Friday, 23 September 2016

आरोह अवरोह-१२

               कलिलो रात क्रमशः छिप्पिंदै थियो।गाडीको अभावमा हामी निकै तलबाटै हिंडेर जान थाल्यौं।दाइ-भाइका जोडीहरु अगि-अगि।म र मनोज अलि पछि-पछि।सायद मनोजले मलाई जानी-जानी बिस्तारै हिडाउँदै थियो ताकि निस्फिक्री मलाई अँगालो हालेर हिंड्न सकियोस्।उसका हरेक कृयाकलापहरुले त्यस कुराको प्रमाण दिइरहेका थिए।रात सुनसान र अन्धकार हुनुको साथै त्यहाँ हामी बाहेक अरु कोही नदेखिएकाले दाज्यु-भाइ र भाउज्यू-बुहारीको आँखा छल्दै उसले मेरो गालामा च्वाप्प म्वाईं खायो।उसको म्वाईंको ऋण तिर्न सक्ने अवस्थामा थिईन।केवल चुम्बनको उपहार चुपचाप स्वीकार्दै पाइला बढाइरहें।उसको क्रियाकलापले दुई घण्टा पैदल हिंडेको पनि पत्तै पाईन।
               रातको एघार बजेतिर दाइको कोठामा पुग्यौं।डाइनिङ,किचेन र अरु जे-जे नाम दिएपनि हुने एउटै कोठा।खाना पकाएर खाइसकेर भाइ-बुहारी एउटा पलाङमा,मनोज-म अर्को पलाङमा र दाइ-भाउज्यु भुइँमै सुत्यौं।चरम गरिबीले हाम्रो दृश्यलाई हाँसी-हाँसी गिज्याइरहेको थियोे।हाम्रा तीन नव-जोडीहरु एउटै कोठामा सुत्दा एक किसिमले रमाइलो पनि लागिरहेको थियो।मैले मनमनै सोचें-
"यस्तो संयोग त संसारमा बिरलै हुनसक्ला।यस्तो संयोगको बारेमा मैले कहिल्यै सुनेकी छैन।सायद पछि पनि नहोला र सुन्न पाउँदिन होला।"
एउटा अनौंठो,घत परेको घटना।मनोजको दाइ-भाउज्यूको अनौपचारिक बिहे पनि त्यही रात भयो।रातको एक बज्दा पनि कोही निंदाएनौं।सुत्ने बेला पनि जिरो वाटको पहेंलो बती पिलपिल बलेकै थियो।भित्रका सबै दृश्य छर्लङ्गै देखिन्थे।अर्को रमाइलो विषय।हामी त्यहाँ सिर्फ बास मात्र बसेका थियौं।अरु कुनै उदेश्य सायद कसैको थिएन।भएपनि कुनै हालतमा त्यो उदेश्यको प्राप्ति हुने थिएन।मनोजको दाइ र भाइलाई साइनोले जेठाज्यु र देवर परे पनि सजिलोको लागि दाइ र भाइ भनेरै सम्बोधन गर्थें।मेरो स्वभाव निकै फराकिलो,हाकाहाकी र गफाडी भएकोले त्यहाँको वातावरण देखेर अचानक मेरो मुखबाट एउटा वाक्य फुत्किहाल्यो।
"आमममममम•••कस्तो कम्पिटिसन चल्यो हो!"
त्यहाँ सबै पढेलेखेका भएकाले 'कम्पिटिसन' शब्द नबुझ्ने कुरै भएन।
"कम्पिटिसन चल्यो रे?"
मेरो वाक्य भुइँमा खस्न नपाउँदै दाइले उदारण चिन्हको बदला प्रश्नचिन्ह तेर्स्याउनुभयो।म लाज-शरमले छाँगाबाट खसेझैं भएँ।स्तब्ध भएँ।केही शब्द आइरहेको थिएन।लज्जित मुहार मनोजलाई देखाउँदै जिब्रो निकालेर "लौ बर्बाद भो" को संकेत गरें।पूरा नभएर आधा हाँस्दै थिएँ।मनोज पनि मरी-तरी हातले मुख छोपेर हाँस्यो।भाइ-बुहारीले सुने या सुनेनन्,कुनै प्रतिकृया देखाएनन्।
             हामी समय र परिस्थितिको दास थियौं।तीन नव-विवाहित जोडीहरु बिना कुनै स्वतन्त्रता निस्सासिएर एउटै कोठामा रात गुजार्न विवश थियौं।हाम्रो प्रेमनदी एकै बिन्दुमा जमेर स्वतन्त्रपूर्वक बग्न सकिरहेको थिएन।बाध्यताको जन्जीरले बाँधिएका थियौं।चाहेर पनि त्यो शक्तिशाली जञ्जीरलाई तोड्न सक्ने स्थिति थिएन।पंक्षीहरु पिंजडाभित्र कैद थिए।खुल्ला रुपमा उड्न निलो गगनको अभाव थियो।बिना कुनै कृया-प्रतिकृया सुतेरै पनि हामी एक-अर्काका बाधक भएर उभिएका थियौं।त्यो वातावरणको अवलोकन र मुल्यांकन गरेरै मेरा निर्दोष ओठले "कम्पिटिसन"को संज्ञा दिएका थिए।जानीजानी कसैले त्यो वातावरणको सृजना गरेको थिएन।त्यो रमाइलो र लज्जास्पद घटनालाई मैले मात्र संयोगको रुपमा लिएँ।अरुले कुन रुपमा लिए,उहाँहरुनै जानून्।
                भोलिपल्ट हामी बजारमा किनमेलका लागि गयौं।
"ओमु,के चाहिन्छ तिमीलाई?के किन्न मन लागेको छ?"-मनोजले सोध्यो।
"म केही पनि किन्दिन।"
आफूसँग पैसाको नाममा त्यही बीस रुपियाँको नोट थियो।अरु नभएकोले फलानो चीज किन्छु भन्ने हिम्मत पनि जुटेन।मानौं मैले कुनै सामान मन पर्यो भनें।तर पैसा मैलेनै तिर्नुपर्ने अवस्था आएको खण्डमा मेरो त्यो भन्दा ठूलो बेइज्जत के हुन्थ्यो र?
"भन न हो भन,के किन्ने?बख्खु किन्ने?कुर्ता किन्ने?जुत्ता किन्ने?चुरा किन्ने?"
उसले प्रश्नावली तयार पार्यो।तर ती प्रश्नहरुको उत्तर मैले शीर हल्लाएर नकिन्न्ने को संकेत दिएँ।
"लौ त्यसो भए कुर्ता छान एउटा।"
उसको आदेश पालन गर्दै एउटा कुर्ता छानेें।पैसा उसैले तिर्यो।किन्नुपर्ने त धेरै थिए।तर किन्छु भन्ने हिम्मत जुटाउन कदापि सकिन।हिम्मत भन्दा पनि आफ्नो औकात र हैसियतको मध्यनजर गर्दै सोही अनुरुप चल्न खोजेकी थिएँ।विभिन्न थरीका बहुमूल्य गहना र कपडाको माग गर्न मेरो नैतिकताले दिएन।तिमीले फलानो सामान लिनैपर्छ भनेर जबर्जस्ती पनि गरिएन।गरिए पनि त्यो सामान मलाई मनपर्थ्यो कि पर्दैनथ्यो-कुनै ग्यारेन्टी थिएन।
                 हुँदाहुँदै काठमाडौंमा आएको एक हप्ता गुज्रिसकेको थियो।मनोजले पर्याप्त माया गरेपनि मलाई बाबा-आमाको स्नेह र ममताको अभाव खड्कियो।गाउँघर,बाबा-आमा र साथी-संगीहरुको याद/सम्झनाले पिरोल्न थाल्यो।सबैभन्दा चिन्ताको बिषय-बाबा-आमाले पीर लिनुभएको होला भन्ने थियो।बा-आमाको माया छोराछोरी माथि,छोराछोरीको माया ढुंगा-मुडा माथि"भनेझैं आफ्नो छोराछोरीको अनुपस्थितिमा कुन चाहिँ बाबा-आमा खुशी हुन सक्लान् र?अर्कोतिर मनमा भयंकर त्रास थियोे-घर पुगेपछि बाबा-आमाले मार्नुहुन्छ भन्ने।उहाँहरु मेरो इच्छा र चाहना बिपरित जानुभएको थियो भने म उहाँहरुको इच्छा बिपरित गएकी थिएँ।हिसाब-किताब बराबर जस्तै भएको थियो।तर जन्माएर,हुर्काएर र पढाएर त्यतिको सक्षम बनाउनु उहाँहरुको महान कार्य थियोे।जसको हिसाब अंकगणितमा निकाल्न सकिन्न।जोकोहीको लागि पनि जीवनसाथीको साथ र माया मात्र पर्याप्त हुन्न।बाबा-आमा,आफन्त,ईष्टमित्र,साथीभाइ र समाजको साथ,सहयोग र मायाको पनि नितान्त आवश्यक रहेछ भन्ने कुराको अनुभूति त्यतिबेला भयो।अर्कोतिर मेरो पढाइ पनि छुट्टिरहेको थियो।मनोजले पनि विद्यालयमा अध्यापन नगरेको धेरै भैसकेको थियो।यस्तै महत्त्वपूर्ण कारणले पनि गाउँ फर्किनै पर्ने थियोे।सायद म पढ्ने बौद्दटारको विद्यालय पनि रिक्तझैं भएको होला।कारण-नौं कक्षाका तीन जोडीहरुले दुई-तीन दिनको अन्तरालमा भागेर प्रेमविवाह गरेका थिए।सो घटनाले विद्यालयमा मात्र नभई पूरै गाउँमा समेत तहल्का मच्चिएको थियो।त्यसैले मनमा अर्को एउटा ठूलो भयले पनि डेरा जमाउन थाल्यो।विद्यालयले कस्तो निर्णय गर्ला?कस्तो कारबाही गर्ला?
"मनोज!हामी कहिले गाउँ फर्किने?"
एकदिन विहान उठ्ने बित्तिक्कै चासो दिंदै सोधेँ।
"खै जान त पर्ने हो,कहिले जाने हो र?दुईचार दिनपछि जाऔंला,हुन्न?"
"हैन,सकभर हामी छिटो जाऔं न।पढाइ कति छुट्टिसक्यो।फेरि त्यही विद्यालयमा पढ्न पाइने हो कि हैन?"
"किन नपाउनु र?पाइहालिन्छ नि।नपाए अर्को विद्यालय छँदैछ नि।"
"त्यो त हो तर एउटै कक्षाका ५ जनाले एकैचोटि भागेर बिहे गरेकाले केही भन्न सकिन्न।निकै ठूलो सजाय पनि दिन सक्छन्।"
थप चिन्ता ब्यक्त गरें।
"के चाहिँ गर्लान् र?बढीमा बढी विद्यालयबाट निष्कासन गर्ला।त्यो भन्दा ठूलो सजाय के होला र?निष्कासन गरिहाले अर्को विद्यालयमा अध्ययन गरौंला।सायद पहिलो गल्ती भएकोले माफी पनि दिन सक्छन्।फेरि दोस्रो बिहे गर्ने त कुरै भएन।"
अन्तिम कुराले निकै हाँस उठ्यो।खित्का छोडेर हाँस्न थालें।मनोज सहित दाइ पनि हाँस्नुभयो।हाँसोले वातावरणलाई रोमाञ्चक बनायो।दु:ख,चिन्ता सबै दूर-दूर भागेर गए।माहोल परिवर्तन भयो।गफको बिषयबस्तु मोडियो।
              त्यस दिनको बसाइँको लागि मनोजकी माइली दिदीले निम्तो दिनुभयो।साँझतिर उहाँको कोठामा गयौं।उहाँको पसल भएपनि सुत्नको लागि भने एउटै कोठा थियो।त्यो रात पनि बिगतका अन्य रात भन्दा भिन्न भएन।बिहानै दिदी-भेना र भान्जी पसल जानुभयो।कोही नभएको मौकामा उसले आफूलाई सकृय बनाउन थाल्यो।आफ्नो पुंसत्व प्रदर्शन गर्ने यत्न गर्यो।उसलाई त्यो रुपमा कहिल्यै देखेकी थिईन।मनोज भन्दा बिल्कुल पृथक।नयाँ आनीबानी।नयाँ चेहरा।अनौठो क्रियाकलाप!उसको जोस,जाँगर र सक्रियता नियाल्दा यस्तो लाग्थ्यो कि कैलाश पर्वतलाई जुरुक्कै काँधमा उठाएर विश्व-ब्रह्माण्डको यात्रा गर्लाझैं।उसका खस्रा हातहरु मेरा चिल्ला/नरम अन्नपूर्ण/धौलागिरी जस्ता हिमालहरुमा आरोहण गर्न उद्धत भए।उसको ओठले मेरा दूधकुण्ड हिमाल जस्तो सेतो गालामा हिउँ खान थाले।उसको जवानीको चट्याङ ममाथि बर्साउन खोज्यो।म भने चट्टानको विशाल पहाड जस्तो भएर चट्याङको प्रतिरोध गर्न थालें।
"ओमु,तिमीले पनि गर न।"
"के?के गर्नुपर्यो र मैले?"
"मैले गरे जस्तो।"
"भन्नाले कस्तो?"
"अरु के हुनु र?म्वाईं के त!"
"नाइँ"
"किन?"
"डर लाग्छ।"
"केको डर?"
"नाइँ मलाई लाज लाग्छ।"
"यति गर्दैमा के हुन्छ र?तिम्रो के जान्छ र?पहाड खस्छ र?धर्ती भासिन्छ र?"
अधिक आग्रह पश्चात् मैले पनि उसको दाह्री पलाएर कालो भएको गालामा एक म्वाईं खाएँ।अनि बिपरित दिशामा फरक्क फर्केर सुतें।त्यतिकैमा मेरो सर्वस्व हरण भएझैं लाग्यो।पहिलोपटक कोही पुरुषलाई चुम्बन गरेकी थिएँ।लाज-शरमले धेरै बेरसम्म मनलाई आँधीबेहरीलेझैं उथलपुथल बनाइरह्यो।८ रेक्टर स्केलको भुकम्पलेझैं हलचल मच्चाइरह्यो।ऊ भने यौवनको सगरमाथा चढ्ने सुरसार गर्दै थियो।तर शुरु नगर्दै उसको पाइलामा ठेस लाग्यो,जब बाहिरबाट आवाज दगुरेर कानको झ्यालबाट मस्तिष्कसम्म आयो।
"मनोज!"
"मनोज!"
ऊ आफ्नो लक्ष्य,उदेश्य र गन्तव्यबाट बिचलित भयो।झ्यालबाट नजर लाउँदै बोल्न थाल्यो।
"हजुर दिदी।"
"चिया-नास्ता खान आऊ।बुहारीलाई पनि लिएर आऊ झट्टै।"
"हवस् दिदी,हामी आइहल्यौं।"
त्यति भन्दा बोलीमा कुनै दम थिएन।रहर थिएन।उर्जा थिएन।पञ्चर भएको भलिबलबाट निस्किँदाको हावाको आवाज जस्तो।निराशा र असफलता मिश्रित ध्वनि।फेरि कुनै उत्सुकता र उत्तेजना देखिएन उसको मुहारमा।लडाइँमा हार बेहोरेको सिपाहीको जस्तै हालत।
"तिमी गएर खाऊ ओमु,मलाई खान मन छैन।"-घुर्की लाउँदै भन्न थाल्यो।
"जाऔं न मनोज,दिदीहरुले के सोच्नुहुन्छ?खान मन नलागे पनि पसल सम्म चाहिँ जाऔं न!के बिग्रन्छ र?फेरि तिमी एक्लैको के काम छ र यहाँ?म गएपछि?"-मैले मजाकमा उडाउँदै भने।
हामी सरासर दिदीको पसलमा गएर खाजा खान थाल्यौं।खान मन नभएको उसले म भन्दा बढी खायो।
"खान मन छैन भनेको हैन?"-मुस्कुराउँदै बोलें।
"खान मन थिएन तर दिदीको हातबाट खाँदा रुचिहाल्यो।"
             पुरानो बसपार्क गएर घर जाने टिकट काटेर ल्यायौं।काठमाडौं बसाइँको क्रममा अन्तिम रात पनि दिदीकै कोठामा बस्यौं।त्यो रात पनि अरु रात भन्दा बेग्लै हुन सक्ने कुरै भएन।स्पर्श र चुम्बनहरुको त वर्षा नै भयो।बाढी नै आयो।डुबानमा पर्ला जस्तो।तर विवाह पश्चात श्रीमान् र श्रीमति बीचको लक्ष्मणरेखा भने पार भएन।जब परिस्थितिको स्वीकृति थियो,त्यतिबेला मेरो स्वीकृति थिएन।जब मेरो स्वीकृति भयो,त्यतिबेला परिस्थितिको स्वीकृति भएन।दुई हप्ताको यात्रा यस्तै स्वीकृति र अस्वीकृतिकै दोहोरीमा रुमल्लियो।विकल्पहरु खोज्न सकिन्थे र थिए पनि।तर हामीले विकल्पको आवश्यकता महसुसै गरेनौं।यो कुरा समाजलाई सुनाउने हो भने कसैले नपत्याउँलान्।पत्याए पनि हजारौंमा एकले पत्याउँलान्।कसैले त खिल्ली पनि उडाउँला।कतिपयले उसको पुरुषत्व माथि प्रश्न उठाउँला।नामर्द सम्म पनि भन्लान्।तर वास्तविकता त्यही थियो।यथार्थ त्यही थियो।काठमाडौंको यात्रा गरेर सकुशल फर्किंदै थियौं।भनौं-भर्जिन नै फर्किंदै थियौं।बिहे गरेपनि हनिमून मनाएनौं।यदि सँगै सुत्नुमात्र हनिमून भए हामीले धेरै मनायौं त्यस्ता हनिमूनहरु।प्राकृतिक नियमलाई तोडेर,सृष्टिको नियमित कार्यक्रमलाई चुनौती दिएर हामी जस्ताको तस्तै घर फर्किंदै थियौं।कतिपय नव-दम्पतिहरु हनिमूनको लागि मात्र लाखौं रुपियाँ खर्चेर रमाइलो शहर वा बिदेशका चर्चित ठाउँहरुमा जान्छन्।तर हामी आफ्नै घर फर्किंदै थियौं।स्वीट्जरल्यान्ड,सिंगापूर,यु के,अमेरिका र हङकङ जे भनेपनि हाम्रो लागि आफ्नै गाउँ थियो।
               कालरात्रीको समाप्ती र मिर्मिर विहानीको उदयसँगै काठमाडौदेखि जिरीसम्मको यात्रा शुरु भयो बस चढेर।तर जिरीदेखि भक्तपुरसम्मको यात्रा जस्तो नभई त्यो भन्दा धेरै गुणा रोमाञ्चक र आरामदायी भयो।भक्तपुरसम्मको यात्रा  झ्यालबाट शहरको दृश्य हेरेरै बित्यो।
            त्यतिन्जेल सम्ममा मनोजसित धेरै झ्यामिएकी थिएँ।ऊ भन्दा बढ्ता बोल्ने भैसकेकी थिएँ।सबै कुराहरु मनमा नराखीकन सबै खोल्ने भैसकेकी थिएँ।अझ भनौं-उसको लागि म एउटा खुल्ला पुस्तक भैसकेकी थिएँ।उसले आफ्नो चाहना अनुकूल जुनसुकै पाना पनि पल्टाएर आरामले पढ्न सक्थ्यो।
"एउटा कुरा भनुँ तिमीलाई?"-कुराको शुरूवात गरें।
"भन न के कुरा हो।"
स्वीकृति पाएँ।
"नाइँ,होस् के भन्नु?नरिसाउने भए मात्र भन्छु।"
"भन न किन रिसाउनु र?"
"मैले तिमीमाथि ठूलो पाप चिताएँ।ठूलो शंका गरें।तिमीले मलाई बेच्ने पो हो कि भनेको।"
"हा हा हा हा हा•••••••••••••••••••।"
"हो भनेको।अचेल कसैको विश्वास हुन्न यहाँ।को मान्छे कस्तो भनेर चिन्न अति गाह्रो छ।धन्न म भाग्यमानी रहेछु।तिमी जस्तो इमान्दार जीवनसाथी पाएकी छु।"
"कसरी सोच्न सक्यौ त मलाई मान्छे बेच्ने दलाल?आम्मै!यस्तो पाप त म सोच्न पनि सक्तिन।"
                                 
                               "चीजबल,पानी,बदाम,चाउचाउ,अण्डा,दालमोठ।"
"आयो है आयो सुन्तला।"
"लौ आयो आजको ताजा खबर।ताजा-ताजा खबर।कान्तिपूर,राजधानी।माओवादी र सेनाको दोहोरो भिडन्तमा १४ जनाको मृत्य,२१ सैनिक घाइते।हजारौंको संख्यामा माओवादीहरु हताहत।"
गाडी बनेपामा एकछिन रोकिएको बेला १२/१३ बर्षका ४/५ जना किशोरहरु जोड-जोडले चिच्याउँदै आ-आफ्ना व्यापार गरिरहेका थिए।खानेकुरा किन्ने भन्दा पनि पत्रिका किन्ने यात्रुहरु धेरै देखिन्थे।त्यो अवस्था र परिस्थितिको अन्दाज गर्दा यस्तो लाग्थ्यो कि सबै जनालाई एउटै चिन्ता छ-देशको।
"ओमु,के चाहिन्छ हामीलाई? म किन्छु।"-मनोजले सोध्यो।
"पानी, बदाम र एकपोका सुन्तला लिउँ न।"
"ल ल के-के चाहिन्छ भाइसित लेऊ त।"
पैसा निकालेर दिंदै उसले भन्यो।भनेको भन्दा अर्को एउटा चीज बढी लिए-दालमोठ।

            गाडी फेरि गुड्न थाल्यो।मेरो ध्यान भने त्यो सानो भाइले कराइ-कराइ भनेको समाचार तिर केन्द्रित थियो।
"आफ्नै भाइ-भाइ बीच केको लागि लडाइँ?एकले अर्कालाई मारेर के पाउँछन् उनीहरुले?कठै!नेपाल आमा कति दु:खी होलिन् आफ्ना सन्ततिको हालत देखेर?दाइले भाइ मारेर विजयोत्सव मनाइरहेका छन्।हरे भगवान्!यो के हुँदैछ हाम्रो देशमा?"
"यो सुन्तला छिल्लेर देऊ त ओमु।कस्तो साह्र्रो छ हो बोक्रा पनि।त्यही माथि मेरो नङ पनि दुखेको छ।"
कुन दुनियाँमा हराएको बेला उसको आग्रहले एकाग्रता भंग भयो।सुन्तला छिल्लेर खाएँ।उसलाई पनि दिएँ।सुन्तलाको स्वादले देशको परिस्थिति र हालतलाई भगाएर केही गुलियो र केही अमिलोको अनुभूत मात्र गरें।हुनपनि आफ्नै जिन्दगीको भार थेग्न गाह्रो भएको बेला देशको चिन्ता कसले गरोस्!

             मनोजको काखमा मस्त निंदाएछु।सायद उसले मनोमानी गरे होला।यौवनका थुम्काहरु चढे होला।रमाइला दृश्यहरु हेरेर कल्पनाको संसारमा हरायो होला।तर समाजलाई अपाच्य कर्त्तुत भने पक्कै गरेन होला।खै के गर्यो,के गरेन,देख्नेलाई थाहा होला।म त गहिरो निद्रामा हराएकी थिएँ।यति गहिरो निद्रामा लट्ठिएकी थिएँ कि खाडीचौरमा खाना खाने बेला मात्र ब्युँझें।त्यो दिन खाना पनि मज्जाले रुच्यो।मनोजले जत्तिकै थपेर खाएँ।कुन खुशीको कारणले खाना रुच्यो थाहा भएन।
"यत्तिको समयसम्म तिमी कहाँ थियौ मनोज?"
"म?कहाँ हुनु तिमीसँगै गाडीमै थिएँ त।"
"म त सुतेकी थिएँ नि।तिमी?"
"म पनि सुतेकै थिएँ नि,उठेर कहाँ जानु छ र?तिमी सुतेको मौका छोपेर के म चाहिँ फेरि काठमाडौं पुगेर आएँ होला त?"
"हिहिहिहिहि•••••••••••••••••।"
बेस्सरी हाँस उठ्यो-मानौं उसले चुट्किला सुनाउँदै थियोे।
"म त जिरी पुगेर पनि आजको लागि योजना बनाएर पनि फर्कें।"
उसले के भन्दैथियो-मैले बुझिन।
"कस्तो योजना?अनि जिरी?कसरी?"
"जिरी पुगेपछिनै थाहा हुन्छ त्यो त।अहिले भन्न मिल्दैन।गोप्य नै होस्।"
कस्तो र कुन योजनाको बारेमा कुरा गर्दैथियो?अन्यौलमै थिएँ।फेरि पनि सोध्ने इच्छा जागेन।फेरि सुत्न लागें।तर त्यो पटक आफ्नै सिटमा ढल्किएर सुत्न लागें।
             खरिढुङ्गाको चेकपोस्टमा पुगेपछि खलासीले सबलाई  झारेर लाइन लगाए।पालैपालो अन्तर्वार्ता जस्तै दिई हस्ताक्षर गरेर जानुपर्ने रहेछ।काठमाडौ आउनेबेलामा त्यस्तो नियम थिएन।भिडन्त भएपछि त्यस्तो कडाइ गरेको भन्ने बुझियो।
"दाङको मान्छे रामेछाप किन जाने.?"
हामी भन्दा अगाडिको करीब पचास बर्षे बूढोलाई सोधे।
"छोरा भेट्न जाने हजुर।मेरो छोरा पनि सेना नै हो।"
"गफ दिन्छौ बूढा?कुन चौकी हान्न जाने हो?
"हैन हजुर सत्य बोल्दैछु।"
त्यति भनेपछि शीर हल्लाएर जाने आदेश दिइयो।
हामीलाई भने खासै केही कडाइ गरेनन्।

                केही घण्टामै जिरी पुग्यौं।प्रायः जसो हामी आफन्तकै होटलमा बस्ने गर्थ्यौं।त्यो रात पनि मनोजले आफ्नो आफन्त कहाँ लिएर गयो।सबै कोठामा मान्छे सुतिसकेका थिए।अलग्गै कोठा नपाएकोले भुँइमा सुत्नुपर्यो।पलाङमा हाम्रै गाउँका अरु दुईचार जना सुतेका थिए।खाना खाएर सुतेपछि सोधेँ।
"खै तिम्रो के योजना छ भन्थ्यौ नि,के योजना हो?"
"छैन,कुनै योजना बनाएको छैन।"
"भन न कस्तो योजना।"- जिद्दी गर्दै सोधेँ।
"योजना विफल भैसक्यो।अब अर्को योजना भोलि मात्र बनाउने।"
मैले बल्ल बुझें।वास्तवमा उसको योजना विफल भैसकेको थियो-विगतका दिनहरुमा झैं।दाइ-दिदीका कोठाहरुमा बितेका रातहरु झैं।उसले काठमाडौंदेखि झिनो आशाको त्यान्द्रो लिएर आएको थियो।त्यो पनि जिरी आएर चुँडियो।
              भालेको डाँकसँगै नयाँ जोश,उमंग र आशा लिएर घरतर्फ प्रस्थान गर्यौं।नभन्दै हामी जस्ताको तस्तै घरमा पुग्यौं।न त हामीले केही पाएका थियौं न केही गुमाएका थियौं।पाउनुको नाममा एक-अर्कालाई पाएका थियौं।हेर्दाहेर्दै घरको संघार टेकेर भित्र प्रवेश गरें ऊसँगै।शुरुमा केही भन्नै सकिन।बाबा-आमालाई हातमा ढोगेर थचक्क मात्र बसिरहें।
"तिमीलाई त धेरै पढ्,जागिर खा,प्रगति गर,ठूलो मान्छे बन भनेकै हो क्यारे।सानै उमेरमा बिहे गर्नुपर्ने के आवश्यकता पर्यो त्यस्तो?-आमाले कराउनुभयो।
मनोज चुपचाप टोलाएर मात्र बस्यो।
"पासाङले मागिसकेको केटीनै भगाउनु थियोे तिमीलाई?अरु केटी पाएनौ?"
आमाको त्यो वाक्यले दियोझैं बलिरहेको मेरो अनुहार झ्याप्पै निभेर अँध्यारो भयो।मुखबाट वाक्य त के,एक शब्द पनि फुटिरहेको थिएन।ऊ पनि यताउता-दायाँबायाँ टोलाइरह्यो।केही प्रतिकृया नदिइकन चुप बसेको देखेर आफैं बोल्न बाध्य भएँ।
"के पासाङले बिहे गरेर भित्र्याएको बुडी हो र म?मेरो इच्छा बिपरित आठ-नौं चोटिसम्म सगून लिएर कसले आऊ भनेको त्यसलाई?मैले त एक हुन्न,दुई हुन्न,तीन हुन्न भएकै हो।जबर्जस्ती गर्न खोज्नु उसैको मुर्खता हो।"
सत्यतथ्य कुराहरुको बयान गरेपछि बाबा-आमा राजी भए-मलाई बुहारीको रूपमा स्वीकार्न।प्रेमको अदालतमा प्रेमी-प्रेमिकाको पक्षमा फैसला भयो।न्यायाधीशले मस्तिष्कले नभई मनले फैसला सुनाए।

             खानाको कार्यक्रम पश्चात् शयनकक्षमा गयौं।ऊ आफ्नो अभिनय देखाउन आतुर भयो।कला प्रदर्शन गर्न उत्साहित भयो।त्यहाँ नायक भने पनि,निर्देशक भने पनि ऊ नै थियो।उसैको 'एक्सन र कट'को ईशारामा चल्नुपर्थ्यो।साथै उसको अभिनयमा साथ दिनुपर्थ्यो।
"नाइँ।"
मैले अभिनय गर्न अस्विकार गर्दै भनें।
"मैले दुई हप्तासम्म कहिले आधा-आधा मात्र खाँदै र कहिले भोकै बस्दै आएको छु।आज भने मैले पूरै खाना पाउनुपर्छ।"
उसले आफ्नो अभिनयको सम्वाद बोल्यो।
"नाइँ।"
मैले उस्तै अभिनय दोहोर्याएँ।
मेरो अभिनय निर्देशकलाई मन परेन।उसले मलाई राम्रो र सकारात्मक अभिनय गर्ने आदेश दियो।
"नाइँ।"
मेरो मुखबाट भने एउटै सम्वाद मात्र आयो।
अन्ततः निर्देशककै आज्ञा पालन गर्दै उसैले चाहेको अभिनय गर्न थालें।उसले भनेको झैं अभिनय गर्न धेरै कठिन भयो।अभिनयका सबै दृश्य उसको क्यामेरामा कैद भए।
दोहोरो प्रयासमा हामीले यौवनको जहाज चढ्यौं।आखिरमा हामी सफल भयौं।धेरै दिनको अथक प्रयासपछि उसको आक्रमणले सार्थकता पायो।उसले धेरै चेष्टा गर्दा पनि कृकेट खेल्न पाएको थिएन।तर त्यो पहिलो खेलमै उसले छक्का र चौका प्रहार गर्दै शतक बनायो।अन्ततः हनिमूनको खेल अनवरत संघर्षपछि आफ्नै घरेलु मैदानमा सम्पन्न भयो।
    
            "वाह वाह वाह!इन्ट्रेस्टिङ!ओमु बहिनीको कहानीले मनलाई भित्रैदेखि च्वास्स छोएकोले ताली पड्काउँदै कराएँ।मेरो तालीसंगै जेएस र अरुले पनि क्रमश:ताली थप्दै लगेपछि तालीको गडगडाहटले रातको सन्नाटालाई संगीतमय बनायो।ओमुका परिवारका सबै सदस्यहरु सुत्न छाडेर चुपचाप सुनिरहे।त्यसपछि ओमु बहिनीले फेरि लामो सुस्केरा हाल्दै आफ्नो कहानीलाई निरन्तरता दिईन्।
           भोलिपल्ट सासू-ससुरा सहित माइतीघर गयौं।
"के खान आईस् यहाँ?हाम्रो घरमा आउनुपर्दैन अब,हिजै गैसकेपछि।"
आमाले कराउँदै अगुल्टो लिएर प्रहार गर्न आउनुभयो।
"चुप लागेर बस्नु सम्धिनी।छोराछोरीबाट गल्ती भैहाल्छ नि।माफी दिनुपर्छ।तपाईंहरुको भावनाको कदर नगर्दैमा आफ्नो छोरीलाई काट्न,मार्न त भएन नि।भैगो छोडिदिनु।"
सासुले सम्झाएपछि आमाको क्रोधको आगो मत्थर भयो।रुँदै गुनासो पोख्नुभयो।रोएसँगै उहाँ पछुताए जस्तो पनि गर्नुभयो।
"मलाई के थाहा यो यसरी जान्छे भनेर?यो गएदेखि न त भोक-प्यास लागेको छ,न त आँखामा निद्रा आएको छ।हाम्रो हालत यसले कहाँ देख्छे र?तिमीहरू यति छिटो फर्केर आउछौ भनेर मैले दस मनमा एक मन पनि चिताएकी थिईन।इन्डियातिर कता लिएर जान्छ होला भन्ठानेकी।भतिजोले पो भन्दैथियो ज्वाइँ पनि मालीको विद्यालयमा पढाउनुहुन्छ भनेर।बल्ल केही सास र आश आएको थियो।नत्र त मैले माया मारिसकेकी थिएँ।"
बिलौना गरेर निकैबेर रोएपछि उहाँ सामान्य हुनुभयो।हामी दुई हप्तामै फर्केर गएकाले उहाँ अत्यन्तै खुशी हुनुभयो।यही नै बाबा-आमाको महानता रहेछ।छोराछोरीले जतिसुकै ठूलो गल्ती गरेपनि निस्वार्थ माफ गरिहाल्नुहुन्छ।माया गर्नुहुन्छ।त्यसैले बाबा-आमाको महिमाको वर्णन गरेर साध्य छैन।

               केही दिनपछि मैले आफ्नो पढाईलाई निरन्तरता दिएँ।मनोजले पनि अध्ययन/अध्यापनलाई पुनःसुचारु गर्यो।
                घर/थर फेरिए।आफ्नो पहिचान गुमाएर नयाँ पहिचान पाउनु नै नारीको जिन्दगी रहेछ।आफू हराएर अरुको जीवनलाई सार्थक बनाउने जिम्मा हामी नारीले लिंदै आएका छौँ।मैले पनि लिएँ।पुरुषको जीवनमा मलजल गर्नुनै नारीको कर्तव्य रहेछ।हामी केहीदिन घर र केही दिन माइतमा आलोपालो बस्न थाल्यौं।सबै समस्याहरुको समाधान भैसकेको थियोे।
                एक दिन यस्तो समस्याको जन्म भयो जुन अति भयंकर र निन्दनीय थियोे।त्यो दिन हामी माइतीघरमै सुतेका थियौं।आकाशमा चमक दिने ताराहरुको बिलयसंगै मिर्मिरे विहानीको उदय भएको थियो।बाबा-आमा चिया पकाउने क्रममा हुनुहुन्थ्यो।मनोज र म ओछ्यानमै थियौं।
"तिनीहरू कहाँ छन्?धोकेबाजहरु!तुरुन्तै बोलाउ तिनीहरूलाई।कहाँ लुकेर बसेका छन्?"
अचानक दुईजना केटाहरुको चर्काचर्की आवाज कानसम्म आईपुग्यो।
केहीबेरको हल्लाखल्लापछि आमा हत्तपत्त हामी कहाँ आएर हतोत्साहित हुँदै भन्नुभयो।
"पासाङ दाज्युभाइ आएका छन्।उतातिर नआऊ तिमीहरू।यतै बस।"
त्यति भनेर आमा उतापट्टी जानुभयो।तर हामी यता भएको कुरा उनीहरूले चाल पाइसकेका थिए।पासाङको भाइ यतै आएर हामीलाई उता बोलायो।म बिस्तारामै पल्टिरहें।मनोज उतापट्टी अर्थात घरको पहिलो खण्डमा गयो।त्यसपछि दाज्युभाइ मिलेर आतंक मच्चाउन थाले।
"साला तिमीहरू घरमा आएपछि हामीलाई भेट्न आउनुपर्दैन?चुपचाप लुकेर बस्ने हो?हाम्रो रक्सीको पैसा तिर्नुपर्दैन?मैले तँलाई ओमु र मेरो बिहे फिक्स भैसक्यो भनेको हैन?त्यतिखेर किन चुप लागेर बसेको?ओमुलाई मैले मगनी गरेको कुरा थाहा थिएन तँलाई?मैले मागिसकेपछि छेच्युको तीनदिने मेलामा लभ परेको हैन तिमीहरूको?मलाई मूर्ख ठान्छस्?मलाई केही थाहा हुँदैन?"
पासाङले चर्को स्वरमा थर्काउँदै मनोजलाई दबाउन थाल्यो।
"हैन,हाम्रो पहिलेदेखिनै राम्रो सम्बन्ध थियो।"
मनोज डराएर हो या नम्र भएर हो बिस्तारै बोल्यो।
"साला तँ पासाङ दाइ र भाउजूको बीचमा आउने?ओमु मेरो दाइको हुने पक्कापक्की भैसकेको थियो।तर तैंले किन बीचमा भिलेनको रोल खेलिस्?"
पासाङको भाइ सिंहझैं गर्जन खोज्दै थियो तर उसको वाहियात हर्कतले वास्तविक स्तर बिरालोको भन्दा कम देखिएन।
"न त म हिरो हुँ,न भिलेन।म कसैको बीचमा भिलेन भएको छैन।"
मनोजले  नम्रतापूर्वक प्रतिवाद गर्यो।
"किन हैन?साला भिलेन होस् तँ।"
पासाङले आरोप लाउँदै भन्यो।
"लेऊ रक्सीको पैसा।कति हो?यतिले पुग्छ कि थप्नुपर्छ?"
मनोजले पासाङको भाइलाई पाँचसय रुपैयाँको नोट दिंदै सोध्यो।
"आज हामी यहाँ पैसा लिन आएका हैनौं।वार या पारको खेल खेल्न आएका हौं।"
यति भन्दै उसले पैसा समायो।
"हामीले त दिएकै हौं तर छोरीले नमानेपछि के गर्ने?अब जे हुनु भैसक्यो।लडाइँ-झगडा गरेर के फाइदा छ र?"
बाबाले उनीहरुलाई सम्झाउँदै भन्नुभयो।
"हो,दिन त दियौ तर बीचमा यसले बिगार्यो।"
पासाङ मनोजतिर औंला ठड्याउँदै चिच्यायो।
उनीहरुको धाक-धम्की र रवाफ देख्दा यस्तो लाग्थ्यो-मानौं मनोजले उसको बाजा बजाएर बिहे गरेर भित्र्याएको श्रीमती ओछ्यानबाट भगाएर लगेको थियो।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...