Saturday, 3 June 2017

आनी-९

                    भाग-९
        
           सर्वोच्च अदालतमा खचाखच भरिएका श्रोता-दर्शकदीर्ध।सबै बहुत कौतुहलताका साथ वकालत सुन्नमा ब्यस्त।आनी डोल्माको मुद्दामा सरकार र प्रहरीको तर्फबाट वकिलले बहस शुरु गर्यो।
"श्रीमान!यी नाम मात्रका आनी हुन्।आनीको भेषमा राष्ट्रको सम्पत्ति चोरेर खोक्रो बनाउने खुंखार चोर हुन्।आनीको नाममा कलंक हुन्।नारीको नाममा कालो धब्बा हुन्।यस्ती चोरले कडा भन्दा कडा सजाय पाउनुपर्छ।यसले प्रहरीलाई आफ्नो गल्ती स्वीकार गर्दै बयान दिइसकेकी छिन्।म पुनः आफ्नो बयान दिनुहुन आनी डोल्मालाई अनुरोध गर्दछु।साथै केही प्रश्न गर्ने अनुमति चाहन्छु।"
"अनुमति छ।"-न्यायाधीश बोल्यो।
"तपाईंले गुम्बा जस्तो पवित्र स्थलबाट बुद्धको अमूल्य मूर्ति चोरेको हैन त?"
"हो,मैले चोरेकी हुँ।"
"किन चोर्नुभयो?"
"चोरले किन चोर्छन्?"
"तिम्रो दाइ किशोर कहाँ छ?"
"थाहा छैन।"
"तिम्रै सहयोग र मिलेमतोमा उसले मूर्ति चोरेको हो?"
"हो।"
"सजाय भोग्न तयार हुनुहुन्छ?"
"हो,म तयार छु।"
"श्रीमान!उहाँले आफ्नो कर्तुत अदालतमै स्वीकारिसक्नुभयो।अब उहाँलाई के र कति सजाय दिनुपर्ने हो,श्रीमानकै हातमा छ।सकेसम्म धेरै भन्दा धेरै सजाय दिनुपर्छ भन्ने मेरो माग हो।धन्यवाद।"
वकिलको वकालतपछि न्यायाधीशले आनी डोल्मातर्फ इंगित गर्दै भने-
"आनी डोल्मा!तपाईंको केही भन्नुछ?के तपाईं आफ्नो वकिल राख्न चाहनुहुन्छ?यदि चाहनुहुन्छ भने चौबिस घण्टाको अल्टिमेटम दिइनेछ।"
"श्रीमान!म आफ्नो अपराध स्वीकार्छु।मलाई कुनै वकिल राख्नुछैन।कानुन अनुसार सजाय भोग्न तयार छु।यही नै मेरो अन्तिम निर्णय हो।"
आनीले आफ्नो निर्णय सुनाईन्।आनीको निर्णयले उपस्थित श्रोता-दर्शक,प्रहरी,वकिल र न्यायाधीश लगायत सिंगो अदालतलाई नै स्तब्ध बनायो।एकछिन अदालतको माहोल मौन र शून्य भयो।आफ्नो गल्ती र अपराधलाई जोकसैले पनि सजिलै स्वीकार्दैनन् बरु ढाकछोप गर्नतिर कदम चाल्छन्।तर आनीको कुराले सबैलाई आश्चर्यचकित बनायो।उपस्थित सबै खासखुस गर्न थाले।सजिलै अपराध स्वीकार्नुको पछाडि कसैले कुटिल चाल देखे र कसैले बाध्यता।तर न्यायाधीश भने बडो धर्मसंकटमा पर्यो।दोषीको आफ्नै बयान बाहेक अदालतसंग उनको बिपक्षमा कुनै भरपर्दो प्रमाण थिएन।आनीले आफ्नो वकिल राख्छु भनेको भए उनी शक्तिशाली र अदालत निरीह देखिने निश्चित थियो तर उनले अदालतलाई सहयोग गरे जस्तो मात्र देखियो।वकिलको बहसमा कुनै दम थिएन।सार्थकता र वजन थिएन।एक घण्टा जतिको गहिरो सोचबिचार पश्चात न्यायाधीशले फैसला सुनाउनै पर्ने भयो।
"बादीले आफ्नो गल्ती र अपराध स्वीकारिसकेको अवस्थामा आजै र अहिल्यै अदालत यो निर्णयमा पुग्छ कि आनी डोल्मालाई ५ बर्षको जेल सजाय तोकिएको छ।"
न्यायाधीशले आफ्नो फैसला सुनायो।दोषीको अनुहारमा कुनै पश्चाताप देखिएन।पीडा,जलन,रोदन र खेद केही देखिएन।उल्टै उनको मुहारमा मन्द मुस्कान थियो।त्यो मुस्कानमा उनको हार नभई जीत झल्किन्थ्यो।त्यो मुस्कानले सिंगो कानून तथा न्याय पद्धति र प्रणालीलाई तीखो प्रहार गरिरहेको थियो।गल्ती स्वीकार त गरियो तर अदालतले त्यस स्वीकृतिको आधार खोज्ने आधार भने थिएन।न्याय प्रणाली स्वयं लंगडो भएर वकिलको फुस्रो बहसको आडमा चल्नु परेको थियो।गहिरो अध्ययन र अनुसन्धानबाट कुनै पनि ब्यक्तिको दोष र निर्दोषिता पत्ता लगाउने पद्धतिको बिकास भएकै थिएन।त्यसैले आनी डोल्माले आफूलाई आफैंले दोषी प्रमाणित गरेपनि वास्तविकता भने गोप्य र दुविधामै थियो।कुनै पनि खेलको प्रतिस्पर्धामा प्रतिद्वन्द्वी शक्तिशाली देखेर आत्मासमर्पण गरेर निर्बिरोध खेल जिताए जस्तो आनीले पनि अदालतलाई जिताईन्।अदालतको जीतमा कुनै मजा थिएन।जीतको मजा त्यतिबेला हुन्छ जब प्रतिद्वन्द्वी पनि उत्तिकै शक्तिशाली हुन्छ।निरीहलाई त जसले पनि हराउँछ।बलियोलाई हराए पो मजा आउँछ।बरु उनको हार नै दमदार थियो।सम्मानित थियो।जीत थियो।कसैको जीतको बारेमा कसैले वास्ता गर्दैनन् तर उनको हारको बारेमा सबैको कौतुहलता थियो।पीर थियो।चिन्ता थियो।तर जे भएपनि आनीले हार स्वीकारिसकेकी थिइन्।बहसको च्याप्टर बन्द भैसकेको थियो।खेल खत्तम भैसकेको थियो।आनीलाई पुनः ५ बर्षको लागि हनुमानढोकाको कारागारमा चलान गरियो।अदालतमा जति उजेली थिइन्,कारागारमा आएर उनी उत्तिकै निराश,मलिन र दु:खी भइन्।दुश्मनको सामू आफूलाई शसक्त देखाए पनि स्वयंलाई भने त्यस्तो देखाउन सकिनन्।उनले हार स्वीकार्नु भन्दा अर्को बिकल्प देखेकी थिइनन्।मुद्दा लड्नलाई न त वकिल चिनेकी थिइ न उनीसंग प्रशस्त नगद नै थियो।उनले आफ्नो प्रेमलाई अदालतमा बली चढाइन्।किशोर कहाँ कुन अवस्थामा थियो,उनी अनबिज्ञ नै थिइन्।बुद्धको अमूल्य मूर्ति किशोरले नै चोरेको भनेर यकिन गर्ने कुनै आधार नै थिएन।आफूले प्रेम गरेको किशोरलाई उनले दु:ख दिन चाहिनन्।चाहे मूर्ति उसैले चोरेको भए पनि सायद उसको कुनै बाध्यता थियो होला भन्ने सोचिन्।उनी सागर भन्दा गहिरो सोचाइमा डुबिन्।
"के साँच्चिकै किशोर नै मूर्ति चोर हुन् त?यदि भए किन चोरेको होला?मूर्ति चोर्नकै निमित्त उसले मलाई प्रेम गरेको थियो?के।मेरो माया यति कमजोर हुन सक्छ?मैले माया गरेको मान्छे यति तलसम्म गिर्न सक्छ?अहँ,किशोर चोर हुनै सक्तैन।तर..तर उ कहाँ छ त?किन बेपत्ता छ अहिलेसम्म?कतै उसको अपहरण त भएन?कसैले उसलाई बलीको बोको त बनाएन?कुनै भयानक समस्यामा त फसेको छैन उ?फोन किन लागेन?किशोर!तिमीले मलाई सताउनसम्म सतायौ।बरु सबै यथार्थ कुरा मलाई साफ-साफ भनेको भए म खुशी-खुशी स्वीकार्ने थिएँ नि।तुरुन्त एकचोटि मलाई भेट्न आउ किशोर,तिमी कहाँ छौ?"
        आनी डोल्मा किशोरकै यादको ज्वालामा पलपल जल्न थालिन्।बिपनीमा पनि सपनीमा झैं उसैको नाम लिएर बर्बराउन थालिन्।उनलाई आफ्नो यथार्थ जीवन पनि काल्पनिक लाग्न थाल्यो।बिपना पनि सपना झैं लाग्न थाल्यो।आँखाबाट अश्रुधारा यसरी बग्न थाल्यो,मानौं ती एकजोर आँखाहरु सुनकोसी र भोटेकोसी हुन्।ती नदीहरु अविरल बग्न थाले।कहिल्यै ओभानो भएनन्।केबल रुझिरहे,रुझिरहे।उनी क्षणमै हाँस्न र क्षणमै रुन थालिन्।
"बहिनी!खाना खानुस्।आफूलाई सम्हाल्नुस् बहिनी।जे हुनु भैसक्यो।अब पीर गरेर आफूलाई किन तड्पाउनुहुन्छ?मलाई जहाँसम्म लाग्छ,तपाईं निर्दोष हुनुहुन्छ।तपाईं माथि घोर अन्याय भएको छ।एकदिन अवश्य न्याय पाउनुहुनेछ।अहिलेलाई खाना खानुस्।आफूलाई कमजोर हैन बलियो बनाउनुस्।"
जेलमा खाना ख्वाउने एकजना आधाबैशे पुरुष कर्मचारीले खाना छेउमा राखिदिंदै सान्त्वना दियो।सम्झायो।तर उनका आँखाहरु अन्धा भैसकेका थिए।कानहरु बहिरा भैसकेका थिए।उनले केही पनि देखिनन्।केही पनि सुनिनन्।खानातिर नजर समेत लाइनन्।भोक र प्यासले उनलाई खाइसकेका थिए।उनले खाना खान चाहिनन्।खान सकिनन्।जेलको चिसो छिँडी,भित्ता र सिलिङले समेत उनको नाजुक अवस्थाप्रति खेद प्रकट गरे।निर्जीव सिमेन्ट र इँटाहरुले शोक मनाए।उनको अश्रुको सिंचाइले भुइँमा समेत लेउ पलाए।क्रमिकरुपले कति दिन र रात बिते तर उनलाई कुनै सरोकार भएन।कति महिना बिते तर हिसाब भएन।कुनबेला कति बज्दैछ,त्यसको पनि मतलब भएन।उनी कहिले दिनभरी सुतेर रातभरी जागाराम बस्ने र कहिले रातभरी सुतेर दिनभरी होहल्ला मचाएर बस्न थालिन्।कहिले चौबिसै घण्टा जागाराम र कहिले चौबिसै घण्टा सुत्न थालिन्।दिनप्रतिदिन उनको मानसिक अवस्था नाजुक हुँदै गयो।खाना ल्याइदिने कर्मचारीसंग पनि कहिल्यै बोलिनन्।जीवन मौनतामै ब्यतित हुन थाल्यो।महिनौं दिनसम्म ननुहाएर शरीर ठस-ठस गन्हाउन थाल्यो।कपाल पनि नकोरेर जिङ्रिङ्ग नागबेली झैं भयो।देख्नेहरुले उनलाई लाटी भनेर सम्बोधन गर्न थाले।उनको परिचय फेरियो।मूर्तिचोर बाट लाटी,पागलनी भईन्।तर उनलाई कुनै पनि सम्बोधनले स्पर्श गर्न सकेन।कुनै बेईज्जतीले असर गर्न सकेन।वास्तवमा उनले मानसिक सन्तुलन गुमाइसकेकी थिइन्।स्मरणशक्तिको क्षय भैसकेको थियो।कसैलाई देख्नेबित्तिकै हा हा हा भनेर हाँस्न थालिन्।
"आउँछ!मेरो किशोर एकदिन मलाई लिन आउँछ।बुझिस्?मेरो सपनाको राजकुमार किशोरले मेरो अधुरो र खाली सिउँदोमा सिन्दूर भरेर डोलीमा चढाएर लैजान्छ।तँ हेरिबसे।हा हा हा!तँलाई के थाहा?मेरो किशोर बेहुलाको भेषमा घोडामाथि चढेर मलाई लिन अवश्य आउँछ।"
"यस्ती पागलनीलाई मानसिक अस्पताल नलगेर किन यहाँ राख्नुपरेको होला।चिथोरेर मार्लिन् भन्ने पीर।हे भगवान!कस्तो दिन आइलाग्यो?"
खाना ल्याइदिने कर्मचारी फत्फताउन थाल्यो।तर डोल्मा भने आफ्नै संसारमा मनोरंजन लिन ब्यस्त थिइन्।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...