Wednesday, 21 June 2017

तीता-मीठा पलहरु-३

                       भाग-३
          खाडीको मरुभूमिमा प्रचण्ड रविको सामना गर्नुपरे पनि।मरीतरी पसिनाको बाढी बगाएर भनेजस्तो तलब थाप्न नपाएपनि।पराइभूमिमा रहेर स्वदेशमा भएका आफन्तहरुको यादहरुको धारले मुटु रेटिएपनि।दिनरात दु:ख र पीडाको आँशुले मुहार धुनुपरे पनि।कलम समाएर जब लेख्न थालिन्छ,सबै दु:ख,कष्ट र ब्यथाहरु दूर भैदिन्छ्न्।हो साँच्चिकै यस्तै हुँदै थियो मेरो प्रबासी बसाइँमा पनि।सोचेजस्तो धन-सम्पति जोड्न नसकेपनि समस्या नै समस्याहरुको भूमरीमा मडारिंदै भएपनि मेरो कलमको नीबले विश्राम लिइरहेको थिएन।त्यही कलमको साहाराले मैले दिनप्रतिदिन धनदौलत भन्दा कैयौं गुणा अमूल्य मित्रहरू कमाइरहेको थिएँ।पूर्व मेचीदेखि पश्चिमको महाकालीसम्मका मित्रहरुसंग उठबस गर्ने सुअवसर पाइरहेको थिएँ।
          नेपाली साहित्यिक आकाशमा अनवरत रुपमा चम्किरहेकी अर्की उज्ज्वल नक्षेत्र थिइन्-बाराकी निर्जला कुसुम।खुल्ला ह्र्यद भएकी र नम्रभाषी उनी पनि मेरो जीवनमा अविस्मरणीय नाम हुन्।हातेमालो साहित्य संगमको च्याटग्रुपबाटै हाम्रो राम्रो परिचय भएको थियोे।शुरुवाती दिनहरुमा हामीबीच खासै बोलचाल नभएपनि एक-अर्काका रचना अध्ययन गरेर प्रतिकृया भने दिने गर्थ्यौं।कसैको रचना नआउँदा रमाइला गफगाफ समेत हुन्थे।कहिलेकाही मैले घुमाउरो पाराले उनलाई जिस्क्याउँथें।खासगरी हाइकुको माध्यमबाट उनलाई जिस्क्याउन पाउँदा खुब मज्जा आउँथ्यो।तर मैले त्यसरी जिस्क्याएको सायद उनलाई मन पर्दैनथ्यो।शुरु-शुरुमा जिस्क्याउँदा मौन बसेकी थिइन्।तर तेश्रो पल्ट जिस्क्याउँदा उनको रीसको पारो उम्लेर म माथि खनिएकी थिइन्।
"माङ जी,बाउको छोरा हो भने सीधा-सीधा कुरा गर्नुस्।बाङ्गो-टिङ्गो कुरा म बुझ्दिन।"
मलाई कता-कता रमाइलो र कता-कता दु:ख पनि लाग्यो।रमाइलो यस अर्थमा कि अरु कसैले त्यस्तो भनेका थिएनन्।दु:ख यस अर्थमा कि त्यत्रो २५० जनाको च्याटग्रुपमा उनले मलाई भद्र गाली गरेकी थिइन्।तर मैले अनुभूत मात्र गरेर खासै ठूलो रुपमा लिइन।बरु मजाकमा टारिदिएँ।
"हो र निर्जला मिस?मलाई त सीधा कुरा गरेको मज्जा नै आउँदैन क्या।"
मैले यसो भनिरहँदा उनले कुनै प्रतिकृया जनाइनन्।
"कसैको दिलमा चोट पुर्याउने मेरो मनासय थिएन।मैले त मिसको नाम जोडेर साहित्य सिर्जना मात्र गरेको थिएँ।यदि मिसको दिलमा गम्भीर चोट लागेको भए र मबाट जान अन्जान त्यस्तो कुनै गल्ती भएको भए मलाई आफ्नै सम्झेर माफी दिनुहोला।"
जवाफमा उनले भनेकी थिइन्-
"त्यस्तो माफै माग्नुपर्ने त केही थिएन।म अलि बढी बोल्छु है सर।"
मैले उनलाई धन्यवाद दिएँ।त्यसपछिका दिनहरुमा म चनाखो र अलि संयमित भएर बोल्न थालें।खासगरी निर्जलासंग त म बोल्नै छाडें तर उनैले मेरा रचनाहरुमा प्रतिकृया दिएकोले नबोली बस्ने कुरै भएन।पछिल्ला दिनहरुमा राम्रै र बाक्लै बोलचाल हुन थाले।
         हातेमालोका विविध साहित्यिक भेटघाट,पुस्तक बिमोचन र वाचनका कार्यक्रमहरुमा उनले सकृयता जनाइन्।बिशेषता: गजलहरु मिठासपूर्वक वाचन गरेर आफूलाई अब्बल ब्यक्तित्व र साहित्यकारको रुपमा चिनाउन र साबित गर्न सफल भइन्।बारा जिल्ला स्थायी घर भएपनि राजधानीमा अस्थायीरुपमा बसोबास गरेर आफ्नो उच्च शिक्षालाई निरन्तरता दिइरहेकी थिइन्।च्याटग्रुपमा सकृय सदस्यहरुमध्ये उनको नाम पनि अग्रपंक्तिमा आउँथ्यो।तर एकदिन उनले सबैलाई आश्चर्यचकित बनाइन्।
"मेरो परीक्षा नजिकै आइसकेकोले गर्दा म सबै ग्रुपहरुबाट बाहिरिँदै छु।बिना अनुमति मलाई कसैले पनि नजोड्नुहोला।समय आएपछि म पुनः जोडिने बाचा गर्दछु।धन्यवाद!!!"
यति सन्देश छोड्दै उनी च्याटग्रुप र हातेमालोको सदस्य ग्रुपबाट बिदा भइन्।अचानक उनको प्रस्थानले धेरैजसो सदस्यहरु निराश भए।धेरैले ग्रुप छोड्न नहुने राय ब्यक्त गरे भने कसैले पढाइ महत्वपूर्ण भएकोले ठिकै गरेको धारणा ब्यक्त गरे।मैले भने कुनै कुराले चित्त दुखेको कारण उनले ग्रुप छोडेको हुनसक्ने लख काटें।उनले ग्रुप छोड्दा मलाई पनि खिन्नता लाग्नु स्वभाविक थियो।
         उनले ग्रुप छोड्नुपूर्व उनीसँग इन्बक्समा कहिल्यै बोलेको थिइन।मैले तत्कालै म्यासेज पठाएँ।
"मिस!किन ग्रुप छोड्नुभो?"
"मेरो परीक्षा नजिकै आइसकेर हो सर।"
"केको परीक्षा हो र?"
"१२ कक्षाको परीक्षा।"
"ए त्यसो हो?मैले त सोचेको कि मिस रिसाएर जानुभो।"
"किन रिसाउनु र सर?रिसाएकी छैन।परीक्षा पछि पुनः फर्किनेछु।"
"हवस् त मिस,राम्रो अध्ययन गरेर परीक्षा दिनुहोला।"
त्यसपछि खासै वार्तालाप भएन।उनी बिनाको हातेमालो प्रेमिका बिनाको प्रेमी झैं अधुरो भयो।साहित्यिक रचनाहरु पनि नुन नलागेको तरकारी झैं खल्लो भए।मलाई पनि कहिले के नपुगे जस्तो हुन थाल्यो।हातेमालो च्याटग्रुपमा मेरो उपस्थिति पनि पातलिंदै गयो।मलाई पनि ग्रुप छोड्न मन नलागेको हैन तर अरु मित्रहरुले अन्यथा सोच्लान् भनेर बसिरहें।साँच्चिकै उनी बिनाको सबैथोक बिरानो र उराठलाग्दो हुन थाले।
       नभन्दै करीब एक महिनाको अन्तराल पछि उनी पुनः हातेमालो ग्रुपमा जोडिइन्।उनको आगमनले ग्रुपमा नौलो आयाम थपियो।जोश,जाँगर,उमंग र उर्जा थपिए।रुन्चे अनुहार बनाएकाहरु मुस्कुराउन थाले।मुस्कुराउँदै गरेकाहरु हाँस्न थाले।ग्रुपमा चहलपहल बढ्यो।उनी ग्रुपमा झुल्केपश्चात पहिलेको झैं सकृय भइन्।तर उनको सकृयता धेरै दिनसम्म टिक्न सकेन।बादलभित्र हराएको जून केही क्षण चम्किलो देखिए पनि केही बेरमै मधुरो हुँदै पुनः बादलभित्रै हराए झैं उनको उपस्थिति पनि कम हुँदै जाँदा सबैको मुहार उस्तै मधुरो हुन थाले।दिनप्रतिदिन निष्क्रिय हुँदै गइन्।ग्रुपमा औंसी-पूर्णेमा झुल्किए पनि अति न्यून बोल्न थालिन्।कार्यब्यस्तताको कारण होला भन्ठानेर मैले पनि बोल्ने कष्ट गरिन।एकदिन अचानक उनले फ्याट्ट म्यासेज पठाइन्।
"सर नमस्ते।आरामै हुनुहुन्छ?"
"नमस्कार मिस।सञ्चै छु।अनि मिस लाई?"
"सञ्चै छु सर।अनि सर कुन देशमा रे?"
"म अरबको मरुभूमिमा छु मिस।दुबईमा छु।"
"ए हो र सर?सर लाई म एउटा कुरा भन्छु।तर कसैलाई नभन्नु है सर।"
"भन्नुस् न मिस के कुरा हो?"
"म पनि हजुर लाई भेट्न आउँदैछु।"
केही पलको लागि त म बिलखबन्दमा परें।बिस्तारै होस सम्हालेर उनलाई प्रतिप्रश्न गरें।
"भन्नाले?"
"म पनि हजुर भएको ठाउँमा आउँदैछु क्या सर।"
"ए हो र मिस?किन?"
"काम गर्न नि सर।"
उनले यति भनेपछि बल्ल मेरो श्वासप्रश्वासमा सहजता आयो।शुरुमा त मैले आफ्नो आँखालाई बिश्वासै गर्न सकिन तर उनले भनेपछि अबिश्वास गरेर पनि त भएन।
"होइन होला।गफ नदिनु त मि।"
"गफ हैन सर साँच्चिकै हो।"
"अनि पढाइ सकेको हो र?"
"पढाइ त कहाँ सकिनु नि सर?जम्मा १२ सम्म मात्र पढ्न सकें।यहाँदेखि माथि त कसरी पढ्न सक्छु र?"
"ठिकै छ त मिस।धेरै पढेर पनि  काम छैन हाम्रो नेपालमा।"
मैले उनलाई सम्झाएँ।
"पढ्न सके त काम छ नि सर।तर कसले पढाउनु।व्यवहारिक समस्याले गर्दा सानैमा बिदेशिनु पर्यो सर।आमाको काख छोडेर टाढा गएकी छैन।अझैसम्म आमासँगै सुत्छु।१९ बर्षको कलिलो उमेरमै रहरले नभई कहरले बिदेश जाँदैछु।"
"ए है मिस?ठिकै छ नि आउनुहोला।बरु के काम र कम्पनीमा होला?"
"सुपरमार्केटमा हो सर।"
"आउनु आउनु।राम्रै हुन्छ।ढुक्कसँग आउनुहोला।"
"के गर्नु सर!म त सानैदेखि दु:ख पाएको मान्छे।हन्डर खाएको मान्छे।भनेर साध्य छैन सर।बरु त्यतै भेटघाटमा भन्छु सबै कुरा।भेटघाट चाहिं गर्नुपर्छ है सर।"
"संसारमा दु:ख नपरेको को होला र मिस?हामी सबै दु:खबाट गुज्रेको मान्छे।"
"सर लाई के के चाहिन्छ भन्नु।"
"मलाई केही थान पुस्तकहरु ल्याइदिनु न है मिस।"
"कुन-कुन पुस्तक ल्याइदिउँ सर?"
"बुधनको घोडी,ऐना र मनसुन।मिससंग अरु कुनै पुस्तक भए ल्याउनु न है?"
"हवस् सर।मसंग पनि केही थान छन्,ल्याइदिउँला।बाँकी कुरा भेटमै गरौंला।"
"कहिले आउँदै हो र?"
"चाँडै आउँदैछु।"
"भन्नाले कति दिन वा घण्टा बाँकी छन्?"
"चाँडै सर।आउने दिन त भन्दिन तर आइसकेपछि भन्छु नि।"
"ओके मिस।"
म उनको आगमनको प्रतिक्षा र पुस्तक पढ्ने चाहनामा दिनहरु ब्यतित गर्दै गएँ।कथा र उपन्यासको रसस्वादन गर्न पाउने कुराले उत्साहित बनाउँदै थियो।१५ दिन बितिसक्दा पनि उनले आएको नआएको कुनै जानकारी दिइनन्।अनलाइनमा देखेपनि कुराकानी भैरहेको थिएन।उनले पक्कै मलाई मुर्गा बनाएको होला भन्ने सोचें।एक महिनापछि मैले नै उनलाई अघि सरेर म्यासेज पठाएँ।
"खै त मिस,कुनै सुचना,जानकारी र कुराकानी छैन।नेपालमा कि दुबईमा हो र?"
"कहाँ दुबईमा हुनु सर?नेपालमै छु नि।काममा अबरोध भएर म त बर्बाद भएँ नि सर?बहुत टेन्सनमा छु।"
"किन र?के भयो?"
"दुबईमा रमादान चल्दै गरेको कारण काम हुन सकेको छैन।अझै १५/२० दिन बाँकी छन् रमादान सकिन।"
"हतार नगर्नु न मिस।बिस्तारै आउँदा फरक पर्दैन।यहाँ आएसी त कामका काम हो।भनेको बेला छुट्टी पाइन्न।नआतिनुस् काम होला नि।"
"त्यो त हो सर।हवस् त म आएपछि नै सम्पर्क गर्नेछु हजुरलाई।"

No comments:

tundudai ko geet

भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् भयो कोशिस नगर्नु , रुवाउन तिम्रो यादहरु छन् छुट्दा भनेका बिर्सन नसक्ने तिम्रो बातहरु छन् छुट्दा ...