जसरी त्यो रातले दिनलाई निलेर रजाइँ गरिरहेको थियोे,मेरो सपनाको किरणलाई समयको अन्धकारले ख्वाप्पै निलेको थियोे।नचाहँदा नचाहँदै पनि जिन्दगीमा कैयौं उतारचढाव र फेरबदल आउने रहेछन्।त्यसैले त त्यो मध्यरातमा छटपटिएर,निस्सासिएर अनि तड्पिएर जिउँदो लास लिएर बाँचिरहेको थिएँ।ललितपुरको प्रभात कोलोनी बिल्डिङ नं.१,फ्लाट नं.जी-५।ग्राउन्ड फ्लोरमा भएकोले भित्र-बाहिर गर्न निकै सहज थियोे।एकछिन हावा खानलाई बाहिर निस्कन लागें।जी-७ मा बस्ने गोरा र गोरीको रासलिलाको ध्वनिले मनलाई एकछिन रोमाञ्चक बनायो र उत्तेजित पनि।अर्काको ढोका नजिक उभिनु उचित नलागेर मन नलागी नलागी एक्जिटबाट बाहिरिएँ।चुरोट सल्काएर १५ मिनेट जति हावा खाएर भित्र गएँ।भोलि पढाउनुपर्ने फिजिक्सका बिषयबस्तु छर्लङ्ग भैसकेकोले मीठो सपनाको आशामा पल्टिएँ।आँखा मात्र के लागेको थियो,यु एस बाट दाइको फोन आयो।
"कान्छो,हामी भोलि नै नेपाल आउँदैछौं।तिमी त्यहाँ बिहेको तयारी गर है।मेरो घरलाई बेहुली झैं सिंगार्नु है,लागेको खर्च म दिइहाल्छु।"
"हामी भन्नाले को-को दाइ?फेरि बिहे चाहिँ कसको?मैले कुरा बुझिन।"
"म तिम्रो भाउजू लिएर आउँदैछु के लाटा।हामी एक-अर्कालाई अति माया गर्छौं र नेपालमै बाबा-आमाको अगाडि बिहे गर्ने सोच बनाएर आउन लागेका।बाबा-आमालाई पनि गाउँबाट काठमाडौं नै बोलाउ।"
"ए हस् दाइ,हजुरले कुनै टेन्सन लिनुपर्दैन।यताको सबै म्यानेज म गरिहाल्छु।"
"लौ त कान्छो,राखें अहिलेलाई।लब यु।सी यु।"
दाइसँग अझै धेरै बोल्ने चाह हुँदाहुँदै उहाँले फोन काट्नुभयो।दाइले भाउजू लिएर आउँदै गरेको खबरले म एकदमै पुलकित भएँ।मेरो भुईंमा खुट्टा थिएन।मेरी हुनेवाला भाउजू कस्ती हुनुहुन्छ होला भनेर म निकैबेरसम्म सोचमग्न भएँ।दाइ जस्तो ह्यान्सम मान्छेको रोजाइमा परेको भाउजू पक्कै पनि चानचुने त हुनुहुन्न होला,त्यो पनि अमेरिका जस्तो सम्पन्न देशमा बसोबास गर्ने भनेपछि रुप,धन र सम्मानले भरिपूर्ण होला।तर अमेरिका भन्ने शब्दले भने मेरो निको भैसकेको घाउलाई बल्झाएर आलो बनाइदियो,रगतम्य बनाइदियो।अनि आलो घाउमा नुनचुक छर्किदियो।भतभती पोल्न थाल्यो।छट्पटी बढ्यो।बिर्सिसकेको इतिहास पुनः बर्तमान बनेर मुटु दुखाउन थाल्यो।
बाबाआमाको सपनालाई साकार पार्ने अभिप्रायले ललितपुरको अस्कल क्याम्पसमा आई एस्सीमा भर्ना भएँ।एकचोटी त साइन्सका ती ठूल्ठूला ठेली देखेर बिचलित भएको थिएँ तर ती ठेलीबाट ५०% कोर्स मात्र अध्ययन गर्नुपर्ने तथ्य अवगत भएपछि भने केही जोश बढेर आयो।कडा मिहिनेतको परिणामस्वरूप फस्ट एयरमा राम्रै मार्क्स ल्याएँ।शुरुमा नचिनेझैं गर्नेहरुले पनि मित्रताका हात बढाए।कहिल्यै नबोल्ने दिपाले पनि मस्केर बोल्न थाली।झापा स्थायी घर भएको दिपा चपागाईंले दिनप्रतिदिन मेरो नोटबुक लगेर पढ्न थाली।एकदिन उनले मलाई निकै रमाइलो प्रस्ताव राखी।
"अजय हामी कम्बाइन स्टडी गरौं न।यसो गर्दा एकले अर्काबाट सजिलैसँग सिक्न सक्नुको साथै सिकाइ दिगो पनि हुन्छ।"
राम्री केटीले भनेपछि मैले कसरी नाइँ भन्ने।एकछिन सोचेको नाटक गर्दै मैले सहर्षरुपमा ओके भनिदिएँ।
"तर कसको रुममा?"-मैले जिज्ञासा राखें।
"मेरो रुममा नि अरु कसको रुममा हुनु।तिम्रो रुम त्यत्रो टाढा छ।"
अर्को दिनदेखि क्याम्पस सक्ने बित्तिक्कै दिपाको रुममा खाना खाएर कम्बाइन स्टडी गर्न थाल्यौं,आइडिया सेयर गर्न थाल्यौं।दिनभरी उनैको रुममा बसेर म साँझमा मात्र आफ्नो रुममा फर्कन्थें।
"भोलि फेरि यतै आउनुपरिहाल्छ,भो आज यतै बस।"
एकदिन दिपाले खै किन हो उनको रुममा बस्न आग्रह गरी।त्यसै त आफूलाई अल्छी लागेको बेला उनले त्यसो भन्दा त मलाई ठूलो राहत मिल्यो।त्यो रात उनले चिकेन,दाल र भात पकाई।धेरै दिनपछि कुनै स्त्रीको हातले पकाएको खाना खाएर मुख फेर्न पाउँदा म खुशीले गदगद थिएँ।उनको रुममा त बसें तर सुत्ने एउटै बेड मात्र भएकोले असमन्जसमा परें।
"म कहाँ सुत्ने त दिपा?म रुममा जान्छु भनेकै हो नि मैले।ठाउँ न ठहर बुढीको रहर।"
"तिमी पलाङमा सुत न,म भुइँमा सुत्छु।"
"हैन भुइँमा म सुत्छु।"
को भुइँमा सुत्ने भन्ने कुरामा निकै चर्काचर्की भयो।हामी दुवैले आ-आफ्नो अडान छोडेनौं।
"लौ त्यसो भए संगै सुतौं।"-दिपाले फ्याट्टै भनी।
भन्न त भनी तर हामी दुवै एकछिन अलमल्ल पर्यौं।
"ओके।"
मैले नाइँ भन्ने त सवालै थिएन।नाइँ भन्दा नामर्द पनि हुन सक्थें म।
"ओके रे?हेर हेर खुशी भएको?खुशी हुनुपर्दैन मिस्टर।नछोइकन सुत्ने हो।"
उनको एकै वाक्यले मेरो आशाको खम्बा ढले झैं भयो।मैले मलिन स्वरमा भनें-"हुन्छ।"
भोको मान्छेको सामू मासुभात राखे सरह भयो।खाउँ-खाउँ लागिरह्यो।तर बाध्यताले भोको पेट सुते झैं भएँ।मुश्किलले रात गुज्र्यो।हामी संगै सुतेर पनि एकले अर्कालाई स्पर्श सम्म गरेनौं।म सच्चा र इमान्दार ब्यक्ति कहलिएँ।
"तिमी जस्तो हुनुपर्छ क्या लोग्नेमान्छे भनेको।"-खितिति हाँस्दै उनले बिहानतिर जिस्क्याई।
उनको ब्यंग्यबाणले मेरो पुरुषार्थमा नकारात्मक धक्का परेको महसुस गरें।मैले आधा हाँसेर टारें।हामी क्याम्पस गयौं।आई एस्सीको सेकेन्ड एयरमा उनको ऐच्छिक बायोलोजी थियो भने मेरो म्याथ।उनको उदेश्य डाक्टर र मेरो भने इन्जिनियर हुने थियोे।एउटा बिषय फरक भए पनि हामीले कम्बाइन स्टडीलाई निरन्तरता दियौं।दिनहरु बित्दै जाँदा शहरमा महंगी पनि बढ्दै गयो।घरबाट पठाएको खर्चले हामीलाई धान्न हम्मेहम्मे भयो।हामीले एउटा निकै फाइदाजनक निर्णय गर्यौं-एउटै कोठामा बस्ने।खर्चलाई न्यूनीकरण गर्ने त्यो भन्दा अर्को बिकल्प थिएन।मैले आफ्नो सामान सबै लिएर ललितपुरको उनको कोठामा गएँ।एउटा कोठामा दुईवटा पलाङ भए।सायद मेरो इमान्दारिता देखेर उनले संगै बस्ने मेरो सल्लाहलाई स्वीकार गरेकी थिई।सेकेन्ड एयरको जाँच आउनै लागेकोले पढाइमा निकै जोड दिन थाल्यौं।एकदिन उनको बेडमा मिलेर पढ्दापढ्दै दुवैजना कतिखेर भुस भयौं थाहै भएन।आँखा खुल्दा म उनीसँगै टाँसिएर सुतिरहेको रहेछु।म झसङ्ग भएँ।मुटुको ढुकढुकी बढ्यो।म जुरुक्क उठेर आफ्नो बेडमा गएँ।
"म त तिम्रै बेडमा निंदाएछु त,उठाउनु पर्दैन?"-बिहान उठ्नेबित्तिक्कै मैले दिपालाई प्रश्न तेर्स्याएँ।
"हा हा हा,थाहा छ मलाई।तिमी त सुतिहाल्यौ,किन डिस्टर्ब गर्ने भनेर म पनि सुतें।"-हाँस्दै जवाफ दिई उनले।
उनले त्यो दिन ग्रीन सिग्नल दिए झैं लाग्यो तर मैले पाइला अगाडि बढाउन भने सकिन।मनमनै उनलाई दिलको सिंहासनमा सजाउन थालें।उनको हरेक कुराकानी र कृयाकलाप मीठो लाग्न थाल्यो।उनलाई सदाको लागि मनकी रानी मान्न मन लाग्यो।आफ्नो बनाउने सपना बुन्न थालें।सायद उनले पनि मलाई मन पराउछिन् झैं लाग्यो।भ्यालेन्टाइन डे को दिन मैले उनलाई प्रोपोज गरें।उनले सहर्ष स्वीकारिन्।हामी एक अर्काका परिपुरक भैसकेका थियौं।एकदिन मैले उनलाई सेक्स प्रस्ताव राखें।उनले मौन स्वीकृति जनाईन्।हामी शारीरिक र भावनात्मक रुपमै एक भयौं।लिभिङ टुगेदरको रिलेसनसिपमा थियौं हामी।बिहे बिना नै श्रीमान-श्रीमती जस्तै भयौं।सुख-दु:ख बाँड्न थाल्यौं।सानो कोठा हाम्रो लागि स्वर्गतुल्य थियो।दरबार भन्दा भव्य र आलिशान महल भन्दा प्यारो थियो।सम्बन्धले हाम्रो पढाइलाई खासै असर गरेन।राम्रो मार्क्सका साथ दुवैले आई एस्सी पास गर्यौं।उनले एम बि बि एस र मैले इन्जिनियरिङको लागि सरकारी कोटामा नाम निकाल्ने कोसिस गर्यौं तर असफल भयौं।परिणामस्वरूप मैले बि एस्सीमा भर्ना गरें तर दिपा भने स्टुडेन्ट भिसामा अमेरिका जाने तयारी गर्न थाली।
"दिपा नजाउ न यार।पढ्नको लागि बिदेश नै जानुपर्छ र?यही पनि राम्रा राम्रा क्याम्पस र युनिभर्सिटी छन्।लगनशील भैयो भने यही हुन्छ प्रगति।"
मैले धेरै सम्झाएँ उनलाई तर उनले उल्टै मलाई सम्झाई।
"यु एस भनेको यु एस हो नि।लाइफ सेटल हुन्छ छिर्न सकेको खण्डमा।म छिरें भने तिमीलाई पनि उतै तान्नेछु म।"
"के तिमीलाई मेरो माया लाग्दैन दिपा?यदि मेरो माया लाग्छ भने नजाउ तिमी।"
"माया लाग्छ नि डियर किन नलाग्नु।तर माया लाग्छ भन्दैमा जीवनलाई अन्धकारतर्फ धकेल्नु पनि त भएन नि।"
"मसंगै नेपालमा बस्दा कसरी जीवन बर्बाद हुन्छ र दिपा?यस्तो के भनेकी तिमीले?"
"म अमेरिका जान लागें भनेर जेलस नहुनु अजय।मेरो सफलतामा तिमी जल्न लागे जस्तो छ।"
मलाई उनको कुरा चित्त बुझेन र उनलाई मेरो।त्यही बिषयमा मनमुटाव बढ्दै गयो।हेर्दाहेर्दै उनले अमेरिका जाने भिसा पाई।अमेरिका भनेपछि घृणा किन पनि लाग्थ्यो भने मेरो जेठो दाइ पनि अमेरिका छिरेको दशक भएको थियो।न त एक पैसा काम लागेन न त मान्छे नेपाल आएन।कसैको लागि काम नलाग्ने अमेरिका किन जाने भन्ने मेरो तर्क थियो।आखिर मेरो कुरा नसुनेर उनले मसंग ब्रेकअपको घोषणा समेत गरी।मैले फेरि एकपल्ट सोच्न आग्रह गरें तर उनले त्यो नै अन्तिम निर्णय भएको सुनाई।त्यो रात हाम्रो सम्बन्धको अन्तिम रात थियो।भोड्का ल्याएर दुवैजनाले शीर उठाउनै नसकिने गरी पियौं र ब्रेकअपको घोषणा गर्यौं।मैले तुरुन्तै अर्को रुम लिएँ।उनको फ्लाइटको दिन एयरपोर्टसम्म पुर्याइदिएँ र सदाको लागि बिदाइको हात हल्लायौं।ब्रेकअप भैसकेकोले उनी जाँदा मलाई खासै दुखेन।डाक्टर हुने सपना बोकेर उनी अमेरिका उडिन्।
तर आफू भने नेपालमा गुड्न समेत सकिन।बाबा स्कुलबाट रिटार्यर्ड हुनुभयो।भने जस्तो खर्च पठाउन सक्नुभएन।मैले कोठामै बच्चाहरूलाई ट्युसन पढाएर गुजारा चलाएँ।दिपाले आफ्नो फेसबुक,ट्वीटर र स्काइप आइडीहरु सबै डियाक्टिभ गरी।उनीसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन सकेन।ब्रेकअप भएको पनि पाँच साल भैसकेको थियोे।मैले एम एस्सी पास गरेर अस्कलमै टिचिङ गर्न थालेको थिएँ।बाबाले बनाउन खोज्नुभएको इन्जिनियर बन्न सकिन।उहाँले जे नबन भन्नुभएको थियो,म त्यही बनें।दाइ पनि अमेरिकाबाट आएर काठमाडौंमा घर किनेर फर्किनु भयो।दाइको घरको जिम्मा मलाई दिनुभएको थियो तर म त्यहाँ नबसेर ललितपुरको प्रभात कोलनीमा एपार्टमेन्ट भाडामा लिएर बस्न थालें।म एक्लो भएकोले मलाई कसैको लागि कमाउनु थिएन।कमाएको सबै फ्लाटको भाडा र खानपिनमा खर्च हुन्थ्यो।बिहे गर्नाको लागि शारीरिक रुपमा तयार भएपनि मानसिक रुपमा तयार भएको थिईन।त्यो पाँच सालको अवधिमा निष्ठुरी दिपाको याद करोडौं पल्ट आए होला।लाखौं पल्ट उनको नाम लिएँ हुँला।हजारौं पल्ट उनको तस्वीरमा स्पर्श गरें हुँला।तर खै उनले कतिपल्ट सम्झिन्,केही थाहा भएन।जति सम्झेपनि उ आफैं जानून्।
दाइको फोनले मलाई पूरा रात सुत्न दिएन।निष्ठुरीसंग बिताएका पलहरुको स्मरणमै उज्यालो भएछ।दाइ र भाउजूको बिहेको कुराले भने म चाहिने भन्दा बढी नै उत्साहित थिएँ।हुन त दाइले मेरो लागि केही गर्नुभएको थिएन।तर रगतको नाता भएकोले मैले आफ्नो जिम्मेवारी र उतरदायित्व पूर्ण गर्नु थियोे।दाइको घरमा पेन्टिङ गर्न लगाएँ।घरभित्र धेरै सामानहरुले सजाएँ।अरुभन्दा पनि दाइ-भाउजू सुत्ने रुमलाई आकर्षक तरीकाले सजाएँ।हनिमुन मनाउने जोडीको लागि निकै कसरत गरेर
बेड मिलाएँ।हेर्दै लोभलाग्दो भयो रुम।मैले कुनै रुपसीलाई बिहे पश्चात त्यही बेडमाथि हनिमुन मनाएको परिकल्पना सम्म गर्न भ्याएँ।
"धत!यो बेड त दाइ-भाउजूको हनिमूनको लागि पो त!मुला यस्तो पनि सोच्छस्?"
यति भन्दै मैले आफ्नो गालामा दुई थप्पड हानें।साँझ झमक्क परिसकेको थियो।बरन्डामा निस्केर दाइ भाउजूको प्रतिक्षा गर्न थालें।एउटा ट्याक्सी आएर घर अगाडि टक्क रोकियो।दिप झैं धपक्क बल्ने अप्सरा जस्ती स्त्री र एकजना सुन्दर युवक ट्याक्सीबाट बाहिर निस्के।उहाँहरुनै मेरा दाइ भाउजु हुनुहुंदोरहेछ।ड्राइभरले सामान झारेर पैसा लिएर गैहाल्यो।मद्दतको लागि म ढोका सम्म गएँ।दाइले शुरुमा घरभित्र पाइला टेक्नुभयो र पछि-पछि भाउजूले।संघारमा पाइला मात्र टेकेकी थिई।हाम्रो नजर एक-आपसमा जुधे।म झसङ्ग भएँ।उनले पनि मुहार बिगारे झैं लाग्यो।जीउडाल काटाकुटी दिपाको झैं थियो।
"नमस्ते भाउजू!"
"नमस्कार बाबु!"
यति मात्र कुरा भयो।लगेजहरु लिएर भित्र पुर्याएँ।
"आम्मै!मेरो भाइले घर त मज्जाले सजाएछ।"
दाइ अरु पनि के-के भन्दै हुनुहुन्थ्यो।मेरो ध्यान दाइ भन्दा भाउजूतिर थियो।दाइले भाउजूलाई के नामले बोलाउने रहेछ भनेर म उत्सुक थिएँ।जीउडाल र रुप मिल्दैमा त्यो स्त्री दिपा हुनसक्तैन भन्ने मेरो मनमा आयो।मैले पुनःभाउजूको अनुहार नियालें।दिपा भन्दा अलिकति फरक रहेछ।मन ढुक्क भयो।ठूलो बिपत्ति बाट उम्के झैं अनुभूत गरें।
"शरु आजको डिनर के खाने?"
दाइको एउटै प्रश्नले मैले खोजेको सबै उत्तर दियो।ब्रेकअप भैसकेको दिपा हो-होइन भनेर छुट्याउन म किन उद्धत थिएँ-आफैं अनबिज्ञ थिएँ।भाउजू दिपा हैन रहेछ भनेर किन आल्हादित भएको थिएँ-त्यो बिषयमा पनि बिल्कुलै अनबिज्ञ थिएँ।डिनर पछि दाइ-भाउजूलाई दोस्रो तल्लामा मिलाइएको बेडमा पठाएँ।केहीबेरमा म पनि माथि उक्लेर गफ गरें।उहाँहरु एउटै बेडमा सुत्न आतुर थिए।त्यसको मतलब उहाँहरुको हनिमुन पहिल्यै भैसकेको थियो।केवल देखाउनका लागि बिहे गर्दै हुनुहुन्थ्यो।उहाँहरु बीच सबैथोक भैसकेको थियो,जसरी दिपा र मेरो बीचमा भएको थियो।डिस्टर्ब गर्नुहुन्न भन्ने सोचेर म तल झरें।सुत्नुअघि उहाँहरुको सामान खोतल्न मन लाग्यो।दाइको एकजोर जुत्ता,पाइन्ट र टिसर्ट निकालेर आफ्नो बनाएँ।सबै सामान खोतलिसकेर सुत्न जान लागें।अन्तमा खै के मन लागेर हो,भाउजूको ब्याग खोतल्न मन लाग्यो।के खोज्दै थिएँ,मलाई नै थाहा थिएन।भाउजूको पासपोर्ट शुरुमै भेट्टाएँ।
"नाम:दिपा चपागाइँ
जिल्ला:झापा।"
मेरी भाउजू कोही नभएर दिपा नै थिई।मेरी भू.पू.प्रेमिका।पाँच सालपछि देखेकोले अलिकति फरक लागेको रहेछ उनको रुप।हुन पनि संसारमा सबै कुरा परिवर्तनशील हुनेरहेछ।उनको रुपमा थोरै परिवर्तन भएपनि पूर्णरुपमा भने परिवर्तन भएको रहेनछ।सायद समयको कमीले होला।व्यबहारमा नाम परिवर्तन भए पनि पासपोर्टमा भने परिवर्तन गर्न सक्नुभएनछ।सकोस् पनि कसरी।मैले आफूलाई सम्हाल्न सकिन।सत्य कुरा दाइलाई भन्नुपर्यो भनेर फेरि माथि उक्लें।अनौठो खालको आवाज सुनेर म तलै झरें।रातभरी सुत्न सकिन।बिहान दाइलाई हाम्रो अतीतको बारेमा भन्न खोजें।
"दाइ,भाउजू,,,भाउजू••••••"
"तिम्री भाउजू कति शालिन,सुन्दरी,सहनशील र सुशील छे भाइ।अचेल यस्ती श्रीमती पाउन मुस्किल छ।"
"हजुर दाइ।अनि पासपोर्टमा भाउजूको नाम त अर्कै रहेछ त दाइ।"
"घरमा बोलाउने नाम शरु रे भाइ।"
झल्याँस्स सम्झें।एकपल्ट दिपाले त्यो नाम उच्चारण गरेकी थिई तर मैले याद गरेको रहेनछु।मैले भन्नुभन्दा पहिले उहाँले भनेपछि मैले अरु केही भन्न सकिन र भन्ने जरुरत पनि ठानिन।त्यो दिन बाबा-आमा पनि गाउँबाट आउनुभयो।तीनदिन पछि मन्दिरमा सामान्य टीका-टाला गरेर दाइ-भाउजूको विवाह सम्पन्न भयो।मेरी भू.पू.मायालु सधैंको लागि विधिवतरुपमा भाउजू हुनुभयो।म आफ्नो पेशामा कार्यरत भएँ।बाबा-आमालाई घरमा राखेर दाइ-भाउजू फेरि अमेरिका उड्नुभयो।सबैजना भन्दै हुनुहुन्थ्यो-"तिमी पनि अब यही घरमा बस्नुपर्छ,आफ्नो घर हुँदाहुँदै किन भाडामा बस्छौ?"
"भैहाल्छ नि।"
मेरो छोटो जवाफ नै सबैको लागि काफी थियो।तर म त्यो घरमा आए पनि बास कहिल्यै बसिन।त्यो घरमा बास बसेको खण्डमा मेरो अतीत बल्झिने डर थियो।भाउजू जस्तो पवित्र नातालाई म धमिल्याउन चाहन्नथें।दाइ-भाउजू जानुभएको ठ्याक्कै महिनादिन भएको थियो।सबेरै म आइ एस्सी प्रथम बर्षका बिद्यार्थीहरुलाई अध्यापन गर्दै थिएँ।एक्कासी मोबाईलमा म्यासेजको टोन बज्यो।भाउजूले म्यासेज पठाउनुभएको रहेछ।
"बाबु!बिगतमा भएको घटनालाई एउटा दुर्घटना सम्झेर बिर्सिदेउ।सक्छौ भने मलाई माफ गरिदेउ।"
Wednesday, 4 January 2017
ब्रेकअप
Subscribe to:
Post Comments (Atom)
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...
No comments:
Post a Comment