भाग-२
साहित्यको मार्गमा हातमा हात र साथमा साथ दिएर होस्टेमा हैंसे गर्ने अर्की ज्वालन्त साहित्यिक पात्र हुन् गोर्खाका जल्दाबल्दा उदायमान साहित्यकार अस्मिता।अरु भन्दा बिल्कुलै फरक,आधुनिक,समय सापेक्ष र पृथक ढंगले कलम चलाउने अस्मिताले हातेमालो साहित्य संगममा प्रबेश गरेदेखि नै मसंग हातेमालो गरेकी हुन्।आफ्नो पढाइ र ब्यस्तताको बाबजुद पनि म लगायत अरु सहयात्रीहरुको लेख-रचना अध्ययन गरेर अमूल्य सुझाब सहितको प्रतिकृया जनाउने उनको बानीदेखि छिट्टै प्रभावित भएँ।गगन भन्दा विशाल हृदयकी उनी सबैसित मिलनसार भएर प्रस्तुत हुन्थिन्।उनको त्यही प्रकृतिले हाम्रो मित्रता चाँडै घनिष्ट हुन गयो।उत्कृष्ट र वजनदार लेख-रचना लेख्दा-लेख्दै पनि र नेपाली साहित्यको आकाशमा ध्रुवतारा जस्तै चम्किन सफल भएपनि आफूलाई लेखक भन्दा पनि असल पाठकको रुपमा परिचय दिन चाहने उनको बानी मलाई खुब मन पर्यो।अरुभन्दा पनि पोखराको बारेमा लेखिएको मेरो ३ हजार ५ सय शब्दको लामो नियात्रालाई बडो मिहिनेत,संयमता र लगनशीलताका साथ अध्ययन गरेर मेरो लेखनको तारिफ गरेकी थिइन्।उनको वाह-वाहले मलाई थप उर्जा मिल्यो र अग्रगामी पाइलाहरु बढाउन सहज भयो।उनी काठमाडौमा बसेर एम ए मा अध्ययरत थिइन्।आफ्नो परिक्षाको बेला पनि अमूल्य समय दिएर मेरो रचना पढिदिंदा म खुशीले हुरुक्कै भएको थिएँ।पछि लोकसेवा आयोगको परिक्षाको शिलशिलामा उनी पनि पोखरा घुम्न गएकी थिइन्।यात्रा सकिए लगत्तै उनले मलाई भनिन्-
"हजुरले आफ्नो नियात्रामा वर्णन गरेको पोखरा भन्दा वास्तविक पोखरा एकदमै फरक लाग्यो।पोखरा मलाई खासै मन परेन।हजुरको लेख नै दामी।"
उनको त्यो प्रतिकृयाले मलाई लाग्यो कि मैले पनि आफ्नो नियात्रालाई न्याय गर्न सफल भएको रहेछु।म पनि लेखक भएछु जस्तो आभास भयो।
दोलखा जस्तो साहित्यमा अँध्यारो कुनाबाट म एउटा सानो टुकी भएर बल्दै थिएँ भने अस्मिताजीले सलेदोको भूमिका निभाइरहेकी थिइन्।खिया लागेको भूत्ते कलमलाई तिखार्न उनको भूमिका अतुलनीय रह्यो।हामीले एक-अर्काका लेख-रचना आदनप्रदान गर्दै गल्तीहरु सुधार गर्दै गयौं।कतिबेला हामी एक-अर्काका घनिष्ट र आत्मीय मित्र बन्यौं,पत्तै भएन।बि.सं. २०७२ सालको महाभुकम्पले हामी दुबैका घर तहसनहस पारेका थिए।हाम्रो दिलमा बहुतै गहिरो चोट लागेको थियो।त्यही चोटमा उनको साहित्यले शितल मल्हमको काम गर्यो।सायद मेरो साहित्यले पनि थोरै भएपनि उनको घाउको उपचार गरेको हुनुपर्छ।करीब एक बर्षको राम्रो चिनजानको बाबजुद पनि हामीले सामान्य च्याट बाहेक फोन र मेसेन्जरमा अडियो कल गरेका थिएनौं।एकदिन उनले एउटा चाहना ब्यक्त गरिन्।
"सर!म्यासेन्जरमा कल गर्न सकिन्छ?हजुरको आवाज सुन्न मन लाग्यो।"
"सरी मिस।यहाँबाट म्यासेन्जरमा कल गर्न मिल्दैन।कल भएपनि स्पष्ट सुनिन्न।बरु तपाईंको फोन नम्बर दिनुस् न म इमोमा कल गर्छु।"
मेरो आग्रहपछि उनले आफ्नो मोबाइल नम्बर पठाईन्।उनको नम्बर सेभ त गरें तर इमोमा देखाएन।धेरै कोसिसपछि उनलाई इमोमा देख्न सफल भएँ।ठूलै जीत हासिल भएको ठहर गरें।त्यसपछि दैनिक रुपमा हाम्रो वार्तालाप हुन थाल्यो।साहित्य भन्दा पनि धेरै ब्यक्तिगत बिषयमा कुरा भए।
"हजुरको घरमा को-को हुनुहुन्छ?"-एकदिन उनले सोधिन्।
"सबै छन्।"
"सबै भन्नाले?"
"सबै भन्नाले सबै...।बा,आमा,दाजुभाइ,दिदी बहिनी।"
"अनि अरु?"
"अरु...श्रीमती र छोराछोरी।"
मेरो जवाफपछि उनको मुहार अलि उदास भएझैं लाग्यो।तर मैले बिषयबस्तुलाई अन्तै मोडेर माहोललाई सामान्य बनाइदिएँ।
बिहान उनी अफिस जानेबेलामा दैनिक आधा घण्टा जति कुराकानी हुन्थ्यो।फोटोमा पहिलेनै देखादेख भएपनि एकदिन भिडियो कल गरेर एक-अर्कालाई हेर्यौं।मेरो त सित्तैको वाइफाइ थियो तर मलाई उनको डाटाको चिन्ता थियो।
"भयो मिस अब।मिसको डाटा सकिन्छ होला।"
मैले उनलाई सचेत गराउँथें।तर उनलाई डाटाको खासै चिन्ता हुन्नथ्यो।बेला-बेलामा उनले सेल्फी खिचेर पठाउने गर्थिन्।उनको आकर्षक जीउडालले मलाई लोभ्याउन थाल्यो।मैले उनको फोटोको खुलेर प्रशंसा गर्थें।तर उनी खासै खुशी हुन्थिनन्।कारण मलाई थाहा थिएन।फूलको जवानी देखेर कुन चाहिँ भमराको मन फुरुङ्ग हुन्नहोला र?हो,म पनि त्यस्तै भएको थिएँ।अरु भन्दा पनि उनको आवाजले म फिदा भैसकेको थिएँ।उनको उमेर त मैले कहिल्यै सोधिन तर मेरो अनुमान २६/२७ को थियोे।तर उनको आवाज १६/१७ झैं लाग्थ्यो।केहीदिन यता हाम्रो बीचमा बाक्लै कुराकानी हुन थाल्यो।हरियाली वनजंगलको बीचमा चौतारीको नजिकै बसेर खिचिएको उनको सेल्फीले मलाई झनै पागल बनायो।उनलाई त पहिल्यै थाहा थियो कि म विवाहित भनेर तर उनले बिना प्रवाह मुस्कान पठाइरहिन्।मलाई घाइते बनाइरहिन्।एकदिन उनले मेरो परिवारको फोटो पठाउन आग्रह गरिन्।मैले भएभरको सबै पठाएँ।उनले पनि मैले जस्तै खुलेर सबैको प्रशंसा गरिन्।म धन्य भएँ।उनी धन्यवादकी पात्र बनिन्।तर एक्कासी उनले आश्चार्यजनक कुरा गरिन्।
"छोरा मान्छेको जीवन पनि दु:खदायी छ है सर?"
म अलमल्ल परें।मैले परिवारको फोटो पठाएपछि उनले त्यस्तो प्रतिकृया दिंदा उनको भाव बुझ्नै सकिन।
"मैले मिसको आशय बुझिन नि।"-मैले उत्सुक हुँदै भनें।
उनले मेरी श्रीमती र उनको साथी अंगालोमा बेरिएर खिचिएको फोटो पठाएर भनिन्-
"मैले यो फोटोको बारेमा कुरा गरेको।"
मेरो हाँसोले सिमा नाघ्यो।मेरी श्रीमतीको साथीलाई उनले केटा मान्छे सोचेकी रहिछन्।कपाल सर्लक्कै माथितिर कोरिएको केटाको जस्तै अनुहार देखेर उनले त्यसो भनेकी रहिछन्।
"बुढीको साथी केटा हैन केटी हो।"
मेरो जवाफपछि उनी एकछिन मौन बसिन्।सायद उनलाई अप्ठ्यारो लागेको थियो होला।केहीबेरपछि उनले एकजना केटासित च्याट गरेको स्क्रीनसर्ट पठाईन्।त्यो देखेर मलाई छुट्याउन गाह्रो भएन कि उनीसँग बोल्ने केटा उनको ब्वाइफ्रेन्ड हो भनेर।मेरो मुटुमा जलन भयो।टाइप गर्ने औंलाहरु लल्याकलुलुक भए।अनायासै मैले ठूलै कुरा गुमाए झैं महसुस गरें।तर उनीहरुबीचको नकारात्मक वार्तालाप देखेर केही हदसम्म राहत मिल्यो।
"को हो नि?मिसको ब्वाइफ्रेन्ड हो?"-मैले बुझ पचाउँदै सोधें।
"हो,मेरो ब्वाइफ्रेन्डको नाम आशिष हो।"
"लौ बधाई छ उसो भए।"
"के को बधाई?"
"ब्वाइफेन्ड भएको उपलक्ष्यमा।"
"सम्बन्ध राम्रो छैन।"
"किन,के भयो र?"
"मैले छोडिदिएँ।?
"हो र?"
उनको कुरा सुनेर म न त दु:खी भएँ त खुशी नै भएँ।के कारणले उनीहरूले बीचको सम्बन्ध सुमधुर थिएन,केही थाहा भएन।तर उनी अझै सिंगल नै थिइन्,त्यही कुरामा खुशी भएँ।म एउटा विवाहित र परिवार भएको मान्छे किन त्यस्तो सोच्दै थिएँ,मलाई नै थाहा थिएन।
समयको गतिसंगै म पनि उनको एकोहोरो प्रेममा फस्दै गएँ,जुन कुरा मैले धेरैपछि महसुस गरें।तर ब्यक्त गर्न मात्र सकेको थिइन।ब्यक्त गर्ने साहस पनि कसरी होस र।म एउटा पारिवारिक झमेलामा फसिसकेको मान्छेलाई उनले स्वीकार गर्ने कुरा पनि त भएन।प्रेममा कुनै पाबन्दी र सिमा हुन्न भन्ने सुनेको थिएँ तर झूट रहेछ।एकोहोरो प्रेमको लागि मात्र रहेछ त्यो कुरा लागू हुने।दोहोरो प्रेमको लागि त दुबैको मन मिल्नु आवश्यक हुनेरहेछ।अब्यक्त प्रेम लिएर उनीसँगको सम्बन्धलाई निरन्तरता दिएँ।उनले सेल्फी पठाउँदै गरिन्,म उनको मायामा पागल बन्दै गएँ।एकदिन मैले पनि एउटा फोटो पठाएर भनें-
"मिस!सेल्फी हामीलाई पनि खिच्न आउँछ।"
बदलामा उनको प्रतिकृया थियोे-
"सर यसरी फोटो नपठाउनु,मलाई कन्ट्रोल गर्न गाह्रो हुन्छ।हजुर कति ह्यान्सम।हजुरका छोराछोरी पनि हजुर जस्तै रहेछन्।"
उनको आशय मैले बुझ्न सकिन।मेरो तारिफ त गरिन् तर अन्तिममा कुरा छोराछोरीमा लगेर जोडिन्।मैले धन्यवाद बाहेक अरु भन्न सकिन।एकदिन उनको सेल्फी आउने बित्तिकै मैले हिम्मत जुटाएर भनें-
"मिस तपाईं कति सुन्दर है?तपाईंको फोटोले त मलाई साँच्चिकै पागल बनाइसक्यो।म त मिसको मायामा पागल भैसकें।आफूलाई नियन्त्रण गर्न सकिरहेकै छैन।यो मनले पनि आफ्नो औकात भुल्ने रहेछ।"
"कस्तो औकात?"-उनको प्रश्न थियोे।
"म परिवार भएको मान्छे।सिमा पार गरेर मिसलाई मन पराउन थालें।मनले के माग्छ-माग्छ थाहै नहुँदोरहेछ।मेरो मन मेरै काबुमा छैन म के गरुँ?मैले बाटो बिराउन खोज्दैछु।गल्ती गर्न खोज्दैछु।"
"मैले लब गर्नु भनेको छु त?"
"छैन।"
"नौटङ्की नै नौटङ्की।"
"त्यसो नभन्नुस् न।"
"चिन्ता नगर्नुस् सर म तपाईंलाई बाटो बिराउन दिन्न।सम्झाउँछु बेला-बेला।"
उनले त्यसो भनिरहँदा मलाई नै घाटा परेको भान भयो।वास्तवमा म बाटो बिराउनै चाहन्थें।भुल गर्न नै चाहन्थें-जानीजानी।
"भो मलाई सम्झाउनुपर्दैन" भन्न खोजें तर सकिन।उनले कुर्ता लाएको र मुस्कान सहितको फोटो पठाउन छाडिनन्।त्यसैले उनीप्रतिको एकोहोरो प्रेम चरमचुलीमा पुगिसकेको थियो।तर एउटा कुरा सम्झेर मलाई डर पनि लागिरहन्थ्यो।पोखरादेखि काठमाडौको यात्रामा एकजना अर्धबैशे विवाहित पुरुषको हर्कतको बारेमा उल्लेख गरेर उनले एउटा कथा लेखेकी थिइन्,जुन कथा मलाई पनि शेयर गरेकी थिइन्।त्यसैले मैले उनलाई भनिहालें-
"मिस मेरो बारेमा कथा नलेख्नु ल?"
"हवस् लेख्दिन।"
उनको जवाफले मलाई हर्षित बनायो।मैले आफूलाई शक्तिशाली पाएँ।अर्को दिन उनले आफ्नो ब्वाइफ्रेन्डसंग गरिएको कुराकानीको स्क्रीनसर्ट पठाइन्,जसमा उसको ब्वाइफ्रेन्ड आशिषले त्यो नै अन्तिम कुराकानी भएको कुरा उल्लेख गरेको थियोे।मैले उनीहरुको प्रेम सम्बन्ध टुट्नुको कारण सोधें।
"जातिय कारण देखाएर मेरो बाबाले एक्सेप्ट गर्नुभएन र छोडें।"
"भागेर बिहे गर्नुस् न मिस।"
"अब कन्फर्म नगर्ने नै भएँ।"
कुरा बुझ्दा उनीहरुको प्रेम २ सालसम्म चलेको रहेछ र सहमतिमै ब्रेकअप भएको रहेछ।यथार्थ कुरा बुझेर मलाई दु:ख लाग्यो।उनी अझैपनि आशिषलाई माया गर्दिरहिछन् तर परिवारको सपोर्ट नपाएर बिछोडिएका रहेछन्।मेरो एक मनले सोच्यो-"अस्मिता र आशिषलाई एक बनाएरै छोड्छु।"
तर उनीहरुको ब्रेकअप भएको पनि डेढ साल जति भैसकेको रहेछ।उनको भनाइ अनुसार अब उनी आशिषबाट जसरी पनि टाढा हुन चाहन्थिन्।
"आशिष संग भागेर बिहे नगर्ने भए अब के गर्नुहुन्छ त?"-एकदिन मैले सोधें।
"केही गर्दिन।"-उनको छोटो जवाफ थियो।
"त्यसो भए बिहे गर्नुस्।"-मैले फेरि भनें।
"को संग?"
"बाबा-आमाले खोज्नुभएको केटासित।"
"गतिलो खोज्नुभएको छैन।"
"ठिक्कको पाए।"
"आफ्नो प्रेम आफैंले टुक्र्याएकोले म अब प्रेम गर्दिन।कुनै केटाको बिश्वास पनि लाग्दैन।"
एकातिर परिवारको खुशीको लागि आफ्नो अमूल्य प्रेमको बली चढाउने अस्मिता जस्तो नारीलाई मनैदेखि सलाम गरें मैले।अर्कोतिर प्रेमको हत्या गरेको देखेर रिस पनि उठ्यो।नहुनुपर्ने भैसकेको थियो।उनीहरूको प्रेम लगभग असफल जस्तै भैसकेको रहेछ।
उनको मन-मस्तिष्कमा म कहिल्यै पस्न सकिन।कहिले माया देखाए जस्तो गर्थिन् र कहिले पराइलाई झैं व्यबहार गर्थिन्।कहिले आशा देखाए जस्तो गर्थिन् र कहिले निराशा बनाउँथिन्।प्रेमको लिगमा दौडिंदा-दौडिंदै एक्कासी उछिटिएर बाहिर जान्थिन्।पुनः लिगमा ल्याउन मलाई हम्मेहम्मे हुन्थ्यो।यता म भने उनको प्रेमको चक्रब्युहमा नराम्रोसंग फसिसकेको थिएँ।
एकदिन मैले चिया खाँदै गर्दाको दृश्य खिचेर पठाएँ र भनें-
"बल्ल चिया खाँदै।"
"हजुरले नखानुस् सर मैले जुठो हालें।"
"जुठो खानमै त मजा छ नि मिस।"
"जुठो खाएपछि माया बढ्छ रे।फेरि मलाई गाह्रो हुन्छ।डर लाग्छ-कतै माया बस्ने पो हो कि।"
"बढेकै राम्रो नि।चोखो माया गर्नलाई किन डराउनु?प्यार किया तो डरना क्या?प्यार किया,कोइ पाप नही किया।"
मेरो कुराले उनलाई भारी पुगेछ क्यारे,धेरै बेर केही बोलिनन्।
एकदिन अस्मिताले अचानक अनौठो खालको म्यासेज पठाईन्,जुन म्यासेजले मेरो मुटु धारिलो छुरीले रेटिएझैं भयो।
"हजुरसंगको मेरो सम्बन्ध छुट्टै खालको छ।बेला-बेलामा सम्झाउनुहुन्छ।मार्गनिर्देश गर्नुहुन्छ।सही बाटोमा डोर्याउनुहुन्छ।"
उनको म्यासेज मलाई पटक्कै चित्त बुझेन।उनले मलाई एउटा अविभावकको रुपमा लिएकी रहिछन्।म भने उनको प्रेमीको रुपमा प्रस्तुत हुन चाहन्थें।तर उनको त्यो म्यासेजले मलाई सिकारीको गोली लागेको घाइते सिकार झैं बनायो।मर्माहत बनायो।मेरो सपनाको महल एकै पलमा झ्वाम्म भयो।म रुनु न हाँस्नु भएँ।तत्कालै म्यासेजको रिप्लाई गरें।
"कस्तो छुट्टै खालको सम्बन्ध?मैले बुझिन नि।मलाई यस्तो खाले सम्बन्ध स्वीकार छैन।"
"स्वीकार नभए ब्लक गर्नु।"
उनको पछिल्लो जवाफले झन म आहत भएँ।एउटै वाक्यले पनि मान्छेको सिकार गर्न सकिने रहेछ भन्ने कुरा मैले त्यतिखेर बुझें।आखिर उनले एक्कासी किन यु-टर्न मारिन्,थाहा भएन।उनको भनाइले मलाई माया मारिसकेको संकेत गर्थ्यो।मैले अर्को म्यासेज पठाएँ।
"मैले मिसलाई कसरी ब्लक गर्न सक्छु र?यो असम्भव छ।"
त्यसपछि उनले केही भनिनन्।हाम्रो वार्तालाप पातलिंदै गयो।मैले सन्चो-बिसन्चो के छ भनेर घुमाइ फिराइ म्यासेज पठाउँदा उनले एउटै शब्दमा जवाफ पठाउँथिन्-"ठिक छु।"
"कति लामो उत्तर!"-मैले जिस्क्याउँथें।
बदलामा उनको जवाफ हुन्थ्यो-"हे हे।"
"के गर्दै हुनुहुन्छ मिस?खाना खानु भयो?अचेल त बोल्न पनि खोज्नुहुन्न।पराइ सोच्दै हुनुहुन्छ।टाढाको सोच्दै हुनुहुन्छ।"
मैले सकेसम्म लामै म्यासेज पठाउँथें।तर उनको जवाफ हुन्थ्यो-
"भयो।"
"भएन।"
उनको एक शब्दे जवाफले मेरो छातीमा गोली लागेझैं हुन्थ्यो।मुटु नै चुँडिएझैं पीडा हुन्थ्यो।दर्द हुन्थ्यो।असह्य हुन्थ्यो।पहिले-पहिले दिनदिनै एउटा-दुईटा सेल्फी पठाउने अस्मिताले जति अनुरोध गरेपनि पठाइनन्।मेरो म्यासेज मात्र हेरेर रिप्लाई नै गर्न छोडिन्।तर मैले हरेश भने खाइन र म्यासेज पठाइरहें।उनी किन रिसाइन् मैले भेउ पाउनै सकिन।कतै मबाट गल्ती पो भयो कि।कतै उनको चित्त दुखाउने शब्द पो बोलें कि।तर मलाई याद भएन।उनको चित्त दुख्नेगरी त्यस्तो केही भने जस्तो त लागेन।
एकदिन के कुरामा खुशी भइन्,उनले एउटा सेल्फी पठाइन्।म अति खुशी भएँ।संसारकै सबैभन्दा अमूल्य चीज भेटेझैं।मेरो मायाको मुना पलाए झैं।आशाको किरणले पुनः स्पर्श गरेझैं लाग्यो।शुरुमा मैले लाइकको सुचक औंला पठाएँ।उनले हेरेर केही भनिनन्।गफ गर्ने आँट आयो।
"मिस पनि अचेल त बिरानो हुनुभो।"
"भा'छैन।"
"किन?दुब्लाउनुभएको रहेछ त।बिरामी हुनुभाथ्यो र?"
"कसरी थाहा पाउनुभयो?"
"सेल्फीमा गाला पातलो देखिन्छ त।"
"एक महिना पहिले भएको थिएँ।"
त्यसपछि उनले इमोमा कल गरिन्।राम्रै कुरा भयो।
"नबिर्सनु होला ल मिस?सम्झिंदै गर्नु।पराइ नठान्नु।टाढाको नसोच्नु।"
"बिर्सेको छैन।हजुरले पनि सम्झिनु होला।मैले कल गरे मात्र,नत्र अघि सरेर कल गर्नुहुँदोरहेनछ र पो।"
"मैले कल गर्दा लाग्दैन त के गरुँ मिस?जेहोस कल गर्नुभयो।सम्झिनुभो।धेरै-धेरै धन्यवाद ल मिस!"
"हजुरलाई पनि धन्यवाद।म अफिस पुगें सर।राख्छु अहिले।"
"ओके मिस।हवस् त।"
त्यसपछि हाम्रो वार्तालापले पुनः निरन्तरता पायो।मरिसकेको प्रेमले पुनर्जीवन पायो।जीवनमा नयाँ उमंग थपियो।नयाँ उर्जा थपियो।
म झनझन दिनप्रतिदिन उनको प्रेमको महासागरमा कहिल्यै तैरिन नसक्ने गरी डुबिसकेको थिएँ।अहँ,त्यो दुनियाँबाट कुनै हालतमा बाहिर निस्कन सक्दिनथें।म भन्दा अग्ली।पातलो शरीर।काली सुन्दरी।घना केशराशीमा अल्झिसकेको थिएँ।पावरवाला चश्मा भित्रका सुन्दर नयनहरुका तालमा पौडिन थालेको थिएँ।पुष्पपत्र जस्ता अधरले मोहित बनाइसकेका थिए।बक्षस्थलका जुम्ल्याहा पर्वतहरुमा मेरो पापी नजर बसाइँ सर्न उद्दत हुन्थ्यो।उनको मन्द मुस्कानसंगै मुस्कुराउन थालेको थिएँ।मिलेका ती हिमशृंखलारुपी दन्तलहरहरु देखेर नतमस्तक भएको थिएँ।मलाई थाहा थियो कि उनी मेरी थिइनन्।उनी मेरी हुन सक्दिनथिन्।मेरो दुनियाँ अलग थियो र उनको अलग।एउटै नदीका दुई किनार थियौं हामी।हाम्रो भेट असम्भव थियो।हुन त नदीका किनारहरु महासागरमा पुगेर अवस्य भेटिन्छन् तर त्यतिबेला सम्ममा धेरै ढिलो भैसकेको हुनेछ।मैले उनलाई सायद यो जूनीमा त पाउन सक्दिनथें।अर्को जूनीमा पनि के सम्भव होला र।तर मेरो चाहना त अर्को जूनीमा भएपनि भेट्ने नै थियो।आखिर हासिल गर्न नसकिने कुराकै धेरै माया र मोह हुने त रहेछ।
हो,म प्रेम गर्थें उनलाई।कहिल्यै हासिल गर्न नसकिने प्रेम।निस्वार्थ प्रेम।बिना फलको आशा नगरीकन गरिएको अनौठो र एकोहोरो प्रेम।म चाहन्नथें कि उनले पनि मलाई प्रेम गरोस्।तर गरेपनि मलाई कुनै आपत्ति भने थिएन।तर म उनको जीवन बर्बाद पार्न चाहन्नथें।म चाहन्थें कि उनको जीवनसाथीको माया पूर्ण होस।बाँड्न नपरोस्।दुई जनाको बीचमा आधा-आधा बाँड्न नपरोस्।उनलाई माया गर्ने जीवनसाथी उनैको मात्र होस्,अरु कसैसँग शेयर गर्न नपरोस्।त्यसैले पनि म उनलाई एकोहोरो प्रेम गर्थें।आखिर प्रेमको कुनै सीमा हुँदैन भन्ने कुराको पुष्टि भयो।न उमेर,न जातभात,न त विवाह।म एक विवाहित पुरुष र मेरो अस्मिता प्रतिको प्रेम नै यो कुराको गतिलो प्रमाण थियो।मैले आफूलाई त्रेतायुगको कृष्ण र उनलाई राधाको रुपमा तुलना गरें।रुक्मिणीलाई जीवनसाथीको रुपमा अंगाले पनि कृष्णले राधालाई अपार माया गरे झैं म उनलाई पनि भरपूर माया गर्थें।तर उनको म प्रतिको माया मैले कति थियो,यकिन गर्नै सकिन।उनको मायाले न मलाई राम्ररी निदाउन दियो न चैनले जिउन नै।मायाले पनि मान्छेलाई बेहाल बनाउने रहेछ।हायलकायल बनाउने रहेछ।एकोहोरो मायामा फस्नु आत्माहत्या गर्नु सरह रहेछ।म उनको असल साथी त बनिसकेको थिएँ।हाम्रो बीचमा केही कुरा लुक्ने थिएन।सबै कुराहरु शेयर हुन्थे।एकदिन मैले उनको मन चोर्ने कोसिस गरें।
"अचेल किन किन मिसको औधी माया लाग्छ।"-मैले म्यासेज पठाएँ।
"गर्नुपर्छ सकेसम्म।"-उनको जवाफ थियोे।
"हो मिस।साँच्चिकै म मिसलाई माया गर्छु।"
"अरुले गरे जस्तै माया।"
"हैन मिस।मेरो माया अरुको भन्दा बिल्कुलै फरक छ।देखाउन मिल्ने भए प्रमाणित गरेर देखाउने थिएँ,नमिलेर पो त।"
मेरो मायालाई उनले सामान्य साथीले गर्ने मायाको रुपमा लिई।उनलाई के थाहा-मेरो माया सामान्य थिएन भनेर।सायद मेरो माया उनलाई बिशुद्ध लागेन होला।माया लागेपनि मेरो घर बिगार्न चाहन्नथिन् होली।नारी भएर नारीको मर्म बुझेकी थिइन् होली।जेहोस मैले उनलाई बिश्वास दिलाउन सकिन।माया देखाउन सकिन।या त हुनसक्थ्यो कि मैले देखाए पनि उनीले हेर्न चाहन्नथिन्।सायद तरीका पो गलत थियो कि।माया त उनले पनि नगर्ने हैन,असाध्यै गर्थिन्।तर कस्तो माया थियो त्यो,बुझ्नै सकिन।मैले सोध्न पनि सकिन-कस्तोखाले माया गर्छ्यौ भनेर।यसरी नै निरन्तर चलिरह्यो हाम्रो दोधारे माया।कहिल्यै निष्कर्षमा पुग्न सकेन। सायद मेरो नजर खराब थियो होला।उनलाई हेर्ने मेरो दृष्टिकोण गलत थियो होला।हाम्रो प्रेम भीरको बीचमा अड्किएको बस्तु जस्तै थियो।न त तल झर्न सक्यो न माथि उक्लन नै सक्यो।कसैगरी पनि उनलाई मैले आफ्नो प्रेमिका बनाउन नसकेपछि मैले आफ्नो सोचाइ र नजर नै परिवर्तन गर्ने अठोट गरें।उनलाई बदल्न नसकेपछि सबैभन्दा पहिले मैले आफैंलाई बदल्ने कोसिस गरें।आफ्नो आचरण नै परिवर्तन गर्न थालें।आफूले आफूलाई चिन्ने कोसिस गरें।गहिरो चिन्तन-मनन पछि मैले आफूलाई अलग रुपमा पाएँ।जहिल्यै प्रेमको भाषा बोलेर उनको प्रेम गुमाउन चाहन्नथें।मुख्य कुरा त मैले उनलाई गुमाउन चाहन्नथें।हाम्रो सुमधुर सम्बन्धलाई सदाबहार राख्ने एउटै मात्र उपाय थियो-सम्बन्धलाई छुट्टै किसिमले परिभाषित गरेर निर्ष्कर्षमा पुर्याउनु।साँच्चिकै उनले भनेको कुरा शतप्रतिशत सही लाग्यो मलाई।
"हाम्रो सम्बन्ध छुट्टै खालको छ।"
उनको यही भनाई नै हाम्रो सम्बन्धलाई अमर बनाइराख्ने अमृतवाणी थियो।प्रेमी-प्रेमिकाको सम्बन्ध क्षणिक हुन सक्छ।श्रीमान-श्रीमतिको सम्बन्ध पनि धरापमा पर्न सक्छ।अजर र अमर हुने सम्बन्ध असल साथी मात्र हुन सक्थ्यो।त्यसैले अन्तिम बिकल्पको रुपमा मैले हाम्रो सम्बन्धको जहाजलाई असल साथीमा लगेर सुरक्षित अवतरण गरें। असल साथीको उचाइ सगरमाथा भन्दा धेरै माथि र प्रेम सागर भन्दा गहिरो लाग्यो मलाई।मैले उनलाई सबैभन्दा असल साथी भनेर सम्बोधन गर्न थालें र उनले पनि।त्यसपछि हाम्रो वार्तालाप अत्याधिक हुन थाल्यो।साना भन्दा साना कुरा पनि हामीमाझ लुकेनन्।सम्बन्ध पनि अझ प्रगाढ,सुमधुर र निश्चल हुन थाल्यो।त्यसपछि मैले उनी र उनको मायालाई दिमागमा नभई मन र मुटुमा सजाउन थालें।हाम्रो सम्बन्ध सफल भयो।हाम्रो प्रेम सफल भयो।
No comments:
Post a Comment