Wednesday, 15 February 2017

नदी

दशकौं देखि
बगिरहेछ नदी
उपत्यकाको बीच बजार हुँदै
पुर्खा
श्रमिक
देउसी र
भैलीहरुको
परिश्रमले
रगत-पसिनाको
थोपा-थोपाबाट निर्मित
एक नदी।

सो नदीले
जन्माएका छन्
हजारौं मत्स्यहरु
ठूला मत्स्यहरु
साना मत्स्यहरु
भ्यागुता,सर्प र
अन्य जलचरहरु।

ठूला-साना पत्थर
माटो र बालुवा
पात-पतिंगरहरु
नदीसंग सहयात्री बनेर
संग-संगै बग्दै आएका छन्
बगिरहेका छन्।

तर नदीमा भएका
केही ठूला मत्स्यहरु
केही बिषालु सर्पहरु
आफूलाई ठान्छन्
नदीका बाहक
नदीका निर्माता
खाना खोज्छन् साना मत्स्य
जुन पातपतिंगर खाएर
जुन माटो खाएर
हुर्किएका थिए
तिनैलाई बहिस्कार गर्छन्
बिर्सन्छन् आफ्नो धरातल।

बिष ओकेलेर
स्वच्छ नदीलाई
जहरमय बनाउने
दुष्प्रयास गर्दैछन्
आफूले खाएर बाँचेको
माटो र बालुवालाई
चलाएर धमिल्याउँदैछ
समाज नामको यो नदी
खल्बल्याउँदैछ इकोसिस्टम।

यो नदी यस्तो नदी हो
जुन ओरालो नभई
उकालोतिर बग्नुपर्छ
आम जलचर तथा
हिस्साहरुको
हातेमालो भएर
बगिरहनुपर्छ,
हो,बगिरहनुपर्छ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...