तिमी वायु
हो,जसरी छ तिम्रो अस्तित्व
यो बिशाल संसारमा
सिंगो पृथ्वी तिम्रो घर हो
भौगोलिक रुपमा
मानवीय हर्कतले
बिभाजित भए पनि
टुक्राटुक्रा राज्यहरुमा
सुस्ताइदिन्छौ बिना रोकतोक
उत्तरी गोलार्ध देखि
दक्षिणी गोलार्ध सम्म
पूर्व देखि पश्चिमसम्म
बिना नागरिकता
बिना राहदानी
तिम्रो लागि छैन कुनै सिमाना
हो,म पनि असिमित छु।
हेर्दाखेरी केवल वायु हौ
तर तिमी
बादल,बाष्प,जल हौ
अस्क्सिजन,कार्बनडाइअक्साइड,
नाइट्रोजन,हाइड्रोजन सब हौ
किन कि,
यी सब लिएर हिंड्ने सिर्फ तिमी
म पनि लिएर हिंड्छु
टाइटनिक,मुना-मदन,
रामायण,महाभारत,
गीता,बाइबल,त्रिपिटक,
खण्ड-काव्य,महाकाव्य।
प्रचण्ड रविको स्पर्शले
तातिएको सागर
बाष्पको रुपमा लिएर
हिमालयसम्म पुर्याउँछौ
र बर्साउँछौ
पानी
असिना
हिउँ
शित
तुसारो
ठिक त्यसरी नै म
मस्तिष्कलाई तताएर
प्रस्फुटित अक्षर
लिएर जान्छु
कापी-कलम सम्म
अनि बर्षा गराउँछु
गजल,गीत,कविता,मुक्तक
उपन्यास,कथा,निबन्ध।
जसरी तिमी भित्रको अक्सिजनले
सजीव बस्तुलाई
जिवित राख्दछ
मैले जिवित राखेको छु दुनियाँ
बश हाम्रो नाम फरक छ
तिमी वायु
म साहित्य।
तिमीले जस्तै
म पनि उडाउँछु
यान
तिमीले उडाउने यानमा
यात्रुहरु यात्रा गर्छन्
मेरो यानमा
भावना।
तर अचेल मनुष्यले
प्रदुषित पार्दैछन् तिमीलाई
बन्द,हड्ताल र चक्काजामको नाममा
टायर बालेर
उद्योग र कलकारखानाको नाममा
हानिकारक ग्यास र
खतरनाक तत्व छोडेर
मलाई पनि प्रदुषित बनाइँदैछ
खराब प्रवृत्तिले
अश्लील बिचारले
दरिद्र मानसिकताले
निर्दोष शब्दहरुको
घाँटी रेटेर
निर्मम हत्या हुँदैछ मेरो
अर्थात साहित्यको।
No comments:
Post a Comment