Saturday, 24 September 2016

आरोह अवरोह-१३

             उनीहरूको फूर्तिफार्ती र नौटङ्की देखेर असह्य भयो।रगत उम्लेर १०० डिग्री नाध्यो।रक्तचाप उच्च भयो।पारो तातिएर धेरै माथि-माथि चढ्यो।वरिपरि केही देखिन।
"के सोचेका तिमीहरुले?तिमीहरुको धाक-धम्कीले हामी डराउँछौं?जोसंग बिहे गरे पनि मेरो मर्जीको कुरा हो।मेरो ब्यक्तिगत मामिलामा किन टाउको दुखाई?मनोजसित बिहे गर्न पाउनु मेरो व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो।भिलेन मनोज नभएर तिमीहरू हौ।यहाँ के खोज्न आएका तिमीहरू?खुरुक्क निस्केर गैहाल।नत्रभने राम्रो हुनेछैन,बुझ्यौ?"
एकैचोटिमा आफ्नो मनभित्र उर्लेर आएको रिसको भेललाई उनीहरूमाथि बर्साएँ।उनीहरू अलि हच्किएर पहिलेको तुलनामा मत्थर देखिए।
"ओमुसंग बिहे गरेर आरामदायी जिन्दगी बिताउने धेरै ठूलो सपना थियोे।मनोजले नराम्ररी तुहाएर भताभुङ्ग/लथालिङ्ग बनाइदियो।यदि तिमीहरूको प्रेम सम्बन्ध पहिलेदेखिनै थियो भने मैले पटक-पटक सोध्दा पनि किन भनिनौ?म आफ्नो जिन्दगीको गोरेटोमा धेरै टाढा पुगिसकेपछि तिमीहरूले अवरोध खडा गर्यौ।यात्रालाई असफल बनायौ।तहसनहस बनायौ।मेरो सपनाको बाधक हौ-तिमीहरू!म पनि तिमीहरुलाई आरामदायी जीवन जिउन दिन्न।चैनको निद्रा सुत्न दिन्न।तिमीहरूको जिन्दगी बर्बाद बनाएरै छोड्छु।मैले भनेको थिएँ नि,तिमी मेरी हुन सकिनौ भने अरु कसैकी हुन सक्दिनौ।याद छ मेरो कुरा?तिमीहरू धोकेबाज हौ।म बद्ला लिएरै छोड्छु।"
उसले मतिर हेरेर बर्बरायो।त्यतिकैमा बाबाले बञ्चरो उध्याउन थाल्नुभयो।उनीहरू हच्किएर अलि पछि हटेझैं देखिन्थे।वास्तवमा डर उनीहरूलाई पनि थियो।
"जान-अन्जानमा जोबाट जे भुल भएपनि अब यो कुरालाई यहीँ समाप्त गरौं।ल भन त्यसको लागि मैले के गर्नुपर्यो?के छ तिमीहरूको शर्त?के चाहन्छौ तिमीहरू?"
मनोजले परिस्थितीको चियामा सहमतिको लागि लचकताका चिनी जस्ता शब्दहरु घोल्यो।
"मनोज,तिमी हामीसंग बाहिर हिंड।एउटा महत्वपूर्ण कुरा गर्नुछ।एउटा योजना छ।त्यो योजनामा तिमीले सहमति जनायौ भने स्थिति बिल्कुल शान्त र पहिलेको जस्तै हुनेछ।"
पासाङले मनोजलाई बाहिर लगेर हातपात गर्ने योजना बुन्दै थियो।
"म किन बाहिर जाने?जे कुरा भएपनि यहाँ सबैको सामूमै भन।सहमत/असहमत भन्ने कुरा त्यतिबेलै थाहा होला।"
मनोजले यति भनेर टार्यो।
उताबाट आमाले पनि मनोजलाई बाहिर नजानको लागि संकेत दिनुभयो।
"बाहिरसम्म मात्र जाऔं न, हामी तिमीलाई केही पनि गर्दैनौं।एउटा कुरा मात्र गर्नुछ।एउटा महत्वपूर्ण सल्लाह गर्नुछ तिमीसंग।"
पासाङको भाइले मनोजलाई फकाउन थाल्यो।
"मनोज!कहीं जानुपर्दैन।जे भन्नुछ यहीं भनोस्।बाहिर लगेरै भन्नुपर्ने त्यस्तो गोप्य कुरा के छ?"
मैले मनोजलाई सम्झाएँ।
केही समय स्थिति शान्त भए झैं लाग्यो।कसैले केही बोलेनन्।यस्तो लाग्थ्यो कि उनीहरुले भन्नुपर्ने सबै कुरा सकिसकेका थिए।उनीहरुको दिमाग शून्य-शून्य थिए।
            उनीहरू अझै पनि जाने संकेत देखिएन।मनसाय बुझ्दा यस्तो लाग्थ्यो कि उदेश्य पूरा नभएसम्म उनीहरु त्यहीं धर्ना दिइरहनेछ।मनोज विद्यालय जानको लागि कपडा लगाउन थाल्यो।
"आज विद्यालय जानुपर्दैन मनोज!"
मैले ईशारा गर्दै भनें।
आमाले पनि नजानु भनेर ईशारा गर्नुभयो।तर उसले ईशारा बुझेन या विद्यालय जानैपर्ने आवश्यकता ठान्यो।ऊ तयार भैसकेको थियो।विहानको नौं बजेतिर घरबाट निस्क्यो।

                मनोज निकै तल पुगिसकेको थियो।उनीहरू ट्वाल्ल परेर मात्र हेरिरहे।सायद उनीहरूले सोच्दै थिए होलान्।
"कहाँसम्म त जाला।साला मनोज।तँलाई हेरौंला।"
मनोज घरबाट प्रस्थान गरेको दश-पन्ध्र मिनेटपछि उनीहरू छोटो बाटो जान लागे।बारीका कान्लाहरुबाट फाल-हानेर ओरालो झर्न थाले।मानौं उनीहरू कुनै जंगली जनावरलाई छेक्दै,लखेट्दै छोप्ने दाउमा छन्।मनोज र उनीहरू बीचको दूरी निकै टाढा थियो।शुरुमा त मैले त्यस्तो नकारात्मक केही सोचिन।केही बेरपछि म पनि विद्यालय जान तयारी भएर तलतिर झरें।बेला-बेलामा नजर मनोजतिर पनि लाएँ।उसले बौद्धटारको विद्यालय देखि अलि पर्तिरको झोलुङ्गे पुल तरिसकेको थियो।त्यतिनै बेला पासाङ दाज्युभाइ पनि वारिबाट पुल तर्न शुरु गरे।
"फ्यू,फ्यू••••,ए साला त्यहीं रोक!तँलाई छोड्दैनौं।साला खाते!पख••••!"
यी शब्द र वाक्यहरु प्रष्टै सुनें।कुनै शब्दहरु प्रष्ट रुपमा ठम्याउन सकिन।अस्पष्ट सुनिएका ती शब्दहरु जे भएपनि मनोजको बिरुद्धमा थिए।हाम्रै बिरुद्धमा थिए।उनीहरू एक-एक हातमा खुकुरी,अर्का हातमा लाठी लिएर रोशीको उकालोमा मनोजलाई लखेट्न थाले।जसरी पहिले-पहिले गाउँघरतिर कालिज या मृगलाई लखेट्ने गर्थे।मनोज अगि-अगि भाग्दै गयो।उनीहरू पछि-पछि।वारिबाट बौद्धटारका बासिन्दाहरु मुक-दर्शक भएर हेरिरहे।एक भीड जम्मा भएर।मानौं त्यो उकालोमा सुपरहिट फिल्म चल्दै थियोे।हुन पनि कुनै चलचित्रको द्वन्दको दृश्य भन्दा कम थिएन।एकजना हिरोलाई दुईजना गुण्डाहरुले हतियार हातमा लिएर लखेटिरहेका झैं देखिन्थे।बौद्धटारका पसल र होटेलका साहु-साहुनीहरु मौन थिए।मनोजको पक्ष र पासाङहरुको बिरुद्धमा त्यहाँ कुनै शब्द सुनिएन।कुनै मर्द जान तयार भएनन् उसलाई बचाउन।पासाङ दाज्युभाइलाई सम्झाउने र रोक्ने कुनै सज्जन देखिएन।यस्तो लाग्थ्यो कि उनीहरु पनि सब पासाङकै समर्थक हुन्।कसैले आवश्यक ठानेनन् मद्दत गर्न।उद्दार गर्न।मानवता समाप्त भएको भान हुन्थ्यो।

                हेर्दाहेर्दै सबैजना रोशीको जंगलतिर गायब भए।अदृश्य भए।तत्पश्चात त्यहाँ के-के भए,कसैले केही अनुमान लाउन सकेनन्।म के गरुँ?कसो गरुँ?कहाँ गएर कसलाई गुहारुँ?केही सोच्नै सकिरहेकी थिईन।उतातिर मनोजलाई वैरी आइलागेको थियो।कुरुक्षेत्रमा जीवन-मरणको लडाइँ लडिरहेको थियो।यतातिर म पनि हाँस्नु न रुनुको अवस्थाबाट गुज्रिरहेकी थिएँ।अरुलाई गुहारको भिख माग्नुको कुनै औचित्य देखिन।रुँदै-रुँदै खोल्सै-खोल्सा हुँदै घरतिर प्रस्थान गरें।
"हरे भगवान्!मनोजले के गल्ती गरेको थियोे र सजाय दिलाउँदैछौ?के निस्वार्थ र सच्चा माया गर्नु पाप हो?यदि हैन भने किन मनोजको त्यस्तो दुर्गति हुँदैछ?जसरी हुन्छ उसको रक्षा गर।त्यसपछि जिन्दगीमा तिमीलाई केही पनि माग्ने छैन।बस यो महाबिपतिबाट पार लगाऊ।मेरो लाख बिन्ती छ।"
यी वाक्यहरु मुखबाट मात्र नभई हृदयबाट पनि निस्किएका थिए।अर्कोतिर म अत्यन्तै क्रोधित भएँ।प्रतिशोधको चिराग दनदनी बल्यो।
"यदि मनोजलाई केही भैदियो भने कसैलाई बाँकी राख्ने छैन।सबका सबलाई खत्तम पार्छु।चाहे मेरो ज्यानै जाओस्।अवश्य बदला लिएरै छाड्छु।यदि ऊ सकुशल घरमा आएन भने के-के गर्नुपर्छ-मैले पनि जानेकी छु।"

             आवेगको ज्वाला छातीमा सल्काएर घरमा पुगें।थाकेर लखतरान भएँ।पीर र निराशाले शिथिल।
"आमा!मनोजलाई त पासाङ दाज्युभाइ मिलेर रोशीको जंगलतिर लखेट्दै लगे।लौ न केही गरौं।म एक्लैले के गर्ने,के नगर्ने?केही सोच्नै सकिन।"
बिलौना गर्दै घटनाको वृतान्त सुनाएँ।सबै सदस्यहरु हतास भए।त्रासदीको बादल सबैको मुहारमा मडारियो।मनमा क्रोधको राँको सल्क्यो।
"लौ अब तिमी जेसुकै गर।तिम्रो कारणले मेरो छोराको ज्यान धरापमा परेको छ।भाग्नलाई मेरै छोरा देख्यौ हैन?सबै कुराको जिम्मेवारी तिमीले लिनुपर्छ।जे गर्छौ,गर।तर मलाई मेरो छोरा सकुशल चाहिन्छ।"
सासूआमा आगो भएर ममाथि खनिनुभयो।
"जिम्मेवारी मै लिन्छु जे भएपनि।बरु बहस गर्न छोडेर केही उपाय निकालौं।हामी-हामीमा लड्ने बेला नभएर दुष्मनको प्रतिरोध गर्ने बेला हो यो।"
आमालाई सम्झाएँ।
"ल ल जाऔं-जाऔं"-बाबाले भन्नुभयो।
"म पनि जान्छु,जाऔं।"-मनोजकी दिदीले भनिन्।

               हामी तीनजना लडाइँमा जाने सिपाही जस्तै हातमा खुकुरी,हँसिया र लाठी लिएर मालीको विद्यालय जाने जंगलको बाटो लाग्यौं।जाँदा-जाँदै घटनाको विवरणलाई दोहोर्याइ-तेहेर्याई भनें।दुईजना अस्त्रधारी लडाकुसंग अस्त्रविहीन मनोजले लड्न सक्ने सम्भावना थिएन।भाग्न सफल भएको भए सकुशल होला।नत्रभने केही भन्न सकिने स्थिति थिएन।एकमनले सोच्यो-मनोज पातलो,छिटो-छरितो भएकोले उनीहरूबाट सजिलैसँग भाग्न सफल भयो होला।फेरि अर्को मनले सोच्यो-दुईजना अस्त्रधारीलाई देखेर ऊ आँतिएर भाग्न सकेन होला।उनीहरूले मनोजलाई भेट्टाएको भए उसको हालत के कस्तो होला?
"किन स्कूल जानुपरेको त मनोजलाई।घरमै जोरी खोजेर आएपछि त अलि सतर्क हुनुपर्छ नि।"
दिदीले जिज्ञासा राख्नुभयो।
"हामीले त नजाऊ भनेकै हो नि।उसले मानेको हैन।फेरि उनीहरूले त्यसरी आक्रमण गर्ला भनेर के थाहा नि बिचरालाई?त्यस्तो हर्कत गर्ने मान्छे पो पशु।संसारमा कतै केटीको मुखै नदेखे जस्तो!सोझो,गरीब देखेर हेपेका हुन् नि सरासर।"
सामू भेट्टाएको खण्डमा एक चोक्टा मासु र एक मुठ्ठी रगत पिउने जङ चल्यो।मनमा दु:ख,पीडा र अनेक शंका-उपशंकाहरु लिएर उसले अध्यापन गर्ने विद्यालयमा पुग्यौं।
"सर यहाँ मनोज आउनुभयो?
मैले एकजना शिक्षकलाई सोधेँ।
"आज त अहिलेसम्म आउनुभएको छैन त!किन होला?"
उहाँले आश्चर्यचकित हुँदै प्रश्नोत्तर गर्नुभयो।
"हैन सर त्यतिकै।काम परेर हो।यदि आइपुग्नुभयो भने मास्तिर पठाइदिनु।हामी माथि होटलमा पर्खिन्छौं।"
"हवस् म्याडम।सर आउनुभयो भने भन्दिउँला।"
उहाँको जवाफ पछि हामी सरासर गएर होटलमा 
प्रतिक्षारत भयौं।रोएँ,कराएँ र चिच्याएँ।हामी तनाब र पीडाको चरम बिन्दुमा थियौं।होटलका मान्छेहरु पनि मर्माहत भए हाम्रो हालत देखेर।
"मनोजलाई मात्र केही होस् न त्यहाँ।म तिनीहरूलाई कुनै पनि हालतमा छोड्ने छुइन।यो मेरो दृढ अठोट भयो।खुनको बदला खुनले लिनेछु।"
मैले यति भन्दा सबैले मतिर एकतमासले हेरे।मानौं-म साक्षात कालीको रुप धारण गरेर उभिएकी छु।बर्बराउँदै रिस ओकलेंं।बदलाको बारुद बिस्फोट गरें।

                 होटलमा गरिएको प्रतिक्षाको घडी एकदमै उराठलाग्दो,कहालीलाग्दो र दु:खद।पटकपटक होटलबाट बाहिर निस्केर हेरें।कतै ऊ आउँदैछ कि भनेर।उसलाई नदेख्दा राखिएको आशा पलभरमै जलेर भस्म हुन्थ्यो।करीब डेढ घण्टाको कठिन प्रतिक्षापश्चात ऊ टुप्लुक्क आइपुग्यो।हाम्रो खुशीको कुनै सिमाना रहेन।फैलियो धेरै दूर-दूरसम्म।मालीको आकाशमा मडारिएको महाबिपतिको बादल एकैछिनमा हट्यो।चारैतिर उज्यालो ज्योति फैलियो।हाम्रो बलदल देखेर मनोज उत्साहित भयो।उदास मुहारमा अनौठो आलोक देखियो।सबै ढुक्क भयौं।निर्धक्क आएकै बाटोमा फर्क्यौं।भागेरै भएपनि मनोजले युद्ध जित्यो।त्यतिखेर ऊ पृथ्वीनारायण शाह/हिटलर भन्दा पनि शक्तिशाली देखियो।हामीसंग सेनाको एक जत्था नै भयो।लडाइँमा जान लागेका जस्ता देखियौं।दुष्मनसंग लड्ने हिम्मत/चाहना पलायो।ससुरा बा ठ्याक्कै एक महान कमान्डर जस्तो देखिनुभयो।

              "तिमी कसरी भाग्न सफल भयौ?तिनीहरूले भेट्टाएनन्?हामीले कहाँ-कहाँ खोजेनौं?झन्डै आशै मारेका थियौं।"
उत्सुकतापूर्वक प्रश्नहरु सोधेँ।
"जंगलको बाटो छिरेपछि उनीहरूले मलाई पछ्याउन सकेनन्।छलेर म यता रोशीको बाटो आएँ तर उनीहरू सीधै जिरीको बाटो लागे।उनीहरूबाट बच्न रोशीको एउटा घरमा शरण मागें।तर घरधनीले शरण दिएनन्।लाख बिन्ती बिसाए पनि जबर्जस्ती बाहिर निकाले।त्यसपछि जंगलै जंगल विद्यालय आउने दिशामा आएँ।करीब दुईघण्टा जति जंगलभित्र बसें।उनीहरू नआउने छाँट्काँट देखेर यहाँ आएको हुँ।जुन घरमा म शरण माग्न गएको थिएँ,उनीहरुमा अलिकति पनि दया-माया र मानवताको भावना थिएन।यस्ता पनि मान्छे हुने रहेछन्।संसार यति स्वार्थी छ जहाँ बलेको आगो मात्र तापिन्छ।निभ्न लागेको आगोलाई बाल्न खोज्ने यहाँ कोही भेटिंदैन।संसार शक्तिको पुजारी हो।जो शक्तिशाली छ,उसैको पूजा हुन्छ।जयजयकार हुन्छ।एउटा मान्छेलाई आपत-बिपत पर्दा अर्कोले साथ नदिने यो कस्तो समाज हो?कस्तो युग?अनि कस्ता मान्छेहरू!समस्यामा काम नलाग्ने समाज के समाज?किन चाहियो समाज?यी सबै बैज्ञानिक चमत्कार,उपलब्धि,विकास र संरचना सबै बेकार।बरु मेरो जन्म ढुंगे युगमा भएको भए,त्यो नै सही मेरो लागि।यी गाउँ,बस्ती,शहर सबै नाटक देखाउने रंगमञ्च हुन्।यही समाजनै नर्क हो।जहाँ कोही कसैको ज्यान मार्न तल्लीन छन्।कोही दर्शक भएर चुपचाप खडा छन्।यस्तो समाजमा बस्नु भन्दा त बरु जंगलमा गएर एक्लै जंगली जीवन यापन गर्नुनै हजारौं गुणा उत्तम लाग्छ।मानवविहीन मरुभूमिनै स्वर्ग हो।जहाँ मानवजातिको गन्धसम्म हुँदैन।मानवजाति भएकोमा आफैंलाई घृणा लाग्छ।कुविचार र कुकर्मको जन्म मानवजातिबाटै हुन्छ।यदि मानव भएर पनि उसको कर्म र सोचाइ दानवको भन्दा कम छैन भने उसको जूनी पशुको भन्दा पनि निम्न स्तरको हुन्छ।"
प्रस्फुटित शब्दहरुले केही सत्य-तथ्य,केही आक्रोश र केही यथार्थता ओकले।

            मनोज सकुशल भेटिएकोमा वेहद खुशी।पासाङ दाज्युभाइहरुको दानवीय हर्कतदेखि आक्रोशित।लडाइँमा विजय हासिल गरी मोर्चाबाट फर्केझैं।अर्को लडाइँमा जान तम्तयार भएझैं।हाम्रो सेनाको जत्था निडर र साहसका साथ जंगलको बाटो हुँदै घरतर्फ निरन्तर बढ्यो।घरमा पुगेर हाम्रा संघर्षशील पाइलाहरुले विश्राम लिए।माइतबाट आमा पनि आउनुभएछ।छलफल र अन्तर्कृयाको कार्यक्रम यसरी शुरु भयो,मानौं हामीले लडेर आएको युद्दको समिक्षा हुँदै थियो।कमी-कमजोरीहरुको बारेमा आत्म-आलोचना हुँदै थियो।अर्को युद्धमा कसरी अगाडि बढ्ने?कसरी दुष्मनको सामना गर्ने?विजय हासिल गर्ने।कुराकानी घटनाकै वरिपरि केन्द्रित थियोे।

                  खाना राम्रोसँग रुचेन।बेचैनी अझै हटिसकेको थिएन।एउटा युद्दबिराम भएको थियो।फेरि युद्ध शुरु हुनपनि सक्थ्यो।नहुन पनि सक्थ्यो।सबैजना भित्रै सुत्न लाग्यौं।मनोजको कोठा बाहिर अलग्गै थियो।पहिले त्यही सुत्थ्यौं।ऊ अझै आक्रोशितै थियोे।
"मौकाको फाइदा उठाउँदै पासाङ दाज्युभाइले मलाई मार्ने कोसिस गरे।यो घटना सानो घटना हैन।यदि उनीहरूले भेट्टाएको खण्डमा जेपनि गर्न सक्थे।म चुपचाप सहेर बस्न सक्दिन।कुनै पनि हालतमा एकाएक बदला लिएर छाड्छु।"
रातको बाह्र बज्दा पनि मनोज बोल्दै थियो।
"के गर्छौ त?"-मैले सोधेँ।
"बदला लिन्छु।"
"कसरी लिन्छौ?"
"जसरी लिए पनि म लिन्छु।"
"काट्छौ कि मार्छौ?"
"काटे पछि मरोस् कि बाँचोस्।"
"अनि उनीहरूलाई काटेर/मारेर तिमी चाहिँ स्वतन्त्र हुन्छौ त?"
"जेल जानुपरे पनि जाउँला।"
"अनि मेरो हालत के हुन्छ त?"
"देशै छोडेर भाग्नु परे भागौंला।"
"आफ्नो देश छोडेर कहाँ भाग्नु?"
"म भूमिगत हुन्छु।"
"कस्तो भूमिगत?लुकिछिपी कति दिन हिड्छौ?"
"क्रान्तिकारी पार्टीमा जान्छु।"
"हैट!कहाँ हुन्छ बुडा त्यसरी?हुन्न।त्यस्तो बिचारलाई त्यागिदेऊ।अहिले जसरी छौं,त्यसरीनै बस्छौं हामी।दायाँबायाँ केही नसोचौं।अहिलेसम्म जे-जे भए,सबै बिर्सिदिउँ।अझै केही बिग्रेको छैन।हामीले गलत बाटोमा पाइला चाल्नुहुन्न।कुकुरले टोक्यो भन्दैमा कुकुरलाई पनि टोक्ने कुरा आउँदैन।उनीहरू मूर्ख भए भन्दैमा हामी पनि मूर्ख बन्नुहुन्न।सधैं सतर्क भएर हिडौं।आइलाग्ने माथि जाइलागौं।सबै मान्छे हुन्।मान्छेदेखि डराएर हिंड्ने हैन।आइपरेको खण्डमा हिम्मत बटुलेर लड्न सक्नुपर्छ।हामी सक्छौं।आफ्नो बाटोमा अगि बढौं।फेरि पनि सुतेको बाघलाई जिस्क्याउने धृष्टता गर्छ भने सोचौंला।अहिलेको लागि आवेगमा आएर हिंसाको बाटोमा नलागौं।हिंसाले कहिले शान्ति हुँदैन।शान्तिबाटै शान्तिको लागि द्धार खुल्ला हुन्छ।हिंसाबाट कदापि हैन।अब कुन बाटो रोज्ने तिम्रो मर्जी।तर मेरो मुखमा मान।एकचोटिलाई छोडिदेउ।मेरो जिन्दगीको बारेमा पनि सोच।तिमी दायाँबायाँ लाग्यो भने म बेहाल हुन्छु।तिमी बिनाको मेरो जीवन अर्थहीन छ।अधुरो र अपूरो छ।"
उसलाई मनाउन निकै कडा परिश्रम गर्नुपर्यो।सम्झाएपछि नसम्झने कुरै भएन।बदला र प्रतिशोधको भावनालाई उतिखेरै परिवर्तन गर्यो।हुन त योजनाबद्ध ढंगले लागिपरेको खण्डमा बदला मज्जाले लिन सकिन्थ्यो।तर द्वन्दले समस्या सुल्झने होइन उल्झने हो।झन-झन जटिल र गम्भीर समस्याको सृजना हुने हो।तत्कालका लागि तटस्थ बस्न र आइलागेको खण्डमा जाइलाग्नको लागि सतर्कता अपनाउन सल्लाह-सुझाव दिएँ।

              नारीकै कारणले विश्वमा इतिहासका विभिन्न कालखण्डमा डरलाग्दा लडाइँ भएका घटनाहरु ईतिहासकारहरुले उल्लेख गरेका छन्।रामायण र महाभारत जस्ता कहानीहरुमा लडाइँको जड नारीलाई बनाएको पाईन्छ।तर ती लडाइँ पुरुषहरूको सिकिस्त,घटिया र विकृत मानसिकताका उपज हुन्।हामीसंग सम्बन्धित घटनामा पनि समाजका शिक्षित,टाठा-बाठा र बुज्रुक भनौंदाहरुले सबै दोष ममाथि थुपारे होलान्।त्यस्ता बिश्लेशक र घटनाका घटक एउटै ड्याङका मुलाहरु हुन्।

              त्यसपछिका दिनहरु प्रायः सामान्य तवरले बित्दै गए।मनोज र म व्यवहारिक जीवनमा फसिसकेका थियौं।हामीमाथि थप जिम्मेवारी र बोझहरु थपिंदै थिए।उसको अध्यापन र मेरो अध्ययनको शिलशिला निरन्तर चलिनैरह्यो।बिना कुनै बाधा र व्यवधान।उसकै साथ,सहयोग र समर्थनकै कारण मैले बिहे पश्चात् पनि अध्ययनलाई निरन्तरता दिने सु-अवसर पाएँ।अवसर भन्दा चुनौती धेरै थिए आगामी दिनहरुमा।तैपनि स्वस्थ हातेमालोले गर्दा जस्तोसुकै चुनौतीको सामना गर्न पनि सहज हुन थाल्यो।सुन्दर भविश्य निर्माणको मिसन लिएर हामी कतै असल साथी भयौं।कतै सहयात्री।कतै जीवनसाथी भएर अगि बढ्यौं।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...