दु:ख कष्ट म गर्छु,आराममा भए पुग्छ तिमी
बिदेशमा छु,घरको काममा भए पुग्छ तिमी।
बसाइँ सर्न थाले सबै छोडेर पहाड,पर्वत
लेक बेशीमा रमाई गाममा भए पुग्छ तिमी।
परिवर्तन नहुनु प्यारी तिमी पनि ॠतु जस्तै
सधैं माया प्रीतिको याममा भए पुग्छ तिमी
मेरो लागि लेखिएको चिट्ठी पत्र झैं सजिनु
अरु चाह छैन,मेरो खाममा भए पुग्छ तिमी।
भए भरको सम्पत्ति तिमी लाई लेखिदिउँला
चाहिँदैन केही, मेरो नाममा भए पुग्छ तिमी।
No comments:
Post a Comment