म
नेपालको छोरो
हिमालको छोरो
गाउँबस्ती अनि
पहाड-पर्वतको छोरो।
मेरो पीडा,अभावमा
दु:खी छिन्
मेरी आमा
चर्केको छ
उनको छाती।
बिछोडमा उदास छ
सगरमाथा
बेचैन छ धौलागिरी
बिरक्तिएका छन्
कोशी,कर्णाली
थकित भै सुस्ताएकी छे
मेरी महाकाली।
मेरो अभावमा
उराठ्लाग्दा भएका छन्
वनजंगल
सुनसान छन्
गाउँबस्ती
एकाग्र भै प्रतिक्षारत छ
बाँझो जमिन।
बर्षौंसम्म नफर्किंदा म
रुँदैछ गौरीशंकर
तामाकोशी
जट्टापोखरी
अनि लिखु भएर।
मलाई सम्झेर
अश्रु बर्साउँदा
सुक्न थालेको छ
यलुङ खोला
फक्रन छोडेका छन्
यौवनका फूलहरु
ओइलिन थाले
सयपत्री र मखमली
कोपिलामै झर्न थाले
चाँप र गुराँस।
प्रबासमा कर्मले
असिनपसिन हुँदा
पग्लिन थालेका छन्
सगरमाथा
माछापुच्छ्रे
कंचनजंघा।
अचेल जिरीमा
झुल्किन सकेनन्
न्यानो रवि
हमेसा लाग्छ खग्रास
उदाउन मानेनन्
शित्तल शशी
हररात औंशीले
छाएको छ।
मेरो आगमनको प्रतिक्षामा
नयनहरु बिछ्याइरहँदा
निंदाउन सकेनन् रे
चेर्दुङ चुचुरा।
No comments:
Post a Comment