Thursday, 22 June 2017

तीता-मीठा पलहरु-४

                       भाग-४
         कहिले गीत-संगीतको सुमधुर धूनसंग रमाएँ।कहिले पसिनाको भेलसंग मितेरी गाँसें।कहिले आफ्नै मष्तिस्तमा बसोबास गरिरहेका चीत-परिचीत शब्दहरुसंग पौठेजोरी खेल्दै साहित्यको सागरमा पौडिएँ।कहिले पागल झैं एकान्तमा मुस्कुराएँ।कहिले अनिंदो शहरको ब्यस्त सडक र गाडीहरुको कोलाहल बीच हराएँ।कहिले स्वदेशको भूतकालीन चर्को याद र संझनाहरुको तरेलीमा डुबुल्की मार्दै आफैंलाई बिर्सें।जे-जे गरें,सब जीवन जिउने होड र दौडमा गरें।जुन दौडको आत्मीय सम्बन्ध एकमुठी सास र दुई थोपा रक्तसंग गाँसिएको थियो।गरिएका सबै कृयाकलापहरु केबल जीवन गुजार्ने बहाना मात्र थिए।मानिसको आयु र भविष्य कसैको बशमा नभई अनिश्चित भएपनि सास फेर्न बिर्सनु त भएन।रक्तसञ्चार अबरुद्ध हुन दिनु त भएन।यदि सास फेर्न बिर्सेको वा रक्तसञ्चार बन्द भएको अवस्थामा जिन्दगीले नै चौकाइदिने निश्चित थियो।बिर्सिदिने निश्चित थियो।बाइ-बाइ भन्ने निश्चित थियो।मृत्यु नै अन्तिम र शाश्वत सत्य थियो,हो र हुनेछ।मृत्यु निश्चित छ।तर मृत्युको भयले जीवन जिउन छाड्नु पनि त भएन।जीवन जति चल्छ,चल्न दिनु थियो।समयको गतिसंगै जति गल्छ,गल्न दिनु थियो।जति बाधा र ब्यवधान आएपनि छिचोल्नु थियो।समस्याहरुबाट निर्मित जंघार तर्नु नै थियो।जति ठेस लागे पनि पुनः उठेर हिंड्नु थियो।दौडनु थियो।कल्पनाको वायुपंख जोडेर संसारको सयर गर्नु थियो।अनि प्रफुल्ल भएर बाँच्नु थियो।गहभरी अश्रु लिएर हाँस्नु थियो।हो,यस्तै-यस्तै बहानाबाजी र नाटकबाजी गर्दै चलिरहेको थियो मेरो प्रबासी जीवन।प्रबासमा बसेर मैले ठूल्ठूला गरिबीका खाडलहरुबीच स-साना कुरामा खुशी खोज्न थालें।देख्न थालें।भेट्न थालें।अरु बिदेशीहरुको झैं महंगा र चिल्ला कारको शौख कहिल्यै भएन।इमिरेट्स मल र दुबई मल जस्ता भीमकाय सपिङ सेन्टरहरुमा गएर आधुनिक डिजाइन र फेसनका कपडा खरिद गर्ने चाह कहिल्यै भएन।एप्पलका आइफोन र ल्यापटप लिने धोको कहिल्यै भएन।संसारकै सबैभन्दा अग्लो टावर "बुर्ज खलिफा" माथि चढ्ने रहर जागेन।डेजर्ट सफारीको इच्छा भएन।चर्चित "मिर्याकल गार्डेन" छिर्न मन लागेन।खाडीको बसाइमा पनि नेपाली खाना दालभात र तरकारी नै मेरा लागि चौरासी ब्यञ्जन बराबर थिए।म्याकडोनाल्ड,के एफ सी,बर्गर र पिज्जाले कहिल्यै तानेनन्।समग्रमा मेरा ईच्छा र चाहनाहरु बुर्ज खलिफा झैं उच्चरुपमा चुलिएका थिएनन्।कम्पनीले दिएको भुइँतलाको कोठा नै संसार थियो मेरो लागि।बेडरुम,डाइनिङ रुम र किचेन जे भने पनि त्यही एउटा सिंगल रुम नै थियो।सायद कुवाको भ्यागुतोलाई संसार हेर्ने चाहना हुन्न क्यारे।वास्तवमा मेरो तलब पनि थियो नै त्यस्तै।धेरै नभए तापनि मेरो तलब मलाई कहिल्यै थोरै भएन।संगैका सहयात्रीहरुले कम्पनी छोडेर अर्को कम्पनीमा गएर धेरै-धेरै तलब खान भ्याइसकेका थिए।पजेरो चढ्न थालिसकेका थिए।
          रामकुमार नाम गरेको एकजना साथीले भन्नुहुन्थ्यो-
"जीवन गुडिरहने गाडी जस्तै हो र हामी त्यसका चालक हौं।जीवनलाई गन्तब्यमा पुर्याउनका लागि एउटै राउन्ड अबाउटको वरिपरि घुम्न छोडेर अन्यत्रै मोड्नुपर्छ।"
मित्रको कुरा एकदम सही र जायज थियो।तर किन-किन उसको कुराले मलाई छुँदै छोएन।जतिको ततिमा सन्तुष्ट हुने मेरो कमजोर मानसिकता र खराब बानीकै कारण उसको कुराले मलाई नछोएको हुनसक्थ्यो।मैले बाबाले भन्नुभएको एउटै कुरा दिमागमा खेलाइरहन्थें।
"बाबु,थोरै तलब हुँदैमा केही फरक पर्दैन।थोरै-थोरै जोडेरै धेरै हुने हो।लामो यात्राको तय एकै पाइलाबाट शुरु हुन्छ।"
खै उहाँको शिक्षा कस्तो खाले थियो,मैले बुझ्न सकिन तर मैले सधैं उहाँकै शिक्षाको परिधिमा परिक्रमा गरिरहें।
         संगै कार्यरत सहयात्रीहरुले आज तलब थाप्यो,भोलिदेखि फेरि तलब कुन दिन आउँला भनेर हतार र प्रतिक्षा गरेको देखियो।तर आफूलाई भने तलबको खासै महत्त्व र प्रतिक्षा पनि भएन।तलब आउँथ्यो।केही नेपाल जान्थ्यो र केही साथमै रहन्थ्यो।अरुलाई जस्तो खर्चको फिटिफिटी पनि भएन।
         मेरा पाइलाहरु न त प्रगतिशील थिए न  दुर्गतीशील।ढिलो हिंड्ने चलन थिएन।चाँडो हिंड्ने बानी थिएन।दौडिने चाहना थिएन।जीवनको रफ्तार एकै खाले थियो।मलाई न त कछुवा बन्नु थियो न खरायो नै।मलाई "म" नै बन्नु थियो।अरु जस्तो हैन।सामान्य शारीरिक कसरत बाहेक जिम गरेर ज्यान बनाउने,६ प्याक निकाल्ने रहर जाग्दै जागेन।मलाई कृत्रिम भन्दा बढी प्राकृतिक कुरामा बढी विश्वास लाग्थ्यो।मलाई न त सलमान खान बन्नु थियो न जितु नेपाल।ज्यान बनाउनु नै अरुलाई देखाउन हो।मैले आफ्नो ज्यान कसैलाई देखाउनु थिएन।देखाउने भनेकै गर्लफ्रेन्डलाई हो।गर्लफ्रेन्ड बनाएर सुलीमा चढ्ने रहर पलाएन।गर्लफ्रेन्ड नै नभएपछि ज्यान यस्तो बनाउ,उस्तो बनाउ भनेर सल्लाह र आदेश दिने पनि कोही भएनन्।आदेशकै कुरा गर्दा-स्वदेशमा हुँदा बा-आमाका आदेश मान्थें।बिदेश हुँदा सुपरभाइजरको आदेश मात्र पालन गर्थें।म आफ्नो मनको आदेश मात्र पालन गर्थें।म आफ्नो मनको मात्र सुन्थें।मनको आदेश मात्र पालन गर्थें।एउटै कोठामा बस्ने मित्रहरुले त्यही भएर होला,मलाई अल्टर भन्ने गर्थे।तर अरुले जे भनेपनि मलाई फरक पर्दैनथ्यो।कोठाका सहयात्रीहरुले प्रायः साहित्यकार भनेर जिस्क्याउँथे।साहित्यकार भन्नु नराम्रो पक्कै थिएन।तर उनीहरुको नियत र शैली गलत थियो।आफ्नो रचना छापिएको पुस्तक हो भनेर देखाउन खोज्दा पनि वास्ता नगर्ने मित्रहरु पनि देखें।कारण थाहा भएन।सायद उनीहरू डाहा र ईष्र्याले दनदनी जलेको हुनुपर्छ।
"संसार जलाउन आगोको जरुरत नहुँदोरहेछ।प्रगति गर्दै गएपछि आफैं जल्ने रहेछ।"
धेरै अध्ययन र प्रयोगपछि पत्ता लागेको तथ्य यही थियो।खासगरी प्रगतिमा जल्नेहरु पराइ भन्दा आफन्त नै धेरै हुनेरहेछन्।दु:ख र समय खर्चेर लेखेको रचना फेसबुकमा राख्दा अरुले प्रतिकृया दिन्थे तर आफन्तहरु मौन बस्थे।फेसबुकमा कथा लेखेर शेयर गर्दा एकदिन आफ्नै मान्छेले भनेका थिए-
"कथा लेखेर के पाउँछस्?व्यापार गर्नुपर्छ पैसा कमाउन र प्रगति गर्न लाई त।"
मैले उसको कुरामा समर्थन जनाउँदै भनेको थिएँ-
"हो नि दाइ,टाइम पासको लागि मात्र हो।"
टाइमपास नै सही तर मेरो लेख-रचना उसको लागि थिएन।नपढ्नेहरुको लागि पनि थिएन।आफ्नै सन्तुष्टिको लागि थियो।जुवाडेले जुवा खेल्न नछोड्नुको कारण पनि लत नै होला।मेरो लत पनि लेखनमा बसिसकेको थियो।चाहेर पनि छोड्न सक्तिनथें।लेखेर मलाई पैसा कमाउनु पनि त थिएन।कमाए पनि नकमाए पनि मेरो केही गुनासो थिएन।
        म हरेक कुरा र बिषयबस्तुलाई साहित्यिक नजरले हेर्ने गर्थें।कहिलेकाही मनको नदी उल्टो बग्थ्यो।पत्थरलाई फूल र फूललाई पत्थर देख्थें।काँडा पनि फूल झैं कोमल देख्थें।प्रचण्ड गर्मीमा पनि मन शित्तल हुन्थ्यो।हिउंदको मुटु काम्ने लुगलुग जाडोमा पनि काल्पनिक शरीरबाट खलखल पसिना आउँथ्यो।सगरमाथा पनि सबैभन्दा होचो लाग्थ्यो।अरुण उपत्यका पनि सबैभन्दा अग्लो लाग्थ्यो।सबैभन्दा विशाल,शक्तिशाली,धनी र सुन्दर देश नेपाल लाग्थ्यो।मरुभूमिको अण्डा पाक्ने तातो बालुवामा पनि कोमल फूल फुलेको देख्थें।बुर्ज खलिफा पनि कहिलेकाही खेलौना जस्तै देख्थें।चेसको प्युसा जतिकै सूक्ष्म देख्थें।मोबाइलको सानो स्क्रीन पनि ब्रम्हाण्ड झैं लाग्थ्यो।नेपाल र अमेरिका बीचको दूरी एक इन्चको फरक लाग्थ्यो।कलमको नीबमा संसार हल्लाउने ल्याकत देख्थें।        
           कहिलेकाही मन यति बहकिन्थ्यो कि दुबईको उजाड मरुभूमिमा दोलखाको रसिलो सुन्तला,स्याउ र जुनार खोज्थ्यो बिचरा मनले।उराठलाग्दो तातो बालुवामा सोलुखुम्बुको हिमशृंखला र अलौकिक स्थानहरु खोज्थ्यो।चितवनको हरियाली वनजंगल र वन्यजन्तुहरु खोज्थ्यो।चेर्दुङको वनजंगलमा नाचिहिंड्ने मृग,कस्तुरी,डाँफे र मुनाल देखिने होड र दौडमा रुमलिन्थ्यो।जिरीको उकालामा भेटिने धाराहरुमा अंजुलीभरी चिसो पानी थापेर घुटु-घुटु पिउन मन लाग्थ्यो।आमाको हातले भुटेको मकै,भटमास चपाउन खोज्थे दाँतहरु।ढिंडो र सिस्नु सर्लक्क निल्न आतुर हुन्थ्यो गला।गौरीशंकरको वरिपरि चरा बनेर उड्न चाहन्थें।चौंरी,भेडा र च्याङ्ग्राहरुको सुमधुर ध्वनिसंगै सेलो र नादिङ भाका गुन्गुनाउन चाहन्थे मेरा थर्थराउने अधर।जोमसोमका स्याउहरु करक्क-करक्क आवाज निकाल्दै टोक्ने चाहना बढ्थ्यो।ब्रेकफास्टमा जिरी पुगेर झोलयुक्त थुक्पा खाएर लन्च गर्न मुडेका झुप्रा होटलमा र डिनर गर्न फेरि आफ्नै घरमा पुग्न चाहन्थें।दिउँसोको एक बजे आफू अध्ययन गरेको बिद्यालयमा पुगेर तिनै सहपाठीहरु संग भलिबल र फुटबल खेल्न चाहन्थ्यो अनियंत्रित मन।चुंगी खेल्न खप्पिस बिकास क्षेत्री संग प्रतिस्पर्धा गर्न आतुर हुन्थ्यो मेरो कलिलो मन।मान्छे अर्धबैशे भैसक्दा पनि साँच्चिकै मेरो मन १६/१७कै जवान थियो।झसङ्ग हुँदै यताउता हेर्दा नेपालको कुनै पनि ठाउँ र बस्तु पाउँदिनथें।सबै कुरा अरबकै हुन्थे।नेपालका सबै कुरा सपना झैं लाग्थे।स्मृतिमा नाचेका पंक्षीहरु गायब भैसकेका हुन्थे।मानसपटलमा कैद भएको संसार बिल्कुलै अलग भैसकेको हुन्थ्यो।ढिंडो र सिस्नुको सट्टामा महिनौंदेखि फ्रीजको पिंजडामा कैद भएका कठंगृएका कुखुरा र कुहिएका चामल खानुको बिकल्प थिएन।मन रोएर अरब सागर हुन्थ्यो।दिमाग शिथिल हुन्थ्यो।शरीर थकित हुन्थ्यो।संसार अन्धकार लाग्थ्यो।तर पूर्णिमाको रात झैं झलमल सम्झेर जीवन गुजार्नुको बिकल्प थिएन।सुख र खुशी क्षणिक थियो।दु:ख नै सदाबहार थियो।दु:खलाई नै साथी ठानेर सन्तुष्ट हुन सिकेको थिएँ।वास्तवमा त्यसपछि कुनै पनि दु:खले छुन सकेन।बिचलित पार्न सकेन।बरु सुख र खुशी देखि डराउँथें।सुखले बिस्तारै-बिस्तारै डोर्याउँदै भीरबाट घचेट्ने पो होकि भन्ने चिन्ता लाग्थ्यो।दु:ख र सुख भन्ने कुरा मनै त रहेछ।

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...