भाग-५
अप्रिल-७/२०१७(चैत्र-२५, शुक्रबार,२०७३)
अरबमा जो आउँछन्,समस्यामा फसेरै आउँछन्।समस्यालाई सुल्झाउन आउँछन्।धरापमा परेको जीवनको करियरलाई केही हदसम्म सुधार्ने होडमा आउँछन्।केही सुनौला र मीठा सपना देखेर सोही सपना साकार पार्न आउँछन्।मेरो उदेश्य पनि अरुको भन्दा खासै पृथक थिएन।हो,म पनि हातमुख जोर्नलाई दिनको १२/१३ घण्टा खटिरहेको थिएँ।नाइट ड्युटी गरेकोले लखतरान र शिथिल भई दिउँसो सुतेर दुबईको समयानुसार साँझको ०५:१५ मा आँखा खुलेका थिए।पिसाबले टनक्कै च्यापेको रहेछ र ट्वाइलेट गएर आउने बित्तिकै फेसबुक खोलें।घरायसी समस्याले प्रबासिएका मोरङकी २१ बर्षे सन्ध्या सापकोटा जो कहिले लेबनान र कहिले सिरियामा बसेर पसिना बगाउँने गर्थिन्।प्रवासमै बसेर पनि साहित्यमा कलम चलाइरहेकी मेरी फुसबुक मित्र सन्ध्याको स्ट्याटस आएको रहेछ।
" सिरियाको न्युज हेर्नुहुनेले मेरो पीर नगर्नुस् है।मलाई ठिकै छ|म बसेको सिरियाको राजधानी दमसकसमा हो|अमेरिकाले हवाई फायर गरेको बनेपा देखि कोटेश्वर जति टाढा छ|अाजको घटनाले सबैलाई दु:खी बनाएको जानकारी पाएँ।मेरो पनि शुभचिन्तक ,शुभेच्छुक हुनुहुँदोरहेछ खुसी लाग्यो|धेरै धेरै सम्झना हजुरहरू प्रति।म सकुशल रहेको जानकारी गराउन चाहन्छु|अहिले भर्खरै भएको दमसकसको घटनामा १४७जना मृत्यु भएको जानकारी अाएको छ |थप विवरण अाउँन बाकी |कृपया मेरो पीर कसैले नलिनुहोला भाग्यले साथ दियो भने अाउँनेछु फर्केर।"
बाध्यताले सिरियामा कार्यरत सन्ध्या सापकोटा जस्तो नेपाली चेलीको स्ट्याटस पढेर म भावविभोर भएँ।न त सन्ध्यासंग मेरो गहिरो मित्रता थियो न कुनै नाता नै।तर पनि मेरा आँखाबाट अश्रुबर्षा भयो।
"तपाईँ जस्तो साहित्यकार कसरी सिरिया पुग्नुभयो?चाँडो भन्दा चाँडो नेपाल फर्किनुस्।"-एकजनाले कमेन्ट गरेका थिए।
" हजुर सिरिया मा के गर्न जानु भाको?नेपालमै बस्दा हुन्छ नि हजुर।नेपाली चेलीलाई केही हुँदैन पशुपतिनाथले कल्याण गरुन्।छिट्टै नेपाल फर्कनुहोस्"-अर्को एकजना मित्रको कमेन्ट थियो।
" १ घन्टा अगाडि सम्म हदैसम्म खुसी थिएँ २सेकेन्डमा उड्यो।माथि अाकाशमा हेरेको पूरै धुवाँ बाहेक केही छैन।फोटो खिच्न असमर्थ।बाहिर निस्कन मनाही।पूरा कर्फ्यु।हैट जिन्दगीमा पहिलोपल्ट थाहा भयो ।यहाँको शक्तिशाली घटना हो यो अमेरिकाले घटाएको।ग्याँस गनाएर बर्बाद।बाहिर निस्कियो भने ज्यान गयो।"-सन्ध्याको कमेन्ट थियोे।"
धेरै जसो उनका शुभेच्छुकहरुले खेद प्रकट गर्दै सुरक्षित रहन र यथाशीघ्र स्वदेश फर्कन अनुरोध गरेका रहेछन्।
" भोलि लेवनान फर्किन्छु।पीर नगर्नुस्।नेपालमा अाएको भुइचालो भन्दा ठूलो घटना अाँखा अगाडि भयो।हल्का डर लागेको छ।अरू केही भएको छैन।रिप्लाई गर्न सकिन म्यासेजको।सरी हजुरहरूमा।"-सन्ध्याको अर्को कमेन्ट थियो।
म यति दु:खी भएँ कि मैले न त लाइक गर्न सकें न कुनै कमेन्ट नै।निकैबेर सम्म अश्रु झरिरह्यो।मैले केवल लाचार भएर खेद प्रकट गर्नु बाहेक उनको लागि गर्न सक्ने केही थिएन।उनको स्ट्याटस पटकपटक पढेर रोएँ।साँझको छ बजेतिर मैले पनि कमेन्ट लेखें।
"म त नि:शब्द भएँ।केही भन्न सकिरहेको छैन।आफ्नो ख्याल राख्नुहोला।"
एउटी अब्बल,साहसी र हिम्मतवाली नेपाली चेली आफ्नो ज्यानको प्रवाह नगरी आफ्नो र आफ्नो परिवारको सुन्दर भविष्य निर्माणको खातिर देखाएको आँट लाई मनैदेखि सलाम नगरी बस्नै सकिन।उतिनै खेर उनलाई एकाईस तोपको सलामी दिन मन लागेको थियो।तर भौतिक रुपमा असम्भव भए पनि मनले भने टक्र्याएँ।त्यतिमात्र नभई उनी नेपाली साहित्य सृजनामा अनवरत रुपमा लागिरहेकी थिइन्।धनले गरीब भएपनि उनी मनकी भने खरबपति थिइन्।फेसबुकमा ५ हजार साथी र १० हजार फोलर्स थिए उनका।बेला-बेलामा फेसबुकमा रचनाहरु अप्लोड गरिरहन्थिन्।खासगरी मुक्तक,गजल र कवितामा बेजोड कला प्रस्तुत गरेर पाठकलाई खुत्रुक्कै पार्नसक्ने खुबी र क्षमताकी धनी उनी "अग्राख" मुक्तकसंग्रह र एउटा उपन्यास लेखनको तयारीमा जुटिरहेकी थिइन्।त्यतिमात्र नभई सुन्दर रुपकी धनी सन्ध्या आकलझुकल फेसबुकमा लाइभ समेत झुल्केर सबैलाई मन्त्रमुग्ध पार्थिन्।मीठो र सरल भाषामा बोल्न सक्ने खुबीका कारण उनी छोटो समय र उमेरमै नेपाली साहित्यिक जगतमा चीत-परिचित र चर्चित हुन पुगिन्।त्यही गति र रफ्तारमा साहित्यिक फाँटमा दौडेको खण्डमा पक्कै पनि उनले सफलताको शिखर चुम्ने निश्चित प्रायः थियो।
No comments:
Post a Comment