झरनाको झंकार संगै तिमी आउ न
कोइलीको भाका संगै तिमी गाउ न
सगरमाथा,बुद्धभूमी राखी छातीमा
यो दिलको वरिपरि तिमी छाउ न।
लुम्बिनी र पोखरामा घुम्न जाऔंला
जनकपूर, चितवन हेर्न जाऔंला
नेपालको प्राकृतिक दृष्य हेरेर
यो जिन्दगी जिउँ साथी धोको फेरेर।
मादलुको ताल संगै तिमी आउ न
बांसुरीको धुन संगै तिमी गाउ न
अरनिको र भृकुटी राखी छातीमा
यो दिलको वरिपरि तिमी छाउ न।
च्छो-रोल्पामा गएर नै पौडी खेलौंला
गौरीशंकर गएर नै हिउँ समौंला
बृन्दावनमा लुकामारी खेली रमौंला
बाँचे पनि यही बाँचौं,मरे मरौंला।
टुङ्नाको धुन संगै तिमी आउ न
सारंगीको धुन संगै तिमी गाउ न
संस्कृति र भेषभुषा राखी छातीमा
यो दिलको वरिपरि तिमी छाउ न।
No comments:
Post a Comment