बसन्तको आगमनसंगै
हरित पत्रहरु
पलाउन लागेका थिए
सुख्ख र खङ्ग्रङ्ग देखिने डालीहरु
काँचुली फेर्दै
बैशले उन्मत्त तरुनी झैं भए।
मनको नाँगो डाँडा
हरियाली हुँदै गयो
डढेलो लागेको स्थानमा
पुनः नव झार पलाए
जवानी देखेर
चराचुरुङ्गीहरु झुम्मिन थाले
गाउन थाले चिर्बिर गाना
संगीतमय भयो वातावरण
सजीव भयो जीवन।
तर वसन्त
धेरै दिनसम्म टिकेन
मीठो सपना जस्तै भयो
निद्राबाट ब्युँझिने बित्तिकै
झर्ल्याम्मै टुट्यो बिपनी
जसरी पत्थरको प्रहारले
काँचको हविगत हुन्छ
अनि समाप्त भयो बसन्त
शुरु भयो शिशिर।
शिशिरको शुरूवातसंगै
म नाँगेझार हुँदै गएँ
पवनको झोक्काले पनि
ढल्न सक्ने निरीह भएँ
मनचरीहरु उडिगए
स्तब्ध भयो जीवन
उजाड-उजाड भयो।
परिवर्तनशील दुनियाँमा
स्थिर रहेनछ केही
अस्थिर भएर आयौ तिमी पनि
मेरो जीवनमा
शुरुमा वसन्त भएर आयौ
हरियाली छाएझैं गर्यौ
पलभरमै आफ्नो रुप बदल्यौ
शिशिर भएर छायौ।
मलाई काँच जस्तै
मायाले कमजोर बनायौ
आफू पत्थर बन्यौ
र प्रहार गर्यौ
हजार टुक्रामा बिभाजित भएँ म
आफ्ना प्रत्येक टुक्रामा
तिमीलाई खोज्दै थिएँ
तर त्यहाँ उजाड बस्ती मात्र थियो
कतै थिएनौ तिमी।
No comments:
Post a Comment