कथाकार::चोमु शेर्पा खुशी
आक्रोश र शोक दुबै थियो।आवेगलाई रोक्न सकिरहेको थिएन।जति धेरै चर्चा र परिचर्चा मिडियाले गर्यो त्यतिनै धेरै रिस उत्पन्न हुन्थ्यो ।"त्यो दिन सम्झदा अझै पनि मनमा अर्कै तरङ्ग पैदा हुन्छ
"-उनी भन्छिन् ।हो साच्चिकै यथार्थमा जसलाई पनि आफन्त गुमाउनुको पीडा जतिको दु:खद क्षण अरु कुनै हुन्न होला। सायद त्यो पीडा भोग्दै थिइन यात्री ! उनी पाँच दिदिबहिनी मध्येकी एक माइली छोरी ,सयौ दु:ख कष्टहरु भौतिक रुपमा भए पनि बर्साैंकाे मानसिक पीडा पछि एक भाइ अर्थात माइती जन्मेको दिन देखि सधैं खुशी हुन्थि किनकी समाजमा छोरी मात्र जन्म भएको परिवारलाई कस्ता व्यबहार हुन्थ्यो, त्यो सबै सहेकी यात्री अब कसैको केही सुन्न नपर्दा खेरी त्यही भाइलाई हेरेर सबै दु:ख भुली दिन्थी। दिन बित्दै जान थाल्यो।उनी पनि बिस्तारै बाल्यकाल देखि यौवन अवस्थामा पुग्दै थिइन्।भाइ पनि ठूलो हुँदै थियो।बिद्यालयको अनुहार नदेखीकनै यतिका वर्ष पार गरेकी उनी दु:ख गरेरै भए पनि भाइ बहिनीलाई पढाउन चाहान्थी।जसो तसो जीवन चलेको साधारण परिवार,दिदी को बिवाह भएको दुई वर्ष भएको थियो।आमा देखि मुनि उनी थिइन् परिवारको जिम्मेवारी सम्हाल्ने।बाबा को पनि भाइ जन्मेकै दुई बर्ष पछि दाउरा काट्दा भिर बाट लडेर मृत्यु भएको थियो।सबै जिम्मेवारी आफैले लिएर भाइ बहिनी पढाउन थालिन्।उहीँ बिकट ठाउँ,शिक्षाको पहुंचभन्दा बाहिर।जस्तै भए पनि एक राम्रो पढ्ने ज्ञानी अनि शिक्षित परिवार बनाउने आशा राखेर अघि बढ्दै जाँदा जति धेरै दु:ख गरे पनि बिकट ठाउँमा लगाएको खेतीले बिस्तारै परिवार धान्न कठिन हुँदै गयो अनि अर्को बाटो अपनाउनु पर्यो ।भारी बोक्ने भरिया देखि ज्यालामा अरुको खेताला सम्म गरेकी यात्री त्यतिबेला पुजन नामले परिचित थिइन्।बिस्तारै दिन महिना अनि बर्षहरु बित्दै थिए। भाइ पनि कक्षा आठमा पढ्ने भइ सकेको थियो। यात्री पनि किसोरावस्थामा थिई,त्यतिबेला निकै चर्चा थियो माओवादी जनयुद्धको।अब भाइ ठूलो हुँदै थियो।स्कुल पनि माध्यमिक तह सम्म मात्र भएका कारण टाढा पठाउन पनि डर,नपढाउँ भने पनि सपना सपना मै सिमित रहने भए।यतिकै अन्यौल हुँदाहुँदै भाइको परिक्षा आउने बेला भयो।तीन बहिनीहरु पनि पढ्दै थिए।अब यात्रीलाई रात मा निद हराउँदै जान थालेको थियो।मनमा एक प्रकारको उथलपुथल भैरहेको थियो।दिनदिनै सोचाइमा पर्न थालेकी उनी आमासंग घरीघरी प्रश्न गर्छिन् तर आमालाई के भन्नू उहाँको नि उस्तै जवाफ्।माघ महिना थियो।एक दिन अचानक गाउँमा माओवादीको प्रवेश भएको खबरले डर त्रास शंका उप-शंका उत्पन्न भयो। अब के हुने होला?पहिरोको पहाड यात्रीमाथी खनिएको झै भयो।
सुनेकी मात्र थिई माओवादी हुन्छ रे,छ रे भनेर तर प्रत्यक्ष कस्तो होला भन्ने कुराको धेरै कौतुहल र चासो थियो।तर डर पनि सङ्गै थियो त्यही मनमा किनकी सुनेकी थिई माओवादीहरुले सबैलाई लान्छ रे, नमानेमा मार्छ रे अनि के के धेरै..।
मान्छे नै होइन होला भन्ने कल्पना गरिरहेकी उनी अचानक नमस्कार शव्दले झसङ्ग हुन्छिन्।आङ सिरिङ्ग हुन्छ। त्यतिकैमा ज्यान तातिएको झै लाग्छ।केही बोल्न नसकी ठिङ्ग उभिई जसरी एकनास बारीको डिलमा उभिएको रुख हावा नचल्दा उभिन्छ।कारण उनी अगाडि देखिएको निकै पर सम्म देखिने मान्छेको हुल अनि त्यही हुलको अघिको मान्छे उनको अगाडी हुँदा अचम्म लाग्छ।
"बहिनी!"
फेरि झसङ्ग झस्किइन्।
"हजुर।"
"यो गाउँको नाम के हो?"
डरले रातो न पिरो भएको गाला अनि अत्तालिएको आवाजमा-"लेक गाउँ हो।"
यति बोले पछि उनी भित्ता तिर सरेर बाटो खाली गरिदिन्छिन्।तिनीहरु आफ्नो बाटो लाग्छन् । अब भने उनको मन अलिकति शान्त हुन्छ तर पनि अनगिन्ती प्रश्नहरुको भिड दिमागमा आउँछ ।हतार हतार उनी घरतर्फ लाग्छिन्।आफ्नो नियमित काममा लाग्छिन्।उनी मात्र होइन त्यस् दिन गाउँको प्राय सबै सशङ्कित थिए ! लेक गाउँ एक यस्तो गाउँ थियो जहाँ नेपाल सरकारले सुरक्षाको लागि खडा गरेको प्रहरी कार्यलय पुग्न पनि लगभग एक दिन झण्डै लाग्थ्यो।त्यसैले सुरक्षित स्थल भनेर उनीहरुले लेक गाउँलाई छानेका होलान् । अनेक प्रकारको शङ्का उप शङ्काहरु मन भित्र खेलाउदै आफ्ना सारा कार्य पनि सकेर अब भान्सा तयार गर्न आमालाई सघाउदै सबै कुरा आमा सङ्ग सुनाउन थाल्छिन।अचानक ढोकामा-"को हुनुन्छ" आवाज ले तर्सिन्छिन्। त्यो ब्यक्ति बाट यति मिठास शब्दमा-"नमस्कार!"
"हामीलाई सहयोग गर्नु पर्यो,हजुर हरुकै लागि हामी जीवन मरण को लडाइँ लड्दै आफ्नो ज्यान को बाजी लगाएर यो अभियानमा होमिएका छौं।"
कति मिठा कुराहरु हामी सुनेका सुनेकै भयौं।
आमाले भन्नू भयो-"नानी के सहयोग होला हामी त गरिब छौं?"
यात्री भने एक प्रकारले त्रसित र निशब्द भएर सुनिरहेकी थिइन् ! ती ब्यक्ति अगाडी बोल्दै गए-
"हामी यहाँ सङ्गठन निर्माणका लागि आएका हौं।हजुरको परिवारबाट धन हैन पनि एक जना कमिटिमा बस्नु पर्छ है।टिनको छानो भएको ठूलो घरमा राती ९ बजे आइदिनुहोस् है ?"
अनि आमाले डराउदै भन्नुभयो-"हुन्छ"।
आमालाई के थाहा सङ्गठन भनेको के हो।
यात्री झन उस्तै,थाहा हुने कुरै भएन।आमालाई सोध्दा पनि कराउनु हुन्थ्यो।यात्रीको हजारौं प्रश्न मन भित्रै आफैलाई सोधेर चित्त बुझाउनु सिवाय अरु विकल्प थिएन।सबै भाइबहिनी लाई भित्र अगाडी देखिनै तलमाथि नबोल्न निर्देशन दिएर राखेका थिए।सबैलाई बोलाएर खाना दिएर एक शब्द नवोली सुत्ने भनेर भनेपछि केटाकेटी पनि हल्ला नगरीकनै सुते।यात्रीको अझै काम सकिएको थिएन।एक डालो मकै जाँतोमा पिसेर मात्र उनको सुत्ने बेला आउँछ उनको।यात्री मकै पिस्न थालिन्।त्यसपछि आमा छिमेकी बडिआमा सङ्ग जानुभयो।आमा फर्किनु अगावै ओछ्यान पसिसकेको भए पनि आमा नआइकन निन्द्रा कहाँ लाग्थ्यो र।
उनी आमाको पर्खाइमा थिइन् ।बल्ल १२ बजे आमा आइपुगेपछि सबै आमालाई सोधखोज गरी तर आमा रिसाएर कराईन्।आमाको कुरा कहिल्यै टार्न नसकेर यात्री निदाउने प्रयास गरी तर निदाउन सकिनन्।अनेक कुराहरूको बारेमा आफैं प्रश्न गर्दै आफैं उत्तर दिदै त्यतिकै पत्तै नपाई निन्द्राको सुनौलो संसारमा पुगिन्।बिहानै सदा झै आफ्नो काममा तल्लिन हुन थालिन्।गाउँमा एक दुई गर्दै हल्ला हुन थाले तर यात्रीलाई बुझ्न मन हुँदा हुँदै पनि बुझ्न चाहिनन किन भने उनी आमालाई सम्मान गर्थिन्।आमाले खोजी नगर्नु भनेर भन्नुभएको थियो त्यसैले उनी आफ्नो रहर हरु मारेर चाहेर पनि बुझ्न चाहेनन् ।दिन प्रतिदिन हल्ला हुँदै गयो।गाउँमा जोसुकैलाइ जे भएनी यात्रीलाई आफ्नै धुन थियो।भाइको परिक्षा पनि सुरु भएर सोचेअनुसार नै सम्पन्न भयो। परिक्षा सकेर एक महिना छुट्टी भएको बेला थियो। केटाकेटीमा रहर अनेक,फेरि बन भोज खाने चलन थियो।सबै बनभोज खाने भनेर तयारी गरेका थिए।तर यात्रीको इच्छा कहिल्यै पूरा भएन त्यसैले भाइबहिनीहरुको हर इच्छा पूरा गर्न तत्परता देखाउँथिन्।सबैको तयारी पूरा भएपछि फुर्सद भएको एक जना अभिभावक पनि पठाइन्।सबै सधैं ब्यस्त पहाडको ठाउँ,बाह्रै महिना कामले छोड्दैन थियो।सबै काममा ब्यस्त थिए। अचानक बन्दुक र बम पड्केको आवाज सुनेर सबै त्रसित भएका थिए। त्यो आवाज केटाकेटी पिक्निक गएको स्थान बाटै आएको थियो।गाउँ पुरै अत्तालिएको थियो।एउटा डाडा बाट कराए अर्को सबै ठाउँतिर स्पष्ट सुनिन्थ्यो।रमितेको डाडा बाट आवाज आयो।रोएको-चिच्च्याएको आवाज सुनेर यात्री आलुबारीमा मकै गोड्नु छोडेर दौडिन्।उकालोमा जति दौडियो उतिनै ढिलो कदम लाग्न थाल्यो। छरपस्ट केटाकेटी रुदै कराउदै ओरालो झरी रहेका थिए।किन रोएको,के भो भनेर हस्याङ पस्याङ गर्दै सास फेर्न कठिन हुदा नि सोधी तर निरुत्तरित भई।उनले केही अनुमान पनि लाउन सकिनन्।अरुबेला यस्तो आवाज कहिल्यै आएको थिएन र कसैले सुनेका थिएनन् ।आत्तिदै केटाकेटी पिक्निक खाएको ठाउँमा यात्री पुग्दा
छक्क परेर एक नास हेरेको हेरेकै भईन्।न बोल्न सकी न त केही गर्न।सजिव भएर पनि निर्जीव जस्तै बनेर बेहोस भई ।सबै गाउले आत्तिदै आइपुगे।कारण थियो बनभोज स्थलमा रहेको आर्मीको जत्था। त्यही जत्थाले घेरी रहेको लम्पसार परेको लास चिन्न कुनै गाह्रो भएन।उनी थिए सानू, हो सबैको प्यारो सानू।झन यात्रीको मुटुको धड्कन नै सानू थियो।सानूमै सुरु भइ सानूमै अन्त्य हुन्थिन् यात्री!
उनको प्राण भन्दा प्यारो भाइ को त्यो अवस्था देखे पछि बेहोस नहुने कुरै भएन। यात्री बेहोस अवस्थामा लडिरहेकी थिई।आर्मीले कसैलाई पनि सानू छेउ जान दिएनन्।सबै आक्रोशमा भए पनि रुन बाहेक केही गर्न सकेका थिएनन् ती गाउका मानिसहरु किन कि उनीहरु सबै डराएका थिए।ऐन कानुनको कुरा नजानेका गाउँलेहरु पुरै सत्तानै उनीहरुको होला भन्ने सोचेका थिए।
उनीहरुको आर्मीका डाक्टरले यात्रीको उपचार सुरु गरेको एकैछिन पछि यात्री होसमा आईन्।भाइ लडिरहेको ठाउँमा कुदेर पुग्छिन्।
"भाइ!भाइ!"
उनको चिच्याहटले पुरै भीर-पहरा गुञ्जयमान भयो।उनको दु:खमा त्यहाँ रहेका सल्ला, कटुस,चाप, देखि खरानेका पोथ्रो सम्म सबैले साथ दिएझै लाग्यो। सायद आँसु नझार्ने ती महान नेपाली जनताका रक्षक भनौदा ज्यानमाराहरु मात्र थिए।यात्रीले कराउँदै सोधिन्-
" किन मार्यौ? मेरो भाइले के बिगारी दियो तिमीहरुको?? भाइ!उठ न भाइ!"
सानू लाई स्टेचरमा लिएर तीन चार जनाको टोली यात्रीको घरतिर जान्छन् ।सबै गाउले भएभरका केटाकेटी लिएर एक शब्द आवाज ननिकाली सास पनि राम्ररी नफेरी पछि पछि ओराली झरे । घरमा पुग्दा नपुग्दै गैरी बारी खन्न गएकी आमा पनि घर पुग्न लागेकी थिई।उनी अत्तालिएर घर तर्फ आएको मान्छेको हुल देखेर हतार हतार घर पुगी। यात्रीको डाको छोडेर रोएको आवाज सुनेर अचम्मित हुदै हातमा भएको कोदालो फालेर एकै सासमा आगनको डिलमा पुगेर हेरी।एक्कासि स्टेचरमा छोराको अनुहार देखेर सबैलाई हटाएर अगाडी पुगेकी आमा मुर्छा परिन् ।एकातिर आमा,अर्को तिर यात्री को आँसु रोकिएको थिएन।गाउँमा भएका सबै जम्मा भए।ती सैनिकहरुले नजिकैको छिमेकी काका लाई २० हजार रुपैयाँ हातमा थमाएर बिदा भैसकेका थिए।परिवारमा बुझ्ने जान्ने जे भने नि आमा र छोरी मात्र थिए। अरु नानीहरु सानै थिए के सम्हाल्नु। उनिहरु पनि रोइरहेका थिए। एक प्रकारको कल्पना भन्दा बाहिरको घटना घट्यो।जान्ने बुझ्ने उहीँ यात्रीका छिमेकी काका हुनुन्थ्यो।अस्पतालको दैलो देख्न लाई २० घन्टाको बाटो हिडेर पुगिने ठाउँमा पानी छ्म्काएर गर्ने उपचार बाहेक अरु बिकल्प थिएन। आमाको होस केही गरि आएन।सबै लागेर माथी माथी उचाल्दै कोहीले मुखले शिठ्ठी बजाए त कोहि कराए र बोलाए । सानूलाई अङ्गालो हालेर एकोहोरो रोइ रहेकी यात्री अझ अचेत नै थिई। सबै गाउँ शोक मग्न भयो।छिमेकी काकाले पण्डित बोलाउने देखि अन्त्यस्टीमा आवस्यक सबै सामाग्री गाउले खटाइ जुटाए।त्यस रात यस्तो अँध्यारो भो ,जीवनको निस्पट अँध्यारो रात !आशाका किरण कतै थिएन। आमाको होस अलिकति आए जस्तो भयो।फेरि छोरो हेर्दै बेहोस भई।चिन्ताजनक अवस्था भयो आमाको पनि।के गर्ने ,कसो गर्ने ,कस्लाइ भन्ने ,पीडा कस्ले सुन्ने ?नत कानुन ,न त अरु उपाय! अलिकति शिक्षित भनौदा बिद्यालयका शिक्षकहरु कोहि अघि सरेनन् ।न त त्यहा न्यायका समाचार छाप्ने पत्रकार पुग्छन् न कुनै वकालत गर्ने कोही।अन्यौल र साघुरो गाउँमा अडिएको यो परिवार अनि त्यै गाउमा झेल्नुपरेको पीडा....!अलि अलि गर्दै सबैले सम्झाउन थाले आमालाई।
"यसलाई यतिनै राख्छु भनेर भगवानले ल्याएका हुन्, नरोउ,आफुलाई सम्हालेर अरु छोरीलाई हेरेर पनि हिम्मत जुटाउनु पर्छ।"
जे जस्तो भएनी गर्नु पर्ने कर्तव्य र कार्य त जस्तो हालतमा भए पनि गर्नै पर्थ्यो।तीन दिनको काम सकेर एक महिने काम थाती राखे पछि सबै गाउले र स्टमित्रहरू पनि आफ्नो काममा लागे।घर सुनसान भयो। सधै भन्दा सबै कुरा फरक लाग्यो।आफ्नै घर बिरानो लाग्यो।आफ्नै आगन पराइले कब्जा गरेको झैं।केही आफ्नो नरहे झैँ लाग्न थाल्यो।पल्लो घरको धुरीमा सदा जस्तै रेडियो बजिरहेको थियो।एक नासले टोलाएर आगनको डिलमा हात च्युडोमा राखेर आफूसङ्ग आफै कुरा गरिरहेका यात्रीको ध्यान अचानक रेडियो तिर गयो। रेडियोमा बिहान नौ बजेको समाचार आइ रहेको थियो। उनी सुन्दै थिइन।अचानक लेक गाउँको नाम आयो।झन चनाखो बन्यो उनको कान।
"लेक गाउँमा सुरक्षा कर्मीको आक्रमणमा परी एक जना आतंकबादीको मृत्यु भएको श्रोतले जनाएको छ।"
समाचार सुन्ने बित्तिकै यात्रीलाई एक प्रकारको आक्रोश उत्पन्न भयो।
"निर्दोष बालक मारेर अझै आतंकबादी ??" सोचाइले सिमा पार हुन लाग्यो।आगो बलिरहेको थियो मनमा।
"बनभोज खाइ रहेका विद्यार्थी लाई बम हानेर मार्यो ,उल्टै आतंबादीको बिल्ला?"
के गर्ने,कसलाई सुनाउने कुनै उपाय भएन।यात्रीको मनमा क्रोध र प्रतिशोधको भावना पैदा हुन थाल्यो।पीडा र आक्रोशको ज्वाला दनदनी बल्न थाल्यो।केही दिनपछि उनी एउटा कठोर निर्णयमा पुगिन्।गाउँगाउँमा गाउँलेहरु भेला पारेर शिक्षा दिन र सबैलाई संगठित बनाउन थाली।महिनादिन नपुग्दै उनले युवाहरुको एक जत्था लिएर क्रान्तिको मैदानमा होमिएको खबर गाउँभरी फैलियो।सिंगो गाउँले नै उनको कदमलाई साथ दियो र सल्युट गरे।एकदिन रेडियो नेपालबाट समाचार आयो-
"यात्रीको टाउकोको मूल्य एक लाख तोकिएको छ।"
No comments:
Post a Comment