Monday, 13 February 2017

प्रेम दिवस

प्रिय आज प्रेम दिवस रे त
आज आम मायालुहरुको
माया गर्ने खास दिन रे त
यही दिनले सम्झायो
हाम्रो अतीतलाई।

हो मैले त पहिले पनि
माया गरेकै थिएँ
गर्दै आएको छु
गरिरहने छु
सम्झिरहनेछु
हरपल,हरदिन
जब सम्म हुनेछु अस्तित्वमा।

तिमीलाई सम्झाउँदिन
मलाई माया गर भनेर
सम्झिरहनु भनेर
कसैलाई बिर्सनु पनि माया हो
मेरो बुझाइमा
सम्झेर मुटु दुखाउनु भन्दा
घाउ बल्झाउनु भन्दा
बिर्सिदेउ बरु मलाई
तर म सम्झिरहनेछु।

पाउनु मात्र कहाँ माया हो र
गुमाउनु पनि त माया रहेछ
तिमीले मलाई गुमाएर
अर्कोलाई पायौ
तिम्रो खुशी पायौ
मैले गुमाएँ
तिम्रो खुशी नै मेरो खुशी
यो नसोच म दु:खी छु
म एकदम खुशी छु।

तिमी जून हौ
मैले टिप्न सकिन
हाम्रो दूरी टाढा छ
हेरेरै मात्र सुख मिल्छ
चैन मिल्छ
जून पाईन भनेर
गुनासो छैन मलाई।

फेरि प्रेम अपराध कहाँ हो र
यो त बरदान हो
प्रेममा यति तागत छ कि
चराहरु बिना पखेटा उड्छ्न्
अपांगहरु बिना खुट्टा हिंड्छन्
अन्धकार संसार पनि
प्रेम-द्धीपले जाज्वल्यमान हुन्छ
यो त्यसरी नै तिम्रो संसार
उज्ज्वल होस्
हर पाइलामा सफलता मिलोस्
तिम्रो संसार प्रेममय होस्।

अँ त प्रिय
आज प्रेम दिवस रे त
प्रेमको उत्सव रे त
म त भन्छु प्रिय
प्रेम त अपार छ
असीमित छ
हरदिन छ
हरक्षण छ
एक दिन मात्र गरेर
काफी हुन्न माया
त्यसैले सुन त
हरेक दिन मनाउने गरौं
प्रेम दिवस।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...