Tuesday, 31 January 2017

आउ

इमान्दारी पाइलाहरु उद्घाटन गरी आउ
मिसावटी तिम्रो मुटु प्रशोधन गरी आउ।

मायाको प्रचुर खानी तिम्रै मन भित्र छन्
मेरो सामू पर्नु अघि उत्खनन गरी आउ।

नयन मेरा चिम्लेर आगमन पर्खन्छु म
पुग्नु अगावै चुराको छनछन गरी आउ।

प्रतिक्षामा बसिरहेछु मायालुकै स्पर्शको
तन भन्दा बरु मनको संयोजन गरी आउ।

मेरो मन सम्म पुग्ने बाटोमा भए तगारो
राँको बाली,थर्काएर आन्दोलन गरी आउ।

Monday, 30 January 2017

अचेल युवा

अचेल युवा,स्वतन्त्र यौन,उदार खोजियो
बिहेमा भने जीवन-साथी कुमार खोजियो।

डराई बस्यो, पत्थर जब, तोडिने बेलामा
नगरी दु:ख,सहज बाटो,जुहार खोजियो।

थर्काई नेता,ब्यर्थमा खेर,समय फालेर
राष्ट्रमा बडो अनौठो खाले सुधार खोजियो।

नसुने जस्तो,नदेखे जस्तो,गरेर दैवले
दायित्व आफैं बिर्सेर अझ पुकार खोजियो।

अचेल स्वार्थी भएर कठै ग्राहक-ब्यापारी
भाउमा कौडी,किसानी फल,जुनार खोजियो।

खोजियो

आफ्नो यौन मामिलामा उदार खोजियो
तर जीवन-साथी भने कुमार खोजियो।

भयभीत भयो जब पत्थर तोड्ने बेला
अब सजिलो मार्गमा जुहार खोजियो।

नेतृत्व लाई थर्काएर,समय खेर फाली
राष्ट्रमा बडो अनौठो सुधार खोजियो।

नसुने झैं,नदेखे झैं गर्छ दैव पनि
कर्तव्य पूरा गर्न नि पुकार खोजियो।

व्यापारी र ग्राहक हरु स्वार्थी हुन थाले
कौडीमा नै किसानका  जुनार खोजियो।

आनी-२

                     भाग-२
         अरु दिन झैं रविको लाली किरणले धर्तीमा चुम्बन गर्नु अगावै मिर्मिरेमै उठेर नुहाइधुवाइ गरी गुम्बामा नयाँ पानस बाली बुद्धको चरणमा नमन गरिसकेर गुरुबाट आशीर्वाद थाप्छे।बुद्धचित्त माला हातमा लिएर प्रभातकालीन मन्त्रजप गरिरहँदा अचानक फोनको म्यासेज टोन बज्छ।निर्जलाको म्यासेज आएको रहेछ।
"आज महसुस भयो कि तिमी अति सुन्दर रहेछौ।तिमी भन्दा तिम्रो दिल हजारौं गुणा सुन्दर रहेछ।भन म तिम्रो लागि के गरुँ?मिल्ने भए तिम्रो लागि कति इज्जत छ-छाती च्यातेर देखाइदिन्थें।सक्ने भए चन्द्रमामा घडेरी र बुर्ज खलिफाभित्र फ्ल्याट खरीद गरिदिन्थें।तर आर्थिक हिसाबले म सक्षम छैन।तर तिमीलाई निराश भने अवश्य पनि बनाउँदिन।तिमीलाई यो दिलको दरबारको सिंहासनमा बिराजमान गराउँछु।अहिलेसम्म जिन्दगीमा सयौं गल्तीहरु गरें हुँला।तर गल्ती नै सही,पुन: म एउटा गल्ती गर्न चाहन्छु।तिमीलाई आफ्नो ठान्ने गल्ती।तिमी मान या नमान,मैले त तिमीलाई आफ्नो मानिसकें।"
निर्जलाको म्यासेज देखेर आनी चकित भई-एउटी स्त्रीबाट अर्की स्त्रीलाई यस्तो म्यासेज आएको देखेर।
"सायद गलत ठाउँमा म्यासेज आएको होला।कसलाई पठाउन खोजेकी होली-मलाई आइदियो।कस्ती असंयमित केटी रहिछे!म्यासेज पठाउनुभन्दा पहिले यकिन गर्नुपर्छ नि कसलाई पठाउने र सही ब्यक्तिलाई पठाउँदैछु कि छैन भनेर।"
यस्तै-यस्तै कुरा सोचेर दिमागलाई ब्यस्त बनाइरही केहीबेर।अरुलाई पठाएको भए त ठिकै छ अहिलेसम्म संसारमा समलिंगीको फेसन पनि नचलेको हैन,तर आनी जस्तोलाई त्यस्तो म्यासेज आउनु सामान्य थिएन।उनले आक्रोशित हुँदै तुरुन्तै जवाफ फर्काई-
"तैंले कसलाई म्यासेज पठाईस्?म केटा जस्तो देख्यौ र?सोच्नुपर्दैन पठाउनु भन्दा पहिले?"
आफ्नो संगी भएकोले थर्काएर लेख्न उनलाई खासै असहज भएन।केही महिना पहिले उनको फेसबुकमा निर्जला लामाले फ्रेंन्ड रिक्वेस्ट पठाएकी थिई।एक महिना जति उनले पेन्डिङमै राखेकी थिई तर एउटै धर्म मान्ने केटी भएकोले उनले मुश्किलले एक्सेप्ट गरेकी थिई।त्यसपछि दिनहुँ जस्तो च्याट र म्यासेजमा वार्तालाप हुँदै आएको थियो।नत्र भने सजिलै उनले स्वीकार गर्ने थिईनन्।नजिकको दाजुभाइ र आफन्त बाहेक उनको फेसबुकमा अरु साथी थिएनन्।टाढाको र अपरिचित साथी भनेकै निर्जला थिई।
एकैछिनमा म्यासेजको रिप्लाई आयो।
"डियर आनी,मैले सही ठाउँमा म्यासेज पठाएकी छु।अरु गल्ती गर्न सकुँला तर म्यासेजको मामलामा सोचेरै पठाईन्छ नि।तिम्रो मन हेर्न खोजेकी।यदि कोही केटाले यस्तो म्यासेज पठाएको भए तिम्रो प्रतिकृया कस्तो हुन्थ्यो?"
"साथी निर्जला!यदि अरु कसैले मलाई यस्तो वाहियात प्रश्न सोधेको भए म तथानाम गाली त दिन सक्दिनथें,किन कि गाली दिनु हाम्रो धर्मले दिंदैन।मैले उसलाई साथीको लिस्टबाट सिधै डिलिट गरिदिन्थें हमेसाको लागि।आईन्दा मलाई यस्तो बकबास प्रश्न गर्ने दुस्साहस नगर ल।"
"गल्ती भए माफी पाउँ आनी।बिन्ती नरिसाउ न है।तिमी भन्दा जिक्री साथी मेरो यो दुनियाँमा को नै छ र?मनमा उब्जिएका सवालको जवाफ तिमीले नदिए कसले दिन्छ भन त?साँच्चिकै एउटा अर्को कुरा सोध्छु है त।तिमी एउटी आनी हौ।आनी भन्दा पहिले तिमी एउटी स्त्री हौ।जसले जस्तोसुकै दर्शन छाँटेपनि प्रकृति भन्दा बाहिर कोही जान सक्दैन।प्रकृतिको बिरुद्धमा जान सक्दैन।प्राकृतिक नियमानुसार हुने प्रकृयालाई कसैले रोक्न सक्दैन।जसरी हिमालको हिउँ पगालेर सकिन्न।जलवायुलाई परिवर्तन गर्न सकिन्न।नदीलाई छेक्न सकिन्न।सूर्यलाई रोक्न सकिन्न।सूर्यको प्रकाशलाई हत्केलाले छेक्न सकिन्न।बर्षालाई रोक्न सकिन्न।ठिक त्यसैगरी स्त्रीको महिनावारी लाई पनि रोक्न सकिन्न।ईच्छा र चाहनालाई दबाएर राख्न सकिन्न।केही समयको लागि दबाएर राखिए पनि पिपलको जराले पत्थरलाई तोडेर आफ्नो अस्तित्व कायम गरे झैँ,नदीले पहाडलाई भित्रभित्रै खियाएर बगे झैं एकदिन मान्छेको चाहना पनि बिस्फोट भएर निस्कन्छ,उजागर हुन्छ।के आनीहरुलाई त्यस्तो कुनै ईच्छा र चाहना हुन्न र?मानव जातिलाई गाँस,बास र कपास पछिको अर्को आधारभूत आवश्यकता भनेको यौन नै हो।के यौनबाट आनी र लामाहरु टाढा रहन सक्छन्?"
"निर्जला!हुन त म तिम्रो ट्युसनको गुरु हैन।कलेजको लेक्चरर हैन।तर आज मैले महसुस गरेकी छु कि तिमीलाई ज्ञान दिने जिम्मा मैले नै लिएकी छु।तिमीलाई धेरै ज्ञानको खाँचो रहेछ।तिमी यस्ता प्रश्नहरु अरुलाई पनि सोध्न सक्थ्यौ तर यो प्रश्न आनीसंगै सम्बन्धित भएकोले जवाफ दिनु मेरो कर्तव्य ठानेकी छु।म पनि ज्ञानको अथाह सागर त हैन तर आफूले जानेको कुरा सेयर गर्न पाउनु पनि खुशीकै कुरा हो।सुन निर्जला,यी ईच्छा र चाहना मान्छेको सोचाइमा भर पर्ने कुरा हुन्।कुन कुरालाई आफ्नो मूल ईच्छा-चाहना बनाउने-आफैंले निर्क्यौल गर्नुपर्छ।हो,कोही पनि प्रकृतिको बिरुद्धमा जान सक्दैन।महिनावारी प्राकृतिक प्रकृया अन्तर्गत नै पर्छ।के उसो भए महिनावारी हुँदैमा सेक्स गर्नैपर्छ भन्ने छ र?महिनावारी भनेको बिकार बस्तुलाई बाहिर त्यागिने एउटा प्रकृया मात्र हो।बिकार बस्तु त्यागिसकेपछि शरीर अझ पवित्र हुन्छ।मैले यौन चाहनालाई पनि एउटा बिकार बस्तुकै रुपमा त लिएकी छैन।तर यसलाई आफ्नो मस्तिष्कमा प्रवेश गर्न दिने कि नदिने,आफैंमा निर्भर रहन्छ।आफ्नो इच्छा र मन माथि बिजय हासिल गर्न सक्नु नै वास्तविक बिजय हो।विना लगामको घोडालाई सही दिशामा डोर्याए झैं स्वतन्त्र भएको मनमा लगाम कस्नु नै मन माथिको बिजय हो।गान्धी त्यत्तिकै महात्मा भएका थिएनन्।उनले आफ्नो मात्र नभई अंग्रेजहरुको मनमाथि समेत बिजय हाँसिल गरेका थिए।त्यसैले त आज उनलाई महात्मा गान्धी भनेर चिनिन्छ।गान्धीले आफ्नो मनलाई जितेको या नजितेको प्रयोग गर्न स्त्रीसंग पूरै रात बिताएको समेत चर्चा छ।अस्त्रको लडाइँ भन्दा मनको लडाइँ हजारौं गुणा शक्तिशाली हुन्छ।परमाणु बम र क्षेप्यास्त्रले जित्न नसकेको लडाइँ मनले जित्न सक्छ।मनले मनसंग गरिने लडाइँमा न त रक्तपात हुन्छ न दमन।हो,ठिक त्यस्तै यौन पनि मनले मनसंग गर्ने एक लडाइँ हो भनेर सम्झ।"
"डियर आनी!के मनले मनसंग गरिएको लडाइँ चाहिँ पाप हैन?आफ्नै मनको हत्या गर्नु अपराध हैन र?इच्छा र चाहनाहरु दबाउनु कमजोरीको निशाना हैन र?घर-गृहस्थी त्यागेर सन्यासी हुनु कुन चाहिँ बिजय हासिल गर्नु हो र?यो त सरासर हार हैन र?वास्तविकता र प्राकृतिक नियमलाई स्वीकार्न नसकेर भाग्नु कायरता हैन र?यदि सबै मनुष्य आनी,लामा र सन्यासी भए भने संसारमा मनुष्यको अस्तित्व रहन्छ र?यो भन्दा ठूलो हार के हुन सक्ला?तिमी पनि जीवनदेखि हरेश खाएर आनी भएको भनेर म कदापि भन्दिन।मेरो भनाइको आशय त्यो हैन।तर घर,परिवार र यौनलाई त्यागेर एक्लो जीवन बिताउनु पनि स्वार्थीपन हैन र?घरजम जस्तो झन्झट बाट भागेको सिद्ध हुन्न र?भागेर समस्याको समाधान नभई वृद्धि हुन्छ।जीवनमा कुनै समस्या भए सामना गरेर अघि बढ्नुपर्ने होइन र?घरमा आगो लाग्यो भनेर निभाउनुको सट्टा घर छोडेर भाग्नु मुर्खता र कायरताको निशानी हैन र?कुनै पनि धर्मकर्ममा बिश्वास राख्नु सकारात्मक कुरा हो तर धर्मको नाममा आफ्नो जीवन नै बर्बाद गर्नु कस्तो खाले धर्मको पालन गर्नु हो र?मेरो कुराले तिम्रो मनमा चोट पुगे माफी चाहन्छु।"
          तत्पश्चात फेसबुकको म्यासेन्जरमा केही दिन निर्जलाको म्यासेज आएन।उनको म्यासेजले खाटा बसिसकेको घाउ पुन आलो भएको र त्यो घाउमा नुनचुक छरिएको आभास हुन्थ्यो आनीलाई।तर केही दिन म्यासेज नआउँदा घाउमा मलम लगाए झैं आनन्दको महसुस गर्न थालेकी थिई।आनी निर्धक्क भएर आफ्नो दैनिक नित्यकर्ममा ब्यस्त थिई।शान्तिको र सन्तुष्टिको श्वासप्रश्वास गर्न थालेकी थिई।तर त्यो क्षण धेरैदिनसम्म टिक्न सकेन।एकदिन फेरि उनको म्यासेन्जरमा म्यासेज आयो र उनीपनि म्यासेजको जवाफ फर्काउन बाध्य भई।
"नारीका देवी,माता,दिदीबहिनी, पत्नी,सासू र बुहारी जस्ता अनेक सम्मानार्थक रुप हुन्छन्।यी रुपहरु बिना संसार बिल्कुल अशोभनीय हुन्छ।नारी भनेका आधा आकाश र आधा धर्ती हुन्।नारी बिना यो सृष्टि चल्न असम्भव छ।तिमी जस्ता नारीहरु सन्यासी भए भने यो सृष्टि रोकिन्छ।कोही नारी आनी र सन्यासी बन्दैमा संसारमा शान्ति हुँदैन।बरु अशान्ति हुन्छ।यौनप्यासी पुरुषहरु अझ प्यासी हुनेछन् र तिमी जस्ता आनीहरु समेत बलात्कारको सिकार हुनेछन्!त्यतिबेला तिमीहरुलाई सान्त्वना दिने कोही हुने छैनन्,बुझ्यौ?"
"हैन निर्जला,मैले तिमीहरूलाई ब्रम्हाचारी बस,आनी बन कहिल्यै भनेकी छैन।सबैको आ-आफ्नो ब्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा छ।मलाई बिचलित बनाउने चेष्टा नगर।तिमीहरू घरजम गरेर आफ्नो जीवन सुखमय बनाउ।म कसैको बाधक बन्न चाहन्न र बनेकी पनि छैन।मलाई मेरो मार्गमा लम्कन देउ।म धेरै पर पुगिसकेकी छु।अब फर्कन सक्तिन।स्वार्थी संसारबाट मैले मुक्ति पाइसकेकी छु।तिम्रो र मेरो मार्ग बिल्कुल फरक छन्।मैले तिमीलाई मेरो मार्गमा डोर्‍याउन खोजेकी छैन।त्यसैले मेरो मार्गमा पनि बाधक भएर उभिनुपर्दैन।"
"म कसैको लागि बाधक बन्न खोजेकी हैन आनी।भीरमा जाने गाईलाई रामराम मात्र भन्न सकिन्छ,काँध हाल्न सकिन्न।गलत बाटोमा जानबाट रोक्नु मानवीय धर्म सम्झन्छु म।यसलाई बाधाको संज्ञा दिन्छ्यौ भने मेरो भन्नु केही छैन।"
"म अनि गलत बाटो?निर्जला,तिमी होसमा त छ्यौ?"
"म पूर्णरूपमा होसमै छु आनी,बरु तिमी बेहोस छ्यौ।अहिले त उमेर छ र एक्लै पनि जसोतसो जीवन गुजार्न सक्छ्यौ।तर जब जीवनले उतरार्धमा पाइला टेक्छ नि,अनि अवगत हुनेछ तिमीलाई वास्तविक जीवनको अर्थ।त्यतिखेर तिमीले चाहेर पनि कसैको साहारा पाउने छैनौ।निरीह शरीर घिसार्दै पछुताउनु बाहेक तिमीसंग दोश्रो बिकल्प हुनेछैन।"
"तिमीले के भन्न खोजेकी?बिहे गर्दैमा बूढो भइँदैन?साहारा पाईन्छ नै भन्ने के ग्यारेन्टी छ?आफूहरु महलमा रमेर बृद्ध बा-आमालाई बृद्धाश्राममा पुर्याएको घटना धेरै देखेकी छु।मलाई सिकाउनु पर्दैन साथी।त्यस्ता छोराछोरीको आमा बन्नुछैन मलाई।"
"सबै छोराछोरी खराब हुँदैनन् आनी।हजारमा एक होलान्।"
"दिनरात पतिको कचकच र पिटाइ सहन सक्तिन म।त्यस्तो पापी र राक्षस पतिसंग बिहे गर्नु भन्दा आनीको जीवन स्वर्गतुल्य छ।तिमी बिहे गर र वैवाहिक सुख पनि तिमी नै भोग,मलाई चाहिएन।"
"त्यस्तो भनेर कहाँ हुन्छ?आइन्सटाइन,न्यूटन,ओल्भर राइट,बिल्भर राइट,डार्बिन र निल आर्मस्ट्रङ जस्ता महान बैज्ञानिक जन्माउने नारी हुन्।राम,कृष्ण र अर्जुन जस्ता महापुरुष जन्माउने पनि नारी नै हुन्।गौतम बुद्ध र जिसस जन्माउने नारे नै हुन्।पृथ्वीनारायण शाह र सम्राट अशोक जस्ता वीर पुरुष जन्माउने नारी नै हुन्।तेन्जिङ नोर्गे,एड्मन्ड हिलारी र पासाङ ल्हमु जस्ता साहसी पुरुष र नारी जन्माउने पनि नारी नै हुन्।कतै तिम्रो कोखबाट पनि संसारमा आमूल परिवर्तन ल्याउन सक्ने कुनै नारी या पुरुषको जन्म पो हुने हो कि के थाहा!त्यसैले आफूलाई बाँझी नराख आनी।आफ्नो कोखको सदुपयोग गर।जन्माउ कुनै महापुरुष या नारी।आफूलाई सावित गर-महान आमा भएर।आमाको गरिमालाई अझ उचाइमा पुर्याउ।यो भन्दा बढ्ता म तिमीलाई के भनुँ र!"
अरुबेला जस्तोसुकै शब्दको तीखो प्रहारले टसको मस नहुने आनीलाई त्यो रातभर निद्रा लागेन।उनको मनभित्र  अनेक कुराहरुको ज्वारभाटा आएर उथलपुथल मच्चायो।उनले आफ्नो मार्गको बारेमा ठन्डा दिमागले सोच्न बाध्य भई।तर अन्ततः उनले त्यत्रो बर्षदेखि गरेको त्याग र तपस्यालाई डगमगाउन नदिने प्रण गरी।जीवनको गोरेटोमा हिंडेर धेरै टाढा पुगिसकेको र फर्कन नसक्ने निष्कर्ष निकाली।

खाङ्बा

खाङ्बा टिक्पे चि जोनी
ओराङ ती ङिङ्ज्य गोनी
देतु दाक्पी लुङबाराङ
सिम्बा मिसिम्बा सोनी।

Saturday, 28 January 2017

सहिद

के मात्र गरेनौ?
भोक प्यास भनेनौ
ब्यक्तिगत स्वार्थ भन्दा
धेरै माथि उठेर
अहोरात्र खट्यौ।

संग्रामी मैदानमा
लड्दा-लड्दै
आफ्नो प्रवाह नगरी
गर्भिलो छातीमा
गोली थाप्न तयार भयौ
देश र जनताको खातिर
जीवन उत्सर्ग गर्यौ।

ज्यान बन्धकी राखेर
अत्याचारीलाई घुंडा टेकाउन
क्रान्तिको राँको बालेर
जलायौ तानाशाही
भत्कायौ पर्खाल
सामन्तीको।

तिम्रो बलिदानीले
संघर्षको आगोमा
घिउ थपियो
बुलन्द बने आवाज
तहसनहस भयो
अहंकारी सत्ता।

ज्यान आहुती दिएर
कालरात्रीबाट मुक्त गर्यौ
आम जनतालाई
जसरी बाघको पन्जाबाट
मुक्त पारिन्छ सिकारलाई
जसरी सुर्यले मुक्ति पाउँछ
ग्रहण बाट।

तर
तिम्रै नामलाई
हतियार बनाई
रातारात भए
कैयौं करोडपति
ठड्याए आलिसान महल
चढ्न थाले पजेरो
उड्न थाले हेलिकप्टरमा
बिर्से तिम्रो बलिदान
स्वार्थीहरु ब्यस्त
मस्त भए सुबिधामा
एकपलको फुर्सद छैन
तिमीलाई सम्झन।

आज के पायौ तिमीले?
नाम मात्रको सहिद?
अवमूल्यन भयो
तिम्रो रगतको मूल्यको
कंगालबाट भए
कति जना मालिक
तर तिमी सिमित भयौ
सालिकमा।

तिम्रो बलिदानी प्रति
कसैलाई छैन गर्भ
छैन पश्चाताप
कसले पछ्याउने
तिम्रो पदचाप?

तिमी त गैहाल्यो
तिम्रो आवसानपछि
जन्मिए
बलात्कारी
आतंककारी
अहंकारी
अनि जन्मिए
जिउँदा लासहरु
धर्तीका बोझहरु।

तर तिमी गएपनि
नेपाल आमाको
काखमै छौ
यही छौ- हाम्रो मनमा
क्रूरतपूर्वक मारिए पनि
तिमी मरेका छैनौ
हर-हमेसा अमर छौ।

ध्यान दिएर सुन

नदी बेचे छैनन् है एउटा
राष्ट्रघाती यो कस्तो सम्झौता
ध्यान दिएर सुन जनता हो
यो भोट हाम्ले जनतालाई दिएका
देशमा बिकास गर्न हो।

चुनाव हुँदा दिनदिनै धाउने
चुनाव पछि मुख देख्नै नपाउने।

संयुक्त गजल

अचेल मलाइ के यस्तो फगत लागेको छ
तिमी मात्रै सोच्ने कस्तो लत लागेको छ
(सोनाम)

माया गरुँ कि भन्छु कसै संग जिबनमा तर,
तिमीले दिएको चोटको खत लागेको छ।।
(टसी)

कसैको जिन्दगी यहाँ बर्बाद भएको देख्दा
कसैलाई भने लाग्नु सम्मको घत लागेको छ

टुडिखेल बेच्न लाई लागि परेको छ अचेल
सरकारी जमिन उसलाई बिरासत लागेको छ।

कसले भन्छ जनता गरीब छन् भनेर यहाँ
सडक बिछ्यौना,आकाशको छत लागेको छ।
(माङ)

Friday, 27 January 2017

प्रेममा अन्धो

उनलाई पट्याउन सकेकोमा मैले आफूलाई अब्बल,सक्षम,सबल र सफल ब्यक्ति ठानेको थिएँ।उनीबाट इच्छाएको कुरा प्राप्त गर्न पाउँदा सर्वस्व पाएको ठान्थें।त्यतिबेला मैले उनको सबै कुरा सुनेको र देखेको थिएँ।मैले आफूलाई बहादुरको संज्ञा दिएँ।तर आज उनी मसंग छैनन्।उनले छोडेर गैसकेकी छिन्।आज बल्ल आफू निरीह भएको भान भएको छ।आफू धेरै असफल,अबला र असक्षम छु  जस्तो आभास भएको छ।मैले केही पनि पाएको रहेनछु बरु उल्टै सर्वस्व गुमाएको रहेछ।केही देखेको रहेनछु।प्रेममा अन्धो भएको रहेछु।बहिरो भएको रहेछु।म कति कायर रहेछु जब कि मेरो मुटु कसैले सजिलै हरण गरेका थिए।तर एउटा कुरामा भने फाइदै भएको छ।प्रेममा अन्धा भएका आँखाहरु पूर्णरुपमा खुलेका छन्।प्रेमको बिषयमा अनबिज्ञ थिएँ।आज ठेली लेख्न सक्ने भएको छु।

क्यानभास

मनलाई क्यानभास,बिचारलाई रङ,जीवनलाई चित्र,ज्ञानलाई प्रज्वलित पानस र संसारलाई गुम्बासित तुलना गर्छिन् आनी डोल्मा।जसरी क्यानभासमा सुन्दर रङहरुले चित्रलाई सुन्दर बनाउँछ,त्यस्तै सुन्दर बिचारले जीवनलाई उस्तै सुन्दर बनाउँछ।बलिरहेको पानसले गुम्बालाई उज्यालो बनाए झैं ज्ञानको ज्योतीले संसारलाई नै प्रज्वलित बनाउन सक्छ।आनीको जस्तै सोचाइ संसारका हरेक मान्छेमा भएमा पक्कै पनि संसार उज्यालो हुनेछ,कहिल्यै रात पर्नेछैन।यो भन्दा ठूलो चमत्कार अरु के हुनसक्ला?तर रङरुपी बिचारलाई कसरी सुन्दर बनाउने,कस्ता खाले रङलाई मिसाउने,के तरीकाले र कतिको मात्राले मिसाउने भन्ने कुरा मनुष्यमै भर पर्ने कुरा हो।खराब र सडिसकेको रङको प्रयोगले चित्र नै खराब बन्छ।त्यसैले बिचारलाई बेला-बेलामा छान्ने र नवीकरण गरिरहनुपर्छ।बिकार चीजलाई छानेर फालिए मात्र बिचार पनि शुद्ध र सकारात्मक रहन्छ।असल र खराब कर्मलाई बेलैमा चिन्न र त्याग्न सक्नुपर्छ।सम्राट अशोक एकासमय कट्टरपन्ती,हिंस्रक र बिस्तारवादी थियो।सकेसम्म आफ्नो राज्यलाई विशाल साम्राज्यको रुपमा खडा गर्न चाहन्थ्यो।समयमै उसले वास्तविक ज्ञान प्राप्त गर्यो।उसले अंगालेको मार्ग उसलाई गलत लाग्यो।तत्कालै उसले आफ्नो मार्ग परिवर्तन गरी अहिंसा अर्थात बुद्धको मार्ग पहिल्यायो।बुद्धको पदचाप पछ्याउँदै,बुद्धज्ञानलाई सन्देशको रुपमा फैलाउँदै गयो।आज उसलाई बुद्धको सफल अनुयायीको रुपमा चिनिन्छ।हिंसालाई नै निरन्तरता दिएको भए उसको अन्त्य पनि हिंसाबाटै हुने निश्चित थियो।आफ्नै दाजुभाइको हत्या गरेर राजसिंहासन प्राप्त गरेका राजाहरुको अन्त्य पनि हत्याबाटै भएको इतिहास साक्षी छ।कमिला,किरा-फट्यांग्रा र जीवजन्तु देखि लिएर मानवजाति सबैको हत्या गर्नु उस्तै दुष्कर्म हुन्।दुष्कर्मले शीघ्र पतनलाई निम्त्याउँछ।खराब आचरण र प्रवृत्तिलाई त्यागेर यहीँ पृथ्वी लोकलाई स्वर्ग बनाउन सकिन्छ।स्वर्गमा पुग्न लाई अर्को जूनीको प्रतिक्षा गर्नुपर्दैन।यही जुनीमा यही नै स्वर्गमा पुग्न सकिन्छ।त्यस्तै नर्कमा पुग्न लाई खराब आचरण र प्रवृतिलाई अंगाले पुगिहाल्छ।यही र यही जूनीमा नर्कमा सजिलै पुग्न सकिन्छ।स्वर्ग र नर्क मध्ये मार्ग चुन्ने-आफैंमा निर्भर रहन्छ।सत्कर्म र दुष्कर्मलाई क्रमशः धर्म र पापको नामले सुचित गरिछ।पापको परिणाम अत्यन्तै भयावह हुन्छ।अक्सर धर्मको परिणाम सुखद हुन्छ।पापको क्षेत्रबाट उम्केर धर्मको मार्गमा पाइला टेक्नु नै मोक्ष प्राप्त गर्नु हो।खराब आचरण र दुष्कर्मबाट टाढिएको अबस्था नै मोक्ष हो,मुक्ति हो।

मनको यात्रा

          मन देखि मनसम्मको यात्रामा यो मनले कति माया प्राप्त गर्यो,कति गुमायो र कति तिरस्कार पायो,सम्भवत:हिसाब किताब छैन।कति ठेस लाग्यो,कति लड्यो,कति रोयो र हाँस्यो।सबै मायाप्रेम र हाँसोका मीठा क्षण र बातहरु भुलिसक्यो मनले।बाँकी छ त केवल तीता पलहरु।मनको आकाशमा कालो बादल मडारिरहेको छ।यो मनको प्रत्यक्ष सम्बन्ध आँखासंग हुने रहेछ,र त घनाघोर अश्रु बर्षा हुन तम्तयार छ।यदि बर्षा भैहाल्यो भने त्यसको सिधा असर परेलीलाई पर्नेछ भने बर्षापछिको बाढी अधरसम्म आएर नुनिलो स्वाद चखाउने निश्चित छ।अधरहरु थर्थराउने छन्।स्वाद चाखेर जिब्रो बेचैन हुनेछ।त्यतिबेला आँखा भन्दा बढ्ता मन रुनेछ तर मनको आफ्नै अश्रु छैन।आँखाको अश्रुले नै चित्त बुझाउनुपर्नेछ।तर मुटुको गतिमा भने अप्रत्याशित फेरबदल हुनेछ।दर्द सहनुपर्नेछ मुटुले जुन मुटुवाला बाहेक अरुलाई अवगत हुन्न,आभास हुन्न,न देखिन्छ नै।त्यसैले त कसैको मुटु दुखेर हायलकायल हुँदा कोही भने उसैको सामू मुस्कुराउँछ,खित्का छोडेर हाँस्छ।यदि दोश्रो ब्यक्तिले पनि त्यो पीडाको अनुभूत गर्न सक्ने भए त्यस्तो हर्कत गर्ने थिएन होला र पहिलो ब्यक्तिलाई साथ दिन्थ्यो होला रुनमा।अनि बाँड्थ्यो होला पीडा।तर उपरवाला त्यस्तो ब्यबस्था गर्न चुक्यो।
        कठै!यो मनको सम्बन्ध पनि कति कमजोर हुनेरहेछ।कुनै बेला एक भएका दुई मनहरु कति सजिलै अलग हुन्छन्!किन स-साना बहानामा मन दुख्ने गर्छ?एक मनले अर्को मनलाई बुझ्न किन यति कठिन?मनले मनलाई माया गरेको किन देख्न सक्दैन अर्को मनले?किन भगवानले यो मनलाई अदृश्य बनाए होला।यो मनको गुनासो छ।वास्तवमा एक मन देखि अर्को मनसम्मको बाटो अक्कर हुनेरहेछ।जाँदाजाँदै लडेर भीरमुनि खस्न पनि सक्दोरहेछ।लडिसकेपछि मन घाइते भएर अर्को मनसम्म पुग्न पनि सक्छ र बीछ बाटोमै देहान्त हुन पनि सक्छ।तर त्यो मनले झेलेको कठिनाइ अर्को मनले किन महसुस गर्न सक्दैनन्?यसरी महसुस गर्ने मन बिरलै पाईन्छ।यदि बुझ्न र देख्न सके दुई मनहरुको यात्रा सहज हुन्छ नै।ती दुई मन त्यसबेला मात्र एक हुन्छन्,अन्यथा मनहरु प्रायः एकलकाँटे नै हुन्छन्।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...