Wednesday, 14 September 2016

आरोह अवरोह-०५

             पल-पल मर्दै बाँचिरहेकी म फेरि एकचोटि मर्न पुगें।मनोजको परिवर्तित व्यवहारले मलाई धेरैपल्ट सोचमग्न बनायो।किन ऊ परिवर्तन भएर मसित रिसाइरहेको छ?यस विषयको चुरो पत्ता लगाउन हम्मेहम्मे भयो।यथार्थ सामू आएन।केहीदिन अघि पासाङले वाहियात हल्ला फिंजाउदै हिंडेको कुरा सुनेकी थिएँ।
"ओमु मसँग बिहे गर्न राजी भैसकी।एक महिनापछि धुमधामका साथ विवाह सम्पन्न हुँदैछ।लौ है सबै मेरो बिहेमा आएर साथ दिनुपर्छ।"
यस्तै हल्ला भेटिने साथीभाइ,ईष्टमित्र र आफन्तलाई सुनाउँदै हिंड्थ्यो रे भन्ने खबर मेरो कानमा परेको थियो।सायद मेरो विवाह पासाङ सित पक्का-पक्की हुन लागेको झूटो खबर सुनेर ऊ मबाट बिच्किएको हुनुपर्छ।कुनै पनि हालतमा भेटेर असत्य खबरको पर्दाफास र उजागर गर्नैपर्ने भयो।तर उसित साक्षात्कार हुने अवसरको अभाव थियो।बौद्धटारको होटलमा अरु मानिसहरू पनि भएकाले मैले भन्नुपर्ने कुरा पनि प्रस्फुटन गर्न सकिन।

            क्षितिजमा गोधुलीको आगमन भैसकेकोले सत्य कुरालाई मनभित्रै थाती राखेर घरतिर प्रस्थान गरें।जसलाई मैले आफ्नो दिल दिएकी थिएँ।सर्वस्व ठानेकी थिएँ।माया गरेकी थिएँ।उसैले मेरो बेवास्ता गरेपछि निराशाको पहाड चढीरहें।तलतिर फर्केर सम्म हेरिन।फर्केर हेर्नुको कुनै औचित्य देखिन।कसैले मलाई हेर्दै होला र मैले पनि हेर्नुपर्छ भन्ने लाग्दै लागेन।अथवा भनौं आवश्यकता ठानिन।सूर्यनारायण गगनबाट विदा भैसकेको थियो।सूर्य त पुनः भोलिको विहानीसंगै उदाउने-पक्का थियो।तर मेरो खुशीको किरण कहिले उदाउने हो -कुनै ग्यारेन्टी थिएन।सुनौलो जीवनरुपी विहानीको उदय हुने कुनै लक्षणसम्म देखिएन।घर पुग्दा लखतरान भैसकेकी थिएँ।एकातिर घरमा बाबा-आमाको दबाब।अर्कोतिर उसले गरेको बेवास्ता अथवा तिरस्कार सम्झें।म नरोएको त कुनै दिन थिएन।तर त्यो रात आँखाबाट खहरे खोलाहरु उर्ले।एउटै मुटु पनि हजारौं टुक्रामा विभक्त भए।मुटु यसरी दुख्न थाल्यो,जसरी धारिलो छुराले रोप्दा दुख्छ।जिन्दगीको सबै कुरा छताछुल्ल,भताभुङ्ग र लथालिङ्ग भए।खानाको त नामसम्म पनि लिईन।महिनौं भैसकेको थियो,मुखमा अन्न नपरेको।तैपनि बाँचेकै थिएँ।भोक-भोकै बसेर पनि अघाइसकेकी थिएँ।"र्ले

          ओमुको यति कुरा सुनिसकुन्जेल कति वटा रोयल स्टागका बोतलहरु रित्तिए।कति प्लेट सित्तन खाइयो पत्तै भएन।मेरो असल मित्र जेएस कहिल्यै नपिउने सोझो मान्छे नशाले ट्वाल्ल परिसकेको थियो।रक्सीको गिलास मुखमा लगेर चिरिप्प के पार्न खोज्दै थिएँ,रक्सी कडा नभएर नुनिलो लाग्यो।नुनिलो हुनुको तथ्य-कारण पत्ता लगाउन निकै बेरसम्म सोचें।रहस्योद्धाटन भयो-की रक्सीका गिलासहरु आँशुका थोपाहरुले भरिएका थिए।जेएसको गिलास पनि अछूतो थिएन आँशुदेखि।लेखक र शिक्षक भनौंदाहरु कसरी रोए-हामी स्वयं अनभिज्ञ थियौं।तर यथार्थ घटनाको सामना गरिसकेकी ओमु बहिनीको आँखामा आँशुको निशाना सम्म देखिएन।मानौं उनी अरु कसैको कपोकल्पित भ्रामक कहानी सुनाउँदैछे।अथवा हुनसक्छ,कुनै दु:खको कुराले छुन नसक्ने गरी कठोर भैसकेकीछे ।यो पनि हुनसक्थ्यो कि उनको आँशु रोदनले रित्तिइसकेको थियो।मुटुलाई समय र परिस्थितिको चाप र दबाबले स्पात बनाइसकेको थियोे।मुश्किलले यति मात्र सम्भावनाहरु अनुमान लाउन सकें।बाँकी कुराहरु उनैलाई थाहा होला।

"ओमु बहिनी!तिमी र तिम्रो जिन्दगीको यथार्थ कहानीले म जस्तो ठोस मुटु भएको मान्छेलाई समेत पगालेर तरल बनाइदियो।हायलकायल बनाइदियो।सायद यो भन्दा पहिले यसरी कहिल्यै रोएको थिईन।"
"अब पुग्यो कि अझै सुनाउनुपर्यो दाइ?यति सुनाउँदा बेहाल हुनुभयो।होस अब सुनाउँदिन।पाप लाग्छ,दाइहरु रोएर।पाहुनाहरुलाई के-के चाहिन्छ-सोध्नुछ।पार्टी जस्तो कुरा-खल्लो बनाउन पनि त भएन।हुन त सर्भ गर्नलाई अरु पनि खटाएकी छु।तैपनि आफूले पनि त हेरिदिनु पर्यो नि।नत्र बेवास्ता गरे जस्तो हुने।"
यति भनेर ओमु बहिनी तर्कन खोज्दै थिइन्।तर मलाई पूरै कहानी सुन्नु थियो।कहानीको यति भाग सुनिसकेपछि मैले सोही कहानीमा आधारित उपन्यासै लेख्ने अठोट गरें।ओमु बहिनीलाई पनि वचन दिइसकेको हुँदा बाँकी कहानी अधुरै राख्न कुनै हालतमा मिल्दैनथ्यो।मन खुब व्यग्र प्रतिक्षामा बस्यो।
"ल ल बहिनी!यता दाइहरुलाई  के चाहिन्छ,ल्याइदेउ है!सुकुटी अलि थपिदिनु।रक्सी पनि ल्याउनु एक बोतल।"
फत्फताउन थालिन् ओमु बहिनी।
"बहिनीले आज खुट्टा टेक्न नसक्ने बनाउने भई"
मैले मनमनै मात्र भने।
"ल ल सिस्टर ,बाँकी भएको कहानीलाई कन्टिन्यु सुनाऊ त।"
म निकै झ्याप भैसकेको हुँदा अंग्रेजी पनि मिसाउन थालें।उनले निरन्तरता दिईन्।

         केहीदिन अघि मात्र मैले फेरि पासाङको सगून फिर्ता गरेकी थिएँ।सगून फिर्ता भन्नाले रक्सीको मूल्य बराबरको पैसा र खाली जर्किन फिर्ता दिने चलन।सगून फिर्ता गरेपछिको तेस्रो रात।फेरी उहीँ रंगमञ्च।उस्तै नाटक।तिनै पात्रहरु।उस्तै प्रकृया दोहोरिंदै-तेहेरिंदै क्रमश: त्यो सातौं पल्ट थियो।सायद सुन्दा पत्यार नलाग्ला।मैले आफ्नै आँखालाई विश्वास गरेकी थिईन त्यतिबेला।हरे!संसारमा यस्ता पनि महापागल हुने रहेछन्।जो कसैको पछाडि हात धोएर लागि पर्छन्।मानौं कुनै जुगमा उनीहरुको ऋण खाएर भागेकी थिएँ।म उनीहरुको एकोहोरो नाटक मन्चनको मारमा परेकी थिएँ।उस्तै फकाइ-फुल्याइ र धम्कीको भाषा।सायद उनीहरुले हाम्रो गरिबी,बाध्यता र नाजुकताको फाइदा उठाउन खोज्दै थिए।हुनसक्छ,उनीहरुले बाबा-आमालाई ठूलै आश्वासन दिएका थिए।मैले नकार्दा-धिक्कार्दा पनि केटापक्षतिर साथ दिनुमा हाम्रो परिवारको गरिबी र बाध्यताले पनि भूमिका खेलेको होला।हाम्रो नाजुकतामा उनीहरुको धन-सम्पतिले खेल्ने मौका पाए होला।गरीबहरु धनसम्पतिको लोभमा फस्छन् भन्ने मनसाय होला उनीहरुको।
  
                  त्यो रात यसरी थर्काएँ।
"दिनदिनै आएर सताउनुपर्ने,तिमीहरुको के खाइदेका छौं हामीले?के तिमीहरू रक्सीको व्यापार गर्न यहाँ आउँछौ?सधैं रक्सीको पैसा तिर्न हामीसँग छैन।तिमीहरु जस्तो धनी पनि छैनौं।खुरुक्क बाहिर निस्क।नत्र राम्रो हुने छैन।"
यति भनेर उनीहरुले ल्याएको रक्सीको जर्कीन उठाएर बाहिर फालिदिएँ।सबै मौन थिए।केही समय पश्चात् गएछन्।अब त आउँदैनन् होला भन्ने सोचेकी थिएँ।तर दिउँसो म विद्यालय गएको मौका पारेर आई रक्सीको सगून पिलाएछन्-बाबा-आमालाई।साथै द्याम्ज्याङ(ईङ्गेज्मेन्ट)को समेत मिति तय गरेछन्।
"तपाईंहरु सबै मेरो दुश्मन हुनुभयो।मेरो सुख र खुशी हेर्न नसक्ने।मलाई दु:खमा घचेट्नेहरुलाई कुनै पनि हालतमा भगवानले माफी दिने छैनन्।यदि भगवानको अस्तित्व छ भने पक्कै कुनैदिन मेरो पुकार सुन्नुहुनेछ।मलाई अन्याय-अत्याचारको दलदलबाट निकाल्नुहुनेछ।मेरो चैनको हत्या गर्ने अपराधी लाई भगवानले सजाय दिनुहुनेछ।"
आक्रोशित हुँदै बाबा-आमालाई थर्काएँ।मेरो आक्रोश प्रति उहाँहरुले कुनै प्रतिकृया देखाउनुभएन।आँशुको मुहानलाई थुन्ने कोसिस गरें तर सबै कोशिस बेकार भए।
"मान्छे किन मेरो पछि लागिरहन्छन्?जब कि उसलाई म संसारमै सबैभन्दा बढी घृणा गर्छु।जुन घृणाको मापन कुनै पनि बैज्ञानिक यन्त्रले गर्न सक्दैन।"
बर्बराउँदै,चिच्याउँदै आफ्नो रिसलाई शान्त पार्ने धृस्टता गरिरहें।मेरो मुखमा बिद्रोहको ज्वाला दन्किरहेको थियो।यद्यपि आफ्नो जिन्दगीबाट हार खाएँ।दुश्मनहरुको जमातमा मेरो एक्लो प्रयास निरर्थक भयो।पक्षमा सकारात्मक नतिजा आउन असम्भव जस्तै थियो।कहाँ गएर के गर्ने?मर्ने कि बाँच्नेको दोसाँधमा उभिएँ।मनोजलाई एकपटक सोध्न खोजेकी थिएँ।
"तिमी मलाई चाहन्छौ कि चाहन्नौ?यदि चाहन्छौ भने मलाई सदाको लागि आफ्नो बनाऊ।यो पापी दुनियाँदेखि धेरै टाढा लैजाउ।जहाँ तिमी र म मात्र होस।हाम्रो सानो तर शान्त संसार होस्।यदि तिमी मलाई चाहन्नौ भने आफ्नो परिवार र गाउँनै छोडेर धेरै टाढा जानेछु-म एक्लै।जिन्दगीको महायात्रा कहाँसम्म,कहिलेसम्म भनेर कुनै समयसीमा र गन्तव्य हुनेछैन।सो यात्राको शिलशिलामा मेरा पाइलाहरु तिम्रा पाइलामा ठक्कर खाएपनि नचिनेझैं गर्नु।अब मलाई कसैको माया र साहाराको आवश्यकता छैन।के छ मनोज तिम्रो बिचार?अहिलेदेखि साथ दिन्छौ कि दिन्नौ?"
मेरो मनबाट संघर्षशील छालहरु छचल्किएर उसको मनलाई भिजाउँदै धेरै टाढासम्म पुग्न खोजिरहेका थिए।तर ऊ उभिएको कुनै किनार भेटाउन सकेन उक्त छालले।आफ्नो पीडादायी मनको भावना पोख्नलाई उसँग भेटको कुनै छनक सम्म देखिएन।

                 केही दिनपछि शेर्पाहरुको महान पर्व तथा नवबर्ष 'छेच्यु'को सुरुवात भयो।जुन लगातार ३ दिन ३ रातसम्म बौद्धटारमा मनाइन्छ।
चारैतिर चेर्दुङ,सैलुङ,काम्से र ताँबेका पहाडहरुले घेरिएका।बीचमा सम्म परेको सानो उपत्यका।जहाँ ३ वटा ठूल्ठूला भवनहरु निर्माण गरिएका छन्-माध्यमिक विद्यालयको लागि।मुख्य कार्यलय भएको भवनसंगै एउटा नयाँ स्तुपा बनाइएको छ जहाँ धेरै बर्ष पहिले सयौं साल पुरानो स्तुपा थियो।कार्यलयसँगैको अर्को भवनको नजिकै भलिबलको लागि कोर्ट बनाएइको छ।त्यही कोर्टमा छेच्युको मेलामा युवा-युवती र बूढाबुढीहरु नाचगान गर्ने गर्दछन्।यो मेला मनोरञ्जनको लागि मात्र नभई यसको आफ्नै धार्मिक,साँस्कृतिक र ऐतिहासिक महत्व छ।

            मेलाको पहिलो रात शुरु भैसकेको थियो।पूर्णिमाको अघिल्लो रात।जूनले सूर्यबाट सापटी लिएर राखेको चहकिलो प्रकाशले रातलाई दिन जत्तिकै टहटह बनाएको अवस्था।निकै टाढा-टाढासम्म मान्छेहरू प्रष्टै चिन्न सकिन्थ्यो।कहिले नेपाली लोकगीत,पपगीत र कहिले हिन्दी गीतहरुको तालमा उपस्थित प्रायःसबै 
सामूहिक नृत्य प्रदर्शन गर्न उद्धत थिए।गाउँदै-नाच्दै मनोरञ्जन लिनमा मस्त थिए।हाँसिरहेका थिए।दु:खलाई पर्दा पछाडि राखेर सुखानुभूत गरिरहेका थिए।तर म एक्लै रोइरहेकी थिएँ।संसारमा सबैभन्दा बढी पीर मलाई परेको थियो।नाचगानको भीडबाट धेरैजना साथी -संगीहरुले मलाई पनि बेला बेलामा हात तानेर र कसैले मौखिक आग्रह गरिरहेका थिए नाच्नलाई।तर मैले आफू सञ्चो नभएको बहाना बनाएर छुटकारा पाउथें।मैले त्यो भीडमा नजर लाउनुको एउटै मात्र उदेश्य थियो-मनोजलाई खोज्नु।

"ओमु,किन त्यहाँ एक्लै टोलाएर बसेकी? आऊ नाच न।तिमी ननाच्ने भए म पनि नाच्दिन के।"
यस्तै वाक्य बोलेर मनोजले मेरो हातमा तानेको कल्पना गरिरहें धेरैबेरसम्म।तर मेला लागेको २घन्टा बित्दा पनि मनको मान्छेलाई त्यहाँ नपाएर बेचैन भैसकेकी थिएँ।त्यो मेलामा बसिरहनुको औचित्य समाप्त भएको घोषणा गर्न मात्र बाँकी थियो।घरी उसको घरको बाटो त घरी जिरीबाट आउने बाटोतिर नयन बिछ्याइरहें।तर बीसौं पटकसम्म पनि आँखाले मलम पाएन।आँखामा काँडा बिझेझैं दर्द हुन थाल्यो।उसैको यादमा थोपा-थोपा भएर झर्न थाले मोती जस्ता दानाहरु।प्रतिक्षाको बाँध टुट्न लागिसकेको थियो।घर फर्किने तरखरमा लाग्न थालें।झोलुङ्गे पुलपारीबाट टर्च लाइटले बेला-बेलामा कसैले संकेत दिएझैं लाग्यो।जुनेली रातमा पनि टर्च बालेर संकेत गर्नुको कुनै रहस्य हुनसक्छ भन्ठानेर घर जान उठाएको कदम केही बेरको लागि त्यहीं विश्राम गरें।अत्यन्तै उत्सुकतापूर्वक पुलतिरै नजर लाउन थालें।नभन्दै मनोज र उसको साथी मेलामा टुप्लुक्कै आए।तर सिधै उसँग सम्पर्क नगरेर अलि पर गएर नदेखिने गरी उभिएँ।मलाई यतिका दिन र बेरसम्म सताउनेलाई,तड्पाउनेलाई मैले पनि सजाय दिने बिचार गरें।त्यति मात्र नभएर उसको म प्रतिको माया र दृष्टिकोण बुझ्न पनि मैले त्यो तरीका अपनाएकी थिएँ।केही बेरमै उसको साथी नाचगानमा सरिक भयो।तर ऊ भने निकै बेरसम्म गहिरिएर,
घोत्लिएर नजरका तीखा वाणले भीडमाथि आक्रमण गर्न थाल्यो।कसैलाई खोजे जस्तो।अझ भनौं केही चीज हराएर खोजेझैं फनफनी घुम्न थाल्यो।हरेश खाएर पाइला अन्तै मोड्यो।सायद घर जान लागेको होला भनेर चलाखीका साथ ध्यान दिएर नियालें-उसका पाइला।शुरुमा नजिकैको होटलमा पस्यो।एकैछिनमा निस्केर अर्को होटलमा छिर्यो।क्रमशः बौद्धटारका सबै होटल र घरहरु चालिसकेर निराश भएर फेरि मेलाको भीडतिरै फर्क्यो।सायद उसले खोजेको कुरा भेटिएको थिएन।मलाई जस्तै दुरुस्तै साथीहरूले नाच्न आग्रह गरे उसलाई पनि।तर ऊ तयार भैरहेको थिएन।भीडको छेवैमा झोक्राएर बस्न थाल्यो।मेरो मनमा ऊ प्रतिको माया यति बढेर आयो कि,त्यो परिमाणलाई बुझाउने शब्द शब्दकोषमै थिएन।उसको बिजोग देख्नै सकिन।द्रुतगतिमा उसैको नजिक गएर बोलाएँ।
"मनोज दाइ!"
"ए,के छ ओमु?बल्ल आउँदै हो र?"
बल्ल खोजेको कुरा भेट्टाएँ भन्ने आशय ब्यक्त गर्यो उसले।
"हैन,साँझमै आएकी।अहिले त ट्वाइलेट गएर आउँदैछु।"
मैले हल्का ढाँटिदिएँ।
"अनि तपाईं चाहिँ किन ढिलो नि?"
"केही दिनमा जाँच आउँदैछ।अलिकति पढेर बस्दा समय बितेको पत्तै भएन।"
"पढ्नुपर्छ,पढाइ भन्दा ठूलो केही छैन।"
-मैले आफ्नो मन भन्दा अलि पर गएर भनिदिएँ।मलाई त भन्नु थियोे-
"तिमी पढाई-पढाई मात्र भनेर बस्छौ।मेरो कुरा कहिल्यै बुझ्दैनौ।"
तर मैले त्यस्तो भन्नै सकिन।
"ल आऊ,नाचौं न ओमु।"
यति भन्दै उसले मलाई भीडतिर तानेर नाच्न अनुरोध गर्यो।
मलाई नाच्नु भन्दा पनि पीडा र व्यथा पोख्नु थियो उसको सामू।मनको थाप्लोमा भएको वेदनाको ग्रहुँगो भारी उसको प्रेमको चौतारीमा बिसाएर हल्का हुन चाहन्थें म।
"नाइँ के मनोज दाइ,मलाई नाच्न-गाउन मनै छैन।"
शुरुमा त मैले घुर्की लाएर उसको आग्रहलाई नकारिदिएँ।
"आऊ न हो,आऊ। किन भाउ खोजेकी?"
उसको दोस्रो आग्रह र व्यंग्यपछि मैले ननाची धरै पाईन।वास्तवमा मैले चाहेको पनि त्यही थियो।उसको पुन:आग्रह अनि उसँगको रोमाञ्चक वार्तालाप।केहीबेर सम्म दुबैजना चुपचाप नाची मात्र रह्यौं।मेरो छातीभित्र कालो बादल मडारिरहेको थियो।पीडादायी व्यथाहरुको भीषण वर्षा जतिबेला पनि हुन सक्थ्यो।त्यो क्षण हेर्दा लाग्थ्यो-मैले वर्षाको कालो बादल काँधमा लिएर माथि-माथि उडिरहेकी छु।मनोज दु:खै दु:खको वर्षाले भिज्न तम्तयार छ।मेरो नाचगानको चाल हेर्दा लाग्थ्यो-मनभित्र पीडाहरुको चाङ बोकेर बाहिर भने नाचेको नाटक मन्चन गर्दैछु।धेरै समयको मौनतालाई भंग गर्दै मनोजले वार्ताको श्रीगणेश गर्यो।
"ओमु,किन नबोलेर चुपचाप बसेकी?के भयो र?खुशी हुनुपर्नेमा दु:खीझैं देखिन्छ्यौ।"
"केही पनि हैन।"
छोटो उत्तर दिएँ।
"मुरीका मुरी बधाई छ है तिमीलाई।नव-जीवनको अग्रिम शुभकामना छ।"
अनायासै मुटु चसक्क चस्क्यो उसको तीखो वचन-वाणले।
"बधाई?के को बधाई?नव-जीवन? तपाईं होसमै त हो नि?"
मैले नबुझेझैं गरी उल्टै प्रतिप्रश्न गरें।
"तिम्रो बिहे पक्का भयो रे त पासाङ सँग,किन बुझ पचाउछ्यौ?"
उसले मलाई कर्कश शैलीमा भन्यो।पुरानो घाउ बल्झिएर आलो भयो।
"यो सम्बन्ध मलाई स्वीकार छैन।सबै कुरा मेरो ईच्छा बिपरित हुँदैछ।ज्यान गए जाला।कुनै पनि हालतमा उसकी हुन सक्तिन।यो जूनीमा त पक्का हैन।ममा के बितिरहेको छ भनेर तिमीलाई के थाहा मनोज?म जिउँदो लास भएर बाँचिरहेकी छु।"
पहिलोपटक तिमी भनेर सम्बोधन गर्न पुगेछु।खै किन हो,आफैं अनभिज्ञ थिएँ।
"ए,,,हो र?"
ऊ निद्राबाट ब्युझेझैं भयो।व्यग्र हुँदै थप कुराको आग्रहमा नजर मतिर तेर्स्यायो।सबै कथाको नालीबेली सुनाएँ।
"ए,ओमु मलाई त के थाहा नि,तिम्रो जीवनमा यस्तो घटना घट्यो भनेर?मलाई त यति थाहा भयो कि तिम्रो विवाह पासाङसंग पक्कापक्की भयो।तिमीमाथि यस्तो अन्याय-अत्याचार भएको मलाई कसले सुनाउनु?तिमी यसरी सामाजिक कुरीति र कुसंस्कारको सिकार हुन पुगेको थाहा पाएको भए प्रतिरोध गर्न निस्कने थिएँ।खुरुक्क मलाई त भन्न सक्थ्यौ नि यो कुरा।किन भनिनौ?"
मनोजले आक्रोशित हुँदै भन्यो।
"अस्ति भलिबल प्रतियोगिता हुने बेला भेट हुँदा तिमीले मलाई भन्ने मौकानै कहाँ दियौ र?दुईशब्द पनि राम्ररी नबोलेर तर्केर गयौ।पराईलाई जस्तो व्यवहार गर्यौ त मैले के गरुँ?कति कुरा भन्नु थियो त्यतिबेला।"
निकै चर्केर बोलेको सुनेर नाच्न छोडेर कोही-कोही हामी तिरै नजर लाउँदै थिए।
"म सोझोलाई के थाहा?मैले त सोचेको थिएँ-तिमीहरूको बिहे राजीखुशीमै हुँदैछ।अरु धेरैको मुखबाट पनि यस्तै कुरा सुनेको थिएँ।स्वयं पासाङकै मुखबाट पनि तिमीहरूको बिहे धुमधामसंग हुँदैछ भन्ने सुनेपछि मैले के नै गर्न सक्थें र?त्यसपछि थप चासो लिएर केही फाइदा पनि थिएन।हो,पहिलोपटक तिम्रो बिहेको कुरा सुनेर मपनि सगरमाथाको टुप्पोबाट एकैचोटि फेदीमा खसेझैं भएको थिएँ।मनमा हजार भोल्टको झड्का लागेको थियोे।मैले आफ्नो मनको कुरा भन्नलाई ढिलाई गरेकोमा पश्चातापको आगोमा जल्नु सिवाय कुनै उपाय थिएन।"
उसले आफूबाट ठूलो गल्ती भएझैं गरी प्रचण्ड घामले मुर्झाएको फूल जस्तो लुरुक्क भएर आत्मग्लानी मिसिएको स्वरमा भन्यो।उसको कुराले यति फुरुङ्ग भएँ कि त्यतिबेला भुइँमा खुट्टै थिएनन्।ताँबेको पहाड भन्दा माथि-माथि उडिरहेकी थिएँ।बर्षौंदेखि बिछोडिएको प्रेमीसँग भेटे जस्तो लाग्यो।त्यो खुशीको वर्णन गर्न कुनै पनि शब्द लायक थिएन।त्यो खुशी दिलाएकोमा उसलाई संसारको सबैभन्दा अमूल्य उपहार दिन मन लागेको थियो।तर उसलाई दिन मसँग माया बाहेक अरु केही थिएन।माया दिनलाई मनै काफी थियोे जुन धेरै बर्ष पहिलेदेखि दिंदै आएकी थिएँ।माया दिनलाई चुम्बन जस्तो शरीरिक स्पर्शनै दिनुपर्छ भन्ने मान्यता मेरो थिएन।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...