गोदावरीको सुन्दर बाग
हजारौं पुष्पहरुको बास
सिरसिरे पवनको झोक्का
मेघको उपस्थिति
सिमसिमे बर्षात
अहा कस्तो तालमेल प्रकृतिको
सम्भवतः स्वर्ग यही हो।
एकैछिनमा कुर्लिन्छन् एकहुल भमरा
जसरी उपत्यकाको साँगुरो सडकमा
नौजवानहरु कुर्लिन्छन्
धनी बाउको ऐश्वर्यमा राज गर्दै
बुलेटको भटाङटाङ आवाजमा
फुटपातेहरुको प्रवाह नै नगरी
हेलिकप्टरमा उडेको ठान्छन्
हो,त्यसरी नै उर्लन्छन्।
क्याफेका नाममा खुलेका
भट्टी पसलको अगाडि
आफ्नो पुरुषार्थ पार्क गरेर
छिर्छन् बिषभन्डारमा
ताँतीका ताँती लाएर
बैशको नशाले उन्मत्त अनि
लट्ठ भएर निस्कन्छन्
फाल्दछन् बिषालु सास
जसरी ती अल्लारेहरुले
रम र भोड्काका बोतल रित्याएर
सल्काउँछन् सिगरेट र
फाल्दछन् धुँवा।
भुन-भुन गर्दै भन्किन्छन्
सुन्दर पुष्पहरुका वरिपरि
गिद्देनजर लाउन थाल्छन्
स्पर्श गर्छन् जबर्जस्ती
कुटिल हाँसो हाँस्दै
नृत्य गर्छन् डालीमा
जसरी ती जम्मा ठिटाहरुले
फ्यु गरेर सुसेल्छन्
जिब्रो पड्काउँछन्
मैयाँ! भनी बोलाउँछन्
ताल परेको खण्डमा
हात लम्काउँछन् षोडशीतिर
स्पर्श गर्छन् संवेदनशील अंग।
ती नामर्द भमराहरु
मर्द ठान्छन् आफूलाई
शक्तिशाली मान्छन् स्वयं
मानौं उनीहरू शक्तिशाली राज्यका
राजकुमार नै हुन्
धावा बोल्छन् पुष्पमाथि
धुजा-धुजा बनाउँछन् इज्जत
गर्न थाल्छन् मनोमानी
जसरी बलात्कृत हुन्छे चेली
एउटा बाट मात्र हैन
सामूहिक बलात्कार।
कसले आँट गरोस् मुद्दा हाल्न
पुष्पहरुको अदालतमा
कदंकदाचित मुद्दा दर्ता भएनी
भमरा नै छन् वकिल
भमरा नै छन् न्यायाधीश
अब कसले दिने-न्याय
त्यसैले सुरक्षित छैनन् अचेल
गोदावरीका पुष्पहरु!
No comments:
Post a Comment