नै बाबा-आमाको महानता रहेछ।छोराछोरीले जतिसुकै ठूलो गल्ती गरेपनि निस्वार्थ माफ गरिहाल्नुहुन्छ।माया गर्नुहुन्छ।त्यसैले बाबा-आमाको महिमाको वर्णन गरेर साध्य छैन।

               केही दिनपछि मैले आफ्नो पढाईलाई निरन्तरता दिएँ।मनोजले पनि अध्ययन/अध्यापनलाई पुनःसुचारु गर्यो।
                घर/थर फेरिए।आफ्नो पहिचान गुमाएर नयाँ पहिचान पाउनु नै नारीको जिन्दगी रहेछ।आफू हराएर अरुको जीवनलाई सार्थक बनाउने जिम्मा हामी नारीले लिंदै आएका छौँ।मैले पनि लिएँ।पुरुषको जीवनमा मलजल गर्नुनै नारीको कर्तव्य रहेछ।हामी केहीदिन घर र केही दिन माइतमा आलोपालो बस्न थाल्यौं।सबै समस्याहरुको समाधान भैसकेको थियोे।
                एक दिन यस्तो समस्याको जन्म भयो जुन अति भयंकर र निन्दनीय थियोे।त्यो दिन हामी माइतीघरमै सुतेका थियौं।आकाशमा चमक दिने ताराहरुको बिलयसंगै मिर्मिरे विहानीको उदय भएको थियो।बाबा-आमा चिया पकाउने क्रममा हुनुहुन्थ्यो।मनोज र म ओछ्यानमै थियौं।
"तिनीहरू कहाँ छन्?धोकेबाजहरु!तुरुन्तै बोलाउ तिनीहरूलाई।कहाँ लुकेर बसेका छन्?"
अचानक दुईजना केटाहरुको चर्काचर्की आवाज कानसम्म आईपुग्यो।
केहीबेरको हल्लाखल्लापछि आमा हत्तपत्त हामी कहाँ आएर हतोत्साहित हुँदै भन्नुभयो।
"पासाङ दाज्युभाइ आएका छन्।उतातिर नआऊ तिमीहरू।यतै बस।"
त्यति भनेर आमा उतापट्टी जानुभयो।तर हामी यता भएको कुरा उनीहरूले चाल पाइसकेका थिए।पासाङको भाइ यतै आएर हामीलाई उता बोलायो।म बिस्तारामै पल्टिरहें।मनोज उतापट्टी अर्थात घरको पहिलो खण्डमा गयो।त्यसपछि दाज्युभाइ मिलेर आतंक मच्चाउन थाले।
"साला तिमीहरू घरमा आएपछि हामीलाई भेट्न आउनुपर्दैन?चुपचाप लुकेर बस्ने हो?हाम्रो रक्सीको पैसा तिर्नुपर्दैन?मैले तँलाई ओमु र मेरो बिहे फिक्स भैसक्यो भनेको हैन?त्यतिखेर किन चुप लागेर बसेको?ओमुलाई मैले मगनी गरेको कुरा थाहा थिएन तँलाई?मैले मागिसकेपछि छेच्युको तीनदिने मेलामा लभ परेको हैन तिमीहरूको?मलाई मूर्ख ठान्छस्?मलाई केही थाहा हुँदैन?"
पासाङले चर्को स्वरमा थर्काउँदै मनोजलाई दबाउन थाल्यो।
"हैन,हाम्रो पहिलेदेखिनै राम्रो सम्बन्ध थियो।"
मनोज डराएर हो या नम्र भएर हो बिस्तारै बोल्यो।
"साला तँ पासाङ दाइ र भाउजूको बीचमा आउने?ओमु मेरो दाइको हुने पक्कापक्की भैसकेको थियो।तर तैंले किन बीचमा भिलेनको रोल खेलिस्?"
पासाङको भाइ सिंहझैं गर्जन खोज्दै थियो तर उसको वाहियात हर्कतले वास्तविक स्तर बिरालोको भन्दा कम देखिएन।
"न त म हिरो हुँ,न भिलेन।म कसैको बीचमा भिलेन भएको छैन।"
मनोजले  नम्रतापूर्वक प्रतिवाद गर्यो।
"किन हैन?साला भिलेन होस् तँ।"
पासाङले आरोप लाउँदै भन्यो।
"लेऊ रक्सीको पैसा।कति हो?यतिले पुग्छ कि थप्नुपर्छ?"
मनोजले पासाङको भाइलाई पाँचसय रुपैयाँको नोट दिंदै सोध्यो।
"आज हामी यहाँ पैसा लिन आएका हैनौं।वार या पारको खेल खेल्न आएका हौं।"
यति भन्दै उसले पैसा समायो।
"हामीले त दिएकै हौं तर छोरीले नमानेपछि के गर्ने?अब जे हुनु भैसक्यो।लडाइँ-झगडा गरेर के फाइदा छ र?"
बाबाले उनीहरुलाई सम्झाउँदै भन्नुभयो।
"हो,दिन त दियौ तर बीचमा यसले बिगार्यो।"
पासाङ मनोजतिर औंला ठड्याउँदै चिच्यायो।
उनीहरुको धाक-धम्की र रवाफ देख्दा यस्तो लाग्थ्यो-मानौं मनोजले उसको बाजा बजाएर बिहे गरेर भित्र्याएको श्रीमती ओछ्यानबाट भगाएर लगेको थियो।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...