भाग-१
सिंगो ब्रम्हाण्डमै मानव जातिलाई स्वयंले सर्वश्रेष्ठ प्राणीको रुपमा घोषणा गरेको तथ्यलाई सबैले स्वीकारेका छन्।हुन पनि मानव जाती जत्तिको शक्तिशाली,शसक्त,चलाख र कृयाशील सायदै अरु प्राणी देखिन्छन्।गुड्नेदेखि उड्ने साधनहरुको बिकास गरेर चन्द्रमादेखि मंगलग्रहसम्म पाइला टेकिसकेका छन्।एकाइसौं शताब्दीसम्म आइपुग्दा मान्छेले लिंग परिवर्तन देखि लिएर सारा विश्व नै ध्वस्त पार्ने प्रविधिको बिकास गरिसकेका छन्।नयाँ-नयाँ प्रविधिको बिकाससंगै पाप भन्ने कुरा यति मौलाइसकेको छ कि कुनै पनि उपभोग्य बस्तु स्वास्थकर र ताजा पाउन छोडेका छन्।किसानहरूले समेत अन्नबाली मनग्ये फलाउने लोभले जैविक मल छोडेर रासायनिक मल प्रयोग गर्न थालेका छन्।विभिन्न इन्जेक्सन र पेस्ट कन्ट्रोलका औषधिहरु प्रयोगमा ल्याउन थालेका छन् जो मन्द बिष बराबर हुन्।चामलमा प्लास्टिकको चामल,दालमा ढुंगा र शुद्ध तोरीको तेलमा अन्य सस्ता तेलहरु मिसाएर आम्दानीलाई दोब्बर-तेब्बर बनाउन सफल भएका छन्।मिसावटको भयावह असर र परिणाम धनी-गरीब सबैको जनजीवनमा अप्रत्यक्षरुपमा देखिन थालेको छ।सरसामानको व्यापार-ब्यावसायले मात्र मान्छे खुसी हुन सकेनन्।मन्दिर र गुम्बाका प्राचीन मूर्तिहरु बिदेशमा बेच्न तल्लीन छन् ब्यापारीहरु।त्यो भन्दा खेदलाग्दो कुरा-मान्छेले मान्छेलाई बेच्न पछि परेनन्।लाखौं युवा शक्ति वैदेशिक रोजगारको नाममा अरब देखि युरोप र अमेरिकामा बेचिन्छन्।हजारौं चेलीहरु दिल्ली-मुम्बईका कोठीहरुमा बेचिन्छन्।कतिपय चेलीहरु स्वदेशकै मसाज सेन्टरहरुमा बेचिन्छन्।यो भन्दा हृदयबिदारक घटना अरु के नै हुन सक्छ र?संसारमा जतिसुकै आमूल परिवर्तन भए तापनि मनुष्य खुशी भने हुन सकेका छैनन्।दिनप्रतिदिन हत्याहिंसा,अशान्ति,बेचैनी र अमानवीय घटनाहरु बढ्न थालेका छन्।चोरडकैती देखि लिएर क्षणिक स्वार्थ सिद्ध गर्नलाई हत्या गर्नसम्म उद्धत छन् मान्छे।मान्छे यतिसम्म स्वार्थी भएका छन् कि प्रलोभनमा परी धर्म परिवर्तन गर्नसम्म थालेका छन्।हुन त जो कसैलाई जुनसुकै धर्म मान्ने छुट र अधिकार छ तर स्वार्थको लागि गरिएको धर्म परिवर्तन निन्दनीय छ।कसैगरी आफ्नो नियोजित स्वार्थ पूर्ण नभए धर्म,बाटो र चरित्र परिवर्तन गर्दै हिंड्नु कुनै नौलो कुरा भएन।त्यतिमात्र नभई आफ्नै जिन्दगी देखि हार खाएर आत्माहत्यासम्म गर्न पछि पर्दैनन्।तर संसारमा कोही यस्ता पात्र पनि छन् जो संसारको रित र मानवीय कृयाकलाप तथा आचरण प्रति असन्तुष्ट हुँदै जीवन जिउने मार्ग,तरीका र पद्धति नै परिवर्तन गर्न पुग्छन्।यस्तै एक खुंखार र शसक्त पात्र मध्ये एकजना हुन्-आनी डोल्मा।
काठमाडौं जिल्लाको कपन गा.बि.स. वडा नम्बर-९ मा अवस्थित एक गुम्बा।हिन्दुहरुको मन्दिर,मुस्लिमहरुको मस्जिद र कृष्चियनहरुको चर्च भए जस्तै बौद्ध धर्मावलम्बीहरुको लागि गुम्बा हुनु सर्वसाधारणको लागि अनबिज्ञताको बिषय पक्कै पनि हैन।भगवान बुद्धका पुरुष अनुयायी एवं चेलाहरुलाई लामा भनिएझैं स्त्री अनुयायीहरुलाई आनी भनिन्छ।तिनै आनीहरुमध्येका एक हुन् आनी डोल्मा।गाडीहरूको धुवाँ,धुलो र ध्वनी जस्ता प्रदुषणहरुबाट दूर रहेको यो गुम्बा बिल्कुल मनमोहक प्राकृतिक छ्टाहरुले भरिपूर्ण छ।चारैतिर हरियाली वनजंगल,चराचुरुङ्गीहरुको चिर्बिराहट ध्वनि र पहाडहरुको मनोरम दृश्यले त्यो गुम्बाको वातावरण स्वर्गतुल्य बनाइदिएको छ।ठ्याक्कै पहाडको टुप्पोमा पर्ने यो स्थलबाट काठमाडौं उपत्यकाको दृश्य अवलोकन मज्जाले गर्न सकिन्छ।सबैभन्दा आनन्दको बिषय त यहाँबाट बौद्ध र स्वयंभुका स्तुपाहरु प्रस्टै देख्न सकिन्छ।त्यसकारणले पनि आनी डोल्माको आँखाले प्रदुषित काठमाडौं पनि सुन्दर देख्छन्।मनको सुन्दर आँखाले हेर्दा संसारै सुन्दर देखिन्छ भन्ने सिद्धान्तमा बिश्वास गर्छिन् आनी डोल्मा।पथभ्रष्ट तथा पथ बिराएका मनुष्य जातिलाई भित्री आँखाको माध्यमले सही पथ देखाउनु बुद्ध धर्मको उदेश्य हो।त्यति मात्र नभई संसारका आम प्राणी जगतलाई प्रेम गर्नु नै यो धर्मको सिद्धान्त हो।एउटा कमिला मर्दा समेत लामा र आनीहरुको चित्त दुख्छ।त्यस्तौ आनी डोल्माको सिद्धान्त पनि यो भन्दा फरक हुने कुरै भएन।दुर्भाग्यबश कुनै किरा पाइतालामा कुल्चिएमा "ॐ माने पेमे हुँ" भनेर पापको प्रायश्चित गर्छिन्।अन्तरात्मा देखि नै खेद प्रकट गर्छिन्।"ॐ माने पेमे हुँ"नै बौद्ध धर्मको मूलमन्त्र हो।यसको अत्याधिक जपले मनमा मात्र नभई बिश्वमै शान्ति छाउने प्रबल बिश्वास गरिन्छ।गहुँगोरी वर्णकी आनी गेरुबस्त्रमा सजिँदा झन स्वर्गकी परी भन्दा कम सुन्दर देखिन्न।खासगरी बिहान-बेलुका हातमा हमेसा बुद्धचित्त माला लिएर एकाग्र भई मन्त्रजप गर्दा झन उनको सुन्दरतामा निखार आएको प्रतित हुन्छ।यदि आनी कुनै युवकको नजरमा परेको खण्डमा पहिलो नजरमै प्रेममा नफस्ला भन्न सकिन्न।मिलेको जीउडाल,करीब २५औं बसन्तमा पाइला टेकेकी छिन् उनले।फक्रेको यौवनको फूल देखेर कुन भमरा मोहित नहोला र!हुन त त्यहाँ गुम्बामा ५० जना लामाहरु छन् तर सबै धर्मको नीति र नियममा बाँधिएका छन्।हुन त प्रेम र विवाह जस्ता सामाजिक बन्धनबाट मुक्त भई स्वतन्त्रपूर्वक जिउनाका लागि गुम्बामा आएका हुन् तर यहाँ आएपछि सबै अनुशासित भएका छन्।बौद्ध दर्शनको भित्री ज्ञानले उनीहरुलाई स्त्री प्रतिको आकर्षण,यौन र मायाप्रेमबाट करोडौं माइल टाढा पुर्याएका छन्।तर त्यो दर्शनले सबैको लागि जीवन जिउने सहज कला पस्कन सफल भएको देखिन्छ।त्यसैले कुनै लामा र आनी बीच प्रेम सम्बन्ध हुनु असम्भव प्रायः नै छ। कोही कोही सिद्धान्तबाट बिचलित भएर आफ्नो मार्गलाई यु-टर्न मारेर वैवाहिक बन्धनमा बाँधिएको रेकर्ड पनि नभएका हैनन्।तर आनी डोल्माको हकमा यो नियम लागू नहोला।अहिलेसम्म उनी आफ्नो सिद्धान्तमा कटिबद्ध छिन्।तर भविष्य भने समयकै गर्भमा हुर्किरहेको छ।
तीनवटा ठूल्ठूला भवनहरुमध्ये एउटा गुम्बा,दोश्रो लामा र आनीहरुको बासस्थान र तेश्रो बिदेशी पाहुनाघर।तीनैवटा भवनहरु अत्याधुनिक प्रविधिको उपयोग गरी निकै आर्थिक लगानीमा बनेको निश्चित प्रायः छ।तीमध्ये पनि सबैभन्दा आकर्षक भवन गुम्बा नै हो।भुईंतलामै सिमित गरिएको भएपनि भवनको बाहिरदेखि नै भित्ताहरुमा उच्चस्तरीय पेन्टिङ गरिएको छ जसलाई थाङ्का भनिन्छ।बौद्ध चित्रकला नै यस्तो कला हो जुन बिश्वमै सबैभन्दा महंगा र आकर्षक हुन्छन्।विभिन्न थरीका महंगा धातुहरु प्रयोग गरेर बनाएका चित्र हरु प्रायः बुद्ध भगवानकै हुन्छन्।२४ क्यारेट भन्दा माथिको सुनले झन चित्रलाई झकिझकाउ त बनाउने नै भयो।गुम्बाको संघारमा पाइला टेक्ने बित्तिक्कै बुद्ध भगवानको अजंगको मूर्ति देख्न सकिन्छ।त्यो ठूलो मूर्तिको दायाँबायाँ १२/१२ वटा अलि स-साना मूर्तिहरु स्थापना गरिएका छन्।मूर्तिको मुनि बालिएका सयौं पानसहरुले मूर्तिहरुलाई आकर्षक,चम्किला र जीवन्त बनाएका छन्।गुम्बा भित्रका पूर्वपश्चिम भित्ताहरुमा बाहिरका भित्ताहरुमा झैं पेन्टिङ गरिएका छन्।पश्चिम पट्टिको अन्तिम मूर्तिको मुन्तिर टेबुल र कुर्सीकै आकारमा निकै उच्चस्थानमा गुम्बाको लामा गुरु बस्ने ब्यबस्था गरिएको छ।ती भित्ताहरुमा दलाइ लामा र अन्य अवतारी लामाका फोटोहरु झुन्ड्याइएका छन् भने मुन्तिर अर्थात दायाँबायाँ लामा-लामा टेबुल र बेन्चहरु राखिएका छन् जहाँ लामाहरुले कुनै बिशेष पर्व वा औंसी-पूर्णेमा पुस्तक बाचन गर्छन्।बायाँ पट्टीको टेबुल नजिकै ठूलो गोलाकारको ढ्याङ्ग्रो राखिएको छ जुन पुस्तक बाचनको बेला बजाइन्छ।मूर्तिहरुको ठिक अगाडि महंगो कार्पेट बिछ्याइएको छ।त्यहीँ कार्पेटमाथि उभिएर भगवान बुद्धका मूर्तिहरुलाई नमन गर्ने गर्छन्।गुम्बा भित्रको वातावरणलाई नियाल्ने हो भने त्यो कुनै गुम्बा जस्तो नभएर स्वर्गको राजा ईन्द्रको दरबार भएको भान हुन्छ।फरक यति हो कि ईन्द्रको दरबारमा इन्द्र नै सर्बेसर्वा हुन्छ भने गुम्बामा बुद्ध।इन्द्रको जस्तै आसन भए पनि त्यो मूर्ति भन्दा मुनि र केन्द्रमा नभई एक कुनामा सिमित छ।
मनलाई क्यानभास,बिचारलाई रङ,जीवनलाई चित्र,ज्ञानलाई प्रज्वलित पानस र संसारलाई गुम्बासित तुलना गर्छिन् आनी डोल्मा।जसरी क्यानभासमा सुन्दर रङहरुले चित्रलाई सुन्दर बनाउँछ,त्यस्तै सुन्दर बिचारले जीवनलाई उस्तै सुन्दर बनाउँछ।बलिरहेको पानसले गुम्बालाई उज्यालो बनाए झैं ज्ञानको ज्योतीले संसारलाई नै प्रज्वलित बनाउन सक्छ।आनीको जस्तै सोचाइ संसारका हरेक मान्छेमा भएमा पक्कै पनि संसार उज्यालो हुनेछ,कहिल्यै रात पर्नेछैन।यो भन्दा ठूलो चमत्कार अरु के हुनसक्ला?तर रङरुपी बिचारलाई कसरी सुन्दर बनाउने,कस्ता खाले रङलाई मिसाउने,के तरीकाले र कतिको मात्राले मिसाउने भन्ने कुरा मनुष्यमै भर पर्ने कुरा हो।खराब र सडिसकेको रङको प्रयोगले चित्र नै खराब बन्छ।त्यसैले बिचारलाई बेला-बेलामा छान्ने र नवीकरण गरिरहनुपर्छ।बिकार चीजलाई छानेर फालिए मात्र बिचार पनि शुद्ध र सकारात्मक रहन्छ।असल र खराब कर्मलाई बेलैमा चिन्न र त्याग्न सक्नुपर्छ।सम्राट अशोक एकासमय कट्टरपन्ती,हिंस्रक र बिस्तारवादी थियो।सकेसम्म आफ्नो राज्यलाई विशाल साम्राज्यको रुपमा खडा गर्न चाहन्थ्यो।समयमै उसले वास्तविक ज्ञान प्राप्त गर्यो।उसले अंगालेको मार्ग उसलाई गलत लाग्यो।तत्कालै उसले आफ्नो मार्ग परिवर्तन गरी अहिंसा अर्थात बुद्धको मार्ग पहिल्यायो।बुद्धको पदचाप पछ्याउँदै,बुद्धज्ञानलाई सन्देशको रुपमा फैलाउँदै गयो।आज उसलाई बुद्धको सफल अनुयायीको रुपमा चिनिन्छ।हिंसालाई नै निरन्तरता दिएको भए उसको अन्त्य पनि हिंसाबाटै हुने निश्चित थियो।आफ्नै दाजुभाइको हत्या गरेर राजसिंहासन प्राप्त गरेका राजाहरुको अन्त्य पनि हत्याबाटै भएको इतिहास साक्षी छ।कमिला,किरा-फट्यांग्रा र जीवजन्तु देखि लिएर मानवजाति सबैको हत्या गर्नु उस्तै दुष्कर्म हुन्।दुष्कर्मले शीघ्र पतनलाई निम्त्याउँछ।खराब आचरण र प्रवृत्तिलाई त्यागेर यहीँ पृथ्वी लोकलाई स्वर्ग बनाउन सकिन्छ।स्वर्गमा पुग्न लाई अर्को जूनीको प्रतिक्षा गर्नुपर्दैन।यही जुनीमा यही नै स्वर्गमा पुग्न सकिन्छ।त्यस्तै नर्कमा पुग्न लाई खराब आचरण र प्रवृतिलाई अंगाले पुगिहाल्छ।यही र यही जूनीमा नर्कमा सजिलै पुग्न सकिन्छ।स्वर्ग र नर्क मध्ये मार्ग चुन्ने-आफैंमा निर्भर रहन्छ।सत्कर्म र दुष्कर्मलाई क्रमशः धर्म र पापको नामले सुचित गरिछ।पापको परिणाम अत्यन्तै भयावह हुन्छ।अक्सर धर्मको परिणाम सुखद हुन्छ।पापको क्षेत्रबाट उम्केर धर्मको मार्गमा पाइला टेक्नु नै मोक्ष प्राप्त गर्नु हो।खराब आचरण र दुष्कर्मबाट टाढिएको अबस्था नै मोक्ष हो,मुक्ति हो।
No comments:
Post a Comment