Sunday, 8 January 2017

छापामार

    नयाँ दिल्लीका झिलिमिली शहर पनि लोडसेडिङले ग्रस्त अन्धकार शहर झैं लाग्थ्यो।फराकिला सडकहरु पनि साँघुरा लाग्थे।मनमा अनगिन्ती चोट र ब्यथा भएपछि स्वर्ग जस्तो संसार पनि स्वत:नर्क लाग्नेरहेछ।वास्तविक सुख बाहिर नभई मनभित्र हुनेरहेछ भन्ने तथ्यको अवगत त्यतिखेर भयो।दिल्लीको एक नामी तथा सुविधासम्पन्न पाँचतारे होटल-"द ताजमहल होटल" मा एक सामान्य सेकुरिटी गार्डको रुपमा कार्यरत थिएँ।मनभित्र ९ रेक्टरको भुकम्पले हलचल ल्याएको बेला ती सुबिधा र चौरासी ब्यन्जनका परिकार पनि ब्यर्थ र खल्लो लाग्थे।हजारौं हन्डर खाएर म त्यहाँसम्म पुगेको थिएँ।
"बहादुर!तुम एक काम भि ढंगसे नही करते हो।काम चाहिए या नही?ईस तरह काम करेगा तो कैसे चलेगा।तुम्हारा ध्यान कहाँ है बहादुर?"
होटलको सेकुरिटी सुपरभाइजर फत्फताउँदै थियो।
"ओके साब मै अच्छा तरह ड्युटी करुँगा,माफ किजिएगा।"
मैले त्यति भनेर आफ्नो जागिर बचाउने चेष्टा गरें।सुपरभाइजर मौन भई मदेखि टाढियो।बिरानो देशमा अर्काको आदेशको पालना गर्नु र गाली गलौज सहनुपर्दा आत्माग्लानीको महसुस भयो तर काम छोडेर स्वदेश जान पनि सक्दिनथें।मेरो मन ठेगानमा नभएकोले कार्यमा एकाग्र हुन सकिन।जस्तोसुकै सुझाब र धम्कीले पनि मेरो कार्यशैलीमा प्रगति नआएको देखेर सुपरभाइजरले म्यानेजरलाई मेरो बारेमा सिकायत गरेको रहेछ।म्यानेजरले मेरो समस्याको बारेमा खुलेर बोल्न लगायो।म्यानेजर मैले सोचेको भन्दा बिल्कुल फरक मान्छे रहेछ।उसको सामू खुलेर बोल्न मलाई खासै असहज भएन।मैले आफ्नो मानसिक तनावको बारेमा म्यानेजरलाई खुलस्त पार्न थालें।
         मध्यमबर्गीय परिवारमा जन्मेर हुर्केको मैले काठमाडौंको आर आर क्याम्पसबाट आइ ए सम्मको अध्ययन पश्चात् गाउँकै स्थानीय बिद्यालयमा अंग्रेजी शिक्षक भई अध्यापन गर्न थालें।दु:ख र समस्याहरुको भूमरीबाट भर्खरै निस्केको थिएँ।दुई छोरी सहितको परिवारमा शरद र शिशिरको अन्त्य भएर सुखद बसन्तको पालुवा पलाइरहेको थियो।बिद्यालय नजिकै चिया तथा खाजा पसल पनि चलाएका थियौं।मेरी पत्नीले पसल चलाउँथी र म दिउँसो बिद्यालय जान्थें।मलाई गाउँमै एउटा असल र नमूना शिक्षकको रुपमा चिन्थे।हुन पनि गाउँमा शेर्पा समाजबाट म नै पहिलो शिक्षक थिएँ।पासाङ सर भनेपछि बिद्यार्थीहरुले पनि खुब इज्जत दिन थालेका थिए।तर जीवनमा कतिबेला आँधीबेहेरी आइदिन्छ,कुनै ग्यारेन्टी नहुने रहेछ।एकदिन गाउँमा बिहे परेको हुँदा निम्तो मान्न गएको थिएँ।शेर्पा समाजमा मदिरा सेवन नगर्ने कमै हुन्छन्।म पनि टाढा थिईन मदिराबाट।सोलमारीको सेवनले सबै जना नशाले झ्याप थिए।म र एकजनाको बीचमा सामान्य वादविवाद बाटै हात हालाहालको वातावरणमा सृजना भयो।उसको पक्षमा दावा पनि उठेर हात हाल्यो।मैले उफ्री-उफ्री दुईतीन किक हानेपछि उसको नाक-मुखबाट रक्तस्राव हुन थाल्यो।केही गाउँलेहरुले छुट्याएपछि हामी आ-आफ्नो गन्तव्यतिर लाग्यौं।लफडा परेको दुईदिन बितिसकेको थियो,अर्थात झगडाको बिषय लगभग सेलाइसकेको थियो।तेश्रो दिन म मर्माहत भएँ जब दावाले संसार त्याग गरेको खबर मेरो कानमा पर्यो।एकछिन त मैले आफ्नो कानलाई बिश्वासै गर्न सकिन तर बिश्वास नगरी सुखै थिएन।त्यो कुनै कपोकल्पित र भ्रामक प्रचारबाजी नभएर वास्तविकता थियो।पोस्टमार्टमको लागि अस्पताल लगिएको र मृत्यू नभई हत्या भएको प्रमाणित भएको खबर बाहिर आयो।सो खबर सुनेर मेरो मुटुले ठाउँ छोड्यो।भय र त्रासले बसिराख्न दिएन।मेरो भोक,प्यास र निद्रा हरण भए।कुन बेला पुलिस आएर मामाघरमा जाकिदिने हो,केही भन्न सकिने स्थिती भएन।
"बुढी हो,छोरी हो,भाग्यले हामीलाई सुखसाथ संगै जिउन नदिने भयो।म केही दिनको लागि बाहिर बस्नैपर्छ।यहाँ बसिरहने हो भने मलाई पुलिसले घोक्रेठ्याक लाएर लानेछन्।म बाट ठूलो गल्ती भयो।तिमीहरू राम्ररी बस,भाग्यले साथ दिए अवश्य सकुशल फर्कनेछु।मलाई बिदा देउ।"
मेरो कुराले परिवारका सदस्यहरू त्रसित भएर बिलौना गर्न थाले।उनीहरूले कुनै सल्लाह र सुझाब दिन समेत सकेनन्।दिनको तीन बजेतिर मैले आफ्नो झुपडी छोडेर ओरालो लागें खोलै-खोला।उसै त मेरो जीवन ओरालो लागिसकेकै थियो।उकालो र तेर्सो भन्दा ओरालो भाग्न नै सहज लाग्यो।मनमा भय र पीडा लिएर अनिश्चितकालीन यात्रा तय गर्न थालें।
              कुहिरोमा हराइरहेको लक्ष्यबिहीन र गन्तव्यहीन काग जस्तै भौतारिँदै जाने क्रममा अन्जान र अपरिचित ठाउँ र घरहरूमा बास माग्दै ,छाक टार्दै हिंडें।जनाअन्दोलनको उद्घोष भएको करीब ४ बर्ष जति भएको हुँदा बास माग्दा असहजता,अप्ठ्यारा र जटिलताहरु झेल्नुपर्यो।नेपालका गाउँलेहरु खुल्ला हृदयका हुनेरहेछन् भन्ने कुराको पुष्टि त्यतिबेला भयो।भौतारिंदै जाने क्रममा तेश्रो दिन क्रान्तिकारी पार्टीको नेताहरुसंग साक्षात्कार भेट भयो।मैले आफ्नो ब्यक्तिगत समस्यालाई जस्ताको तस्तै राखें।नियोजित र षड्यन्त्रपूर्वक हत्या नगरी मेरो हातबाट दुर्भाग्यबश हत्या भएकोले उनीहरुले आफ्नो पार्टीमा मलाई स्थान दिए।उनीहरूले मेरो क्रान्तिकारी नाम राखिदिए-ज्वाला।भेट भएकै दिनदेखि तालिम र प्रशिक्षणहरु दिए।पढेलेखेको भएकोले उनीहरुको सिद्धान्त बुझ्न र पार्टीमा उल्लेखनीय भूमिका निर्वाह गर्न खासै कठिन भएन।एक हप्तापश्चात भएको दौड प्रतियोगितामा प्रथम भएर नेताहरुको मन जित्न सफल भएँ।भरुवा बन्दुकको फायरिङमा पनि चाँडै दक्ष भएर देखाएँ।तत्पश्चात मेरो योग्यता र दक्षताको मध्यनजर राखी मलाई १५ जनाको ग्रुप इन्चार्ज बनाइयो।मलाई ब्यक्तिगत सुरक्षार्थ एउटा पेस्तोल थमाए।विभिन्न तालिम र प्रशिक्षणले देश र जनताको मुक्तिको खातिर ज्यान बलिदान दिन पछि हट्न नहुने र दलाल,पूँजिबादी,तानाशाही,नोकरशाही,शोषक र सामन्तीहरुलाई जरैदेखि उखेलेर निमिट्यान्न पार्ने जोश र उमंग भरिदिए।मार्ने वा मर्ने नै प्रमुख उदेश्य थियो।कसलाई काट्ने,गोली ठोक्ने र मार्ने भनेर मन आतुर र उद्धेलित थियो।उतिनैखेर दोलखामा खुंखार भनेर चिनिएका क.किरण,क. प्रभात,क.ललिता र क. कृपासुर जस्ता प्रतिभाशाली नेताहरुलाई एक इन्चको दूरीबाट अध्ययन गर्ने मौका पाएँ।मैले पनि आफ्नो बुत्तो र क्षमताले भ्याएसम्म पार्टीको निमित्त काम गरेर देखाएँ।तीन महिनापछि मेरो कार्यक्षेत्र दोलखाबाट रामेछापमा स्थानान्तरण भयो।क.किरणको नेतृत्वमा परिचालन गरिएको टोलीले रामेछापको बाम्तीभण्डारको एकजना भू.पू.बृटिश आर्मीलाई कारबाही स्वरुप दुवै हात काटिदिए।भएको नगद र भरुवा बन्दुक कब्जा गरियो।एकपट्टिको हात काट्ने जिम्मा मलाई दिएका थिए तर मैले हिम्मत जुटाउन नसकेकोले अरुले नै त्यो काम फत्ते गरे।
"क.ज्वालाले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसकेकोले उहाँले सजाय बापत दुई दिनसम्म भोकै बस्नुपर्नेछ।"
"माफ गर्नुस् कमरेड।आईन्दा म आफ्नो दायित्व र जिम्मेवारी बाट पन्छिने छैन।"
उनीहरूले मेरो कुरामा ध्यानै दिएनन्।पानी मात्र पिएर बिना खाना दुईदिनसम्म भोकै हिंड्दा मेरो सास नै रोकिएका झैं भएको थियो।अझ एकजना महिला कमरेडले लुकाएर मकै नदिएको भए सायद मर्ने थिएँ होला।छ महिनापछि शिवालयमा भएको नेपाली सेनासँगको दोहोरो मुठ्भेटमा दुईजना सेना र तीनजना क्रान्तिकारीले घटनास्थलमै ज्यान बलिदान दिए।त्यो घटनापछि मलाई ५० जनाको इन्चार्ज बनाइयो।१० जना महिला र ४० जना पुरुष छापामारहरुको नेतृत्व मैले गर्नुपर्ने भयो।पार्टीमा प्रबेश गरेको एक बर्ष भएको थियो।ठोसेको एउटा घरमा राती प्रशिक्षण कार्यक्रम चलिरहेको थियो।नेपाली सेनाले प्रहार गरेको खबर आयो।कोही झ्याल र कोही ढोकाबाट भाग्न थाल्यौं।हामी उनीहरूको घेरामा परिसकेका थियौं।मैले सबै छापामारलाई एक्सन लिने आज्ञा दिएँ।दोहोरो भिडन्तमा दुवैतर्फ धेरै मानवीय क्षति भयो।भरुवा बन्दुक एकचोटि भन्दा बढी पड्काउन सकिन्नथ्यो।हामी करीब करीब निशस्त्र भएका थियौं।कोही भागे भने कोही फन्दामा परे।मैले गोली लागेर ढलेको नाटक गरें।उनीहरूले गोली चलाएनन्।मेरो वरिपरि घुमेर हेरे।जून टहटह लागेकोले मैले सबै दृश्य छर्लङ्ग देखिरहेको थिएँ।मरेको भन्ठानेर मलाई छोडेर जान लागे तर चार जना सेना अगाडि उभिरहेका थिए।जुरुक्क उठेर एकजनाको बन्दुक खोसेर भुटुटु चारैजनालाई भुटिदिएँ।हामी ५० जनामध्ये सायद १५/२० जनाले शहादत प्राप्त गर्नुभएको अनुमान गरें।हस्याङ र फस्याङ गर्दै ३०/४० किलोमिटरको दुरीमा पुगेर क.प्रतिमासंग सम्पर्क गर्न भ्याएँ।सेनातर्फ पनि अतुलनीय क्षति पुगेकोले त्यहाँ आउने कुरै थिएन।एउटा घरमा बास माग्यौं तर शसस्त्र बिद्रोही भन्ने चिनेर बासै दिएनन्।अर्को घरमा पति-पत्नी भनेर ढाँटेपछि बल्ल बास पाइयो।सुत्ने र ओढ्ने कुराको समस्या भएकोले युद्धबाट बल्लतल्ल ज्यान जोगिएर लखतरान भएको बेला संगै नसुती धरै पाइएन।मस्त निंदाएर ब्युंझिने बेला क.प्रतिमा आफ्नो छाती मतिर टाँसेर निंदाइरहेकी थिई।स्त्रीलाई स्पर्श मात्र नगरेको पनि एक बर्ष भन्दा बढी भएकोले म एक्कासी उत्तेजित भएँ।उनको शरीरमा सुम्सुम्याउन थालें।चुम्बन गरें।चुम्बकका बिपरित ध्रुवहरु झैं हामी एक-अर्कामा आकर्षित भयौं।एकैछिनमा संसारकै सबैभन्दा मीठो फल खान थाल्यौं।
"क,क,कम,रे,ड•••••••••"
एकअर्कालाई कमरेडको नामले बोलायौं।भिडन्तमा त्राही-त्राही भएर आएपनि त्यतिखेर हामी निर्धक्क एक-अर्कामा लिप्त थियौं।किन पहिल्यै यो पार्टीमा आएनछु जस्तो लाग्यो।कुनै स्त्रीसंग सबैभन्दा सन्तुष्ट म त्यतिबेला भएको थिएँ।किन मान्छेहरु परस्त्री र पर-पुरुषसंग लिप्त हुन्छन् भन्ने प्रश्नको गतिलो उत्तर त्यहाँ पाएँ।त्यो निर्जन र अन्धकार रात पनि हाम्रो लागि झिलिमिली पूर्णिमा झैं लाग्यो।त्यो दिनदेखि हामी १ महिनासम्म माथि लेकतिरै ब्यस्त भयौं,मस्त भयौं।पार्टी परित्याग गरेर त्यतै घरजम गरेर बस्न मन लाग्यो।निसंकोच हामी निर्बस्त्र भएर गुफामा दिनरात बिताउन थाल्यौं।च्याउ,भ्याकुर,चराचुरुङ्गी र जीवजन्तुको सिकार गर्दै जीवन ब्यतित गर्न थाल्यौं।तर बिस्तारै पार्टी र देशप्रतिको जिम्मेवारीले तान्न थाल्यो र हामी पनि बेशी झर्यौं।मुश्किलले पार्टीका नेताहरुसंग सम्पर्क कायम भयो।उनीहरूले हामीलाई सहिद बनाइसकेका रहेछन्।हामीलाई देखेर सबैजना हर्षले आल्हादित भए।बिस्तारै पार्टीले हाम्रो सम्बन्धको बारेमा मुख खोल्न थाले।संयोगबश प्रतिमा दुई जीउकी भई।घरमा पत्नी भएकोले मलाई प्रतिमा निल्नु न ओकल्नु झैं भयो।मैले सबैलाई यथार्थ भनिदिएँ।प्रतिमाको मायाप्रेम र तपस्याको कारण मैले थप सजाय नपाउने भएँ।उनले क.ज्वालाको घरमा पत्नी भएको थाहा हुँदाहुँदै पनि स्वेच्छाले शारीरिक सम्पर्क राखेको भनेर सुनाई।पार्टी र संगठनको नियमानुसार मैले प्रतिमालाई पत्नीको रुपमा स्वीकार गरें।क्रमशःक.प्रतिमाको पेट बढ्दै जान थाल्यो र त्यो प्राकृतिक तथा स्वभाविक प्रकृया नै थियो।मैले उनलाई पार्टी छोडेर आफ्नो ख्याल राख्न आग्रह गरें तर उनले संगै जिउने र संगै मर्ने कसम खाई।देश र जनताको खातिर जस्तोसुकै कठिन परिस्थितिमा पनि लड्दालड्दै मरे पनि गुनासो नभएको अठोट सुनाई।गर्भमा बच्चा छ महिनाको हुँदा रामेछापको बेथान चौकीमाथि धावा बोल्ने योजना बन्यो।मैले प्रतिमालाई १० औंला जोडेर आफू र पेटमा भएको बच्चाको ख्याल गर्न अनुरोध गरें तर उनी निर्भिक र निडर भई युद्धमा भाग लिई।दोहोरो भिडन्तमा कैयौं सेना र छापामारले शहादत प्राप्त गरे।मेरो ज्याकेटको पछाडि पट्टि गोली छिरेर प्वालै प्वाल थिए।मेरो दाहिने हातमा गोली लागेर घाइते भएँ।क.प्रतिमाको छातीमा गोली बर्सिए।मेरी प्रतिमाले संसार छोडेर गई।आफ्नो गर्भमा भएको छ महिने भ्रुण पनि संगै लगेर गई।मलाई लडाइँको मोर्चामा एक्लो बनाएर गई।मोर्चामा त म बाँच्न सफल भएँ तर मर्नु भन्दा बाँच्नु मेरो लागि कठिनाइ भयो।चौकी कब्जा गर्यौं तर त्यो भन्दा हजारौं गुणा महत्त्वपूर्ण साथ र माया गुमाएँ।त्यसपछि मेरो कार्यक्षेत्र दोलखामा पर्यो।घर छोडेको दुई बर्षमा परिवार भेट्न आएँ।पसलको ढोका ढकढक्याएँ।शुरुमा त खोल्नै मानेनन् तर लगातारको प्रहारपछि छोरीले ढोला खोली।सरासर पत्नीको ओछ्यानमा गएँ।मेरी पत्नी मेरै शिक्षक मित्रसँग मस्त सुतिरहेकी थिई।खुकुरी निकालेर प्रहार गर्न थालें।पत्नीले रोकतोक गर्दा उ भाग्न सफल भयो।आफ्नो धर्मपत्नीलाई परपुरुषको अंगालोमा देखेर म पागल भएँ।उनलाई दुईतीन झापट लाएँ।भुइँमा थचक्क बसेर बिलौना गर्न थाली।मैले प्रतिमासंगको घटना सम्झें।
"आईन्दा यस्तो गतिविधिमा संलग्न भएको देखेमा काटेर फाल्छु दुवैलाई।एकचोटिलाई माफी पाईस्।"-मैले थर्काउँदै भनें।
"रामाराम,अबदेखि यस्तो गर्दिन।यस्तो गरेको देखे बरु मारे हुन्छ मलाई।"
पति-पत्नीको सम्झौता पछि हुनुपर्ने क्रियाकलाप भयो।भोलिपल्ट स्कुल सुचारु भैसकेको थियो।त्यो पापी शिक्षकलाई पेस्तोलले कन्चटमा ताकेर तर्साएँ र सरासर बनजंगलतिर प्रस्थान गरें।
      दोलखाको जुँगुमा पार्टीको सम्मेलन थियोे।नेताहरुको जिल्ला समितीको गठन पश्चात् छापामारहरुको कार्यबिभाजन भयो।म भन्दा जुनियरहरुले जिल्ला र क्षेत्रहरूको जिम्मेवारी पाए तर मलाई भने ५० जनाको इन्चार्जमै सिमित गरियो।मैले आवाज उठाएँ तर कसैबाट सुनुवाइ हुनुत परै जाओस् मेरो कमी र कमजोरीहरु कोट्याउन उद्धत भए।पार्टीमा विभिन्न गुट र उपगुटहरु स्थापना भए जुन पार्टीको नीति र सिद्धान्त बिपरित थियो।नातावाद र कृपावादको अन्त्य गर्ने र निष्पक्ष निर्वाचन प्रणालीको वकालत गर्ने नेताहरु नै ब्यबहारमा ठिक उल्टा देखिन थाले।सोझो र इमान्दार नेताकार्यकर्ताको सही मूल्यांकन हुन छाड्यो।पार्टीमा सिद्धान्त भन्दा पनि ब्यक्ति हावी हुन थाल्यो।काम गर्ने रहर बिस्तारै मर्न थाल्यो र जीवन अमूल्य लाग्न थाल्यो।ब्यर्थमा ज्यान किन फाल्ने भन्ने मनासयले भूमिका खेल्यो।तर पार्टीलाई चटक्कै छोड्न पनि सक्तिनथें।समाजमा मेरो एउटा ज्यानमाराको छवि बनेको थियो।झगडा परेको तीन दिनपछि मान्छेको ज्यान जानुमा सायद म पूर्णरुपमा दोषी ठहरिन्न्थें होला नभागेको भए।मुद्दा लडेको भए पनि जेल पसेर निस्कने बेला भएको थियो।एकदिन म पुनः घर गएको थिएँ।बिहानको तीन बजेतिर मात्र घर पुगेकोले घाम निकै माथि निस्केपछि मात्र निंद्रा खुल्यो।दिउँसो घर छोड्नु उचित नलागेर पलाङमुनि सुतेर बसें र पिसाब पनि जर्किनमै गरें।स्कुलको टिफ्फिनको घन्टी बज्यो।शिक्षक-शिक्षिका र बिद्यार्थीहरु खाजा खाएर गए।टिफ्फिन सकेको घण्टी बज्यो।सबै स्कुलतिर लागे तर एकजना शिक्षक मेरो घरभित्र प्रबेश गर्यो।त्यो त्यही शिक्षक थियो जसलाई मैले मेरी पत्नीसंग रंगेहात पक्रेको थिएँ।सरासर आएर मेरी पत्नीलाई चुम्बन गर्यो र पलाङमाथि लडाएर काम शुरु गर्न थाल्यो।
"नाइँ सर आज हुन्न।नाइँ के।छोड्नु न मलाई।"
मेरो श्रीमतीको कुरै नसुनी उसले आफ्नो स्वार्थ सिद्ध गर्न थाल्यो।पलाङ हल्लिन थाल्यो।आवाज आउन थाल्यो।मलाई असह्य भैसकेको थियो क्रोधले।पलाङ मुनिबाट निस्केर चिर्पट लिएर शीरमा प्रहार गरें।रगत बग्न थाल्यो।पत्नीलाई पनि तिघ्रामा प्रहार गरें।उ शख्त घाइते भएर स्कुलतिर प्रस्थान गर्यो र म जंगलतिर।सैलुङको डाँडामा पुग्दा सेनाहरु काम्से डाँडाबाट यतैतिर अगि बढ्दै थिए।दैवको कृपाले ज्यान बचाउन सफल भएँ।एकछिन मात्र ढिलाइ गरेको भए त्यतै सहिद हुने निश्चित प्रायः थियो।पत्नी र शिक्षक मित्रको चर्तिकलाले ईज्जतमा कालो धब्बा लागेको अनुभूत गरें।सायद समाजको खबरमा उनीहरूको बिषय नै हेडलाईनमा थियो होला।म जंगलीलाई त्यो बिषयमा के थाहा?
"के यौन विना कुनै पनि नारी र पुरुष बाँच्नै सक्दैनन् र?नत्र भने पति केही बर्षको लागि घरमा नहुँदा मेरी पत्नी किन परपुरुषसंग लिप्त हुन पुगिन्?अनि मेरो शिक्षक मित्र जागिर खान घर छोडेर हिँड्दैमा आफ्नै मित्रको पत्नीलाई किन जालमा फसाउनुपर्थ्यो?"
मनमा यस्तै कुराहरुको ज्वारभाटा आउन थाल्यो।समाजमा नाक काटिएको आभास भयो।शीर निहुरियो।ठाडो शीर गरेर हिंड्न असमर्थ भएँ।ज्यानमाराको उपनाम पाएको एक निरीह ब्यक्ति कलंकित हुनबाट बच्न झुपडी घर छोडेर अन्धाधुन्धमा भाग्दाभाग्दै देशमा आमूल परिवर्तन ल्याउने क्रान्तिकारी पार्टीमा संलग्न भएको थियो।देशलाई परिवर्तन गर्छु भन्दाभन्दै आफ्नो जीवन नराम्ररी परिवर्तन भएको पत्तै भएन।त्यसैले अब क्रान्तिको मागबाट बिचलित हुँदै थिएँ।बाँचेर मात्र परिवर्तन सम्भव थियो तर बाँच्नु र मर्नुको दोसाँधमा उभिएको थिएँ।मननै अशान्त र अक्रान्त भएपछि क्रान्ति गर्न नसकिंदोरहेनछ।हत्या र हिंसाको मार्ग त्यागेर शान्तिको मार्गमा हिंड्न मन लाग्यो।एक समय म घरबाट भागेको थिएँ,अब पार्टीबाट कसरी भाग्ने भनेर योजना बनाउन थालें।
      दोलखाको हनुमन्ते पहाडमा युद्धको तयारी जोडतोडले हुँदैथियो।म्याग्दीको बेनी ब्यारेक कब्जाको तयारी भयो।धेरै थरीका रणनीति र योजना बनाइए।निकै शक्तिशाली तथा अत्याधुनिक हातहतियार जम्मा पारिए।दशौं हजारको संख्यामा लडाकु तैनाथ गर्ने निर्णय भयो।त्यो युद्ध जनआन्दोलनको इतिहासमै सबैभन्दा ठूलो र भयानक युद्ध हुने निश्चित प्रायः नै थियो।सबैजना मार्ने या मर्नेको अभिव्यक्ति सहित उत्तेजित र उत्साहित थिए।त्यो युद्ध नै एउटा निर्णायक र परिक्षणात्मक युद्ध थियो।त्यही युद्धबाट पार्टीको भावी रणनीति तय गरिनेवालामा थियो।हतियार र रणनीति सहित हाम्रो लडाकु दस्ता बेनीको लागि प्रस्थान गर्यो।जंगलै जंगलको बाटो हुँदै तीन दिनमा बेनी पुग्नुपर्ने थियोे।जोशिलो र क्रान्तिकारी भएर अगि बढ्ने क्रममा म भने पछिपछि बस्न थालें।हुँदाहुँदै म करीब एक किलोमिटरको अन्तरमा पछाडि परें।मैले आफ्नो बाटोको दिशा परिवर्तन गरें।केही घण्टा हिंडेपछि कास्की आइपुगें।त्यो दिनको बास कास्कीमै बसें र भोलिपल्ट मिर्मिरेमै हिंडेर काठमाडौबाट पूर्व जाने बस पक्डें।झापा हुँदै भारतमा प्रबेश गरें।परिवार र मातृभूमिलाई चटक्कै माया मारेर परदेश पस्न बाध्य भएँ।दार्जीलिङ र सिक्किममा आफन्तहरुको घरमा केही दिन बसें।त्यसपछि मनालीतिर छिरें।मनाली पुगेपछि मैले नाम परिवर्तन गरेर घरमा आमा-बाबा,पत्नी र छोरीहरुलाई पत्र कोरें।मेरो शुरुशुरुमा मजदुरी गरेर जीवन गुजारें।मैले आफ्नो पत्नीलाई बाध्यता खुलाएर आफू स्वदेश आउन नसक्ने जानकारी दिंदै परिवारलाई मनाली बोलाएँ तर उनीहरू पनि आएनन्।हुन पनि एउटी निरीह नारीको लागि त्यो काम सामान्य थिएन।तीनबर्ष जति मनालीमै बित्यो र त्यसपछि दिल्ली आएँ।धेरै बर्षको संघर्षपछि म यहाँसम्म आइपुगेको छु।समस्यादेखि भाग्दा-भाग्दा म हैरान भैसकेको छु।
          मेरो कुरा सुनेर म्यानेजर पनि भावुक भयो।अनेक दु:ख र कष्ट झेलेर त्यहाँसम्म आएको थाहा पाएर दया पलाए जस्तो लाग्यो।
"बहादुर!तुम सचपुछमे बहादुर हो।ऐसा आदमी मैने कवि नही देखा।लेकिन तुम्ने एक बडा गलती किया।घर छोड्के नही भाग्न चाहिए था।खैर,जो हुवा सो हुवा,कुछ पैसा कमाके वापस जाओ।यही तुम्हारे लिए बेहेत्तर होगा।"
"ओके साब,मै ऐसा ही करुँगा।"
त्यो दिनदेखि सुपरभाइजरले केही भनेनन् र उ पनि मेरो साथी जस्तै भयो।समय र राजनीति परिवर्तन भएर ६२/६३ को दोश्रो जनआन्दोलन पछि नेपालमा राजतन्त्रको अन्त भएर गणतन्त्रको स्थापना भयो।चुनाबपछि म भागेको क्रान्तिकारी पार्टी अग्रस्थानमा आयो र सोही पार्टीको नेतृत्वमा सरकार बन्यो।हाम्रो क्रान्तिकारी सेना नेपाली सेनामा समायोजन भयो।५० हजार जनसेनामध्ये ७ हजार मात्र योग्य ठहरिए।बाँकी सबै अयोग्य लडाकुहरुको जिन्दगी चौपट भयो।कोही खेतीपातीमा लागे र कोही बिदेश पलायन भए।यदि मैले पनि पार्टीलाई निरन्तर योगदान दिएको भए सायद मेरो अस्तित्व संसारमै हुन्थ्यो या हुन्थेन,त्यो त उपरवालालाई मात्र थाहा होला।तर मलाई के कुरा चाहिँ थाहा थियो भने मैले पार्टीमा निरन्तरता दिएको भए जरुर पनि अयोग्य लडाकुको बिल्ला भिरेर खाडीको मरुभूमिमा पसिना बगाइरहेको हुने थिएँ।देशमा केही मात्रमा भएपनि शान्ति आइसकेको थियो।म आफ्नो परिवार र मातृभूमिलाई भेट्न आतुर भएँ।होटलको म्यानेजरलाई भनेर छुट्टी मिलाएँ।होटलले नै हवाई टिकटको ब्यबस्था गर्यो।छुट्टी भनेर हिंडेपनि मेरो योजना भनेको स्वदेशमै केही सीपमूलक कार्य गरेर परिवारसँगै जीवन ब्यतित गर्ने थियो।म कार्यरत होटलको म्यानेजरले भने जस्तो म समस्याबाट भाग्दाभाग्दै अझ समस्यामा फसेको थिएँ।अब समस्याबाट नभागी सामना गर्नुपर्छ भन्ने सोच पलायो।भारतबाट जाने बित्तिकै गाउँ गएँ।परिवारसँग एक दशकपछि पुनर्मिलन भएकोमा सबै सदस्यहरु हर्षले आल्हादित भयौं।केही दिनपछि दावाको परिवारलाई भेट्न गएँ।
"मबाट ठूलो गल्ती भयो।मलाई जे सजाय दिनुहुन्छ दिनुस् काकी,म भोग्न तयार छु।"
"हैन बाबु,दोष तिम्रो मात्र थिएन,हाम्रो पनि छ।तिमीले त उसलाई दुईचार थप्पड मात्र हानेका थियौ।ज्वरो आएको माथि कुखुराको मासु र गलत जडिबुटीको औषधि ख्वाउनाले मान्छेले संसार छोड्नुपरेको थियोे।बेकारमा तिमी भाग्नुपर्ने नै थिएन।बढीमा बढी एक दुई साल जेल चलान हुन्थ्यौ होला।त्यो भन्दा बढ्ता हुने केही थिएन।"
समस्याको जड नबुझी भाग्नु झन महामुर्खता रहेछ भन्ने तत्वबोध भयो।मेरो बाध्यताको मध्यनजर गर्दै बिद्यालय ब्यबस्थापन समितिले पुनः मलाई शिक्षकमा नियुक्ति दियो।हाँसीखुशी परिवारसँग जीवन ब्यतित गर्न थालें।
**************ईतिश्री**************

        

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...