रचना हरु मर्मस्पर्शी दमदार राख
आकलझुकल या त लगातार राख
लेख र रुपको प्रभावकारिता जान्न
कि लेख मात्र कि त अनुहार राख।
Friday, 30 June 2017
राख
करोडौंको भीडबाट
करोडौंको भीड बाट तिमीलाई रोजी सकें
यो दिलको तालाचाबी तिमीलाई सुम्पी सकें
मस्तिष्कको मेमोरीमा तिम्रै फोटो सेभ गरें
डिलिट गर्ने छैन मैले,जस्तो- सुकै कष्ट परे
तिम्रै लागि बाँच्ने अनि मर्ने कसम खाइ सकें
यो दिलको तालाचाबी तिमीलाई सुम्पी सकें
खोल या त बन्द गर यो मुटुको ढोका तिमी
तिमी मात्र छिर्न सक्छौ,अरु लाई छैन इन्ट्री
तिम्रो लागि मन भित्र सुन्दर फूल रोपी सकें
यो दिलको तालाचाबी तिमीलाई सुम्पी सकें
Thursday, 29 June 2017
कैलेकाही मेघ बनी
कैलेकाही परी बनी उडी आउँ जस्तो लाग्ने
कैलेकाही चरी बनी उडी आउँ जस्तो लाग्ने
तर तिमी कहाँ छौकी,केही थाहा छैन प्रिय
नजिक छौकी दूर छौ र,केही थाहा छैन प्रिय
सुख छकी दु:खमा छौ,थाहा पाउँ कसो गरी
तिम्रै याद सम्झनाले छाती पोल्छ घरीघरी
यौवनको पखेटाले उडी आउँ जस्तो लाग्ने
वायुपंखी घोडा चढी,उडीआउँ जस्तो लाग्ने
तर तिमी कहाँ छौकी,केही थाहा छैन प्रिय
नजिक छौकी दूर छौ र,केही थाहा छैन प्रिय
शहरमा छौकी तिमी,गाउँमा पो छौ की कतै
चोटपटक लागिकन घाउमा पो छौ की कतै
सपनाको यान चढी उडी आउँ जस्तो लाग्ने
सिर्र सिर्र हावा बनी उडी आउँ जस्तो लाग्ने
तर तिमी कहाँ छौकी,केही थाहा छैन प्रिय
नजिक छौकी दूर छौ र,केही थाहा छैन प्रिय
देख्दा
सबैजनाले उनैलाई कराएको देख्दा
आठ रेक्टरको भुकम्प आएको देख्दा
अचम्म लाग्न थालेको छ आजभोलि
फ्याउरीले नेपाल हल्लाएको देख्दा।
मैले सोचेको
मैले सोचेको थिएँ ,मुक्तक भएछ
मुक्तकको नाममा बकबक भएछ
लेख्न त धेरै लेख्यो यो संग्रामले
तर भ्रममा बाँचेको लेखक भएछ।
गन्हाए पनि
गन्हाए पनि ठस-ठस,चाहिन्छ-चाहिन्छ
हुने गरी अटस-मटस,चाहिन्छ-चाहिन्छ
काम बन्न,कुरा मिल्न,व्यबहार चल्न नि
जसरी पनि सोमरस,चाहिन्छ-चाहिन्छ।
Wednesday, 28 June 2017
झरनाको झंकार
झरनाको झंकार संगै तिमी आउ न
कोइलीको भाका संगै तिमी गाउ न
सगरमाथा,बुद्धभूमी राखी छातीमा
यो दिलको वरिपरि तिमी छाउ न।
लुम्बिनी र पोखरामा घुम्न जाऔंला
जनकपूर, चितवन हेर्न जाऔंला
नेपालको प्राकृतिक दृष्य हेरेर
यो जिन्दगी जिउँ साथी धोको फेरेर।
मादलुको ताल संगै तिमी आउ न
बांसुरीको धुन संगै तिमी गाउ न
अरनिको र भृकुटी राखी छातीमा
यो दिलको वरिपरि तिमी छाउ न।
च्छो-रोल्पामा गएर नै पौडी खेलौंला
गौरीशंकर गएर नै हिउँ समौंला
बृन्दावनमा लुकामारी खेली रमौंला
बाँचे पनि यही बाँचौं,मरे मरौंला।
टुङ्नाको धुन संगै तिमी आउ न
सारंगीको धुन संगै तिमी गाउ न
संस्कृति र भेषभुषा राखी छातीमा
यो दिलको वरिपरि तिमी छाउ न।
हरपल
हरपल नशा-नशामा नेपाल बहन्छ
देशकै माया मुटुको माझमा रहन्छ
बाध्यताको कारण बिदेश भासिंदा
पलायनवादी भन्दा कसले सहन्छ?
Tuesday, 27 June 2017
तीता-मीठा पलहरु-५
भाग-५
अप्रिल-७/२०१७(चैत्र-२५, शुक्रबार,२०७३)
अरबमा जो आउँछन्,समस्यामा फसेरै आउँछन्।समस्यालाई सुल्झाउन आउँछन्।धरापमा परेको जीवनको करियरलाई केही हदसम्म सुधार्ने होडमा आउँछन्।केही सुनौला र मीठा सपना देखेर सोही सपना साकार पार्न आउँछन्।मेरो उदेश्य पनि अरुको भन्दा खासै पृथक थिएन।हो,म पनि हातमुख जोर्नलाई दिनको १२/१३ घण्टा खटिरहेको थिएँ।नाइट ड्युटी गरेकोले लखतरान र शिथिल भई दिउँसो सुतेर दुबईको समयानुसार साँझको ०५:१५ मा आँखा खुलेका थिए।पिसाबले टनक्कै च्यापेको रहेछ र ट्वाइलेट गएर आउने बित्तिकै फेसबुक खोलें।घरायसी समस्याले प्रबासिएका मोरङकी २१ बर्षे सन्ध्या सापकोटा जो कहिले लेबनान र कहिले सिरियामा बसेर पसिना बगाउँने गर्थिन्।प्रवासमै बसेर पनि साहित्यमा कलम चलाइरहेकी मेरी फुसबुक मित्र सन्ध्याको स्ट्याटस आएको रहेछ।
" सिरियाको न्युज हेर्नुहुनेले मेरो पीर नगर्नुस् है।मलाई ठिकै छ|म बसेको सिरियाको राजधानी दमसकसमा हो|अमेरिकाले हवाई फायर गरेको बनेपा देखि कोटेश्वर जति टाढा छ|अाजको घटनाले सबैलाई दु:खी बनाएको जानकारी पाएँ।मेरो पनि शुभचिन्तक ,शुभेच्छुक हुनुहुँदोरहेछ खुसी लाग्यो|धेरै धेरै सम्झना हजुरहरू प्रति।म सकुशल रहेको जानकारी गराउन चाहन्छु|अहिले भर्खरै भएको दमसकसको घटनामा १४७जना मृत्यु भएको जानकारी अाएको छ |थप विवरण अाउँन बाकी |कृपया मेरो पीर कसैले नलिनुहोला भाग्यले साथ दियो भने अाउँनेछु फर्केर।"
बाध्यताले सिरियामा कार्यरत सन्ध्या सापकोटा जस्तो नेपाली चेलीको स्ट्याटस पढेर म भावविभोर भएँ।न त सन्ध्यासंग मेरो गहिरो मित्रता थियो न कुनै नाता नै।तर पनि मेरा आँखाबाट अश्रुबर्षा भयो।
"तपाईँ जस्तो साहित्यकार कसरी सिरिया पुग्नुभयो?चाँडो भन्दा चाँडो नेपाल फर्किनुस्।"-एकजनाले कमेन्ट गरेका थिए।
" हजुर सिरिया मा के गर्न जानु भाको?नेपालमै बस्दा हुन्छ नि हजुर।नेपाली चेलीलाई केही हुँदैन पशुपतिनाथले कल्याण गरुन्।छिट्टै नेपाल फर्कनुहोस्"-अर्को एकजना मित्रको कमेन्ट थियो।
" १ घन्टा अगाडि सम्म हदैसम्म खुसी थिएँ २सेकेन्डमा उड्यो।माथि अाकाशमा हेरेको पूरै धुवाँ बाहेक केही छैन।फोटो खिच्न असमर्थ।बाहिर निस्कन मनाही।पूरा कर्फ्यु।हैट जिन्दगीमा पहिलोपल्ट थाहा भयो ।यहाँको शक्तिशाली घटना हो यो अमेरिकाले घटाएको।ग्याँस गनाएर बर्बाद।बाहिर निस्कियो भने ज्यान गयो।"-सन्ध्याको कमेन्ट थियोे।"
धेरै जसो उनका शुभेच्छुकहरुले खेद प्रकट गर्दै सुरक्षित रहन र यथाशीघ्र स्वदेश फर्कन अनुरोध गरेका रहेछन्।
" भोलि लेवनान फर्किन्छु।पीर नगर्नुस्।नेपालमा अाएको भुइचालो भन्दा ठूलो घटना अाँखा अगाडि भयो।हल्का डर लागेको छ।अरू केही भएको छैन।रिप्लाई गर्न सकिन म्यासेजको।सरी हजुरहरूमा।"-सन्ध्याको अर्को कमेन्ट थियो।
म यति दु:खी भएँ कि मैले न त लाइक गर्न सकें न कुनै कमेन्ट नै।निकैबेर सम्म अश्रु झरिरह्यो।मैले केवल लाचार भएर खेद प्रकट गर्नु बाहेक उनको लागि गर्न सक्ने केही थिएन।उनको स्ट्याटस पटकपटक पढेर रोएँ।साँझको छ बजेतिर मैले पनि कमेन्ट लेखें।
"म त नि:शब्द भएँ।केही भन्न सकिरहेको छैन।आफ्नो ख्याल राख्नुहोला।"
एउटी अब्बल,साहसी र हिम्मतवाली नेपाली चेली आफ्नो ज्यानको प्रवाह नगरी आफ्नो र आफ्नो परिवारको सुन्दर भविष्य निर्माणको खातिर देखाएको आँट लाई मनैदेखि सलाम नगरी बस्नै सकिन।उतिनै खेर उनलाई एकाईस तोपको सलामी दिन मन लागेको थियो।तर भौतिक रुपमा असम्भव भए पनि मनले भने टक्र्याएँ।त्यतिमात्र नभई उनी नेपाली साहित्य सृजनामा अनवरत रुपमा लागिरहेकी थिइन्।धनले गरीब भएपनि उनी मनकी भने खरबपति थिइन्।फेसबुकमा ५ हजार साथी र १० हजार फोलर्स थिए उनका।बेला-बेलामा फेसबुकमा रचनाहरु अप्लोड गरिरहन्थिन्।खासगरी मुक्तक,गजल र कवितामा बेजोड कला प्रस्तुत गरेर पाठकलाई खुत्रुक्कै पार्नसक्ने खुबी र क्षमताकी धनी उनी "अग्राख" मुक्तकसंग्रह र एउटा उपन्यास लेखनको तयारीमा जुटिरहेकी थिइन्।त्यतिमात्र नभई सुन्दर रुपकी धनी सन्ध्या आकलझुकल फेसबुकमा लाइभ समेत झुल्केर सबैलाई मन्त्रमुग्ध पार्थिन्।मीठो र सरल भाषामा बोल्न सक्ने खुबीका कारण उनी छोटो समय र उमेरमै नेपाली साहित्यिक जगतमा चीत-परिचित र चर्चित हुन पुगिन्।त्यही गति र रफ्तारमा साहित्यिक फाँटमा दौडेको खण्डमा पक्कै पनि उनले सफलताको शिखर चुम्ने निश्चित प्रायः थियो।
Monday, 26 June 2017
छेज्युको मेलैमा
छेज्युको मेलैमा भेट हुँदा
दुई दुई आँखा चार हुँदा
कान्छीले मुटुमै बाण हान्यो
मोहनी लाएर ज्यान तान्यो।
मोरीले काखमा बसाई
मायाको जालमा फसाई
उम्किनै नसक्ने बनायो
फूलले भमरा भुलायो।
तोङ्बाको नशा के नशा
मायाको नशा पो तगडा
एकचोटि बानी लागेसी
बिगारी छोड्छ जिन्दगी।
नागबेली केशले अल्झायो
नशालु आँखाले सन्कायो
मजुर चालले लोभ्यायो
रुपले पागल बनायो।
Sunday, 25 June 2017
जब तिम्रो ओठमा
जब तिम्रो ओठमा लिपिस्टिक भैदिन्छ
अफ भएको मेरो मुड पनि ठीक भैदिन्छ
आँखामा गाजल,फेसमा क्रीम लाएपछि
माङ संग्राम त्यसै-त्यसै सिक भैदिन्छ।
डाक्टर
डाक्टर बनेर तिमी लाई केरकार गर्नुछ
पत्थरले बनेको मुटुको चिरफार गर्नुछ
लाख कोसिस गर्दा पनि नपाएको माया
तिमी लाई थाहै नदिएर चोरचार गर्नुछ।
कुर्सी
कुर्सीकै लागि गरिएको मारामार देखेर
जनता लाई बनाइएको हतियार देखेर
जंगबहादुर बनेर छिनाल्नुछ नेतालाई
हर क्षेत्रमा हुने गरेको भ्रष्टाचार देखेर।
Friday, 23 June 2017
खै के कविता लेख्नु?
खै के कविता लेख्नु र?
पढिदिने पाठक भए पो लेख्नु
आफ्नै लागि के कविता लेख्नु?
अन्धाहरुको लागि लेख्यो
उनीहरुले कविता नै देख्दैनन्
देख्नेहरुको लागि लेख्यो
उनीहरुले बुझ्दैनन्
जसले बुझ्छन्
उनीहरुले पचाउँदैनन्।
पढ्नुपर्नेले नपढेपछि
पढ्न नसकेपछि
पुरानो हुन्छ कविता
फोहोर बन्छ कविता
कि कविता सल्किन्छ हिउँदमा
कवितासंगै कवि जल्दछ चितामा
कि भैयाको बोरामा कोचिन्छ
चट्पटेसंगै रुझ्दै
सर्लक्क निलिन्छ काव्यरस।
"बिदेशमा रगत नबगाउ
स्वदेशमा पसिना बगाउ
गुलामी बन्ने हैन
आफैं मालिक बन"
यसरी लेखिन्छ कविता
प्रबासी हातहरु ब्यस्त हुन्छन्
कविता पढ्ने फुर्सदै कहाँ हुन्छ र?
पिडितको लागि
दीनदु:खीको लागि
भरिया दाइको लागि
टुहुराको लागि
अशिक्षितका लागि
कोरिएका कविता
कसले पढ्ने?
पढ्नुपर्नेले नपढेपछि
अरुके किन पढ्ने?
अरुले पढेर के गर्ने?
आफैं मरिहत्ते गरेर कविले
जीवन्त बनाउन खोज्छ कविता
तर पाठकको माया बिना
जिउँदै मर्छ कविता
सहिद हुन्छ कविता।
अब्बल कविताहरु
अजर अमर होलान्
तर टुसाउँदै गरेका कविता
आस्थाको किरण नपाएर
मल र जल नपाएर
हुर्किन सक्दैनन्।
आँखा खोल्न लेखिएका कविता
आफैंमा अन्धा हुन्छन्
बाटो बिराउँदै कता-कता पुग्छन्
पुस्तकमा कैद भएर
कहिले डस्टबिनमा मिल्काइन्छन्
कहिले खाडलमा पुरिन्छन्
जन्मेर हुर्किनु अगावै
आर्यघाटमा पुग्छन्।
युगौंयुगसम्म नबाँच्ने कविता-के कविता?
जन्माउने कवि-के कवि?
जन्माएर बेहाल बनाउनु भन्दा
टुहुरा बनाउनु भन्दा
अपांग बनाउनु भन्दा
नजन्माएकै बेश!!!
Thursday, 22 June 2017
तीता-मीठा पलहरु-४
भाग-४
कहिले गीत-संगीतको सुमधुर धूनसंग रमाएँ।कहिले पसिनाको भेलसंग मितेरी गाँसें।कहिले आफ्नै मष्तिस्तमा बसोबास गरिरहेका चीत-परिचीत शब्दहरुसंग पौठेजोरी खेल्दै साहित्यको सागरमा पौडिएँ।कहिले पागल झैं एकान्तमा मुस्कुराएँ।कहिले अनिंदो शहरको ब्यस्त सडक र गाडीहरुको कोलाहल बीच हराएँ।कहिले स्वदेशको भूतकालीन चर्को याद र संझनाहरुको तरेलीमा डुबुल्की मार्दै आफैंलाई बिर्सें।जे-जे गरें,सब जीवन जिउने होड र दौडमा गरें।जुन दौडको आत्मीय सम्बन्ध एकमुठी सास र दुई थोपा रक्तसंग गाँसिएको थियो।गरिएका सबै कृयाकलापहरु केबल जीवन गुजार्ने बहाना मात्र थिए।मानिसको आयु र भविष्य कसैको बशमा नभई अनिश्चित भएपनि सास फेर्न बिर्सनु त भएन।रक्तसञ्चार अबरुद्ध हुन दिनु त भएन।यदि सास फेर्न बिर्सेको वा रक्तसञ्चार बन्द भएको अवस्थामा जिन्दगीले नै चौकाइदिने निश्चित थियो।बिर्सिदिने निश्चित थियो।बाइ-बाइ भन्ने निश्चित थियो।मृत्यु नै अन्तिम र शाश्वत सत्य थियो,हो र हुनेछ।मृत्यु निश्चित छ।तर मृत्युको भयले जीवन जिउन छाड्नु पनि त भएन।जीवन जति चल्छ,चल्न दिनु थियो।समयको गतिसंगै जति गल्छ,गल्न दिनु थियो।जति बाधा र ब्यवधान आएपनि छिचोल्नु थियो।समस्याहरुबाट निर्मित जंघार तर्नु नै थियो।जति ठेस लागे पनि पुनः उठेर हिंड्नु थियो।दौडनु थियो।कल्पनाको वायुपंख जोडेर संसारको सयर गर्नु थियो।अनि प्रफुल्ल भएर बाँच्नु थियो।गहभरी अश्रु लिएर हाँस्नु थियो।हो,यस्तै-यस्तै बहानाबाजी र नाटकबाजी गर्दै चलिरहेको थियो मेरो प्रबासी जीवन।प्रबासमा बसेर मैले ठूल्ठूला गरिबीका खाडलहरुबीच स-साना कुरामा खुशी खोज्न थालें।देख्न थालें।भेट्न थालें।अरु बिदेशीहरुको झैं महंगा र चिल्ला कारको शौख कहिल्यै भएन।इमिरेट्स मल र दुबई मल जस्ता भीमकाय सपिङ सेन्टरहरुमा गएर आधुनिक डिजाइन र फेसनका कपडा खरिद गर्ने चाह कहिल्यै भएन।एप्पलका आइफोन र ल्यापटप लिने धोको कहिल्यै भएन।संसारकै सबैभन्दा अग्लो टावर "बुर्ज खलिफा" माथि चढ्ने रहर जागेन।डेजर्ट सफारीको इच्छा भएन।चर्चित "मिर्याकल गार्डेन" छिर्न मन लागेन।खाडीको बसाइमा पनि नेपाली खाना दालभात र तरकारी नै मेरा लागि चौरासी ब्यञ्जन बराबर थिए।म्याकडोनाल्ड,के एफ सी,बर्गर र पिज्जाले कहिल्यै तानेनन्।समग्रमा मेरा ईच्छा र चाहनाहरु बुर्ज खलिफा झैं उच्चरुपमा चुलिएका थिएनन्।कम्पनीले दिएको भुइँतलाको कोठा नै संसार थियो मेरो लागि।बेडरुम,डाइनिङ रुम र किचेन जे भने पनि त्यही एउटा सिंगल रुम नै थियो।सायद कुवाको भ्यागुतोलाई संसार हेर्ने चाहना हुन्न क्यारे।वास्तवमा मेरो तलब पनि थियो नै त्यस्तै।धेरै नभए तापनि मेरो तलब मलाई कहिल्यै थोरै भएन।संगैका सहयात्रीहरुले कम्पनी छोडेर अर्को कम्पनीमा गएर धेरै-धेरै तलब खान भ्याइसकेका थिए।पजेरो चढ्न थालिसकेका थिए।
रामकुमार नाम गरेको एकजना साथीले भन्नुहुन्थ्यो-
"जीवन गुडिरहने गाडी जस्तै हो र हामी त्यसका चालक हौं।जीवनलाई गन्तब्यमा पुर्याउनका लागि एउटै राउन्ड अबाउटको वरिपरि घुम्न छोडेर अन्यत्रै मोड्नुपर्छ।"
मित्रको कुरा एकदम सही र जायज थियो।तर किन-किन उसको कुराले मलाई छुँदै छोएन।जतिको ततिमा सन्तुष्ट हुने मेरो कमजोर मानसिकता र खराब बानीकै कारण उसको कुराले मलाई नछोएको हुनसक्थ्यो।मैले बाबाले भन्नुभएको एउटै कुरा दिमागमा खेलाइरहन्थें।
"बाबु,थोरै तलब हुँदैमा केही फरक पर्दैन।थोरै-थोरै जोडेरै धेरै हुने हो।लामो यात्राको तय एकै पाइलाबाट शुरु हुन्छ।"
खै उहाँको शिक्षा कस्तो खाले थियो,मैले बुझ्न सकिन तर मैले सधैं उहाँकै शिक्षाको परिधिमा परिक्रमा गरिरहें।
संगै कार्यरत सहयात्रीहरुले आज तलब थाप्यो,भोलिदेखि फेरि तलब कुन दिन आउँला भनेर हतार र प्रतिक्षा गरेको देखियो।तर आफूलाई भने तलबको खासै महत्त्व र प्रतिक्षा पनि भएन।तलब आउँथ्यो।केही नेपाल जान्थ्यो र केही साथमै रहन्थ्यो।अरुलाई जस्तो खर्चको फिटिफिटी पनि भएन।
मेरा पाइलाहरु न त प्रगतिशील थिए न दुर्गतीशील।ढिलो हिंड्ने चलन थिएन।चाँडो हिंड्ने बानी थिएन।दौडिने चाहना थिएन।जीवनको रफ्तार एकै खाले थियो।मलाई न त कछुवा बन्नु थियो न खरायो नै।मलाई "म" नै बन्नु थियो।अरु जस्तो हैन।सामान्य शारीरिक कसरत बाहेक जिम गरेर ज्यान बनाउने,६ प्याक निकाल्ने रहर जाग्दै जागेन।मलाई कृत्रिम भन्दा बढी प्राकृतिक कुरामा बढी विश्वास लाग्थ्यो।मलाई न त सलमान खान बन्नु थियो न जितु नेपाल।ज्यान बनाउनु नै अरुलाई देखाउन हो।मैले आफ्नो ज्यान कसैलाई देखाउनु थिएन।देखाउने भनेकै गर्लफ्रेन्डलाई हो।गर्लफ्रेन्ड बनाएर सुलीमा चढ्ने रहर पलाएन।गर्लफ्रेन्ड नै नभएपछि ज्यान यस्तो बनाउ,उस्तो बनाउ भनेर सल्लाह र आदेश दिने पनि कोही भएनन्।आदेशकै कुरा गर्दा-स्वदेशमा हुँदा बा-आमाका आदेश मान्थें।बिदेश हुँदा सुपरभाइजरको आदेश मात्र पालन गर्थें।म आफ्नो मनको आदेश मात्र पालन गर्थें।म आफ्नो मनको मात्र सुन्थें।मनको आदेश मात्र पालन गर्थें।एउटै कोठामा बस्ने मित्रहरुले त्यही भएर होला,मलाई अल्टर भन्ने गर्थे।तर अरुले जे भनेपनि मलाई फरक पर्दैनथ्यो।कोठाका सहयात्रीहरुले प्रायः साहित्यकार भनेर जिस्क्याउँथे।साहित्यकार भन्नु नराम्रो पक्कै थिएन।तर उनीहरुको नियत र शैली गलत थियो।आफ्नो रचना छापिएको पुस्तक हो भनेर देखाउन खोज्दा पनि वास्ता नगर्ने मित्रहरु पनि देखें।कारण थाहा भएन।सायद उनीहरू डाहा र ईष्र्याले दनदनी जलेको हुनुपर्छ।
"संसार जलाउन आगोको जरुरत नहुँदोरहेछ।प्रगति गर्दै गएपछि आफैं जल्ने रहेछ।"
धेरै अध्ययन र प्रयोगपछि पत्ता लागेको तथ्य यही थियो।खासगरी प्रगतिमा जल्नेहरु पराइ भन्दा आफन्त नै धेरै हुनेरहेछन्।दु:ख र समय खर्चेर लेखेको रचना फेसबुकमा राख्दा अरुले प्रतिकृया दिन्थे तर आफन्तहरु मौन बस्थे।फेसबुकमा कथा लेखेर शेयर गर्दा एकदिन आफ्नै मान्छेले भनेका थिए-
"कथा लेखेर के पाउँछस्?व्यापार गर्नुपर्छ पैसा कमाउन र प्रगति गर्न लाई त।"
मैले उसको कुरामा समर्थन जनाउँदै भनेको थिएँ-
"हो नि दाइ,टाइम पासको लागि मात्र हो।"
टाइमपास नै सही तर मेरो लेख-रचना उसको लागि थिएन।नपढ्नेहरुको लागि पनि थिएन।आफ्नै सन्तुष्टिको लागि थियो।जुवाडेले जुवा खेल्न नछोड्नुको कारण पनि लत नै होला।मेरो लत पनि लेखनमा बसिसकेको थियो।चाहेर पनि छोड्न सक्तिनथें।लेखेर मलाई पैसा कमाउनु पनि त थिएन।कमाए पनि नकमाए पनि मेरो केही गुनासो थिएन।
म हरेक कुरा र बिषयबस्तुलाई साहित्यिक नजरले हेर्ने गर्थें।कहिलेकाही मनको नदी उल्टो बग्थ्यो।पत्थरलाई फूल र फूललाई पत्थर देख्थें।काँडा पनि फूल झैं कोमल देख्थें।प्रचण्ड गर्मीमा पनि मन शित्तल हुन्थ्यो।हिउंदको मुटु काम्ने लुगलुग जाडोमा पनि काल्पनिक शरीरबाट खलखल पसिना आउँथ्यो।सगरमाथा पनि सबैभन्दा होचो लाग्थ्यो।अरुण उपत्यका पनि सबैभन्दा अग्लो लाग्थ्यो।सबैभन्दा विशाल,शक्तिशाली,धनी र सुन्दर देश नेपाल लाग्थ्यो।मरुभूमिको अण्डा पाक्ने तातो बालुवामा पनि कोमल फूल फुलेको देख्थें।बुर्ज खलिफा पनि कहिलेकाही खेलौना जस्तै देख्थें।चेसको प्युसा जतिकै सूक्ष्म देख्थें।मोबाइलको सानो स्क्रीन पनि ब्रम्हाण्ड झैं लाग्थ्यो।नेपाल र अमेरिका बीचको दूरी एक इन्चको फरक लाग्थ्यो।कलमको नीबमा संसार हल्लाउने ल्याकत देख्थें।
कहिलेकाही मन यति बहकिन्थ्यो कि दुबईको उजाड मरुभूमिमा दोलखाको रसिलो सुन्तला,स्याउ र जुनार खोज्थ्यो बिचरा मनले।उराठलाग्दो तातो बालुवामा सोलुखुम्बुको हिमशृंखला र अलौकिक स्थानहरु खोज्थ्यो।चितवनको हरियाली वनजंगल र वन्यजन्तुहरु खोज्थ्यो।चेर्दुङको वनजंगलमा नाचिहिंड्ने मृग,कस्तुरी,डाँफे र मुनाल देखिने होड र दौडमा रुमलिन्थ्यो।जिरीको उकालामा भेटिने धाराहरुमा अंजुलीभरी चिसो पानी थापेर घुटु-घुटु पिउन मन लाग्थ्यो।आमाको हातले भुटेको मकै,भटमास चपाउन खोज्थे दाँतहरु।ढिंडो र सिस्नु सर्लक्क निल्न आतुर हुन्थ्यो गला।गौरीशंकरको वरिपरि चरा बनेर उड्न चाहन्थें।चौंरी,भेडा र च्याङ्ग्राहरुको सुमधुर ध्वनिसंगै सेलो र नादिङ भाका गुन्गुनाउन चाहन्थे मेरा थर्थराउने अधर।जोमसोमका स्याउहरु करक्क-करक्क आवाज निकाल्दै टोक्ने चाहना बढ्थ्यो।ब्रेकफास्टमा जिरी पुगेर झोलयुक्त थुक्पा खाएर लन्च गर्न मुडेका झुप्रा होटलमा र डिनर गर्न फेरि आफ्नै घरमा पुग्न चाहन्थें।दिउँसोको एक बजे आफू अध्ययन गरेको बिद्यालयमा पुगेर तिनै सहपाठीहरु संग भलिबल र फुटबल खेल्न चाहन्थ्यो अनियंत्रित मन।चुंगी खेल्न खप्पिस बिकास क्षेत्री संग प्रतिस्पर्धा गर्न आतुर हुन्थ्यो मेरो कलिलो मन।मान्छे अर्धबैशे भैसक्दा पनि साँच्चिकै मेरो मन १६/१७कै जवान थियो।झसङ्ग हुँदै यताउता हेर्दा नेपालको कुनै पनि ठाउँ र बस्तु पाउँदिनथें।सबै कुरा अरबकै हुन्थे।नेपालका सबै कुरा सपना झैं लाग्थे।स्मृतिमा नाचेका पंक्षीहरु गायब भैसकेका हुन्थे।मानसपटलमा कैद भएको संसार बिल्कुलै अलग भैसकेको हुन्थ्यो।ढिंडो र सिस्नुको सट्टामा महिनौंदेखि फ्रीजको पिंजडामा कैद भएका कठंगृएका कुखुरा र कुहिएका चामल खानुको बिकल्प थिएन।मन रोएर अरब सागर हुन्थ्यो।दिमाग शिथिल हुन्थ्यो।शरीर थकित हुन्थ्यो।संसार अन्धकार लाग्थ्यो।तर पूर्णिमाको रात झैं झलमल सम्झेर जीवन गुजार्नुको बिकल्प थिएन।सुख र खुशी क्षणिक थियो।दु:ख नै सदाबहार थियो।दु:खलाई नै साथी ठानेर सन्तुष्ट हुन सिकेको थिएँ।वास्तवमा त्यसपछि कुनै पनि दु:खले छुन सकेन।बिचलित पार्न सकेन।बरु सुख र खुशी देखि डराउँथें।सुखले बिस्तारै-बिस्तारै डोर्याउँदै भीरबाट घचेट्ने पो होकि भन्ने चिन्ता लाग्थ्यो।दु:ख र सुख भन्ने कुरा मनै त रहेछ।
गल्ली गल्ली
गल्ली गल्ली भौतारिने भोक देखिन्छन्
कहिल्यै नदेखिएका रोग देखिन्छन्
महलमा मोजमस्ती भई रहँदा
सडकका छेउछाउ बिजोग देखिन्छन्।
मन्दिरमा जति पनि भेटी चढाइन्छ
दुई रुपैयाँ माग्ने देखे मुन्टो बटारिन्छ
दिउँसै झ्याप भै हिंड्ने चोक देखिन्छन्
अभिनय गरि हिंड्ने लोक देखिन्छन्।
अचेलका मानवमा माया देखिंदैन
दीन-दु:खी हरु प्रति दया देखिंदैन
हरेक झुप्रा हरुमा शोक देखिन्छन्
बाआमाका रित्तिएका कोख देखिन्छन्।
Wednesday, 21 June 2017
तीता-मीठा पलहरु-३
भाग-३
खाडीको मरुभूमिमा प्रचण्ड रविको सामना गर्नुपरे पनि।मरीतरी पसिनाको बाढी बगाएर भनेजस्तो तलब थाप्न नपाएपनि।पराइभूमिमा रहेर स्वदेशमा भएका आफन्तहरुको यादहरुको धारले मुटु रेटिएपनि।दिनरात दु:ख र पीडाको आँशुले मुहार धुनुपरे पनि।कलम समाएर जब लेख्न थालिन्छ,सबै दु:ख,कष्ट र ब्यथाहरु दूर भैदिन्छ्न्।हो साँच्चिकै यस्तै हुँदै थियो मेरो प्रबासी बसाइँमा पनि।सोचेजस्तो धन-सम्पति जोड्न नसकेपनि समस्या नै समस्याहरुको भूमरीमा मडारिंदै भएपनि मेरो कलमको नीबले विश्राम लिइरहेको थिएन।त्यही कलमको साहाराले मैले दिनप्रतिदिन धनदौलत भन्दा कैयौं गुणा अमूल्य मित्रहरू कमाइरहेको थिएँ।पूर्व मेचीदेखि पश्चिमको महाकालीसम्मका मित्रहरुसंग उठबस गर्ने सुअवसर पाइरहेको थिएँ।
नेपाली साहित्यिक आकाशमा अनवरत रुपमा चम्किरहेकी अर्की उज्ज्वल नक्षेत्र थिइन्-बाराकी निर्जला कुसुम।खुल्ला ह्र्यद भएकी र नम्रभाषी उनी पनि मेरो जीवनमा अविस्मरणीय नाम हुन्।हातेमालो साहित्य संगमको च्याटग्रुपबाटै हाम्रो राम्रो परिचय भएको थियोे।शुरुवाती दिनहरुमा हामीबीच खासै बोलचाल नभएपनि एक-अर्काका रचना अध्ययन गरेर प्रतिकृया भने दिने गर्थ्यौं।कसैको रचना नआउँदा रमाइला गफगाफ समेत हुन्थे।कहिलेकाही मैले घुमाउरो पाराले उनलाई जिस्क्याउँथें।खासगरी हाइकुको माध्यमबाट उनलाई जिस्क्याउन पाउँदा खुब मज्जा आउँथ्यो।तर मैले त्यसरी जिस्क्याएको सायद उनलाई मन पर्दैनथ्यो।शुरु-शुरुमा जिस्क्याउँदा मौन बसेकी थिइन्।तर तेश्रो पल्ट जिस्क्याउँदा उनको रीसको पारो उम्लेर म माथि खनिएकी थिइन्।
"माङ जी,बाउको छोरा हो भने सीधा-सीधा कुरा गर्नुस्।बाङ्गो-टिङ्गो कुरा म बुझ्दिन।"
मलाई कता-कता रमाइलो र कता-कता दु:ख पनि लाग्यो।रमाइलो यस अर्थमा कि अरु कसैले त्यस्तो भनेका थिएनन्।दु:ख यस अर्थमा कि त्यत्रो २५० जनाको च्याटग्रुपमा उनले मलाई भद्र गाली गरेकी थिइन्।तर मैले अनुभूत मात्र गरेर खासै ठूलो रुपमा लिइन।बरु मजाकमा टारिदिएँ।
"हो र निर्जला मिस?मलाई त सीधा कुरा गरेको मज्जा नै आउँदैन क्या।"
मैले यसो भनिरहँदा उनले कुनै प्रतिकृया जनाइनन्।
"कसैको दिलमा चोट पुर्याउने मेरो मनासय थिएन।मैले त मिसको नाम जोडेर साहित्य सिर्जना मात्र गरेको थिएँ।यदि मिसको दिलमा गम्भीर चोट लागेको भए र मबाट जान अन्जान त्यस्तो कुनै गल्ती भएको भए मलाई आफ्नै सम्झेर माफी दिनुहोला।"
जवाफमा उनले भनेकी थिइन्-
"त्यस्तो माफै माग्नुपर्ने त केही थिएन।म अलि बढी बोल्छु है सर।"
मैले उनलाई धन्यवाद दिएँ।त्यसपछिका दिनहरुमा म चनाखो र अलि संयमित भएर बोल्न थालें।खासगरी निर्जलासंग त म बोल्नै छाडें तर उनैले मेरा रचनाहरुमा प्रतिकृया दिएकोले नबोली बस्ने कुरै भएन।पछिल्ला दिनहरुमा राम्रै र बाक्लै बोलचाल हुन थाले।
हातेमालोका विविध साहित्यिक भेटघाट,पुस्तक बिमोचन र वाचनका कार्यक्रमहरुमा उनले सकृयता जनाइन्।बिशेषता: गजलहरु मिठासपूर्वक वाचन गरेर आफूलाई अब्बल ब्यक्तित्व र साहित्यकारको रुपमा चिनाउन र साबित गर्न सफल भइन्।बारा जिल्ला स्थायी घर भएपनि राजधानीमा अस्थायीरुपमा बसोबास गरेर आफ्नो उच्च शिक्षालाई निरन्तरता दिइरहेकी थिइन्।च्याटग्रुपमा सकृय सदस्यहरुमध्ये उनको नाम पनि अग्रपंक्तिमा आउँथ्यो।तर एकदिन उनले सबैलाई आश्चर्यचकित बनाइन्।
"मेरो परीक्षा नजिकै आइसकेकोले गर्दा म सबै ग्रुपहरुबाट बाहिरिँदै छु।बिना अनुमति मलाई कसैले पनि नजोड्नुहोला।समय आएपछि म पुनः जोडिने बाचा गर्दछु।धन्यवाद!!!"
यति सन्देश छोड्दै उनी च्याटग्रुप र हातेमालोको सदस्य ग्रुपबाट बिदा भइन्।अचानक उनको प्रस्थानले धेरैजसो सदस्यहरु निराश भए।धेरैले ग्रुप छोड्न नहुने राय ब्यक्त गरे भने कसैले पढाइ महत्वपूर्ण भएकोले ठिकै गरेको धारणा ब्यक्त गरे।मैले भने कुनै कुराले चित्त दुखेको कारण उनले ग्रुप छोडेको हुनसक्ने लख काटें।उनले ग्रुप छोड्दा मलाई पनि खिन्नता लाग्नु स्वभाविक थियो।
उनले ग्रुप छोड्नुपूर्व उनीसँग इन्बक्समा कहिल्यै बोलेको थिइन।मैले तत्कालै म्यासेज पठाएँ।
"मिस!किन ग्रुप छोड्नुभो?"
"मेरो परीक्षा नजिकै आइसकेर हो सर।"
"केको परीक्षा हो र?"
"१२ कक्षाको परीक्षा।"
"ए त्यसो हो?मैले त सोचेको कि मिस रिसाएर जानुभो।"
"किन रिसाउनु र सर?रिसाएकी छैन।परीक्षा पछि पुनः फर्किनेछु।"
"हवस् त मिस,राम्रो अध्ययन गरेर परीक्षा दिनुहोला।"
त्यसपछि खासै वार्तालाप भएन।उनी बिनाको हातेमालो प्रेमिका बिनाको प्रेमी झैं अधुरो भयो।साहित्यिक रचनाहरु पनि नुन नलागेको तरकारी झैं खल्लो भए।मलाई पनि कहिले के नपुगे जस्तो हुन थाल्यो।हातेमालो च्याटग्रुपमा मेरो उपस्थिति पनि पातलिंदै गयो।मलाई पनि ग्रुप छोड्न मन नलागेको हैन तर अरु मित्रहरुले अन्यथा सोच्लान् भनेर बसिरहें।साँच्चिकै उनी बिनाको सबैथोक बिरानो र उराठलाग्दो हुन थाले।
नभन्दै करीब एक महिनाको अन्तराल पछि उनी पुनः हातेमालो ग्रुपमा जोडिइन्।उनको आगमनले ग्रुपमा नौलो आयाम थपियो।जोश,जाँगर,उमंग र उर्जा थपिए।रुन्चे अनुहार बनाएकाहरु मुस्कुराउन थाले।मुस्कुराउँदै गरेकाहरु हाँस्न थाले।ग्रुपमा चहलपहल बढ्यो।उनी ग्रुपमा झुल्केपश्चात पहिलेको झैं सकृय भइन्।तर उनको सकृयता धेरै दिनसम्म टिक्न सकेन।बादलभित्र हराएको जून केही क्षण चम्किलो देखिए पनि केही बेरमै मधुरो हुँदै पुनः बादलभित्रै हराए झैं उनको उपस्थिति पनि कम हुँदै जाँदा सबैको मुहार उस्तै मधुरो हुन थाले।दिनप्रतिदिन निष्क्रिय हुँदै गइन्।ग्रुपमा औंसी-पूर्णेमा झुल्किए पनि अति न्यून बोल्न थालिन्।कार्यब्यस्तताको कारण होला भन्ठानेर मैले पनि बोल्ने कष्ट गरिन।एकदिन अचानक उनले फ्याट्ट म्यासेज पठाइन्।
"सर नमस्ते।आरामै हुनुहुन्छ?"
"नमस्कार मिस।सञ्चै छु।अनि मिस लाई?"
"सञ्चै छु सर।अनि सर कुन देशमा रे?"
"म अरबको मरुभूमिमा छु मिस।दुबईमा छु।"
"ए हो र सर?सर लाई म एउटा कुरा भन्छु।तर कसैलाई नभन्नु है सर।"
"भन्नुस् न मिस के कुरा हो?"
"म पनि हजुर लाई भेट्न आउँदैछु।"
केही पलको लागि त म बिलखबन्दमा परें।बिस्तारै होस सम्हालेर उनलाई प्रतिप्रश्न गरें।
"भन्नाले?"
"म पनि हजुर भएको ठाउँमा आउँदैछु क्या सर।"
"ए हो र मिस?किन?"
"काम गर्न नि सर।"
उनले यति भनेपछि बल्ल मेरो श्वासप्रश्वासमा सहजता आयो।शुरुमा त मैले आफ्नो आँखालाई बिश्वासै गर्न सकिन तर उनले भनेपछि अबिश्वास गरेर पनि त भएन।
"होइन होला।गफ नदिनु त मि।"
"गफ हैन सर साँच्चिकै हो।"
"अनि पढाइ सकेको हो र?"
"पढाइ त कहाँ सकिनु नि सर?जम्मा १२ सम्म मात्र पढ्न सकें।यहाँदेखि माथि त कसरी पढ्न सक्छु र?"
"ठिकै छ त मिस।धेरै पढेर पनि काम छैन हाम्रो नेपालमा।"
मैले उनलाई सम्झाएँ।
"पढ्न सके त काम छ नि सर।तर कसले पढाउनु।व्यवहारिक समस्याले गर्दा सानैमा बिदेशिनु पर्यो सर।आमाको काख छोडेर टाढा गएकी छैन।अझैसम्म आमासँगै सुत्छु।१९ बर्षको कलिलो उमेरमै रहरले नभई कहरले बिदेश जाँदैछु।"
"ए है मिस?ठिकै छ नि आउनुहोला।बरु के काम र कम्पनीमा होला?"
"सुपरमार्केटमा हो सर।"
"आउनु आउनु।राम्रै हुन्छ।ढुक्कसँग आउनुहोला।"
"के गर्नु सर!म त सानैदेखि दु:ख पाएको मान्छे।हन्डर खाएको मान्छे।भनेर साध्य छैन सर।बरु त्यतै भेटघाटमा भन्छु सबै कुरा।भेटघाट चाहिं गर्नुपर्छ है सर।"
"संसारमा दु:ख नपरेको को होला र मिस?हामी सबै दु:खबाट गुज्रेको मान्छे।"
"सर लाई के के चाहिन्छ भन्नु।"
"मलाई केही थान पुस्तकहरु ल्याइदिनु न है मिस।"
"कुन-कुन पुस्तक ल्याइदिउँ सर?"
"बुधनको घोडी,ऐना र मनसुन।मिससंग अरु कुनै पुस्तक भए ल्याउनु न है?"
"हवस् सर।मसंग पनि केही थान छन्,ल्याइदिउँला।बाँकी कुरा भेटमै गरौंला।"
"कहिले आउँदै हो र?"
"चाँडै आउँदैछु।"
"भन्नाले कति दिन वा घण्टा बाँकी छन्?"
"चाँडै सर।आउने दिन त भन्दिन तर आइसकेपछि भन्छु नि।"
"ओके मिस।"
म उनको आगमनको प्रतिक्षा र पुस्तक पढ्ने चाहनामा दिनहरु ब्यतित गर्दै गएँ।कथा र उपन्यासको रसस्वादन गर्न पाउने कुराले उत्साहित बनाउँदै थियो।१५ दिन बितिसक्दा पनि उनले आएको नआएको कुनै जानकारी दिइनन्।अनलाइनमा देखेपनि कुराकानी भैरहेको थिएन।उनले पक्कै मलाई मुर्गा बनाएको होला भन्ने सोचें।एक महिनापछि मैले नै उनलाई अघि सरेर म्यासेज पठाएँ।
"खै त मिस,कुनै सुचना,जानकारी र कुराकानी छैन।नेपालमा कि दुबईमा हो र?"
"कहाँ दुबईमा हुनु सर?नेपालमै छु नि।काममा अबरोध भएर म त बर्बाद भएँ नि सर?बहुत टेन्सनमा छु।"
"किन र?के भयो?"
"दुबईमा रमादान चल्दै गरेको कारण काम हुन सकेको छैन।अझै १५/२० दिन बाँकी छन् रमादान सकिन।"
"हतार नगर्नु न मिस।बिस्तारै आउँदा फरक पर्दैन।यहाँ आएसी त कामका काम हो।भनेको बेला छुट्टी पाइन्न।नआतिनुस् काम होला नि।"
"त्यो त हो सर।हवस् त म आएपछि नै सम्पर्क गर्नेछु हजुरलाई।"
tundudai ko geet
भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...
-
भाग-७ नेपाली दिदीबहिनीहरुको महान चाड तीज(२०७४-०५-०७)ले माहोल तातिरहेको अवस्था।दर खाने दिन।नेपालमा रहेका दिद...
-
तिहारको मौसमले मुलुकको माहोल गर्मिरहेको थियो।आफू बेरोजगार,त्यहीँमाथि रित्तो गोजी छाम्दै भाइटिकाको दिन प्यारी दिदीबहिनीहरुलाई कसरी दक्षिणा टक...
-
प्रिय मित्र, २०५८|११|०१| मीठो सम्झनाको अविरल सौगात। खै,कसरी शुरु गरुँ,कसरी प्रस्फुटन गरुँ यी मनका ...