बसन्तको आगमन
नव ऋतुको उमंगसंगै
नौलो रहर र जोस लिएर
एउटी चरी
अहोरात्र खट्छे
चुच्चोको साहाराले
दूर-दराजबाट
च्यापेर ल्याउँछे
झ्याँस र सिंकाहरु
धेरै दिनको
अथक परिश्रम खर्ची
दिन-रात नभनी
भोक-प्यास सहेर
निर्माण गर्छे
सुन्दर गुँड।
महिनौं देखि गर्भमा
सजाइएको डिम्बलाई
कष्ट सहेर जन्माउँछे
सामना गर्छे
आँधीहुरी
भारी वर्षा
र असिनाको
जसरी सिपाहीले
ज्यान दाउमा राखेर
देश जोगाउँछन्।
अथक लगन
न्यानो माया र
अनवरत सुरक्षा पश्चात्
जीवन दिन्छे
नव बचेरालाई
यत्रतत्र भौतारी
खोजेर ल्याउँछे चारो
आफू नखाई-नखाई
पाल्छे बचेरा।
शारीरिक वृद्धि भए
क्रमिक पालनपोषण पछि
हुँदै गए सक्षम
देख्न थाले संसार
लाग्न थाले पखेटा
जननीलाई बिर्सेर
एक दिन गुँडलाई छोडेर
उडिगए भुर्र।
एक पछि अर्को साल
आइरहे,आइरहे
जन्माइरहे,पालिरहे
जीवन दिए दर्जनौं लाई
उडिगए सबै-सबै
क्रमशः बैँश ढल्यो
चाउरिए तन
असक्षम हुँदै गई
आफ्नै लागि चारो खोज्न
साहाराविहीन भई चरी
सुनिंदैछ अचेल बिचरी
बृद्धाश्रममा छे रे।
No comments:
Post a Comment