Thursday, 15 September 2016

आरोह अवरोह-६

           "मनोज!गल्ती तिम्रो हैन।गल्ती सायद मेरो जवानी,रुप या त उमेरको हुनसक्छ।गल्ती यो सामाजिक परिवेश,रीतिरिवाज,संस्कार र पद्धतिको हुनसक्छ।अथवा भनौं गल्ती हाम्रो गरिबी र लाचारिताको हुनसक्छ।गल्ती जसको भएपनि सजायको भागीदार म भएकी छु।मैले सजाय भोगिरहेकी छु।कसैले देखेनन्,बुझेनन् र साथ दिएनन्।मलाई लाग्दैछ कि यो समाजले गरेको सम्पूर्ण कुकर्म,गल्ती र दोषहरुको जड मै हुँ।"
मैले मनोज सँग गुनासो गरें।साँच्चै भन्दा मनोजलाई मैले एउटा रक्षक अनि अविभावक ठानेर आफ्नो सुरक्षाको अपिल गर्दैथिएँ।मानौं म एउटा प्रत्यक्षदर्शी जस्तै भएर न्यायधीशको सामू कुख्यात अपराधीको विरुद्धमा बयान दिंदैथिएँ ताकी पीडितको पक्षमा न्याय होस्।
"ओमु,जे हुनु भैसक्यो।अब पीर, चिन्ता लिएर केही फाइदा छैन।बरु समस्या कसरी सल्टाउन सकिन्छ,त्यसतर्फ ध्यान दिनुनै बुद्धिमानी हुनेछ।केही त उपाय होला नि तिनीहरुको अन्याय र अत्याचारको जंजीरबाट मुक्त हुने।म छु नि तिमीलाई साथ दिने।केहीदिन सोच्ने समय देउ मलाई।त्यसपछि हेरौंला के गर्नुपर्ने हो।हामीले कसरी हुन्छ,यो अन्धो समाजको आँखा खोलेर सवक सिकाउनु पर्छ।त्यसको लागि एउटा गतिलो उदाहरण प्रस्तुत गरेर देखाउन जरुरी छ।"
मनोजले यति भन्दै उसका हातहरुले मेरा हातहरु अँठ्याएर साथ दिएझैं गर्यो।पराइहरुले भरिएको बिरानो दुनियाँमा मेरो पनि कोही आफ्नो रहेछ भन्ने अनुभूती भयो।त्यतिखेर म अति भावुक भएर उसैको अनुहारमा टुलुटुलु हेरिरहेकी थिएँ।भीडभाड देखि सरेर हामी अलि उतातिर बस्यौं।उसले अझै मेरो हात छोडेको थिएन।
"मनोज,यो हात सधैं यसरी नै थामिराख है!सदा-सदाको लागि।"
मनले यस्तै आग्रह गर्यो तर मुखले भन्न सकेन।संसारमा हरेक मान्छेले मायालाई अलग-अलग दृष्टीकोण, तरीका र वाक्यले परिभाषित गर्दछन्।वास्तवमा माया के हो भनेर यकिन गर्न नसके पनि,परिभाषित गर्न नसके पनि त्यतिखेर मैले वास्तविक माया प्राप्त गरें।बस मैले परिक्षण गर्न चाहेको पनि ठिक त्यही थियो कि मनोजले मलाई सच्चा माया गर्छ या गर्दैन।उसले कहिल्यै पनि भनेन कि 'तिमीलाई म माया गर्छु 'भनेर।कतिपय मान्छेको भनाइ र गराइमा आकाश-पातलको फरक हुन्छ।त्यसैले त्यो वाक्य सुन्नु पनि थिएन,यदि गराइमा भिन्नता देखिन्छ भने।तर त्योदिन उसले भनेर हैन गरेर देखायो।सच्चा र निस्वार्थ माया।त्यतिनै बेला ३/४ जनाको समुहमा आएका उताउला  केटाहरु हामीबाट केही टाढाको दूरीमा पुगेपछि भन्न थाले-"वाह!कस्तो डीप लभ परेको।"
"कति किस खाए होला है?"
"क्या जोडी छ यार।"
हामी दुवैले छर्लङ्ग बुझिने गरी सुनिसकेका थियौं।मनोज मेरो अनुहारमा एकोहोरो हेरिरहेको थियो।म लाजले भुत्तुक्क हुँदै भुइँतिर लजालु नजर डुलाएर टोलाइरहें।

               टहटह जुनेली रातमा छेच्यु मेलामा भव्यरुपमा नाचगान भैरहेको थियो।त्यो उल्लासमय क्षण,दृश्य र प्राकृतिक वातावरणले वास्तवमा मेलालाई सजीव बनाइरहेको थियो।कोही जोडी-जोडी।कोही केटा साथीभाइ हरु।कोही केटी संगीहरु गोलाकार घेरा बनाएर सुन्दर वातावरणमा भरपूर मनोरञ्जन लिइरहेका थिए।अझ नाच्नेले भन्दा हेर्नेले सन्तुष्टि मानेर आँखा झिमिक्क नगरी दृश्यपान गरिरहेका थिए।मनोरञ्जनात्मक दृश्यको अर्को थप रोचक तथ्य के थियोे भने-नृत्यका गोलाकार घेराहरु एउटा-दुइटा नभएर तीनवटा थिए।
"घट्टा जस्तै फनफनी तिम्रो मायाले मलाई घुमायो" भन्ने गीतको तालमा सबै उफ्री-उफ्री नाच्दै,एकै स्वरमा गाउँदै पनि थिए।त्यो दृश्य देखेर हामीलाई नाचौं-नाचौं र गाऔं-गाऔं लागिरहेको थियो।खुट्टाहरु नृत्य प्रस्तुत गर्न आतुर थिए।त्यो रात मात्र मेरो लागि खुशीको रात थियो।बिल्कुल पृथक रात।अरु रात भन्दा हजारौं गुणा रंगीन रात।
"जाऔं न ओमु हामी पनि नाचौं न।"
यति भन्दै मनोजले मेरो हातमा तानेर त्यो भीडतर्फ लग्यो।हामीले पनि आफ्नो कला देखाएर भीडलाई साथ दियौं।सुख र दु:खका धेरै भलाकुसारी भए।कहिले मेरो आशा मरेर ध्वस्त हुन्थ्यो।चितामा जल्थ्यो।कहिले आशाको मुना पलाएर सजीव हुन्थे।मन कहिले खुशीले आकाशमा हवाइजहाजको गतिमा उड्थ्यो।कहिले खुट्टा सपाङ्ग भएपनि अपांगझैं लल्याक-लुलुक हुन्थ्यो।एकैछिनमा उज्यालो दिन र एकैछिनमा निस्पट्ट रात हुन्थ्यो।छिनमै वसन्त र छिनमै शिशिर आउँथ्यो।म कहिले उचालिन्थें र कहिले बेस्सरी पछारिन्थें।
   
             मेला पूरैरात लाग्ने भएकोले जुनै गीत पनि दोहोरिन्थे र तेहेरिन्थे।जब मन छुने गीत बज्थ्यो-त्यतिबेला लाग्थ्यो मनोजले मलाई आफ्नो काँधमा बोकेर सिंगै संसार घुमाइरहेको छ।म उसको मायाले पग्लिएर तरल भई सललल बगिरहेकी छु।सबै चीज बिर्सेर उसैप्रति समर्पित भएकी हुन्थें।आफूलाई उसैमा समाहित गराउथें।तन-मन सबै उसैको हुन्थे।तर कहिलेकाही लाग्थ्यो -दु:ख,पीडा र अन्यायको जाँतोमूनि नराम्ररी पिसिईरहेकी छु।अनि लाग्थ्यो-म हजारौं मसिना टुक्राटुक्रामा विभाजित भएर पिठोझैं तल खसिरहेकी छु।म यस्तै-यस्तै सकारात्मक र नकारात्मक भावनामा बगिरएकी हुन्थें।
"ओमु,घर जाने हैन?"
मनोजले एक्कासी प्रश्नवाचक चिन्ह खडा गर्यो।
"कसको घर मनोज?"
मैले पनि उल्टै प्रश्न तेर्स्याएँ।
"आ-आफ्नो घर नि कसको घर जानु र? के तिमीलाई अर्काको घर जान मन लागेको छ र?"
मनोजको कुराले म लज्जित भई पानी-पानी भएँ।मैले त आफूलाई उसैकी भएको परिकल्पना सम्म गर्न थालेकी थिएँ।उसले घर जाने कुरा गर्दा उसैको घरमा जान तम्तयार भैसकेको सम्म सोची भ्याएँ।मैले कसको घर भनेपछि स्वयं लज्जित हुनुपरेको थियो।
"यदि अर्काको घर जानै मन लागेको भए माग्न आउँदा किन मानिनौ त?"
मनोजको प्रश्नले अपमानित भएँ।एउटी नारी भएर जन्मेकोमा पछूतो लाग्यो।
"किन यस्तो प्रश्न सोधेको?यदि जाने मन भए यस्तो हालत हुन्थ्यो र?कसैलाई आफ्नो ठानेर ठूलो भूल गरिछु मैले।"
मैले थर्काएँ।
"हा हा हा••••कसलाई आफ्नो ठानेकी तिमीले?"
फेरि पनि बुझ पचाएर सोध्यो।
"कसैलाई हैन।मलाई बुझ्ने यो दुनियाँमा अहिलेसम्म कोही रहेनछ।"
मैले गुनासो गरें।
"सानो कुरामा रिसाउनुपर्छ त?मैले त मजाक पो गरेको त।गल्ती भए माफी चाहन्छु।"
उसको कुराले फेरि आफैंलाई पछूतो भयो।बेकारमा रिसाएछुझैं लाग्यो।
"रिसाएकी छैन। कुरा पो त।"
मैले उसलाई र आफूलाई एकैचोटि सम्झाएँ।

             जून काम्सेको डाँडामाथि दुईबर्षको बालकझैं टुकुटुकु हिंड्न लागिसकेको थियोे।अहो!कति छिटो घडीको घण्टे सुईले विहानको पाँच बजेको जनाउ दिइसकेछ।अरु बेलाको रात अति लामो लाग्थ्यो-एक महिनाझैं।चैनको निद्रा सुत्न सक्ने थिईन।पटकपटक ब्युझन्थें।कहिले विहानीको आगमन होला भनेर तड्पिरहन्थें,उज्यालोको पर्खाईमा।मेरो मनको रकेटले मंगलग्रह,चन्द्रमा, बृहस्पति लगायतका सम्पूर्ण ग्रह र उपग्रहहरुको परिक्रमा गरेर फर्किन्थ्यो एकै मिनेटमा।मनको आरोहीले सगरमाथा,कंचनजंघा,माछापूच्छ्रे,अन्नपूर्ण र धौलागिरी जस्ता अग्ला-अग्ला हिमालहरुको आरोहण पलभरमै गरेर आउँथ्यो।तथापि रात कटाउने कुनै उपाय बाँकी हुन्नथ्यो।तर त्यो रात कति प्रेमिल!कति रमाइलो!कति आनन्दित!कति रंगीन!अनि कति छोटो!आँखा झिमिक्क गर्न नपाउँदै रातको बहिर्गमनसँगै विहानीको लालीकिरणले धर्तीलाई स्पर्श गर्न र चुम्न थालिसकेछ।त्यो रात कहिल्यै पनि दिनमा परिणत नहोस्।सधैं त्यहीँ र त्यस्तै एउटै मात्र रात रहिरहोस भन्ने तीब्र चाहना थियो।त्यतिखेर दिनलाई धित नमरुन्जेलसम्म गाली गर्न मन लागेको थियो।आखिर मेरो चाहना गलत थियो।प्रकृतिको विरुद्धमा थियो।प्रकृतिको नियमानुसार रातपछि दिन हुनुनै थियो।भएरै छोड्यो।मेरो केही सीप लागेन।छेच्युको पहिलो दिन-रात सकिसकेको थियो।फेरि मनोजबाट छुट्टिनुपर्ने बिछोडको तीतो घडी आइसकेको थियो।
"लौ त मनोज,आजको लागि विदा चाहन्छु।"
मैले मन नलागी-नलागी भनें।
"भरे भेटौंला नी ओमु।लौ म चाहिँ लाग्छु अहिलेलाई।"
यति भनेर उ आफ्नो गन्तब्यतिर लाग्यो र म आफ्नो।

               भरे रातीको मेलामा भेटिने आशा र बाचाका साथ मनोजबाट बिदा भएर ओख्रेटारको उकालोमा थकित पाइलाहरु चाल्ने क्रममा।मेरा आँखाहरु घर जाने बाटो भन्दा पनि मनोजको बाटोतिरै दौडिरहेका हुन्थे।उबाट छुट्टिएपछि सबै कुरा खल्लो लाग्न थाले।उसैको याद र उसित ब्यतित गरेका हरेक स्वर्णिम क्षणहरुको सम्झनाले सताउन थाल्यो।पाइलाहरुले चल्न बिर्सन्थें।मुटुले धड्किन बिर्सन्थ्यो। फोक्सोले सास फेर्न।उसलाई सम्झँदा आफैंलाई भुलिदिन्थें।उकालीको अप्ठ्यारो बाटोमा कदम चाल्ने क्रममा अचानक ठेस लाग्यो।म यसरी तर्सिन पुगेछु कि गहिरो निद्रबाट एक्कासी तर्सेर ब्युँझेझैं झल्याँस्स भएँ।मुटु ढुकढुक गर्दै तीव्र गतिमा धड्किन थाल्यो।स्वा-स्वा गर्दै फोक्सोले सामान्यको तुलनामा बेग बढायो।मनोजको यादबाट मुक्त गरिदिएकोमा अल्झाउने ढुंगालाई सराप्न मन लागेको थियो।बिस्तारै आफूलाई नियन्त्रण गरें।घर पुगिसकेपछि पनि दुई तीन पल्ट भित्र-बाहिर गर्दै मनोजको घरतिर नजर पठाएँ तर ऊ गायब भैसकेको थियो।

           "उसलाई मेरो माया लाग्दैन क्यारे।यहाँ आफूलाई भने कस्तो छट्पटी भएको छ,उसलाई चाहिँ एकदमै ढुक्क छ।हैन,यी लोग्नेमान्छेको मुटु कस्ता खाले हुन्?आवश्यकता अनुसार परिचालन गर्न सकिने।हामी नारीहरुको मुटुलाई किन नियन्त्रण गर्न नसकिने होला?"
मैले मनमनै यस्तै विश्लेषण गर्न पुगेछु।घरमा खाना तयार भएर खान लागेका थियौं।खानाको थालमा भात नभएर मैले अरु कोही मान्छेको आकृति देख्न पुगेछु।
"मनोज !खाना खायौ?"
अन्जानमा मेरो मुखबाट यस्तो वाक्य फुत्कन गएछ।
"हैन,को सित कुरा गरेकी?"
आमाले सोध्नुभयो।
"खाना मीठो भएछ भनेकी क्या आमा।"
मैले कुरालाई मोडिदिएँ।यथार्थ कुरा कसैले नबुझेकोमा म पुलकित भएँ।
"ओमु,सपना देख्न थाल्यौ कि कसो?"
बाबाले अर्को प्रश्न तेर्स्याउनुभयो।
"हैन,हैन,त्यतिकै।आफैं सित बोलेकी।"
मैले थप प्रष्टीकरण दिएँ।
रातभर नसुतेकोले दिउँसै सुत्न लागें तर अनौठो छट्पटीले पटक्कै सुत्न दिएन।म त खुल्लै आँखाले मनोजलाई पाउने सपना पो देख्न थालेकी रहेछु।पहिले दु:ख र पीडाले छट्पटिन्थें।त्यतिबेला मनोजको माया-प्रेमले छट्पटिएँ।जसरी पनि छट्पटिन र तड्पिन मात्र लेखिएको थियो क्यारे मेरो भाग्यमा।

             "आऊ प्यारी!मेरो अगालोमा बाँध।हामी एक-अर्कामा समर्पित होऔं।म जिन्दगीका हर कदमहरु तिमीसँगै मिलेर चाल्न चाहन्छु।दुनियाँको कुनै पनि तागतले हामीलाई एक हुनबाट रोक्न सक्तैन।हाम्रो मायाको प्राप्तिको लागि जस्तोसुकै कदम चाल्न र निर्णय लिन पनि तयार छु।तिमी र म मिलेर अब अजम्बरी मायाको महासागर तर्नु पर्छ।नाइँ  नभन ल ओमु!आइ लभ यु ओमु,आइ लभ यु!"
म झल्याँस्स ब्युँझिंदा एक्लै थिएँ।नितान्त एक्ली।यताउता हेर्दा मनोज कतै पनि देखिन।कति मीठो सपना देखेकी थिएँ।सायद त्यो विपना भैदिएको भए कति जाती हुन्थ्यो।सूर्यनारायणले पृथ्वीबाट ओझेल हुने तरखर गरिरहेको थियो।पूरा दिन सुतेर बितेको थियो।तर अँध्यारो हुनुभन्दा अघिको केहीपल बिताउन मलाई हम्मेहम्मे भयो।जो-कोहीको लागि अँध्यारो भन्दा उज्यालो नै प्यारो हुनेगर्छ।तर त्योदिन मेरो लागि अँध्यारोनै मीठो थियोे।प्यारो थियो।अँध्यारोकै प्रतिक्षामा थिएँ।अँध्यारोनै मेरो लागि सबैभन्दा उज्यालो थियो।लामो र गार्हो प्रतिक्षा पश्चात् रातको आगमन भएरै छाड्यो।मेरो प्रतिक्षाको घडी समाप्त भैसकेको थियो।हतार-हतार हातमुख जोडेर छेच्युको दोस्रो दिनको मेला भर्न ओरालो झर्यौं।कतिखेर मनोजसित भेटिएलाझैं भयो।पाइलाहरु सकभर तीब्र गतिमा चाल्न थालें।तर मान्छेको असिमित ईच्छा परिपूर्ति गर्नको लागि ती पाइलाका सिमित चाल काफी थिएन।अरुदिन सबैभन्दा ढिलो र कछुवाको चालमा हिंड्ने म त्यो दिन भने सबैभन्दा छिटो र खरायोको गतिमा हिंडिरहेकी थिएँ।
"ए ओमु!लडिएला है लडिएला।आज किन उताउली भएकी ओमु?"
"कसैलाई भेट्न हतार भए जस्तो छ यो नक्कलीलाई।"
"होला नि कोही पर्खेर बसेको।"
"ए साँच्ची मलाई पनि खोजिदेउ न एउटा।"
"आफू त सोझी लप्पनछप्पन जान्दिन।बाबा-आमाले जता दिन्छन् ,त्यतै जाने हो।तर माग्नलाई पो कोही नआउने भन्या।"
"आउँछ,आउँछ तेरो पनि दिन।"
"कसले पत्याउनु र हामी जस्ती अनापढलाई।"
"अनापढ भए पनि हिस्सी परेकी छेस् नि।"
"साँच्ची,ओमुको बिहे कोसित हुन्छ होला।यता बा-आमाले एउटा लाई देको छ,अर्कोतिर••••••••••।"
"हामी पनि यस्तो भाग्यमानी हुन पाए पो।"
"हा,हा हा हा हा••••••••••••••••••••••"
साथी-संगीहरु हुने नहुने कुरा गरेर उडाउँदै थिए मलाई।अनि एक-अर्कालाई।म उनीहरुको कुरा सुनी मात्र रहेकी थिएँ।मेरो ध्यान अन्तै थियो।पूर्णिमाको रात भए पनि जूनको दर्शन पाउने बेला भएको थिएन।युवा-युवती हरु जूनकिरीझैं पिलिक्क पिलिक्क टर्च बाल्दै मेला भर्न झर्दै थिए।त्यसमध्येमा मनोज कुन होला त भनेर मैले निकैबेर ठम्याउने धृस्टता गरें तर असफल भएँ।
"ओमु,पर्ख न किन दौडिएकी?कसैलाई भेट्न हतार भयो कि क्या हो!"
एकजना संगीले फेरि व्यंग्यात्मक शैलीमा मेरो उछितो काढी।
"छ नि किन नहुनु?मेरो मान्छेलाई भेट्नुछ।भेटेर धेरै-धेरै भलाकुसारी गर्नुछ।वार्तालाप गर्नुछ।मनको सारा बोझ उसैको चौतारीमा बिसाउनुछ।अनि बिसाउनुछ संघर्षको मैदानमा लड्दा लड्दै थकित मेरो जिन्दगीलाई।थकाइ मार्नुछ उसैको काखमा।अनि सुम्पनुछ सर्वस्व।आफूलाई उसैमा समर्पित र बिलिन गराउनुछ।"
यस्तै यस्तै जवाफ दिन मन लागेको थियोे साथी-संगीहरुलाई।
"को हुनु र मेरो?"
मैले यतिमै टारिदिएँ उनीहरुको सवालको जवाफमा।

               बल्लतल्ल हामी मेला भर्न झरिसकेका थियौं।सबै आ-आफ्नो ध्यानमा लागे।सँगै आएका सबैजना तित्तर-बित्तर भए।मेरा आँखाहरु केबल उसैलाई खोजिरहेका थिए-मेलाको त्यो भीडमा।हातहरु सल्बलाउन आतुर थिए उसैलाई स्पर्श गर्न।मन तड्पिरहेको थियो उसैको आगमनको लागि।घडीको सेकेन्ड सुईले साठी फन्को मारिसकेको थियो।मिनेट सुईले कछुवाको गतिमा पनि एकफन्को मारिसकेको थियो।घण्टा सुईले समेत एक कदम चालिसकेको थियो।तर दस मिनेटमा आफ्नो घरदेखि त्यहाँसम्म आइपुग्न सक्ने मान्छे अझैसम्म गयल नै थियो।मेरो मनभित्र छट्पटीको घण्टी बजिसकेको थियो।शुरु होस भन्ने चाहेकी थिएँ उसँग माया-पिरतीको कक्षा।तर कक्षा लिनलाई मनोज नामको शिक्षक अझैसम्म दिलको कालोपाटीमा मायाको चकले प्रेमिल अक्षरहरु लेख्न र घृणाको वाक्य मेट्न मुस्कानरुपी डस्टर लिएर उपस्थित भएकै थिएन।त्यो भीडमा उसलाई पाउन गरिएको हर प्रयास बिफल भैसकेको थियो।कसैको आशा र प्रतिक्षामा समय ब्यतित गर्नु भन्दा गार्हो काम केही छैन होला सायद यो संसारमा।

             "किन आएन मनोज अहिलेसम्म?के उसले गरेको माया यही हो?उसले देखाएको आशा र दिएको भरोसा दीगो र दीर्घकालीन छ त?सच्चा प्रेम भए उसलाई पनि आतुर हुनुपर्ने मलाई जस्तै।तड्पिनुपर्ने म जस्तै।कसरी ढुक्कसँग बस्न सकेको होला?कतै मनोजले मलाई अन्तमा गएर धोका त दिदैन?के म सही बाटोमा जाँदैछु त?हैन यी पुरुषहरू किन यति खप्पिस र सिपालु हुन्छन् हँ नारीलाई तड्पाउन?रुवाउन?कमलो मासुले बनेको मुटुलाई कसरी पत्थरझैं चाम्रो बनाउन सकेका?के नारीको मुटु नौनीले बनेको हुन्छ त?नत्र किन यति छिट्टै र सजिलै पग्लिन्छ हाम्रो मुटु?।"
सकारात्मक र नकारात्मक तत्वहरुले मनमा डेरा जमाउन थाले।कति धेरै मान्छेहरुको भीडमा पनि म एक्ली थिएँ।सबै जना हाँसिरहेका थिए।नाचिरहेका थिए।तर म भित्रभित्रै रोइरहेकी थिएँ-कसैले नदेखिने गरी।आखिर मायाले पनि त धुरुधुरु रुवाउने रहेछ मान्छेलाई।मान्छेलाई के भनौं-नारीलाई।पुरुषहरु रुन्छन् कि रुदैनन् मायामा मलाई थाहा भएन।किनभने मैले देखेकी थिईन।मैले त बस यति देखें कि पुरुषहरूले रुन हैन रुवाउन मात्र जानेका हुन्छन्।मेलामा पर्खिंदा सकृय भएका सबै अंग-प्रत्यङ्ग हरु निस्कृय भैसकेका थिए।त्यतिखेर म जिरो डिग्रीमा जमिएकी थिएँ।सायद बरफ जत्तिकै।

              रुनुपर्नेनै लेखेको थियो क्यारे बिधाताले मेरो भाग्यमा।नत्रभने एकपल हँसाएर किन हजारौं पल रुवाउँथ्यो माया र मायालुले?"मनभित्रको भावना हजारौं माइल प्रति सेकेन्डको गतिमा प्रवाहित हुँदै थियो।एक्कासी कसैले मेरो हातमा च्याप्प अँठ्यायो।उसको स्पर्शबाटै मैले यकिन गरिसकेकी थिएँ-मनोज भनेर।
"के छ ओमु?ननाचेर किन एक्लै टोलाएर बसेकी?रमिता हेर्न आएकी या नाचगान गर्न?त्यसै बस्ने भए किन मेलामा आउनुपरेको?"
मनोजले एकैपटक धेरै सवाल गर्यो।
"के खान नाच्नु?कसको लागि नाच्नु?एक्लै नाच्नुको के अर्थ?किन कहाँ थियौ र यतिबेला सम्म?तिमी मान्छे स्वार्थी रहेछौ।अरुमा के-के बित्यो होला भनेर खै सोचेको?"
मैले मनोजलाई यति धेरै थर्काए कि मानौं ऊ मेरो श्रीमान् हो।घर आउन ढिलाइ गरेकोले मैले उसलाई थर्काउँदैछु।
"कसलाई के बित्यास पर्यो र?सञ्चै त छ्यौ नी?अनि फेरि यति धेरैजना छन् मेलामा।कसरी तिमी एक्ली?"
उसले बुझ पचाएर मुसु-मुसु हाँस्दै सोध्यो।
"सकिन्न हो सकिन्न,लोग्ने मान्छेसँग सकिन्न।"-मैले भनें।
"हेर ओमु,म एउटा बिज्ञानको विद्यार्थी भएकोले परिक्षाको लागि निकै मिहिनेत गर्नुपर्छ।पढाइ तिमीले सोचे जस्तो पक्कै सजिलो छैन।रमझममा भुलेर फाइदा छैन।मनोरञ्जनको साथसाथै पढाईलाई जोड दिईएन भने परिक्षामा सेल खाइन्छ।"
"के जिन्दगीमा पढाइ नै सबैथोक हो?मन र मायाको कुनै मूल्य छैन?पढाइको परिक्षामा एकपटक अनुत्तीर्ण भए अर्को पल्ट उतीर्ण हुन सकिन्छ तर मायाको परिक्षामा एकचोटि अनुत्तीर्ण भएपछि कहिल्यै उतीर्ण हुन सकिन्न।सायद जिन्दगीभरीमा पनि हैन।"
पहिलोपटक मनोजको कुरालाई खण्डन गरें।
"हैन ओमु,मेरो भनाइको तात्पर्य त्यो हैन।बरु पढाई जिन्दगीमा धेरै महत्वपूर्ण छ मात्र भन्न खोजेको हुँ।मन,माया र साथी सबै आ-आफ्ना ठाउँमा छँदैछन् नी।"
"हो म तिम्रो कुरा बुझ्छु तर मलाई अवगत छैन होला र पढाइको महत्व बारे?यदि पढाइको महत्व बारे अज्ञात भएको भए म १५ बर्षको उमेरमै बाबा-आमाले दिएको केटासँग विवाह गरिसकेकी हुन्थें।यतिको तनावग्रस्त हुने थिईन हुँला।तर अब शिक्षा र पढाइको महत्वको कुरा मात्र गरेर समय बर्बाद गर्नु उचित नहोला।किनभने मेरो द्याम्ज्याङको मिति समेत तय भैसकेको छ।मसंग समयको अभाव छ।"
मेरो कुरामा मनोजले टाउको हल्लाउँदै सहमति जनायो।तर कुनै उपाय र बाटो भने देखाएन।
"आँत्तिनु पर्दैन भनेकै छु त।समय भन्दा पहिले समस्या सल्टिनेछ यदि तिमी सत्य पथमा छ्यौ भने।भगवान माथि आस्था राखौं,सबै ठिक हुनेछ।"
उसले थोरै भरोसा दिलायो।
हाम्रो बीचमा केही निश्चितता र केही अनिश्चितताका कुराहरू भए।अन्तर्कृया,बहसहरु भए तर उसले "माया गर्छु" भनेर कहिल्यै भनेन।उसले मात्र भन्यो-"साथ दिन्छु"।जतिसुकै र जसरी बहस भए पनि हाम्रो अघोषित र आन्तरिक निष्कर्ष थियो-एक-अर्का बिना बाँच्न नसक्ने।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...