Friday, 16 September 2016

आरोह अवरोह-०७

            गलत हल्ला फिंजाएर मनोजको आँखाको नानीलाई भ्रमको पर्दाले ढाकेको थियो।सूर्यको प्रकाशलाई कालो बादलले छेकिरहने दुस्साहस गरेको थियो।कागले कान लग्यो भन्दा ऊ पनि पछि-पछि दगुरेको थियो।मसँगको भेटघाट र वार्तालाप पश्चात् उसको आँखामा बाँधिएको असमझदारीको पट्टी खुल्यो।आकाशको कालो बादल हटेर छ्याङ्ग भयो।तसर्थ उसले आफ्नो निश्छल र निस्वार्थ मायालाई निरन्तरता दिन थाल्यो।भीषण आँधीबेहरी आएर निभ्न लागेको मेरो जीवनको ज्योतिलाई साहसको ढाल बनाएर अनि आत्मबलको तेल थपेर पुनः बलिरहनमा साथ दियो।सम्बन्ध र माया पहिलेको तुलनामा अझ गाढा,अटल र दिगो बन्न थाल्यो।छेच्यु मेलाको अघिल्लो रात भन्दा दोस्रो रातमा माया तेब्बर-चौब्बर पाएको महसुस गरें।जब उसले मेरो हात पक्डेर जोडले च्याप्प कस्थ्यो,मैले पनि उसले भन्दा बढी बल लगाएर माया अघोर भएको प्रमाण पेश गरें।फेरि उसले पनि बलको मात्रा क्रमशः बढाउदै लग्यो ताकी उसले पनि मैले भन्दा बढी माया गरेको होस्।कम र बढी मायाको जुहारी चल्दा-चल्दै दुबैका हात लाल-लाल भए।कसले कसलाई गर्ने माया बढी थियो त्यो त यकिन भएन।किनभने मायाको भार तौलने कुनै तराजु यो संसारमा छँदै थिएन,छैन र हुनेछैन।हामी एक-अर्का बिना बाँच्नै नसकिने गरी प्रेमको महासागरमा चुर्लुम्म डुव्यौं।त्यो महासागर बाट पौडिएर गन्तव्यसम्म पुग्न सक्थ्यौं या सक्दैनथ्यौं त्यो रहस्य भने भाग्य,समय र भविष्यकै गर्भमा हुर्किरहेको थियो।नाच्दा र विश्राम गर्दा पनि हामीलाई सँगै देखेर कोही-कोहीले हाम्रै बारेमा खासखुस गर्न थाले।
"क्या मोज गर्दैछन् उनीहरू!"
"कहिलेदेखि परेछ यिनीहरुको डीप लभ?"
"बितायो,केटाले बितायो।"
क्रमशःअपाच्य वाक्यहरु पनि हाम्रा कानसम्म सर्लक्क आइपुगे।त्यतिनैबेला उसले मेरै आँखामा आफ्नो आँखा जुधायो।उसित बस्न पनि एकदमै असहज लाग्यो।अनायासै मेरो नजर जमिनतिर झर्यो।सायद न्यूटनले देखेको स्याउको गति भन्दा पनि द्रुुतगतिमा। शीर नतमस्तक निहुरियो।लाज-शरमका रेखीहरुले मेरो उज्यालो मुहारलाई फनफनी बेरेर धुमिल बनाए।हामी बीच निकैबेरसम्म अचम्मको सन्नाटा छायो।हाम्रा मुख टालिएका थिए।हामी भित्रका शब्दहरु लज्जाई घोसेमुटो लाएर स्तब्ध भए।
"ती केटाकेटीहरुले के भन्दै थिए मनोज?"
मैले बुझ पचाएर सोधेँ।तर उसले मेरो प्रश्नको उत्तर खिसिक्क हाँसेर मात्र दियो।
"ओमु,मलाई निद्राले अति च्यापेको छ।मेरो घर जाऔं है?"
हाँस्दै मजाक गरेको पारामा भन्यो तर उसको भित्री आशय खै के थियो मलाई अवगत भएन।
"भैहाल्छ नि।"
निकै उत्साहित हुँदै भनें।तर भित्री जवाफ ठट्टाकै एक हिस्सा थियो।
"लौ त्यसो भए घरको चाबी जिम्मा लेऊ।"
उसले आफ्नो पाइन्टको खल्तीबाट चाबीको एक झुप्पा निकालेर दिंदै भन्यो।
म पनि के कम,फटाफट चाबी लिएर आफ्नो बख्खुको खल्तीमा राखें-बिना कुनै सवाल।त्यसपछि नाचगानको क्रम चलिनैरह्यो।फेरि रातको अन्धकारलाई छिचोल्दै विहानीले धर्तीलाई आफ्नो स्वामित्वमा लिइसकेको थियोे।संगै बस्ने ईच्छा,चाहना र रहर मुटुभरी हुँदा-हुँदै पनि बिदा हुनुपर्ने भयो।मन नलागी-नलागी एक अर्काबाट छुट्टिएर भौगोलिक दूरी बढाउनै पर्ने भयो।कस्सिला हात बिस्तारै खुकुला हुँदै थिए।चार हातहरु एकमुष्ट थिए।अब ती हातहरु मुश्किलले अलग्गिए।तर हाम्रा दुई मन र दुई मुटुहरु एकै थिए।कहिल्यै अलग भएनन्।हामी आ-आफ्ना घरतिर प्रस्थान गर्न खोज्दैथ्यौं तर पाइलाहरु पटक्कै अगि बढ्न मानेनन्।पाइलाहरु काँपिरहेका थिए।लर्खराएका थिए।मानौं अगाडि अजङ्गको खाल्डो छ।अगाडि बढे खाल्डोमा परिन्छ।२/३ पाइला हिंडेपछि घाँटी बटारेर उसैलाई हेरें।उसले मलाई।मन दर्हो बनाएर अगाडि बढें।तर फेरि फेरि उहीँ प्रकृया दोहोरियो।यस्तै प्रकृयाको पुनरावृत्ति हुँदै-हुँदै हामी निकै टाढा पुग्यौं।तर ऊ बिना मेरो सास रोकिएझैं भयो।धड्कनको गति स्वात्तै घटेझैं।मुटु पनि आफ्नै छातीभित्र छैन कि जस्तो भान भयो।फेरि आफैंले आफैंलाई प्रश्न गरें।
"मुटु नभए ऊ प्रतिको माया किन यति धेरै?"
पानीबाट निकालेर बगरमा फालिएको माछीझैं छट्पटिन थालें।मायामा मान्छेहरू पागल हुन्छन् भन्ने सुनेकी थिएँ।हो,म पागलझैं हुन लागें।हेर्दाहेर्दै ऊ मबाट धेरै टाढा पुग्यो।तर उसको सेतो सर्ट टाढैबाट प्रष्ट देखियो।बेला-बेलामा उसका पाइलाहरु पनि अचानक टक्क अडिए।उभियो- ठिङ्ग।मानौं ऊ मान्छे नभई एक खम्बा हो।सायद उसको मायालु नजर पनि मतिरै थियो।यतिसम्म अन्दाज लाउन सकें।

               अचम्म भैदियो।ऊ आफ्नो घर जाने बाटो छोडेर मेरो घर आउने बाटोतिर मोड्यो।चमक-चमक चम्किएर आउन थाल्यो।यस्तो लाग्यो कि उसले दौड प्रतियोगितामा भाग लिएको छ।छक्क पर्दै ट्वाल्ल परेर उसैको दौड हेरिरहें।यस्तो लाग्यो-ऊ मबिना एकपल पनि जिउन सक्दैन।पागलप्रेमी जस्तै भएकोछ।आएर मलाई गर्ल्याम्म अँगालो हाल्नेछ।विहानीपखै मीठो सपना देख्न थालें।मेरा साथी-संगीहरु अगाडि गएर ओख्रेटारको चौतारीमा पर्खिरहेका थिए।आफूलाई उनीहरूको सामू अति थकित देखाउँदै त्यहाँ पुगें।
"लौ ओमु,बिस्तारै-बिस्तारै जाम,हतार भैसक्यो।"
एकजना दाइले भन्नुभयो।
"हैन दाइ मलाई अलि सञ्चो छैन।थाकेकी पनि छु।तपाईंहरुलाई हतार भए जाँदै गर्नु।म बिस्तारै आउँछु।"
आफ्नो अस्वास्थताको बहाना बनाएर मनोजलाई पर्खने निंधो गरें।मैले यकिन गसकेकी थिएँ-ऊ मलाई नै भेट्न आउँदैछ।मलाई भेट्नैपर्ने उसको अरु के कारण हुन सक्छ?सोच्न बाध्य भएँ।अचानक कता-कताबाट मेरो हात खल्तीमा पुग्यो।उसैको चाबीको झुप्पा।लौ बर्बाद।मजाक गरेर आफ्नो घरको चाबी मलाई बुझाउँदा बिचराले कम त दु:ख पायो!एउटा सानो बालक आफ्नो आमाको काख र ममता खोज्दै आएझैं टुकुटुकु आयो।तर म बाहेक अरु कसैको नजर त्यो दृश्यमा परेन।आफ्नो घर पुग्न लागिसकेको मान्छे मोडिएर चाबी लिन एककोष टाढा आउनुपर्यो।ऊ आफ्नो चाबी लिन त आउँदैथ्यो तर अरु सबैको सामू कसरी हस्तान्तरण गर्ने भन्ने विषयले पिरोल्यो।यस्तो महासंकट आइलाग्यो।सीतामाताले अग्निपरिक्षा दिंदा त्यति संकटको सामना गर्नुपरेको थिएन होला।संकटको सामना गर्नुअघिनै मैले एउटा गतिलो नाटकको मञ्चन गर्न भ्याएँ।
"दाइ!मैले एक झुप्पा चाबी भेट्टाएँ।कति जनालाई सोधखोज गरें तर कसैले दाबी गरेनन्।अब यसलाई मैले के गर्ने र कसलाई दिने।यतै फालिदिन्छु है चाबीलाई?"
"कहाँ हुन्छ यसरी फाल्न?बिचरा कस्तो आपत परेको होला चाबीवालालाई!कोही त होलान् नि चाबी खोज्ने।"
मेरो कुरासँग असहमति जनाउँदै एकजना दिदीले भनी।
"ए,त्यसो भए तपाईंसँग राख्नु है दाइ चाबी।"
दाइलाई अनुरोध गरें मैले।
"कहाँ हुन्छ त्यसरी?तिमीले पायौ,तिमीसितै राख।"
रिसाउँदै भन्नुभयो दाइले।
"बिचरा कसको चाबी होला?कहाँ
-कहाँ खोज्दै होला?कति दु:ख भोगे होला?उसको घरको पूरै चाबी होला।ढोका कसरी खोलेर सुत्छन् होला?आज उसको स-परिवार बाहिरै सुत्ने भए।"
मैले सबैलाई औंलामाथि नचाएँ।मेरो कुरा सबैले पत्याएर हो मा हो थपे।केही बेरपछि मनोज हस्याँङ र फस्याँङ गर्दै नजिक आएर सोध्यो-
"तपाईंहरु मध्ये कसैले मेरो चाबी भेट्टाउनुभएको छ?मेरो चाबी कता खस्यो-खस्यो पत्तै भएन।एकजना साथीले तपाईंहरुको गाउँको मान्छेले भेट्टाएको छ रे भन्यो।त्यसैले यता आएको।"
"छैन,हामीले त भेट्टाएका छैनौं।"
मैले मुस्कुराउँदै जवाफ दिएँ।अरु चुपचाप सुनिमात्र रहे।
"ए,त्यसो भए कसले पायो होला त?लौ तपाईंहरुले पत्ता लाईदिनु पर्यो।"
"चाबी राम्रोसँग बोक्नु पर्दैन?एउटा चाबी सम्हाल्न नसक्नेले अरु कसरी सम्हाल्न सक्ला?"
मैले थर्काएझैं गरें।
"अर्काको चाबी खुरुक्क देऊ न।तिमीलाई अरुको बारेमा किन चासो दिनुपर्यो।तिमी त भविष्यमा उसैको श्रीमती हौली जस्तो कुरा पो गर्न थाल्यौ त।"
दिदीले कराउनु भयो।
"यही हो तिम्रो चाबी?आईन्दा आफ्नो सामान सम्हालेर राख्ने।धन्न मैले पाएर दिएँ।अरुले पाएको भए?तिमी ठिक ठाउँ र समयमा आएका छौ।"
यति भनेर चाबी उसको हातमा थमाएँ।
"धन्यवाद ओमु।तिम्रो यो गुन म जिन्दगीभर भुल्ने छैन।।हस् त म जान्छु अहिले।"
यतिमात्र भनेर ऊ आफ्नो गन्तव्यतिर लाग्यो।उसले व्यंग्यात्मक शैलीमा बोलेको कुरा म बाहेक कसैले पनि बुझेनन्।म एकैचोटिमा खुशी र दु:खी दुबै भएँ।खुशी यो अर्थमा कि उसँग एकक्षणको लागि भएपनि भेट हुने सुनौलो अवसर पाएँ।दु:खी यो अर्थमा थिएँ कि चाबीको कारण उसले हदैसम्मको दु:ख पायो।ऊ पनि एकैपटकमा खुशी र दु:खी दुबै भएको हुनुपर्छ।चाबी पाएकोमा खुशी र फेरि मबाट टाढिनु परेकोले दु:खी।यता मलाई भने केही अमूल्य चीज हराएकोझैं खल्लो लाग्यो।आमाबाट एउटा बालक छुट्टिएर टाढा गए जस्तो।त्यो पल एकदमै तीतो,विरक्तिलो र कहालीलाग्दो।

             हाम्रो प्रेम सतही नभई नितान्त गहिराईमा पुगिसकेको थियोे।हामी एक-अर्काका लागि अक्सिजन साबित भएका थियौं।अक्सिजनको अभावमा प्रेम-सागरमा जीवित रहन सकिन्नथ्यो।बिसञ्चो भएँ भनेर ढाँटेकी थिएँ साथीहरूलाई।एकैछिनमा सञ्चो भयो।तन्दुरुस्त भएँ।सबैजना फटाफट घरतर्फ प्रस्थान गर्यौं।मनोजसँग छेच्युको अन्तिम रात भेटिनेमा ढुक्क थिएँ।निद्रादेवीको काखमा लुट्पुटिएर मस्त निदाएँ।

            एक-अर्काको हात समाएर एउटा ठूलो नदीमाथिको लामो पुल तर्दैछु।कसरी-कसरी अचानक चिप्लिएर म पुलबाट खस्नै लाग्छु।मेरो एउटा हातले मात्र पुलमा समातिएको छ।गलेर फतक्क भैसकेकी छु।खस्नै लागेकी हुन्छु-त्यो नदीमा।उसले डोरी झारेर मेरो हातसम्म पुर्याउँछ।माथि सफलतापूर्वक उक्लेर नदी पार गर्छौं।ज्यान बचाएकोमा म ऊ प्रति कृतज्ञ भएर उसैको ओठमा हजारौं चुम्बनको वर्षा गराउँन थाल्छु।

             "ओमु!जाने हैन?ल छिटो उठेर तयार भएर निस्क।आज त छेच्युको अन्तिम दिन।छिट्टै जानुपर्छु।"
एकजना संगीले दिउँसोको एकबजेतिरै मलाई उठाई।मेरो चुम्बनको वर्षाको निरन्तरता भंग भयो।सपना अलि बढ्ता देख्न नपाएकोमा उनीतिर आक्रोशित नजरले हेरें।भर्खरै निद्राबाट ब्युँझेकोले मेरो नजरको अर्थ उनले ठम्याउन सकिनन्।मेरो सपना बीचैमा टुटाएको रिसको झोकमा तथानाम गाली गर्न मन लागेको थियो।तर सपनाको कुरालाई लिएर गाली दिनु मेरो नैतिकताले दिएन।त्यस्तो गहिरिएर मस्त कहिल्यै सुतेकी थिईन।सायद त्योदिन मनोजको मायाको नशाले लट्ठिएर त्यसरी सुतेकी हुनुपर्छ।

                पूरा नभएको अधुरो सपना लिएर हामी फेरि पुग्यौं छेच्यु मेलामा।सपना पूर्ण हुने अभिलाषा बोकेर।दिउँसोदेखिनै भीडभाड थियो।अन्तिम दिन भएकोले।लामाहरुले मुखुण्डो र रंगी-बिरंगी पहिरन लगाएर ढ्याङ्ग्रा,शङ्खा र अनेक सामग्रीहरुको धूनमा विभिन्न थरीका धार्मिक र साँस्कृतिक नृत्यहरु प्रदर्शन गर्न थाले।दुईजना नकावधारी पुरुषहरूमध्ये एकजना केटा र अर्को केटी बनेर गरिने आकर्षक नृत्यले सबैलाई मन्त्रमुग्ध बनायो।अझ उनीहरुको अश्लील हर्कत हेर्न सबै उद्दत देखिन्थे।सबै जना त्यहाँ हुँदै गरेको रमिताको दृश्यपान गर्नमै मस्त थिए।तर मेरो ध्यान अन्तै थियो।धेरैबेरको अथक प्रयास पछि बल्लतल्ल मनोजलाई त्यो भीडमा देखें।उसले पनि घरीघरी मतिरै हेरिरह्यो।हाम्रो भेटघाट भएपनि आफन्त र समाजको नजर हामीतिरै सोझिने भयले त्यति राम्रोसँग गफगाफ भएन।धेरैबेरसम्म आँखा जुधाजुध मात्र भैरह्यो।उसको आँखामा अनगिन्ती मायाका शुभ-संकेतहरु देखें।कहिल्यै पनि आँखा चिम्म नगरीकन मलाईनै हेरिरहोस जस्तो लाग्यो।बेला-बेलामा उसको आँखा चिम्म हुँदा परेली प्रति डाहा उत्पन्न भयो।उसले मलाई दिने मायामा अवरोध गरेझैं लाग्थ्यो।मलाई रिस उठिसकेको थियो उसको परेलीमाथि।मेरो कान्छी औंलाको धारिलो नङले घोच्न मन लागेको थियो परेलीलाई।तर परेली पनि उसैको एक हिस्सा भएकोले फेरि दया-माया पलाएर आयो।चुम्न मन लाग्यो बिचरा परेलीलाई।तर मेरो चाहना एकैछिनमा बिलाएर क्षितिज भन्दा पनि टाढा पुग्यो।

              लामाहरुको साँस्कृतिक नृत्य समाप्त भयो।बिस्तारै दिनलाई हराउँदै रातको बिजय हुँदै थियो।फेरि मनोरञ्जनात्मक नाचगान शुरु भयो।त्यतिबेलाको चर्चित गीत बज्दै थियो-"मुग्लिन पारी तरेर गण्डकी"।
प्रेमी-प्रेमिका,केटाकेटी र बुढाबुढीको सामूहिक नृत्यले बौद्धटारलाई रोमाञ्चक र आनन्दमय बनायो।पहिलो र दोस्रो रात जस्तै त्योरात पनि हाम्रो लागि उत्तिकै महत्वपूर्ण,प्रेमिल र रंगीन थियो।हाम्रो मायाको भाषा छुट्टै थियो।अरुको भन्दा बिल्कुल अलग।जुन भाषा हामी बाहेक अरु कसैले बुझ्दैनथे।हाम्रो कृयाकलाप कुनै पनि हालतमा अपाच्य थिएन।समाजको लागि,अश्लील थिएन।बरु तामाकोशीको पानी भन्दा कञ्चन,निश्छल,निस्वार्थ र प्रेरणादायी थियो।वासना मिश्रित र आकर्षण थिएन हाम्रो मायामा।बरु एउटा जिम्मेवारीबोध दिलाउने खालको थियो।एउटा नमूना थियो।मायालाई मनोरञ्जन र समय ब्यतितको साधनको रुपमा लिइएको थिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...