Friday, 23 June 2017

खै के कविता लेख्नु?

खै के कविता लेख्नु र?
पढिदिने पाठक भए पो लेख्नु
आफ्नै लागि के कविता लेख्नु?

अन्धाहरुको लागि लेख्यो
उनीहरुले कविता नै देख्दैनन्
देख्नेहरुको लागि लेख्यो
उनीहरुले बुझ्दैनन्
जसले बुझ्छन्
उनीहरुले पचाउँदैनन्।

पढ्नुपर्नेले नपढेपछि
पढ्न नसकेपछि
पुरानो हुन्छ कविता
फोहोर बन्छ कविता
कि कविता सल्किन्छ हिउँदमा
कवितासंगै कवि जल्दछ चितामा
कि भैयाको बोरामा कोचिन्छ
चट्पटेसंगै रुझ्दै
सर्लक्क निलिन्छ काव्यरस।

"बिदेशमा रगत नबगाउ
स्वदेशमा पसिना बगाउ
गुलामी बन्ने हैन
आफैं मालिक बन"
यसरी लेखिन्छ कविता
प्रबासी हातहरु ब्यस्त हुन्छन्
कविता पढ्ने फुर्सदै कहाँ हुन्छ र?

पिडितको लागि
दीनदु:खीको लागि
भरिया दाइको लागि
टुहुराको लागि
अशिक्षितका लागि
कोरिएका कविता
कसले पढ्ने?
पढ्नुपर्नेले नपढेपछि
अरुके किन पढ्ने?
अरुले पढेर के गर्ने?

आफैं मरिहत्ते गरेर कविले
जीवन्त बनाउन खोज्छ कविता
तर पाठकको माया बिना
जिउँदै मर्छ कविता
सहिद हुन्छ कविता।

अब्बल कविताहरु
अजर अमर होलान्
तर टुसाउँदै गरेका कविता
आस्थाको किरण नपाएर
मल र जल नपाएर
हुर्किन सक्दैनन्।

आँखा खोल्न लेखिएका कविता
आफैंमा अन्धा हुन्छन्
बाटो बिराउँदै कता-कता पुग्छन्
पुस्तकमा कैद भएर
कहिले डस्टबिनमा मिल्काइन्छन्
कहिले खाडलमा पुरिन्छन्
जन्मेर हुर्किनु अगावै
आर्यघाटमा पुग्छन्।

युगौंयुगसम्म नबाँच्ने कविता-के कविता?
जन्माउने कवि-के कवि?
जन्माएर बेहाल बनाउनु भन्दा
टुहुरा बनाउनु भन्दा
अपांग बनाउनु भन्दा
नजन्माएकै बेश!!!

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...