Tuesday, 28 February 2017

भए पुग्छ तिमी

दु:ख कष्ट म गर्छु,आराममा भए पुग्छ तिमी
बिदेशमा छु,घरको काममा भए पुग्छ तिमी।

बसाइँ सर्न थाले सबै छोडेर पहाड,पर्वत
लेक बेशीमा रमाई गाममा भए पुग्छ तिमी।

परिवर्तन नहुनु प्यारी तिमी पनि ॠतु जस्तै
सधैं माया प्रीतिको याममा भए पुग्छ तिमी

मेरो लागि लेखिएको चिट्ठी पत्र झैं सजिनु
अरु चाह छैन,मेरो खाममा भए पुग्छ तिमी।

भए भरको सम्पत्ति तिमी लाई लेखिदिउँला
चाहिँदैन केही, मेरो नाममा भए पुग्छ तिमी।

के छ खबर

के छ खबर सानु के छ खबर
मनैमा बस्ने भो मनको रहर।

झ्याइँ पार्ने मन थियो यही मंसीरमा
सम्पतिको अभावले भएन तक्दीरमा।
बस गाउँघर सानु बस गाउँघर
मनैमा बस्ने भो मनको रहर।

हाम्रो चोखो माया छोडी बसाइँ नसर
तिमी बिना ज्युँदै मर्छु माया नमार
नजाउ शहर सानु नजाउ शहर
मनैमा बस्ने भो मनको रहर।

Monday, 27 February 2017

भ्रम

         "ऐया!गुरुजी,गाडी बिस्तारै चलाउनुस्।यहाँ के-के गर्नुछ आफूलाई!बाटामै मार्ने बिचार छ कि क्या हो?यहाँ आफू कस्तो सुन्दर सपना बोकेर हिंड्याछु,पूरा नहोला जस्तो छ त बरा!"
संगैको सिटमा बसिरहेको ६५/७० को बूढो बाजेको केश फूलेर सेतै भए पनि मुहारमा एक प्रकारको कान्ति देखिन्थ्यो।लाग्थ्यो कि उसको ठूलै सपना निकट भविष्यमै साकार हुँदैथ्यो।उसको स्फूर्ति र चन्चलता देखेर म कौतुहल हुँदै थिएँ।हजारौं प्रश्न एकैपटक थुपार्न मन लाग्यो उसको थोपडामाथि।
"बाजे!तपाईं कहाँसम्म?केको लागि जाँदै हुनुहुन्छ?छोरानाति भेट्न लाग्नुभएको हो?"-मैले उत्सुकतापूर्वक सोधें।
"हैन,कहाँ हुनु र बाबु छोरानाति भेट्न।म त आफ्नो भविष्य चम्काउन हिंडेको।गाउँको खेतबारी र बस्तुभाउ सबै बेचेर राजधानीमा बसाइँ सर्दैछु।अब बाँकी जीवन त्यतै आरामले बिताउने सोच छ।"
उसको कुराले म झन व्यग्र हुँदै गएँ।बुढेसकालमा आफ्नो गाउँ छोडेर किन बसाइँ सर्न लागेको होला भनेर थप उत्सुकता जागेर आयो।
"यो उमेरमा किन बसाइँसराइ बाजे?यस्तो बेला त शहर भन्दा गाउँ शान्त र बस्न लायक हुन्छ हैन र?"
मेरो प्रश्न भुइँमा खस्न नपाउँदै बूढो बोल्न थालिहाल्यो-
"बाबु,बरु तिमी पनि बेलैमा बुद्धि पुर्याउ।राजधानी भनेको राजधानी हो क्या बाबु!उसो त अहिले राजधानीको घरजग्गा कौडीमा पाइने भएको छ।त्यसैले म त लागें।"
बूढो बाजेलाई कसरी सम्झाउँ भयो।बिचरा!भ्रमको जालोमा फसेको देखेर म स्तब्ध भएँ।

Sunday, 26 February 2017

तिमीले हो

बसिरा'को मनलाई चलाएको तिमीले हो
बहानामा कति कुरा छलाएको तिमीले हो।
(नानी)
माया गर्छु भन्ने नाटक गरेर अाज सम्म
मेराे मन पलपल जलाएकाे तिमिले हाे।
(प्रतिमा)
दोष लाउन त सजिलो छ गुनासो के गरौं
चोखो माया पिरती नलाएको तिमीले हो
(सनम)
पर्खी बसें देउरालीमा तिमी आउँछ्यौ भनी
तिमी आइनौ, ज्यान गलाएको तिमीले हो।
(माङ)
दोष लगाउन मन कहाँ थियो र मलाई नि
चोखो माया गर्ने मन ढलाएको तिमीले हो।
(नानी)
जराबाट पलाए थाहा हुन्थ्यो दु:ख-पीडा
एक्कासी टुप्पोबाट पलाएको तिमीले हो।
(माङ)
बरु ठिकठाक बाँचेकै थिएँ एक्लै हुदानी
नजिक आइ चाहना फलाएको तिमीले हो।
(सनम)
बिर्सी सकेको थिएँ मैले माया लाउन पनि
तर मध्यरातमा सल्बलाएको तिमीले हो।
(माङ)

गोदावरीका पुष्प

गोदावरीको सुन्दर बाग
हजारौं पुष्पहरुको बास
सिरसिरे पवनको झोक्का
मेघको उपस्थिति
सिमसिमे बर्षात
अहा कस्तो तालमेल प्रकृतिको
सम्भवतः स्वर्ग यही हो।

एकैछिनमा कुर्लिन्छन् एकहुल भमरा
जसरी उपत्यकाको साँगुरो सडकमा
नौजवानहरु कुर्लिन्छन्
धनी बाउको ऐश्वर्यमा राज गर्दै
बुलेटको भटाङटाङ आवाजमा
फुटपातेहरुको प्रवाह नै नगरी
हेलिकप्टरमा उडेको ठान्छन्
हो,त्यसरी नै उर्लन्छन्।

क्याफेका नाममा खुलेका
भट्टी पसलको अगाडि
आफ्नो पुरुषार्थ पार्क गरेर
छिर्छन् बिषभन्डारमा
ताँतीका ताँती लाएर
बैशको नशाले उन्मत्त अनि
लट्ठ भएर निस्कन्छन्
फाल्दछन् बिषालु सास
जसरी ती अल्लारेहरुले
रम र भोड्काका बोतल रित्याएर
सल्काउँछन् सिगरेट र
फाल्दछन् धुँवा।

भुन-भुन गर्दै भन्किन्छन्
सुन्दर पुष्पहरुका वरिपरि
गिद्देनजर लाउन थाल्छन्
स्पर्श गर्छन् जबर्जस्ती
कुटिल हाँसो हाँस्दै
नृत्य गर्छन् डालीमा
जसरी ती जम्मा ठिटाहरुले
फ्यु गरेर सुसेल्छन्
जिब्रो पड्काउँछन्
मैयाँ! भनी बोलाउँछन्
ताल परेको खण्डमा
हात लम्काउँछन् षोडशीतिर
स्पर्श गर्छन् संवेदनशील अंग।

ती नामर्द भमराहरु
मर्द ठान्छन् आफूलाई
शक्तिशाली मान्छन् स्वयं
मानौं उनीहरू शक्तिशाली राज्यका
राजकुमार नै हुन्
धावा बोल्छन् पुष्पमाथि
धुजा-धुजा बनाउँछन् इज्जत
गर्न थाल्छन् मनोमानी
जसरी बलात्कृत हुन्छे चेली
एउटा बाट मात्र हैन
सामूहिक बलात्कार।

कसले आँट गरोस् मुद्दा हाल्न
पुष्पहरुको अदालतमा
कदंकदाचित मुद्दा दर्ता भएनी
भमरा नै छन् वकिल
भमरा नै छन् न्यायाधीश
अब कसले दिने-न्याय
त्यसैले सुरक्षित छैनन् अचेल
गोदावरीका पुष्पहरु!

Friday, 24 February 2017

मेरी पार्वती

हजारौंको हुलमुलमा
तँछाडमछाड गर्दै
के-के न पाउँला झैं गरी
रातो साडीमा सजिएर
कहाँ हिंडेकी
बाटो बिराएकी त छैनौ?
मेरी पार्वती!

साठी हो कि सत्तरीको
बूढो हो कि जवान
पहिचानै गर्न नसकिने गरी
चाउरिएको छालामा
खरानी घसेर
तिमी जस्ती पार्वतीहरुलाई
रनभुल्लमा पार्दैछन्
ती ढोंगी बाबाहरु!
ब्यापारी बाबाहरु!
त्यता तिर नजाउ
मेरी पार्वती!

जनावरले झैं
लाज शरम पचाएर
बोका झैं ठस-ठस गन्हाउँदै
देखाएर बसेका छन्
सढेका लिंग
शिवलिंगलाई ढोग्न छोडेर
किन ढोग्छ्यौ
बाबाको लिंग?
मेरी पार्वती!

कस्तो पति चाहियो रे?
ठ्याक्कै महादेव जस्तो?
यदि त्यसो हो भने
भाङ-धतुरो खाएर
टिल्ल परेर
खित्का छोडेर बसेको हुनेछु
तिमीले चाहेको जस्तै
बन्ने कोसिसमा हुनेछु
आउ न आउ
मेरी पार्वती!

बरु भन के चाहियो
ईच्छा पूर्ति गर्नेछु
तर मलाई चाहिएन
देवी जस्ती पार्वती
मलाई त भए पुग्छ
तिमी जस्ती पार्वती
तिमीले कष्ट गर्नुपर्दैन
बश पूजा गर मायाको
बाबाको लिंग ढोगे झैं
ढोग्नुपर्दैन मेरो लिंग
हो,साँच्चै भनेको
मेरी पार्वती!

Thursday, 23 February 2017

दमकल

जवानीमा आगलागी भयो।

दमकल बोलाइयो।

त्यसपछि बोलाउनै परेन,आफैं आउन थाल्यो।

Tuesday, 21 February 2017

फूल

फुल्दै नफुली फूल झरेको भए !
के गर्छौ तिमी म मरेको भए !
(नानी)
फुल फुलेर झर्ने त एक ऋतु न हो
केही हुन्न फुलमा भमरा तरेको भए!
(तुन्डु)
जिन्दगीको कहानी  बेग्लै हुन्थ्यो
यदि तिमीले मेरै भर परेको भए!
(सनम)
मेरो  त आफ्नो जिबन साथी छ
त्यही भएर तिमी उता सरेको भए!
(तुन्डु)
कति कन्जुस्याइँ गरि रह्यौ तिम्ले
म बिचरालाई सुवास छरेको भए।
(माङ)
हाम्रो संसार प्रेमिल हुन्थ्यो होला
तिमीले मायाको गाग्री भरेको भए!
(माङ)
तिमी कसलाई चुन्ने थियौ प्यारी
यदि मैले बढ्ता माया गरेको भए!
(माङ)

रहस्य

      शिशिर यामको मुटु नै हल्लाउने चिसोले लुगलुग काम्दै म बिहानीको झिस्मिसेमै उठेर चावहिलको पशुपति क्याम्पस जान लाई निस्कें।तीनचुले देखि तीनपांग्रे ट्याम्पोले मर्मत हुँदै गरेको खाल्डाखुल्डी सडकमा उफार्दा उफार्दै क्याम्पसको नजिकसम्म पुग्दा जाडो पनि टाप कसिसकेको थियो।पसिना नआएपनि शरीर गरम भैसकेको थियो।तर ट्याम्पोबाट ओर्लेर हिंड्दै क्याम्पससम्म पुग्दा ज्यान फ्रीजमा जमेको कुखुरा जस्तै भैसकेको थियो।क्याम्पसमा पहिलो दिन भएकोले चुपचाप अन्तिम बेन्चतिर गएर बसें।त्यो दिन कसैसँग परिचयसम्म पनि भएन।बी ए प्रथम बर्षको पढाइ भएकोले कसैको पनि नियमित क्लास हुँदैनथ्यो।अर्को दिनदेखि केटा साथीहरु बनाउन थालें।केही दिनमै अन्तिम बेन्चतिरका प्रायः मेरा साथी बने।अन्तिम बेन्चमा बसेर अगाडिको दृश्य नियाल्न छुट्टै खालको मजा हुने रहेछ।बाह्र कक्षासम्म म जहिल्यै अगाडिको बेन्चमा बस्ने थिएँ र पछाडिका सुन्दरीहरुको अवलोकन गर्न खुब कठिनाइ झेल्नुपरेको थियो।तर त्यो समस्या क्याम्पस परिवर्तन गरे पछि स्वत:हल भयो।एकदिन मेरो नजर अगाडि र पछाडि नभई बीचतिर बस्ने एउटी परी जस्ती रुपसीमा पर्यो।चन्चली,हाँसेर बोलिरहने र मोहित पार्ने मुहार देखेर म त्यही दिनै फिदा भैसकेको थिएँ।मेरो ध्यान पढाइ भन्दा पनि उनीतिरै जान थाले।करीब एक हप्ता भैसकेको थियो उनलाई मनभित्र सजाएको।तर उनले पनि पछाडि म बसेको बेन्चतिर हेर्ने अपेक्षा गर्दागर्दै कक्षा सकिन्थ्यो।मेरो आशा बिहान ५ बजे फुलेर दस बजे ओइलिन्थ्यो।गाउँको कलेज पढ्दा धेरै जना केटीहरुले मलाई लाइन नमारेका होइनन् तर आफूलाई मन नपरेको कसैलाई झूटो मायामा फसाएर भमराले फूलको रस चुसे झैं चुसेर फाल्ने मेरो नियत थिएन।म त्यस्ती खालकी सुन्दरीको खोजीमा थिएँ,जसलाई अन्तर हृदयले चाहेको होस् र उनलाई सदाको लागि दिलको सिंहासनमा रानी बनाएर बसाउन सकुँ।हो,मैले चाहेको र खोजेको जस्तै सुन्दरी देखेको थिएँ पहिलोपटक।तर प्रत्यक्षरुपमा बोल्ने हिम्मत जुटाउन सकिरहेको थिईन।धेरै जसो साथीहरुलाई अवगत भैसकेको थियो कि मैले उनलाई मन पराउँछु भनेर।तर म र मेरा साथीहरुलाई उनको नाम सम्म थाहा थिएन।एक दिन मैले न्वारान देखिको बल लगाएर उनीसँग बोल्ने आँट गरें।पढाइ सकेर स्कुटी चढ्नै लागेकी थिई,म उनको समिपमा गएर उभिएँ।
"खै बाटो छोड।"
उनको एक वाक्यले मेरो दिमागमा मायाको संचार भयो।संसारमै सबैभन्दा मूल्यवान चीज पाएको आभास भयो।म उनकै सामू ठिंग उभिरहें।
"बाटो छोड भनेको सुनेनौ?"
उनको दोश्रो वाक्यले झन म उनीप्रति पागल भएँ।उनको मायालु वाक्यलाई छातीभित्र कैद गरेर नजिकै गएर बोलें।
"हाइ,म रवि।"
"किन झुल्केको त बेला न कुबेला मेरो सामू?"-उनको ब्यंग्यले म अवाक भएँ।उनले पनि आफ्नो परिचय देओस् भनेर मैले आफ्नो परिचय दोहोर्याएँ।
"म रवि।"
"अस्ताइहाल मेरो सामूबाट।"-अर्को ब्यंग्यात्मक वाक्य आयो।
"तिम्रो नाम?"-यसपटक मैले बोलीको बाणले निशाना लगाएँ।
"के गर्छौ नाम थाहा पाएर?"
"म...म..म..म.."
मेरो बोली फुटिरहेको थिएन।मेरो कुरा सुनेर उनले हेलमेट उतारेर फिस्स हाँस्न थाली।
"मलाई मन पराउँछौ?माया गर्छौ?छोड यस्ता सस्ता डाइलग।मेरो जीवनमा हजारौं पल्ट सुनेको वाक्य यिनै हुन्।यति सस्तो र सजिलो छैन मिस्टर माया!तिमीले भन्न खोजेको मैले बुझें।म राम्री छु।तिमी मलाई मन पराउँछौ।सधैंको लागि आफ्नो बनाउन चाहन्छौ।तिम्रो माया चोखो छ,अरुको जस्तो झूटो छैन।यस्तै-यस्तै।केटाहरुको चरित्र यस्तै हुन्छ।मलाई भनिरहनु पर्दैन।तर यति मरिहत्ते गरेर बाटो छेकिहाल्यौ,परिचय सम्म दिउँला।म आस्था।"
यति भन्दै उनले आफ्नो हात बढाई।मैले पनि आफ्नो हात उनीतिर बढाएँ।जिन्दगीमा पहिलोपटक केटीसंग हात मिलाएँ।छोड्न मन लागेन।सधैंको लागि उनको हात थाम्न मन लाग्यो।उनको मुलायम हातलाई चुम्न मन लागेको थियो तर सकिन।
"धन्यवाद आस्था।परिचयको लागि।कफी खान जाऔं न।"
"कफी सफी खान्न म।मेरो हात छोड।"
म झसङ्ग हुँदै हात छोडें।निकैबेर उनको हात थाम्न पाउँदा म खुशीले गदगद थिएँ।
"हात छुन पाउँदैमा मख्ख हुने हैन नि।ठूलो सपना नदेखे हुन्छ।खै अब बाटो छोड।"
हेलमेट लाएर स्कुटी कुदाएर गैहाली।म हेरेको हेर्यै भएँ।प्लेन छुटेको यात्रु झैं अलपत्र भएँ।आस्था नामको आँधीबेहेरी आएर मेरो मनलाई उथलपुथल बनाएर छोडिसकेको थियो।एउटा जून उदाएको थियो,एकैछिनमा अस्तायो।म अन्धकार भएँ।मेरो संसार औंसीमय भयो।तर भोलीको जूनको आगमनको आशा लिएर तीनचुलीको ट्याम्पो चढें।खाल्डाखुल्डीमा ट्याम्पोले हल्लाएको पत्तो नै भएन।ट्याम्पो भन्दा खतरनाक आस्थाले मेरो मनलाई हल्लाइसकेकी थिई।शक्तिशाली भुकम्पले झैं मेरो मनको भवन चर्केको र टुटेफुटेको थियो।चर्केको मन टाल्न आस्थाको माया मात्र काफी थियो।तर आस्थाको माया र आकाशको जून उस्तै लाग्यो।टिप्न असम्भव प्रायः।
      मेरो कफीको प्रस्ताव लाई ठाडै अस्वीकार गरेको कारण म तनावग्रस्त भएँ।तर मनमा एउटा खुशीको संचार भैरहेको थियो-आस्थासँग परिचय गर्न र उनको नौनी जस्तो मुलायम हात समाउन पाउँदा।उनको हाकाहाकी र कडा स्वभावले म प्रभावित भएँ।तर उनको माया पाउन सजिलो थिएन।निकै कडा मिहिनेत गरेपनि कुनै ग्यारेन्टी थिएन।अर्को दिनको प्रतिक्षामा रात कटाउन मलाई एक युग कटाए जस्तै भयो।कक्षामा छिर्दा उनलाई कतै देखिन।सायद मेरो कारण उनको चित्त दुखेर क्याम्पस नआएकी होली झैं  लाग्यो।शिक्षकले पढाउन शुरु गरिसकेको थियो,उनको आगमन भएन।मलाई त्यहाँ बसिरहन मन लागेन।भित्रभित्रै पश्चातापले जल्न थालें।
"मे आई कम इन सर?"
एउटी स्त्रीको सुमधुर आवाजले सबैको ध्यान भंग भयो।उनी अरु कोही नभएर आस्था नै थिईन्।उनको आगमनले कक्षाकोठा झलमल्ल भयो।मेरो मनमा औंसीको समापनसंगै पूर्णिमाको शुरूवात भयो।उनले पछाडिको बेन्चतिर नजर दौडाई।मलाई देखेर मुसुक्क हाँसी।उनी हाँस्दा मेरो जीवन सुखमय भयो।उनले पनि मलाई मन पराउने रहिछे भन्ने लाग्यो।मेरो जीवनबाट कालो बादल हटेर सफा नील गगनको आगमन भएको ठहर गरें।दोश्रो पिरियड पढिसकेर मैले आस्थाको हात समाएर क्यान्टीनमा लगें र दुईटा कफी र दुईटा दुनट मगाएँ।चिसो बिहानीमा गरम-गरम कफीर दुनटसंगै वार्तालाप शुरु भयो।
"रवि,हिजो तिमीले के म..म..गरेर केही भन्न खोज्दैथ्यौ नि?छर्लङ्ग भन के भन्नुछ र मैले पनि स्पष्ट पार्नुछ।"
उनको कुराले मलाई थप बल पुग्यो र मैले सोझै भनें-
"आस्था,इफ यु डन्ट माइन्ड,म तिमीलाई मन पराउँछु।"
"अनि यति जाबो कुरा भन्नलाई डराउनुपर्छ त?हा हा हा हा हा।मन पराउनु कुनै पाप र अपराध हैन रवि।एक वयस्क युवकले अर्की युवतीलाई मन पराउनु स्वभाविक हो नि।"
"तर..तर..."-फेरि पनि मनको कुरा भन्न सकिरहेको थिईन
"के तर तर मात्र भनिरहेको?के भन्न खोजेको?"
"आस्था,म तिमीलाई माया गर्छु।"
मेरो कुरा सुनेर एकछिन उनी स्तब्ध भईन्।मेरो अनुहारमा हेरेर खै के के सोचिरहेकी थिई।धेरै बेरपछिको गहिरो सोचाइबाट गफको सतहमा आएर भन्न थालिन्।
"हेर रवि।तिम्रै जिद्दीले आज म तिम्रो साथी बनेको छु।साथीलाई साथीकै रुपमा निरन्तरता दिन्छौ कि गुमाउन चाहन्छौ,त्यो तिम्रै हातमा छ।म कसैलाई मीठो सपना देखाउँदिन।सीधा कुरा-म तिमीलाई माया गर्न सक्तिन।मलाई माफ गर रवि।"
"किन?आखिर किन?के म तिम्रो लायक छैन र?तिमी शहरकी,म गाउँको भएर?के कमी देख्यौ र ममा?तिमीलाई सुखमा राख्न नसकेपनि दुई छाक र एकसरो लाउन दिने औकात मेरो पनि छ।भन आस्था,के हाम्रो स्तर नमिलेर हो?"
"हेर साथी,म त्यस्तो घटिया सोचाइको केटी हैन।स्तर र औकात भाडमा जाओस्।हेर्दा मलाई घमण्डी देखिए पनि मेरो मन सफा छ।मनमा एउटा र मुखमा अर्को बोल्ने मान्छे मलाई मन पर्दैन।मेरो आफ्नै ब्यक्तिगत कारणले म तिम्रो प्रेम लाई सम्मान गर्छु तर स्वीकार्न सक्तिन।"
"किन,के तिम्रो जीवनमा अर्कै केटा छ?छ भने म तिम्रो बाटोमा तगारो बन्दिन।साफसाफ भन।"
"यो मेरो प्राइभेसीको कुरा हो साथी।अहिले म भन्न सक्तिन।भन्छु तर कुनै दिन।रहस्यको उद्घाट्न किस्ताबन्दीमा गर्नुको मज्जा नै बेग्लै।आजै रहस्योद्घाटन गरेर तिमीलाई खल्लो बनाउन चाहन्न म।प्रतीक्षा गर,कुनै दिन अबश्य भन्नेछु।फेरि रहस्यको पोका एकैदिन खोल्दा कोही कसैलाई हृदयघात पनि त हुन सक्छ।हा हा हा हा हा हा।"
अरु जेसुकै होस् तर उनको हाँसो चकलेट भन्दा मीठो लाग्यो मलाई।त्यो दिन उनले मलाई आश्चर्यचकित बनाएर छाडी।त्यो भन्दा बढ्ता सोध्ने दुस्साहस मैले गरिन।अर्को दिन पनि उहीँ समय र स्थानमा हाम्रो भेटघाट भयो।अब मैले उनीसँग प्रेमको कुरा गर्नु लगभग ब्यर्थ नै हो भन्ठानेर सामान्य गफगाफ मात्र गरें।तर खाटो बसेको घाउ कोट्याएर पुनः रगतम्य पार्ने काम उनैले गरिन्।
"रवि,चाहेरै पनि म तिम्रो प्रेम प्रस्ताव स्वीकार्न सक्तिन।यसलाई तिमी मेरो बाध्यताको रुपमा लिंदा हुन्छ।"
"हुन्छ।बरु अब हामी यस बारेमा कुरा नै नगर्ने कि।"
"तर हामी असल साथी त बन्न सक्छौं नि हैन र?"
यति भनेर उनले मित्रताको हात अगाडि बढाई।मैले पनि आधा दूरीसम्म हात बढाएर उनलाई साथ दिएँ।त्यो दिनदेखि हामी प्रेमी-प्रेमिका नभई असल र नजिकका साथी भैसकेका थियौं।
     पशुपति क्याम्पस राजनैतिक माहोलले गर्मिरहेको थियो।एकदिन स्ववियुको चुनाव भएको कारण हामी छिट्टै क्याम्पस छोडेर गयौं र चावहिलकै एउटा रेस्टुरेन्टमा गएर चिया र चाउमिन खायौं।तत्पश्चात करीब आठ बजेतिर हामी आफ्नो गन्तव्य तिर लाग्यौं।जीवनसाथी बनाउन चाहेको तर असल साथीमै सिमित हुन पुगेको कारण म निकै तनावमा थिएँ।आफूले मन पराएको र चाहेको मान्छेलाई आफ्नो बनाउन नसक्नुको पीडा धेरै गहिरो हुने रहेछ।तैपनि गुमाउनु भन्दा साथीको रुपमा पाएर केही मात्रामा खुशी नै थिएँ।अरु दिन झैं भोलिपल्टको दिन पनि हामी ब्रेक टाइममा क्यान्टीनमा गयौं।अरु दिन भन्दा त्यो दिन उनी निकै दु:खी र भावुक देखिएकी थिइन्।म ट्वाइलेट गएर आउन्जेल उनले कफी सकिसकेकी थिइन्।
"रवि!मान्छेले सोचे जस्तो कहिल्यै नहुने रहेछ।जीवन आफैं एक भुकम्प नै रहेछ,कुन बेला झट्का दिन्छ,थाहै नहुने रहेछ।"
उनले त्यसरी कहिल्यै निराशजनक कुरा गरेकी थिइनन्।उनको हालत देखेर दया लागेर आयो।तर मैले के नै गर्न सक्थें र।
"हैन आस्था आज के भयो तिमीलाई?सबै ठिक त छ नि?कहिल्यै उदास देखेको थिइन।यदि म तिम्रो असल साथी हो भने आफ्नो समस्या भन।तिम्रो समस्या सुन्ने अधिकारसम्म छ होला नि मेरो।"
"मेरो सबैभन्दा प्यारो साथी!मैले सबै कुरा भनिसकेको छु।आवश्यक परेको बेला आफ्नो मनमा खोज्नु।मनमा नभेटिए वरिपरि कतै खोज्नु।तिम्रो सवालको जवाफ त्यतै कतै भेटिनेछ।एउटा कुरा सोध्छु है?के म तिमीलाई चुम्न सक्छु?"
आस्थाबाट मैले सोच्दै नसोचेको कुरा आएर म आश्चर्यचकित भएँ र अवाक भएँ।मैले केही सोच्न र भन्नै सकिन।त्यहाँ के हुँदै थियो,मलाई नै थाहा थिएन।मलाई माया गर्न र मेरो हुनै नसक्ने मान्छेको एक्कासी चुम्बन दिने कुराले मेरो होस उड्नु अस्वाभाविक पक्कै थिएन।मैले शीर हल्लाएर उनको चुम्बनलाई स्वीकारें।उनले पालैपालो मेरो दुवै गालामा जोड-जोडले चुमिन्।केही बेरमा खित्का छोडेर हाँस्दै मेरो गालामा लागेको लिपिस्टिक पुछिदिई।म पागल दर्शक झैं हेरेको हेर्यै भएँ।
"के हेरेर बसेको ट्वाँ परेर?मलाई चाहिँ चुम्म दिनु पर्दैन?अब तिम्रो पालो।अर्काको चुम्बन खाएर पैंचो तिर्नु पर्दैन?खुब माया गर्छु भन्थ्यौ त।खै गरेको?"
"माया गर्ने मौका नै कहाँ दियौ र तिमीले?"
"अब गर न त कसले रोकेको छ?"
उनको अनुमति पाएपछि मैले मौकामा चौका हान्दै उनकै तरीकाले दुवै गालातिर चुमें।उनले मलाई झ्याप्पै अंगालोमा बेरिन् र मैले पनि।धेरै दिनपछि उनले मेरो मायालाई स्वीकार गरेकोमा म बहुत खुशी थिएँ।पहिले नै मेरो मायालाई स्वीकार नगरेको कारण पश्चाताप भएकोले उनी केही मात्रामा दु:खी भएको अनुमान लगाएँ।ढिलै सही,उनले मेरो मायाको सही मुल्यांकन गरेको ठहर गरें।
"रवि!भोलि मेरो घरमा आउ है?"
उनले एक्कासी मलाई घरमा बोलाउँदा बिश्वास नै लागिरहेको थिएन।एउटा सोझो र सरल गाउँले केटो काठमाडौ शहरबासीको घरमा कसरी जाने भन्ने चिन्ताले पिरोल्यो।
"किन र आस्था?यति छिट्टै?तिम्रो बाबा-आमाले के सोच्नुहोला?फेरि ठेगाना पनि थाहै छैन।"
"यसको बारेमा तिमीले चिन्ता लिनुपर्दैन,सबै म सम्हाल्छु।कपनको मिलनचोकमा आएपछि जोकोहीले मेरो घर देखाइदिनेछ।भोलि जसरी पनि मेरो घर आउ,एकदमै महत्वपूर्ण कुरा छ।सबै कुराको छिनोफानो भोलि गर्नुपर्छ।त्यसैले तिमी आउनैपर्छ,नत्र मलाई कहिल्यै नभेट्ने पो हो कि के थाहा!"
मैले उनको निम्तो सहर्ष स्वीकारें।क्याम्पस सकेपछि हामी आ-आफ्नो गन्तव्य तिर लाग्यौं।मनमा एक प्रकारको खुशी लिएर म तीनचुलीको डेरामा पुगें।अरु भन्दा पनि आस्थाले भोलि घरमा बोलाएकोले मेरो भुइँमा खुट्टा नै थिएनन्।सायद बाबा-आमासँग भेटाउन र हाम्रो बिहेको कुरा गर्न बोलाएको होला भन्ने अनुमान लगाएँ।उनलाई बिहे गरेर जीवनलाई स्वर्गमय बनाउने चाहले मनको चारैतिर गाँजिसकेको थियो।त्यो रातभर आनन्दले सुत्न सकिन।कहिलेकाही अत्याधिक खुशीले पनि सुत्न नदिने रहेछ।मिर्मिर नहुँदै आस्थाको घर जानलाई तयारी गर्न थालें।कुन कपडा लाएर जाँदा उचित होला भनेर निकैबेर दोधारमै फसें।उनको बा-आमाको अगाडि कमसल कपडा लाएर जाँदा उहाँहरुको अपमान हुन सक्थ्यो।हालसालै किनेको जिन्सको पाइन्ट,टीसर्ट,छालाको ज्याकेट र स्पोर्ट्स जुत्ता लाएर तम्तयार भएँ।छिट्टै जान पनि के भन्लान् भन्ने पीर।नजाँदा पनि समय बित्न धौधौ भैरहेको थियो।जे पर्ला-पर्ला भनेर सात बजेतिर हिंडिहालें।
       बिहानीको लाली किरण संगै हजारौं सपना सजाउँदै मनको गगनमा पंक्षी झैं उड्दै म आस्थाको घरतिर प्रस्थान गरें।ट्याक्सीले ठ्याक्कै मिलनचोकमा ओरालेर छोड्यो।खुशीले सिमा नाघिसकेको मैले ड्राइभरलाई ५० रुपियाँ बक्सिस पनि दिएँ।दुई चार पाइला अगाडि सारेपछि सय मिटर जतिको दूरीमा केही मानिसको भीडभाड देखेर त्यतै लम्कें।निकै नजिक पुगेपछि अनुमान लगाएँ-कसैको डोली उठ्दैछ भनेर।
"कतै आस्थाको बिहे त हैन?"-मनमा भयको साथै कौतुहलता बढ्यो।
पाइला अलि लामो-लामो र गति पनि बढाएँ।मुटुको गति तीव्र हुँदै थियो।मुटु ढुकढुक गरेर फुट्ला झैं भयो।करीब-करीब मेरो कौतुहलता सकिन लागेको थियो।
"दाइ यहाँ के भएको?"-मैले सोधें।
"देखेनौ के भएको?"-ठाडो जवाफ पाएँ।
"बाजे!भन्नुस् न यहाँ कसलाई के भएको?"
यसपटक झन मेरो प्रश्न निरुत्तरित रह्यो।म आफैलें नियाल्दा थाहा पाएँ-कसैको मृत्यु भएर आर्यघाट तिर लैजानलाई हरियो बाँसमाथि राखिएको शब गाडीमा हाल्दै थिए मानिसहरु।
"ए भाइ!भन न यो कसको शब हो?"-एकजना १२/१३ बर्षे केटालाई सोधें।
"आस्था दिदी"-आँसु झार्दै जवाफ दियो।
"हो र भाइ?किन,कसरी भयो?"
"हिजो राती झुन्डिएर आत्माहत्या गर्नुभएछ।"
"किन भाइ?"
"खै दाइ त्यो त थाहा भएन,उहाँले किन यस्तो गम्भीर कदम चाल्नुभयो।"
घरभित्र गई आस्थाको आमालाई भेटी दर्शन गरेर सोधपुछ गरें।उहाँले पनि त्यो भाइले भने झैं भन्नुभयो।मेरो संसार पलभरमै अन्धकार र उजाड भयो।अनायासै आँखाबाट अश्रुधारा छुट्न थाल्यो।सरासर गएर आस्थाको शबलाई अंगालेर चिच्याउन थालें।
"आस्था!मेरी आस्था!मलाई पनि संगै लैजाउ।"
मानिसहरुले शबबाट छुट्याए।म भुइँमा थचक्क बसेर बिलौना गर्न थालें।मिलनचोकमा आस्था र मेरो बिछोड भैसकेको थियो।फेरि मिलन हुन असम्भव थियो।गाडी र एक हुल मानिस पशुपतिको आर्यघाट तर्फ प्रस्थान गरे।म पनि आस्थाको एक अभागी मलामीको रुपमा गाडी पछ्याउन थालें।कति छिटो पशुपतिमा पुगिसकेका थियौं।चाहेर पनि उनलाई रोक्न सक्ने स्थिति थिएन।केहीबेरमा आस्थाको शब दनदनी जल्न थाल्यो।आस्थाको शरीरसंगै मेरो मन पनि जल्न थाल्यो।असह्य पीडा भयो।जलन भयो।कहिल्यै नसुक्ने घाउ बन्यो मुटुमा।हेर्दाहेर्दै आस्थाको भौतिक शरीर अस्तुमा परिणत भयो।शरीर खत्तम भएसंगै मेरो सपनाको प्लेन दुर्घटनाग्रस्त भयो।मेरो जीवनको टाइटनिक जहाज महासागरमा डुब्यो।रोएर चिच्याएर केही हुनेवाला थिएन।मैले शुरु देखि नै निकै ख्याल गर्दै थिएँ।म जत्तिकै दु:ख र पीडामा डुबेर बिलौना गर्ने एक मात्र पुरुष थियो।
"रनबीर!जे हुनु भैगयो।अब रोएर के गर्छस् बाबू?"
रनबीर भन्ने पात्रको बारेमा जान्न उत्सुक भएँ।उसैको नजिक गएर सोधें।
"रनबीर जी!तपाईं को?आस्थाको को पर्नुभयो तपाईं?"
"म आस्थाको साथी हुँ।तपाईं नि?"
"म पनि उनको साथी नै हुँ।क्याम्पसको साथी।तपाईं साथी मात्र कि त्यो भन्दा बढ्ता?"
"म पनि साथी मात्र हुँ।"
"अनि रनबीर जी,तपाईं लाई त थाहा होला नि किन आस्थाले यो बाटो रोजिन् भनेर?"
"तपाईंलाई जति थाहा छ,मलाई त्यो भन्दा बढी थाहा छैन मित्र।थाहा भएको भए त भनिहाल्थें नि।पुलिस रिपोर्ट अनुसार आत्माहत्या नै गरिएको साबित भयो।"
मैले त्यो भन्दा बढी सोध्ने आवश्यकता ठानिन।आस्था यो दुनियाँमा नै नभएसी कारण थाहा पाएर पनि मैले केनै गर्न सक्थें र?
       महिनादिन बितिसकेको थियोे।आस्थालाई पूर्णरुपमा मनबाट निकाल्न सकिरहेको थिईन।उनको मृत्युु रहस्यमै सिमित भैसकेको थियोे।उनको यादमा तड्पिंदा-तड्पिंदा क्याम्पस नगएको पनि महिनादिन भन्दा बढी भैसकेछ।कोठा फोहोर मैलाले गन्हाउन थालेको थियो।धेरै दिनपछि कोठामा खाना पकाएर खाएँ।भोलिदेखि क्याम्पस जानुपर्छ भन्ने सोचका साथ नुहाइधुवाइ र सरसफाइ गर्न थालें।क्याम्पस जाँदा लिएर जाने झोला पनि धुनुपर्ने जस्तो ठानें र झोलाभित्र र त्यसका साइड गोजीहरुमा भएका सबै सामान बाहिर निकालें।एउटा गोजीबाट चिट्ठीको खाम निस्क्यो।मलाई थाहै थिएन,कसले कतिखेर राख्यो भनेर।खामको बाहिर नाम र ठेगाना केही लेखिएको थिएन।खाली खाम मात्र होला भन्ठानेर कचराको डब्बामा हालें।एकैछिनमा कताबाट मलाई आस्थाले भनेको कुरा याद आयो।
"मेरो बारेमा कुनै सवाल भए त्यसको जवाफ यतै कतै खोज्नु।मन भित्र या खल्तीतिर।"
हतार-हतार कचराको डब्बाबाट चिट्ठीको खाम निकालेर खोलें।खामभित्र कसैले लेखेको पत्र फेला पारें।पत्रमा लेखिएको थियोे-
प्यारो साथी रवि
जीवनभरीको मीठो सम्झना।
        रवि!तिमीले जुन माया र सद्भाव मप्रति देखायौ,सधैं म ॠणी हुनेछु।तिमीले मलाई मन परायौ,माया गर्यौ,हो म पनि तिमीलाई मन पराउँथें।तर मन पराउनु र माया गर्नुमा आकाश र पातलको फरक हुन्छ साथी।माया पनि गर्थें हुँला तर तिमी मेरो जीवनमा आउन धेरै ढिला गर्यौ।दुई नाउमा पाउ टेकेर त जिन्दगीको सफर गर्न सकिन्न नि हैन र?जसरी तिमीले मलाई माया गर्यौ,हो म पनि असल साथीको नाताले माया गरिरहनेछु।तर तिम्रो अर्धाङ्गिनी बनेर जीवनभर साथ दिने सपना मैले देखेकी थिईन।तिमीले जुन धनसम्पति र औकातको कुरा गर्यौ नि,त्यो सरासर झूट हो साथी।हो,कसैको लागि माया भन्दा धनसम्पति प्यारो होला तर मेरो सिद्धान्तले त्यसो भन्दैन।काठमाडौ या कुनै नामि शहरमा चार/पाँच तले घर हुँदैमा कोही धनी हुँदैनन्।असली धनी त त्यो हो,जसको मन धनी हुन्छ,जसरी तिमी छौ।चाहिने बेला दिने मुस्कान,हाँसो,रोदन र चोखो माया दिन सक्ने तिमी जस्तो साथी पैसाले करोडपति ब्यक्ति भन्दा लाखौं गुणाले धनी हुन्छ।तिमी छौ।धनसम्पति नै सबथोक हैन साथी।यो तथ्य मैले एकदमै नजिकबाट नियालेकी छु र देखेकी पनि छु।मेरो कहानी बेक्लै खालको छ मेरो साथी।म पाँच बर्षको हुँदै मेरी बाबाको देहान्त भएको रहेछ।धन-दौलत भएर के गर्नु,म सानैदेखि बाबाको मायाबाट बन्चित भएँ।मेरो हात समाएर ताते-ताते भन्ने बेला,घोडा बनेर काँधमा चढाउने बेला उहाँ स्वर्गेवास हुनुभयो।त्यस्तै मेरी आमाले पतिको माया गुमाउनुभयो।आमाले नै मलाई बाबा र आमा दुबैको माया दिएर पालनपोषण र रेखदेख गर्नुभयो।शिक्षा दिनुभयो।बाबा बिनाको घर सम्हालेर मलाई यो स्थानसम्म पुर्याउन उहाँले ठूलो त्याग गर्नुभयो।म मेरी आमाले लाख सलाम गर्छु।सायद उहाँले त्यत्रो दु:ख गरेर,ममता दिएर सक्षम बनाउनु पक्कै पनि चानचुने कुरा थिएन।मलाई याद भएदेखि बाबाको साथीको परिवार बेला-बेलामा हाम्रो घरमा आएर सान्त्वना दिएर जानुहुन्थ्यो।त्यही क्रममा बाबाको साथीको छोरा रनबीर संग मेरो राम्रो मित्रता गाँसियो।एक-अर्काको जन्मदिन हामी संगै मिलेर मनाउँथ्यौं।बिस्तारै हामीले एक-अर्कालाई मनैबाट चाहन थालेका थियौं।आमा र बाबाका साथीको परिवारले पनि हाम्रो मित्रताको गुणगान गाउँथे।कुनैबेला रनबीर र मेरो बिहे गरिदिने कुरा गर्थे।म।शरमले पानी-पानी हुन्थें।मैले एस एल सी गर्दा रनबीरले एम बी बी एस पढ्न थालिसकेको थियोे।एकदिन प्रणय दिवसको अवसर पारेर उसले मलाई प्रेम प्रस्ताव राख्यो।मैले नकार्न सकिन।हाम्रो प्रेम मनको संसारसम्म फैलिन थालेको थियो।रनबीर हाम्रो घरमा आइरहन्थ्यो।उसले मेरो मात्र नभई आमाको मन जितिससकेको थियो।एकदिन घरमा आमा नभएको मौकामा हामी बीचमा शारीरिक सम्बन्ध कायम  भयो।शुरुमा त पछुताएँ तर बिस्तारै यौनलाई मैले बरदानको रुपमा लिएँ।हुनेवाला डाक्टर भएकोले उसलाई धेरै कुराको ज्ञान थियोे।बेला-बेलामा उसले मलाई नग्न बनाएर मसाज गरिदिन्थ्यो।म उसको मसाज र यौन क्रीडाबाट पागल भैसकेकी थिएँ।उ बिनाको एक पल पनि मलाई धेरै मुश्किल हुन्थ्यो।मलाई उसको बानी परिसकेको थियो।उ बिना बाँच्नै नसक्ने सम्म भएकी थिएँ।एकदिन मैले आमालाई हाम्रो सम्बन्धको बारेमा खुलस्त भनिदिएँ।
"अहिलेसम्म जेजे भए-भए,सब भुलिदेउ।तिम्रो र रनबीरको बीचमा बिहे हुन सक्दैन।"
"किन र मम्मी?रनबीर असल केटो हो।के कमी छ उसमा?डाक्टर पढ्दैछ।"
"कुरा डाक्टर र असलको हैन छोरी!"
"अनि के त?के फरक पर्छ हाम्रो बिहे हुँदा?कुन कुराले छेक्छ?"
"तिमी अहिले सानी नै छ्यौ नानी,बिस्तारै कुरा बुझ्नेछ्यौ।"
यस्तै-यस्तै कुराले टारिदिनुहुन्थ्यो मेरी आमाले।हाम्रो मायामा आमा बाधक भएर उभिनुभएको थियो।दुई बर्ष यसरी नै बिते।आमाको कुरा एकतिर र हाम्रो माया अर्कोतिर थियो।हाम्रो मायामा खासै कमी थिएन।मैले १२ कक्षा पास गरेर बी ए मा भर्ना भएँ।त्यसपछि तिमीसंग दोस्ती हुन थाल्यो।तिमीले मेरो बारेमा जान्ने धेरै कोसिस गर्यौ तर मैले किस्ताबन्दीको नाममा थाती राखें।आज त मैले सबै कुरा भनेकी छु।नभनेको खण्डमा मेरो आत्माले शान्ति पाउँदैन भन्ने सोचेर यो पत्र लेख्दैछु।हुन त अहिलेको जमानामा पत्रको प्रयोग र महत्व घट्दै गएको छ।तर मेरो लागि यही माध्यम सहज बनेको छ।साथी!जूनी-जूनीसम्म हाम्रो मित्रता जीवित होस भन्ने चाहन्छु म।राख्छौ हैन त जीवित?के बिचार छ?अँ त,मैले अर्को एउटा कुरा नभनी हुँदैन।अस्ति एकदिन क्याम्पसमा स्ववियुको चुनाब थियो नि।त्यो दिन हामी क्याम्पसबाट छिट्टै घर गएका थियौं  नि,याद छ?हो,त्यही दिन म पनि घरमा साँढे आठ बजे नै घर पुगेकी थिएँ।छिट्टै आमाको दर्शन गर्न पाउँदा म निकै खुशी हुँदै घरभित्र प्रवेश गरें।ढोका खुल्लै रहेछ।आमाको ममता पाउने कुराले कुन छोराछोरी खुशी नहोलान् भन त?पुलकित हुँदै भान्सामा छिरें।खाना पाकेर तयार रहेछ।आमाछोरी मिलेर खाने बिचारले बेडरुमतिर दौडें।तर म अचानक मनको भीरबाट नराम्रोसंग लड्न पुगें,पछारिन पुगें।मेरो आँखाले जे देखे,त्यो दृष्य असत्य होस,एउटा नराम्रो सपना होस भनेर भगवानलाई पुकारें।तर त्यतिबेला भगवानले पनि मेरो साथ दिएन।मेरो प्यारो रनबीर र मेरो प्यारी आमाको शरीर एक भएको दृश्य धेरै बेरसम्म हेर्न सकिन।रिंगटा लागेर आयो।खुत्रुक्कै ढल्ला जस्तो भयो।जसोतसो आफूलाई सम्हालेर भान्सातिर गएर बसें।एकैछिन पछि दुबै जना खुब खुशी हुँदै भान्सातिर प्रबेश गरे।मलाई देखेर दुबैजना मुख हेराहेर गरे।
"ए आस्था,कहिले आयौ?"-आमाले सोध्नुभयो।
"आज किन छिटो?"-रनबीरले अर्को प्रश्न तेर्स्यायो।
"भर्खरै आएकी।आज क्लास लागेन त्यसैले।"
मैले उनीहरूको चर्तिकला थाहा नपाए झैं गरें।उनीहरू ढुक्क भए।तर म ढुक्क हुन सकिन रवि!कसरी हुन सक्छु तिमी आफैं भन त?म भित्र के बिते होला त्यतिखेर,अनुमान गर्न सक्छौ?मेरो साथी!तिमी मेरी आमाको छोरी भएर हेर त एकछिन?के सहन सक्छौ?आफ्नै ब्याइफ्रेन्ड र आमाको बीचमा हुँदै गरेको रामलीला देखेर एउटी छोरीको मनमा कति रेक्टरको भुकम्प आउँला,अनुमान लाउन सक्छौ?रनबीरलाई अरु कुनै केटीसंग त्यो हालतमा देखेकी भए मेरो लागि सामान्य हुन्थ्यो।तर...तर त्यो अबस्था अप्रत्याशित थियो साथी।त्यतिबेला देखि मैले आफैलाई घृणा गर्न थालें।आफ्नै आमाको लोग्नेको गर्लफ्रेन्ड भएर जिउन मन लागेन साथी,जिउन मन लागेन।यो संसारमा बोझ भएर बस्न मन लागेन।यो कुरा कसलाई भन्नू थियो र मेरो?थियौ त सिर्फ तिमी थियौ।त्यही कुरा भन्नलाई म तिमीसंग अन्तिमपल्ट भेट्न आएकी थिएँ।मौखिक रुपमा भन्ने उर्जा ममा थिएन।त्यसैले पत्र लेखेर ल्याएकी थिएँ र  तिम्रो झोलाको गोजीमा राखिदिएँ,जुनबेला तिमी ट्वाइलेट गयौ नि।यदि यो पत्र तिम्रो हात परेको भए ठिकै छ,रहस्य थाहा पायौ होला तर यदि हात नपरेको भए यो रहस्य रहस्यमै सिमित हुनेछ।त्यही दिन मैले तिमीलाई निम्तो दिएकी थिएँ,मेरो मलामीको।तर तिमीले बुझ्ने कुरै भएन।पक्कै पनि तिमी मेरो मलामी आउँछौ होला हगि? हाम्रो चार दिनको मित्रता सदाको लागि अमर र अजर हुनेछ भन्ने बिश्वास लिएकी छु।हस त साथी,यो जूनीलाई यति नै।मौका मिले अर्को जूनीमा भेटौंला।उहीँ तिम्रो साथी-आस्था।"
        आस्थाको पत्रले मलाई मर्माहत बनायो।फेरि एकपल्ट भक्कानो फुटाएर रोएँ।उनको पत्रलाई हजारौं पल्ट चुमें।आकाशतिर हेरेर भनें-
"आस्था!मेरी आस्था!कहाँ छ्यौ तिमी?आइ लभ यु आस्था!"
मेरो स्वरले पूरै कोठा गुन्जियो।सायद कोठा मात्र नभई सिंगो तीनचुली बस्ती नै गुन्जियो होला।साँझ झमक्क परेको थियो।ट्याक्सी चढेर सिधै आस्थाको घर गएँ।म त्यहाँ पुग्दा उनकी आमा र रनबीरको मुहारमा एक खालको चमक थियो।मलाई देखेर एकछिन उनीहरू झस्किए।मेरा दुई हत्केला एक आपसमा ठक्कर खान थाले।बज्न थाल्यो ताली।उनीहरू अकमक्क परेर अनौठो पाराले मलाई हेर्दै थिए।
"बधाई छ आस्थाकी आमा र रनबीर!!!"
त्यति भनेर म फटाफट बाहिरिएँ।

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...